साताको एक दिन बिदा, प्रायः लुगा धुँदै, घाम ताप्दै बित्छ। अघिल्लो हप्ता घरका सबै कामकाज पन्छाइ म र साथीहरू मार्खु घुम्न हिड्यौं।
नारायणी अञ्चल, मकवानपुर जिल्लामा पर्ने मार्खु काठमाडौंबाट २-३ घन्टामै पुग्न सकिने गन्तव्यमध्ये एक हो। शनिबार बिहानै गई दिनभरी घुमेर बेलुकी फर्किन मिल्ने नजिकैको ठाउँ।
हामीले मार्खु यात्रा बल्खु चोकबाट सुरू गर्यौं। पुरानो बसपार्कबाट मार्खुसम्म सार्वजनिक गाडी पनि जान्छ। बल्खुबाट पनि सिधै उतैसम्मको गाडी १०-१५ मिनेटको अन्तरालमा पाइन्छ। आफ्नै सूरले यात्रा गर्न खोजेकाले हामी दुइटा स्कुटर लिएर हिड्यौं।
बल्खुबाट मार्खु पुग्ने दुरी गुगल म्यापअनुसार ३८.२ किलोमिटर छ। अर्थात् झन्डै दुई घन्टा यात्रा। बिस्तारै जाने हो भने तीन घन्टा पनि लाग्न सक्छ।
हामी यात्रा सुरू गर्दै बल्खुबाट चोभारतर्फ लाग्यौं। बीचमा केही बाटो धूलो र खल्ड्याङ-खुल्डुङ भए पनि पक्की रोड चोभारसम्मै छ। चोभारबाट हामीले फर्पिङको रोड समात्यौं। पहिल्यै स्कुलबाट पिकनिक आउँदा यही फर्पिङ साह्रै टाढा लागेको थियो। अहिले स्कुटरमा सोही ठाउँ कति नजिकै र सजिलै पुग्यौं।
फर्पिङसम्मको बाटो उस्तै रहेछ। सबै पिच गरिएको सानो सडक तर हल्का उफार्ने।
एक दिन मार्खु जाँदा-आउँदा बढीमा तीन हजार रूपैयाँ खर्च हुने अनुमान हाम्रो थियो। चोकनजिकै एटिएममा पैसा झिक्न रोकियौं। खल्ती छामेको, पर्स गायब!
ला! पर्स बाटोमा खस्यो भनेर केही मिटर वरसम्म खोज्न आयौं। भेटिएन। साथीले नै बैंकबाट मेरो खर्च पनि झिकिदिए।
फर्पिङबाट दाँया मोडिँदै ठाडो उकालो सल्लेतिर लाग्यौं। त्यही बेला झट्ट दिमागमा आयो- पर्स कतै घरमै त छुटेन? बुवालाई फोन गरेँ। धत्तेरी, ओछ्यानमै छाडेर आएछु!
साथीहरूले कर्के नजर दिए। मैले मुस्कानले टारेँ।
केही मिटर स्कुटर दौडिएपछि बल्ल काठमाडौंबाट अलि पर पुगेको आभाष भयो। चर्किरहेको घामलाई बादलका ढिकाले छेक्न थाले। पानी पर्ने संकेत! नपरोस् भनी प्राथना नै गर्दै हामीले स्कुटर हुइँक्यायौं।
अबको बाटो हाम्रो लागि नौलो भए पनि काठमाडौंका साँघुरा सडकमै घुमेझैं लाग्यो। पक्की भए पनि एक्कासि कुन बेला खाल्डो आउँछ, अड्कल नहुने। त्यसैले रफ्तार केही धिमा गर्दै र नौलो ठाउँको नौलो अनुभव लिँदै, नरोकिइ गुडिरह्यौं।
झन्डै डेढ घन्टा लगातारको बाटोपछि दोबाटो आयो। सानो बजारजस्तै रहेछ त्यो ठाउँ। बाटो झुक्किएपछि गुगल म्याप खोल्यौं। म्यापले त हामीलाई बाटोभन्दा बाहिर देखाउन थालिसकेछ। अनि आधुनिक प्रविधिको भर नगरेर अनुभवी स्थानीयलाई सोध्नुपर्यो।
‘यो ठाडो बाटो नछोडी जानुस्, मार्खु अब ४० मिनेटमा पुगिन्छ,’ नाङ्लो पसल थापेर बसेका दाइले बाटो देखाउँदै भने। दाइकै निर्देशन पालन गर्दै हामी बाटो नछाडी कुदिरह्यौं। ठयाक्कै ४० मिनेटपछि कुलेखानी ड्याम देखियो। गन्तव्य पुग्नै आँटेछौं।
हौसिँदै बाटैबाटो लागेको त फेरि अर्को दोबाटो आयो। यो दोबाटोमध्ये कुन ठीक भनिदिन त्यहाँ कोही भेटेनौं। अनुमानकै भरमा बाँया मोडियौं। अघि देखिएको ड्याम बिस्तारै पर पर हुन थल्यो। गलत बाटो लाग्यौं कि क्या हो!
केही ठाडो उकालो र घुम्ती हुँदै हामी आर्मी ब्यारेक अगाडि पुग्यौं। केही बाइक अगाडि गुडेका देखेर हामी पनि पछि लाग्यौं। ठीकै बाटो पो थियो कि? उनीहरूलाई आर्मीले गेटमा रोकेनन्। सरासर गए। जब हामी त्यहाँ पुग्यौं, तैनाथ सबै आर्मीले हामीलाई घेरा नै हाले। हामी केही बोल्नै सकेनौं।
‘यहाँ तस्बिर र भिडिओ खिच्न मनाही छ। कृपया यस क्षेत्रमा खिचिएका सबै तस्बिर मेटिदिनुस्,’ तैनाथ नवजवानले हाम्रो क्यामरा हेर्दै भने, ‘बरू तिनलाई यादमा सँगालेर राख्नुस्।’
सबै भिडिओ मेट्न लगाएर हामीलाई बल्ल जान दिइयो। ख्याल राख्नुपर्ने रहेछ- आर्मी, प्रहरी इलाका वरपर तस्बिर/भिडिओ खिच्न पाइँदैन।
ब्यारेक कटेर जंगल छोएका मात्र थियौं, पानीका तपतप थोपाले हेलमेट पटपट गर्न थाल्यो। पानी पर्ला भनेर सोचेको भए न रेनकोट बोक्ने!
हलुका भिज्दै गुडिरह्यौं। बल्ल अघि हराएको कुलेखानी ड्याम फेरि देखियो। बाटो ठीकै रहेछ। मात्र हामीले अलि लामो बाटो रोजेछौं।
सिमसिम पानीमा रुझ्दै हामी मार्खु पुग्यौं।
इन्द्रसरोवर ताल आफूमा समेटेर फिँजारिएको यो ठाउँ सुन्दरताले भरिभाउ रहेछ। अगाडि ताल, छेउमा होमस्टेहरूको लहर।
शनिबार, मान्छेको केही कमी थिएन। ठूल्ठूलो समूहमा वनभोज खान, बिदा मनाउन र नयाँ ठाउँ घुम्न यहाँ आउने रहेछन्। गाडी रिजर्भ गरेर आउनेको लाम उस्तै। गीत गाएर, नाचगान गर्नेहरू आफ्नै तालमा रमाइरहेका देखिन्थे।
हामी पनि भिजेकै ज्याकेट लाएर ताल किनार गयौं। छेवैको पसल छिरेर माछा खाजा सेट र तात्तातो चिया मगायौं। खाजा आउञ्जेल बगरमा उभियौं। आकाशबाट बर्सेको पानी थोपा जमिनको तालमा मिसिँदै थियो। हरियो डाँडा पनि नुहाउन थालेझैं देखियो।
हामीलाई भने तालको पानी छुँदा भिजेको ज्यान झन् सिरिंग भयो।
तालमा डुंगा सयर भने पानी परेकाले बन्द रहेछ। हावाले डुंगा पल्टाउने, पानी भरिने र जोखिम हुने भएकाले माझीहरू वर्षामा डुंगा खियाउन नमान्ने रहेछन्। हामी त डुंगा चढ्ने सोच बनाएर गएका थियौं। पानी एकछिन भए पनि रोकिए हुन्थ्यो नि!
‘दामनमा हिँउ पर्यो रे,’ पसले दाइले खाजा ल्याउँदै हाम्रो ध्यान भंग गरिदिए। ओहो, हिँउ पर्यो भनेपछि यहाँ पानी दर्केला भनेर झनै दिक्क लाग्यो। प्रकृतिको खेल हाम्रो हातमा कहाँ हुन्छ र!
प्रकृतिको खेल प्रकृतिलाई नै सुम्पेर हामी खाजा खान बस्यौं।
यहाँको प्रख्यात भोजन माछा हो। लोकल माछा, चिउरा, र अचारको स्वाद पहिलो गाँसमै ठयाक्कै जिब्रोमा बस्यो। चिसोमा चिया, चार सुर्कोमै सकियो। पेट भरिएपछि हामी फेरि आकाश हेर्न थाल्यौं। ओहो, विस्तारै खुल्न थालेको रहेछ। सूर्यका किरण बादल छिचोल्दै तँछाडमछाड बाहिरिन खोजे।
शुभ संकेत देख्नासाथ हामी डुंगाको टिकट लिन दौडियौं। मोटर डुंगा र खियाउने डुंगा!
१५० रूपैयाँका चार वटा टिकट लियौं, खियाउने डुंगाको। लाइफ ज्याकेट भिर्यौं र डुंगैडुंगाको किनार पुग्यौं। सबै चढेपछि माझीले डुंगा खियाउन थाले। केही बेरमै बादल पन्छाएर घाम झुल्कियो।
माझी दाइले ताल किनार हुँदै बीचतिर पुर्याए। डुंगा तालको जति भित्र गयो, वरपरि त्यति शान्त। न मान्छेको गाइँगुइँ, न गाडीको टाइँटुइँ। मात्र चराहरू चिरबिराएको मन्द मन्द सुनियो। शान्त तालको तरंगमा डुंगामाथि तैरिँदा मधुरो घाममा गोही पल्टेझैं हामी आ-आफ्नै कल्पनामा ढुलमुलियौं।
मीठो सपना भंग भएजस्तै यो सयर एकैछिनमा सकाइदिए माझी दाइले। विस्तारै हाम्रो डुंगा किनारतिर मोडियो। आधा घन्टाको सयरमा इन्द्रसरोवरको केही अंश मात्र घुम्न भ्यायौं। पूरै घुम्न धेरै समय लाग्ने, केही भागमा जान निषेध गरिएको अनि अन्य यात्रुलाई पनि भ्रमण गराउनुपर्ने!
छोटो भए पनि हाम्रो एकदिने भ्रमणका लागि यो अनुभव धेरै नै भयो। मार्खुको विशेषता भनेको यही इन्द्रसरोवर, लोकल माछा, खुला आकाश र मनमोहक दृश्य हुन्। हामीले ती सबै लोभलाग्दा अनुभव एकैदिनमा गर्यौं।