दिनभरको कामले निकै थकित थिएँ। त्यसैले होला, बस कलंकी पुग्न नपाउँदै म निदाइसकेको!
बिउँझिदा किरण केसीले दीपकराज गिरीको बिहे गराइरहेका थिए, अरू यात्रु फिल्म हेर्दै खित्खिताउँदै। बस हिँडेपछि सुरू भएको थियो होला फिल्म। मलाई भने बस हिँड्नुअघि सहचालक भाइसँगको आफ्नै कुराकानी मात्र याद छ।
बिजी मल, गोंगबुसँगैको काउन्टरबाट टिकट लिएर म धौलागिरि डिलक्सको काठमाडौं-बेनी नाइट बस खोज्दै हिँडे। भेटिनेबित्तिकै सहचालक भाइसँग सोधेको थिएँ, 'कतिबेला पुगिन्छ काँडे?'
यो बाटो धेरैचोटि हिँडेको भए पनि मलाई सधैं सहचालकसँग पुग्ने समय सोध्न मन लाग्छ।
'बाटोमा जामसाम भएन भने भोलि बिहान साढे चार बजेसम्म पुगिन्छ,' उनले निलो मास्क चिउँडोसम्म तानेर भनेका थिए।
सिटमा पुग्नासाथ म सुतेको, बिहे हेर्न बिउँझेछु। फेरि सुतेँ। एकैचोटि खाना खान एक्लेफाँटमा बस रोक्यो। एक्लेफाँट त्यही ठाउँ हो जहाँ मैले जिन्दगीकै सबभन्दा नमिठो खाना खाएको छु। त्यो मेरो पहिलो मर्दी यात्राको नमिठो अनुभव थियो। त्यसैले बस जहाँ रोके पनि यात्रा गर्दा राजमार्गको खाना विरलै खान्छु।
बस चल्न थाल्यो, म निदाउन।
मसँगै सिटमा बस्ने दाजुले मनमनै भने होलान्, 'कस्तो अचम्मको मान्छे रहेछ, जतिबेला पनि निदाइरहने।'
अघि उनको अनुहार भाव हेर्दा त्यस्तै भनेझैं लागेको थियो। पोखरामा चिया पिउन बस रोक्दा म बिउँझिएँ। बिउँझेका बेला सहयोगी भाइलाई भनिहालेँ, 'भाइ मलाई काँडे रोकिदेऊ है।'
एकपटक मलाई बसले काँडे ओराल्दिनु पर्ने नयाँ पुल ओराल्देको छ। अनि मर्दी हिँडेको मान्छे खोप्रा पुगेर काठमाडौं फर्केको छु। यस्तो कुरा ट्रेक गर्ने मान्छेले पक्कै बुझ्नुहुन्छ।
बिहान ३:५५ मा ड्राइभर दाइले काँडेमा ओराली दिएर शुभयात्रा भने।
काँडे भन्ने ठाउँको नाम पहिलोपटक सुन्नुभएको छ भने यो समुद्री सतहदेखि १७०० मिटर उचाइमा अवस्थित, पोखरा बाग्लुङ बेनी राजमार्ग अन्तर्गत कास्की जिल्लामा पर्छ। जुन मर्दी बेसक्याम्प, लान्द्रुक, अस्ट्रेलियन क्याम्प ट्रेकिङको एउटा प्रस्थान विन्दु पनि हो।
म बाटो क्रस गरिसक्दा बस कुहिरोभित्र कता कता बिलाइसकेको थियो।
बसभित्र एसीको न्यानोबाट निस्केपछि बाहिर माघे चिसोसँग एकैचोटि जम्काभेट भएको थियो। मेरो मथिंगल खलबलियो। बाटोछेउको एउटा छाप्रोमा झोला बिसाएँ। ज्याकेट, टोपी लगाएँ। टाउकोमा टर्चलाइट बाँधे, अनि हिँड्न तम्तयार भएँ।
'अस्ट्रेलियन क्याम्प, काँडे बराह मन्दिर जाने बाटो' लेखेको बोर्डले देखाएको दिशातर्फ लागेँ। म अघिल्लोपटक आउँदा बाटो गोरेटो थियो। यसपालि मर्मत गरेर सिँढी बनाइएको रहेछ। तर पदयात्रामा गोरेटो बाटो जति सजिलो सिँढी हुँदैन। गाह्रो भए पनि हिँड्न त पर्यो।
यो बाटो ३/४ पल्ट पहिल्यै हिँडिसकेको थिएँ। अँध्यारो भए पनि मैले यो बाटो राम्रोसँग चिनेको छु, अनि यो बाटोले मलाई!
आधा घन्टा जति हिँडेपछि उताबाट कोही बोलेजस्तो लाग्यो। टर्चलाइट निभाएँ, टक्क अडिएँ। आवाज झन् आफू नजिक नजिक आएजस्तो लाग्यो। त्यो आवाज आफू नजिकै आएपछि मेरो मुखबाट आफैं प्रश्न निस्कियो, 'को हो यति बिहान बिहान हिँडेको?'
उतबाट लरबरिएको आवाज बोल्यो, 'म रौसी खाएको मुन्छे हो।'
बत्ती बालेँ। पुरानो कोट लगाएका ६०/६५ वर्षजस्ता देखिने बाजे रक्सी खाएर फिटान रहेछन्। हातखुट्टा टेकेर सिँढी झरिरहेका थिए।
'हजुरले पनि रौसी खानु भा'छ र यस्तरी राती राती हिँड्नलाई?' लरबराउँदै उनले सोधे।
मैले पनि शानका साथ भनेँ, 'म त ट्रेकिङ हिँडेको मान्छे हो!'
मैले ट्रेकिङ हिँडेको भनेर सुनाउन पनि गजबकै मान्छे भेटेछु!
'बाबु मेरो घर यहीँ तल हो। देउरालीबाट आउँदा आउँदै ढिला भयो। मलाई लाइट देखाइदिनुस् न,' उनले फेरि लरबराउँदै भने।
मैले बाजेलाई एकछिन उनले भनेको ठाउँतिर बत्ती देखाइदिएँ। उनी पुगे/पुगेनन्, हराउँदै गए। म पनि आफ्नो बाटो लागेँ।
म ४ बजेर ३ मिनेट जाँदा काँडेबाट हिँड्न सुरू गरेको ५ बजेर ५ मिनेटमा अस्ट्रेलियन क्याम्प (२०५०मिटरमा) पुगेछु। सफा आकासमा तारा चम्किरहेका थिए। मेरो उपस्थितिमा कुकुर पनि भुकेनन्, न कुखुरा बासे। केवल सफा आकास र चम्किरहेका ताराले स्वागत गरे।
मौसम सफा भएका बेला अस्ट्रेलियन क्याम्पबाट माछापुच्छ्रे हिमचुली र अन्नपूर्ण साउथको दृश्य यति सुन्दर देखिन्छ कि नमरी स्वर्ग देखिँदैन भन्ने मान्छेहरू कति गलत छन् भन्ने लाग्छ।
स्वर्ग त यही हो! (पहिलो पटक ट्रेक जाने अनि हिमाल देख्नेले अस्ट्रेलियन क्याम्पको यसरी नै व्याख्या गर्लान्। मै पनि गरिरहेको छु।)
अस्ट्रेलियन क्याम्प मात्र घुम्न पनि पर्यटक आउँछन्। २०/२२ वर्ष पहिला केही अस्ट्रेलियन नागरिक आएर यहाँ बास बसेकाले यो ठाँउको नाम अस्ट्रेलियन क्याम्प रहन गएको रे। स्थानीय होटल व्यवसायी धनबहादुर गुरूङले म पहिलोपटक मर्दी आउँदा सुनाएका थिए।
अस्ट्रेलियन क्याम्पलाई बाइबाइ भनेर पितम देउरालीतिर जंगलको बाटो ओरालो लागेँ। घडीले पौने ६ देखाइरहेको थियो तर अँध्यारो गाढा थियो। चकमन्न उस्तै। त्यसमाथि झन् हुस्सु लागेर आफ्नै अगाडिको बाटो देखिन पनि हम्मे पर्यो।
हिँड्दै थिएँ, केही खसर्याकखुस्रुक गरेजस्तो लाग्यो। सुरूमा वास्ता गरिनँ। तर सुकेका पात बजेको आवाज आइरह्यो, म अडिएँ। आवाज आएतिर बत्ती सोझ्याएँ। टल्केका दुई आँखा देखेँ। लौ न, ज्यान सिरिंग भयो। एकैछिनमा फत्याकफुतुक गलेँ। भागौं कि नजिकैको रूख चढौं? कि उत्तानो परेर त्यहीँ सुतौं? के गरौं, कसो गरौं भयो। बत्ती निभाएर नजिकैको रूखमा आडेस लागेँ।
पसिनाले ज्यान चिसो भइसकेको थियो। चारैतिर जंगल छ। चितुवा पो हो कि भनेर डर लाग्यो। यसै एकै ठाँउमा धेरै बेर बस्न सकिन्न भनेर बल्लतल्ल आँट बटुलेँ। राजेश हमाल दाइ स्टाइलमा हे…भनेर कराएँ, अनि आफ्नो अगाडिको ढुंगा टिपेर आवाज आएतिर फ्याकेँ। त्यो जनावर भाग्योजस्तो लाग्यो। ओहो, मसँग डरायो यार!
नडराएर फेरि मलाई झम्टिन आयो भने? दिमागको अर्को पाटोले सम्झाइहाल्यो। भाग भाइ, मौका यही हो! मोबाइलमा नेपथ्यको 'सानुमा सानु कमलको हाँगो रेशमम्' गीत थियो। त्यही बजाएर पछाडि नहेरी ५ मिनेट जति दगुरेँ। सायद गीतको तालमा नाच्दै दगुरेँ कि?
बिहान सवा छ बजे पितम देउराली पुगेँ। होटलकी दिदी पानी तताउन लागेकी थिइन्।
'कता हो यति बिहान बिहानै?' लेग्रो तानेर सोधिन्।
मैले पनि भने उनकै लयमा भनेँ, 'म काँडेबाट आएको दिदी।'
छक्क परिछन् क्यार दिदी, सोधिन्, 'के पिर पर्यो र भाइ र यस्तो राती राती हिँड्नुभएको?'
मैले हाँसेर उत्त रदिएँ।
'एक कप मिठो चिया बनाउनु न दिदी' भन्दै मोबाइल चार्जमा राखेँ। अनि यताउता टहलिन थालेँ।
'हिजोअस्ति त धुम्म थियो, बादल लाग्या थियो। आज अलि खुलेजस्तो छ हेर्नुस् त अकासाँ तारा नि छन्,' दिदीले चियाको पानी बसाल्दै भनिन्।
देउरालीबाट सूर्योदयको दृश्य राम्रो देखिन्छ। पहिले पनि यहाँबाट सूर्योदय हेरेको छु। फोटो नखिची त के निस्किनु! तस्बिर लिएर हिँड्नुपर्ला भनेर म कुरी बसेँ।
'हिजो काठमाडौंबाट आउनुभएका दुईजना गेस्ट हुनुहुन्छ। सँगै जाँदा नि हुन्छ। उहाँहरू हाइक्याम्प पुग्ने हो,' चिया दिँदै दिदीले भनिन्।
दिदीलाई के थाहा, म कस्तो उद्देश्य लिएर हिँडेको छु भनेर! जो एक्लै हिँड्दा मात्र पूरा हुन सक्छ। त्यही पनि सुझावका लागि दिदीलाई धन्यवाद भनेँ।
पूर्वमा लागेको बादलले गर्दा सूर्योदयको दृश्य देखिएन। उत्तर र दक्षिणमा भने हिमाल मज्जाले हाँसेको थियो। चियासँग एक पुरिया बिस्कुट खाएर म फरेस्ट क्याम्पको बाटो लागेँ। यो बाटो अलि उराठलाग्दो छ। जंगलैजंगलको अँध्यारो। हिमाल नदेखिने, घाम नपर्ने।
देउरालीबाट फरेस्ट क्याम्प पुग्दा बीचमा एउटा विश्रामस्थल थपिएछ, लभ्ली हिल भन्ने। एउटा थुम्कोमा बसेको सानो चिटिक्क परेको ठाउँ। बिहान भएकाले बाटोमा चराहरू प्रशस्तै देखिन्थे। चुच्चे क्यामरा भएको भए एकछिन अडिएर चराको फोटो खिच्थेँ होला। नभएकाले अडिराख्नु परेन। लान्द्रुक जाने दोबाटो नजिक पुग्दा उताबाट एउटा गुरूङ परिवार आउँदै गरेको देखेँ। मेरो धेरै बोल्ने बानी छ। जसलाई देखे पनि बोलाइहाल्ने।
उहाँहरूलाई कहाँ छोड्थेँ र! मुस्काउँदै सोधेँ, 'नमस्ते, कहाँबाट आउनुभयो?'
'हामी रेस्ट क्याम्पसम्म पुगेर आको,' गुरूङ दाइले बाटोछेउको ढुंगामा आडेस लगाइ लामो सास फेर्दै जवाफ फर्काए।
त्यही समूहमा आएको एउटा सानो बाबुले हतारिँदै खुसीसाथ भन्यो, 'रेस्ट क्याम्पमा फुपूको नयाँ होटल छ। त्यैँ गएर आ'को।'
म चाहिँ नयाँ ठाउँको नाम सुनेर रनभुल्ल परेँ। मर्दी रूटभरि नै एकल पैदल यात्रीलाई पदमार्ग नबिराऊन् भनेर ठाउँठाउँमा सेतो र निलो रङ पोतेर मार्गनिर्देशन दिइएको छ। त्यही रङ पछ्याउँदै पितम देउरालीबाट हिँडेको साढे दुई घण्टामा म फरेस्ट क्याम्प (२१०० मिटर) पुगेँ।
फरेस्ट क्याम्पमा त नयाँ होटल खुलेका, पुराना नि पुनर्निर्माण गरिएको रहेछ। त्यहाँको त मुहार नै फेरिएको। फरेस्ट क्याम्पबाट आधा घण्टाजति दुरीमा जहाँ पहिला एउटा सनो चिया पसल थियो, त्यहाँ अहिले नयाँ होटल खुलेछ जो रेस्ट क्याम्प भनेर चिनिँदो रहेछ।
भोक लागिरहेको थियो, खाना त्यहीँ खाने निर्णय गरेर साहुनीलाई 'ल मिठो जबरजस्त पिरो-अमिलो खाना बनाउनु' भनेर म पसिनाले भिजेका लुगा फुकालेर घाममा सुकाउन थालेँ।
होटलको आँगनमा आज मात्रै झिकेको जस्तो लाग्ने गुन्द्रुक सुकाइएको थियो। काउली, साग सुकाइएको थियो, गुन्द्रुक अलिकति चाखेँ। अमिलो रहेछ। घाम ताप्दै खाना नआइन्जेल निम्स (निर्मल) पुर्जाका किताब पढेँ।
निर्मल पुर्जा बेलायती सैनिकमा भर्ती भएर हिथ्रो एयरपोर्ट पुगेका थिए। होटलका मिलन भाइले 'खाना तयार भयो, भित्र आउनुहुन्छ कि यहीँ ल्याइदिऊँ दाइ' भने।
मैले बाहिर घाम ताप्दै खाना खाएँ। ओहो सबै लोकल उत्पादन! कति स्वादिलो हो!
'दिदी व्यापार कस्तो छ त?' यसो सोधेको मात्रै के थिएँ, दिदीले एकै सासमा भनिन्, 'भर्खरै गति लिन सुरू गर्याथ्यो, कोरोना आएर डुबाइहाल्यो। तर यसपालि दसैंमा नेपालीहरू धेरै आउनुभयो। अलिअलि भने नि राहत मिल्यो।'
दिदीका गुनासा एकातिर थिए। म भने मिठो दालभात खान पाएर दंग परेँ।
'दिदी यस्तै हो कोरोनाले जताजतै प्रभाव पारेको छ' भन्दै म उकालो लागेँ, लो-क्याम्पतिर।
रेस्ट क्याम्पबाट हिँडेको एक घन्टामा लो-क्याम्प पुगेँ। लो क्याम्प मर्दी ट्रेकिङ रूटमा पर्ने एउटा चर्चित विश्रामस्थल हो। यहाँ रात बिताउने पदयात्रीको संख्या पनि उल्लेख्य हुन्छ। बस्ने-खाने राम्रो व्यवस्था छ।
तर म लो-क्याम्पमा एकछिन पनि नबसी गुँरासैगुँरासको जंगलको बाटो उकालो लागेँ, बादल डाँडातर्फ। नामजस्तै बादल डाँडालाई बादलैबादलले ढाकेको थियो। हेर्दा आफू नै कतै बादलमाथि छु जस्तो महशुस हुने। बादलले लुकामारी गरिरहेको रमणीय दृश्य देखेर हतारहतार फोटो खिचेँ र हाइ-क्याम्पपतिर सोझिएँ।
दृश्यावलोकनका लागि मलाई बादल डाँडा मर्दी ट्रेकमध्ये नै उत्कृष्ट ठाउँ लाग्छ। त्यहाँबाट मर्दी हाइ-क्याम्पसँगै माछापुच्छ्रे हिमचुली अन्नपूर्ण साउथ देखिन्छन्। बादल डाँडाको एक मात्र ट्विन-पिक होटलका दाजुलाई भोलि बिहानको खाना खान यहीँ आउँछु भनेर म हाइ-क्याम्पतिर हिँडे।
बादल डाँडाबाट हाइ-क्यापको बाटो हिँड्दा मलाई थकाइ लाग्दैन। बरू त्यहाँ दृश्यले रोमाञ्चित बनाउँछ। बुट्यानहरू नभएका नांगा डाँडा अनि आँखै अगाडि हिमाल हेर्दै यात्रा गर्न कम्ता रमाइलो हुँदैन।
मोबाइलको ब्याट्री सकिएर ३ प्रतिशतमा झरेछ। शरीरको ब्याट्री पनि सकिँदै थियो। तर गन्तव्य नजिकिँदै गर्दा जोश आउँछ भन्छन् नि। मेरा पाइला छिटो छिटो चल्न थाले।
काँडेबाट हिँडेको साढे दस घण्टामा करिब २७ किलोमिटर जति उकालो चढेर हाइ-क्याम्प (३५८० मिटर) पुगेँ। म पुग्दा एउटा टोली भर्खरै बेस-क्याम्प पुगेर आएका रहेछन्। 'बेस-क्याम्पमा त्यस्तो हेर्न लायक केही छैन। नगए नि हुन्छ। बरू भ्यु-प्वाइन्टबाट राम्रो देखिन्छ' भनेर मलाई सल्लाह दिँदै थिए।
म काँडेबाट आएको अनि यसभन्दा अगाडि चारपल्ट आइसकेको भनेपछि सबै चुप लागे। मेरो योभन्दा अघिका यात्रा काँडेदेखि हाइ-क्याम्पका मात्र हुन्थे। हाइ-क्याम्प चाँडै आइपुगेकाले योपटकको मर्दी यात्रा अझ यादगार अनि रोमाञ्चक बनाउन बेस-क्याम्प गएर फर्किने निर्णय गरेँ। बेस-क्याम्प गएर फर्किनु, भनेजस्तो सजिलो त थिएन। त्यसमाथि दिउँसभर हिँडेर फतक्क गलेको ज्यान। त्यही पनि साहस निकालेर बोतलमा मनतातो पानी भरेँ। झोलाका नचाइने सामान निकालेँ।
चार्जमा राखेको मोबाइल थुतेर झोला हलुका बनाइ म बेस-क्याम्पतिर लागेँ। बेस-क्याम्पबाट भ्यु-प्वाइन्टसम्मको बाटो अलि गाह्रो छ। उकालो अनि चट्टानको बाटो। तर हिउँ परी नसकेकाले हिँड्न अलि सजिलो थियो।
पारि क्षितिजमा घाम डुब्नै लागेको थियो। सूर्यास्तको निकै मनमोहक दृश्य, हिमाल सुनौला देखिएका। म उकालो अगाडि बढ्थेँ, फेरि पछाडि फर्केर त्यो मनमोहक दृश्य कैद गर्न मोबाइल तेर्स्याउँथेँ।
फोटो खिच्दाखिच्दा मोबाइलको ब्याट्री फेरि २५ प्रतिशतमा झरिसकेको थियो। बेस-क्याम्प पुगेर फोटो खिच्न नपाउने हो कि भन्ने डर थियो नै। त्यसैले फोटो खिच्न कम गरेँ।
घडीले साँझ ६ बजाउँदा माछापुच्छ्रे हिमचुली अन्नपूर्ण साउथले रङ फेरिसकेको थियो। सुनौलोबाट चाँदी झैं। घाम अस्ताएर बतास चल्न सुरू भइसकेको थियो। जति उकालो लाग्थेँ, त्यति चिसो भइरह्यो। एउटा विन्दुमा पुगेपछि अब बेस-क्याम्प आयो है भनेर झोलाबाट निम्स दाइको किताब झिकेँ। झोला त्यहीँ फालेर बेस-क्याम्पतिर दगुरेँ।
निम्स पुर्जाले ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटा हिमाल छ महिना ६ दिनमा आरोहण गरी नयाँ कीर्तिमान बनाएका छन्। भर्खरै पाकिस्तानको माउन्ट केटु जाडोयाममा पहिलोपल्ट आरोहण गरी अर्को कीर्तिमान बनाए। भन्नुपर्दा अहिलेको समयमा निर्मल पुर्जा नै विश्वका उत्कृष्ट हिमाल आरोही हुन्।
उनले आफ्नो जीवन र साहसिक अनि असम्भव लाग्ने पर्वतारोहणबारे लेखेको यो किताब 'बियोन्ड पोसिबल' सँग मर्दी बेस-क्याम्प पुगेर फोटो खिच्नु मेरो यो यात्राको उद्देश्य थियो। तर अलिकति भनेको पनि आधा घण्टापछि मात्र बेस-क्याम्प (४५००मिटर) पुगेँ।
म यति खुसी भएँ, सायद यति खुसी हिमाल आरोहीहरू शिखरको चुचुरो टेक्दा हुन्छन् होला। खुसी त आखिर उही हो, चाहे त्यो गहिराइमा भेटियोस् चाहे उचाइमा।
धेरै ढिलो भइसकेको थियो मलाई हाइ-क्याम्प फर्किन। हात कठ्यांग्रिएर चलाउनै सकेको थिइनँ। झोला फ्यालेको ठाउँ आउँछ कि भनेर आँखा डुलाउँदै मोबाइलको फ्ल्यास लाइट बालेर ओरालो झरेँ। धेरै बेर खोज्दा पनि झोला भेटिएन। मसँग खोज्ने समय नभएकाले झोला बेस-क्याम्पतिरै छाडेर फर्किने निर्णय गरेँ। ऊर्जा पनि थिएन, मोबाइलमा ब्याट्री पनि सकिँदै थियो।
झोला लिन भोलि फेरि यहाँ आउनुपर्ने कुराले मन अमिलो बनाँउदै तलतिर झरेँ। भोलि त आउँला, केही थिएन, हिँड्न सकिहालिन्थ्यो। तर आज हाइ-क्याम्प पो कसरी पुग्ने हो? यो कुराले अत्याउन थाल्यो। अघिसम्म जाडो भएको थियो, अब चिटचिट पसिना छुट्न थाल्यो। मोबाइलले ब्याट्री 'लो' अघि नै देखाइसकेको थियो। कतिन्जेल टिक्ने हो यो पनि!
धेरै तल झरिसकेपछि बाटोमा असरल्ल अवस्थामा झोला देखेँ। बल्ल महसुस भयो, म यो ठाउँबाट निक्कै माथि पुगेको रहेछु। झोला भेटेको खुसी एउटा ठाउँमा छ, अर्को खुसी भोली बिहान फेरि बेस-क्याम्प आउन नपर्ने भयो।
झोलामा हतार हतार किताब राखेँ। टर्च झिकेर टाउकोमा अड्याएँ, पन्जा-टोपी लगाएँ। फोन हेरेको, अफ भइसकेछ। मेरो कठिन यात्रा सुरू भयो। उकालो आउन जति गाह्रो थियो, त्यसको ९९ गुना मलाई त्यो ढुंगेबाटो ओरालो झर्न भयो। तल झर्दै जाँदा हाइ-क्याम्पका होटलमा बलेका बत्ती देखिन्छन् कि भनेर हेरिरहन्थेँ। एउटा आँखा बाटोमा अर्को बत्ती देखिने आशमा।
यत्तिकैमा हुस्सु लाग्न थाल्यो। टर्चको उज्यालो पनि मधुरो भयो। अगाडिको बाटो मात्र देखिन्थ्यो। अझ उति पर हाइ-क्याम्पमा बलेका बत्ती कसरी देखिऊन्?
दसा बाजा बजाएर आउन्न भन्थे, हो रहेछ। मेरो देब्रे खुट्टा बेस्सरी दुख्न थल्यो। सायद त्यो दिन हिँडाइ धेरै भयो। बोल्न सक्ने भए दुई खुट्टा मिलेर 'एक मिनेट नि आराम गर्न दिइनस् हामीलाई?' भन्दै गाली गर्थे होलान्।
पाँच घण्टा हिँडाइपछि बल्ल हाइ-क्याम्पमा बलेका मधुरा बत्ती देखिए, मन ढुक्क भयो। जब हाइ-क्याम्पको होटल पुगेँ, मान्छेहरू खुब खुसी भए। अझै १०/१५ मिनेट नआएको भए मेरो उद्दार गर्न जाने टोली तयार भएर बसेको रहेछ।
'हजुरलाई फोन गरेको लागेन। हामी त खोज्न जानै लाग्या थिम्,' म बसेको होटेलका भाइले भने।
'अलि विचार गर्न पर्छ दाइ, यहाँ त वर्षमा १/२ जना सेल्टिरा हुन्छन्,' एक जना ओभरस्मार्ट भाइले बीचैमा प्वाक्क बोले।
दालभात खाएर बिहान ५ बजेको अर्लाम लगाएर म निदाएँ। घण्टी बज्नुअगाडि नै उठेँ। तयार भएर बाहिर निस्केको, चिसो बतासले हान्यो। आकासभरि तारैतारा अनि टलक्क टल्केका हिमाल। वाह! चित्रकारले क्यानभासमा पोतेको पेन्टिङजस्तो। 'स्टार-गेजर'हरूका लागि यो पल स्वर्गीय नै हो। मोबाइलले भए पनि एक-दुइटा फोटा खिचेर लोअर भ्यु-प्वाइन्टसम्म उकालो लागेँ।
म हिँड्दा हिँड्दै बाटोमै सूर्योदय भयो। केही फोटा खिचेर हाइ-क्याम्प फर्केँ। मलाई लोअर भ्यु-प्वाइन्टदेखि बादल डाँडासम्मको दृश्यले मर्दी जतिपटक आए पनि पहिलोपल्ट आउँदाजस्तै रोमाञ्चित बनाउँछ। अनि फोटो खिचेर कहिलै थाक्दिनँ।
हाइ-क्याम्पमा चाउचाउ र अण्डाको सुप खाएर मसँग भएका अलिअलि औषधि/चकलेट अब प्रयोगमा आउने छैनन् भनेर होटलका भाइलाई दिएँ। चार बजेसम्म पोखरा पुग्ने मेरो लक्ष्य थियो। यसो भए काठमाडौं छिटो पुगिन्थ्यो अनि लिभरपुल र युनाइटेडको गेम हेर्न पाइन्थ्यो। यो झिनो आशा बोकेर ओरालो झर्दा खुट्टा झन् दुख्न थाल्यो। 'ऐया, ऐया बाबा' भन्दै ओरालो लागिरहेँ।
ओरालोमा पनि यति बिस्तारै हिँड्नु परेकाले आफूभित्रको ट्रेकरले मलाई गिज्याइरहेको थियो। तेर्सो बाटो हिँड्दा केही नहुने। ओरालो आयो कि दुखिहाल्थ्यो।
मलाई हाइ-क्याम्पबाट लो-क्याम्प पुग्नै गाह्रो भयो। अब लो-क्याम्पबाट सिदिङ पो कसरी जाने? सिदिङसम्म सिँढी नै सिँढीको ओरालो बाटो। हुस्सु लागेको जंगलको बाटो हुँदै सिदिङ पुग्दा १२ बज्यो।
होटल ट्रेकर्स प्याराडाइजको आँगनमै प्रदिप जी (होटलका सञ्चालक) भेट भए।
'बुवा नमस्कार,' मैले सोधेँ, 'पोखरा जाने जिप छन्?'
'हिजो त हराउनुभएछ है? कति बजे होटल फर्कनुभयो?' उनले मेरो प्रश्नको जवाफ नदिई सोधे।
तत्कालै जाने जिप रहेनछ। रिजर्भमा जाने हो भने ५/६ हजार रूपैयाँ लाग्छ रे! म पैदलै लुम्रेतिर हानिएँ। लुम्रे सिदिङबाट करिब ८ किलोमिटर जति टाढा पर्छ। त्यहाँबाट पोखरा जाने लोकल बस पाइन्छ। जिपको महँगो भाडा तिर्नुभन्दा लुम्रेसम्म हिँडेर जाँदा उचित। फेरि लुम्रेको बाटो तेर्सो पनि, म सजिलै हिँड्न सक्थेँ।
बिहान हाइ-क्याम्पबाट साढे आठ बजे हिँडेको म, लो-क्याम्प, सिदिङ हुँदै २२ किलोमिटर ओरालो बाटो हिँडेर दिउँसो एक बजे लुम्रे पुगेँ। आधा घण्टा जति कुरेपछि २ बजे पोखरा जाने बस आयो। थकाइ यति लागेको थियो, जहाँ बस्यो त्यहीँ निदाउँछुजस्तो।
बसको सिटमा बसिहालेँ। आधा घण्टाजति समय छ भनेर निम्स पुर्जाको किताब निकालेँ, किताब आधा पनि भएको थिएन। एकैछिन किताब के समाएको थिएँ, कहाँ पढ्न सक्नु! निदाइहालेछु।
मान्छेको हल्लाखल्ला सुनेर आँखा उघारिँदै थिए। गाडीका सिट लगभग सबै भरिएछन्। मेरो छेउको सिटको झोला निकालेर खाली गरिदिएँ। लुम्रेबाट २ बजे हिँडेको साढे चार बजे हरिचोक पुगेँ। अनि ५ बजे पोखरा, पृथ्वी चोक।
काठमाडौं जाने माइक्रोबस सबै छुटिसकेकाले नाइट बसमा जानुको विकल्प थिएन। तर पनि माइक्रो वा कुनै प्राइभेट गाडी पाइएला कि भनेर झोला भिरेर बाटोछेउ सकिनसकी उभिइरहेँ। केही बेरपछि काठमाडौं काठमाडौं भन्दै एउटा माइक्रोबस आयो। हतारहतार भित्र छिरेँ अनि अन्तिमको सिटमा बसेँ।
आधा घण्टादेखि मार्मिक लामा एकोहोरो 'कान्छीको केश मिलाउने' कुरा गर्दै थिए। गाडी भने चलेन। कति बेला निदाएछु पत्तै पाइनँ। कानमा अलिअलि मार्मिक लामाकै आवाज गुन्जिरहेको रहेछ। गाडी कति बजे हिँड्यो, थाहै पाइनँ। मलेखुमा खाना खान रोक्दा अरूको खलबलले मेरो निद्रा खुल्यो। चिया खाएपछि निद्रा पनि हरायो। माइक्रोभित्रको मधुरो बत्तीमा थानकोट नपुगुन्जेलसम्म निम्स पुर्जासँग बित्यो।
घर पुग्दा मध्य रातको साढे बाह्र बजेको थियो। ५४ घन्टा ३७ मिनेट २३ सेकेन्डदेखि दगुरिरहेको 'स्टप-वाच'लाई विश्राम दिएर म सुतेँ।