पोखराको यात्रा सधैं ‘ह्यापेनिङ’ हुने गर्थ्यो। यसपटकको माहोल अलि फरक छ।
सरकारले लकडाउन सकिएको घोषणा गरेको तेस्रो दिन; अफिसियल कामले पोखरा आउपुगेको मलाई साँझमा एकछिन टहलिन मन लाग्यो। अनन्त दाइले स्कुटी निकाल्नु भयो। दुई जना लागियो लेकसाइडतिर।
सोच्दै नसोचेको कुरा, कस्तो निरस समय आएको। आधाभन्दा बढी सटर बन्द छन्। खुलेकामा व्यापारको त कुरा छोडौं व्यापारीलाई समय बिताउन मुश्किल।
कोही मोबाइलको लुडोमा व्यस्त थिए त कोही बाहिरै निस्केर ब्याटमिन्टन खेल्दै। ह्याप्पी फ्राइडेले रातभर जाग्ने लेकसाइड साँझमा पनि चकमन्न छ। फ्याट्ट्फुट्ट विदेशी पर्यटक देख्दा पनि ए पर्यटक रै'छन् है भन्ने हुने। बिचरा उनीहरु आफ्नो देश जान भन्दा नेपालमै सुरक्षित ठानेर बसे। अहिले नेपालमा संक्रमण बढ्दै जाँदा के सोचेका होलान्?
सयभन्दा बढी होटल सधैंका लागि बन्द भएको सुन्दा मनै अमिलो भयो। फाट्टफुट्ट खुलेका रेस्टुरेन्टमा पनि डोरीले तगारो लगाएर 'टेक अवे सुविधा मात्र' लेखिएको छ।
बन्जी नेपाल एडभेन्चरको लगानीमा बनेको पोखराको दोस्रो बन्जीले लकडाउन अगाडि टावर बनायो तर उद्घाटनको मुखैमा कोरोना कहरले टेस्ट जम्प समेत गर्न नपाइ बन्द भएर बस्न परेको छ।
अन्तर्राष्ट्रिय उडान छिट्टै खुलेर बन्जी 'सेट अप' गर्न जापानबाट प्राविधिक त आइपुग्ने भए तर जम्प गर्ने ग्राहक कहिले आउलान्? कति आउलान्? केही निधो छैन।
पोखरामा एडभेन्चरलाई स्थापित गर्न महत्वपूर्ण योगदान दिएको हाइ ग्राउण्ड एडभेन्चरले सटरमात्र बन्द गरेको छैन ‘लकडाउनका कारण सेवा दिन सकेनौं’ भनेर सूचना टाँसेको छ।
फेवा किनारमा बसेर सराङ्कोटको आकाशमा नजर लगाएँ।
प्याराग्याइडिङले इन्द्रेणी पोत्ने आकाश रित्तो छ। तीन सय ३८ पाइलटसँगै ५० बढी प्याराग्लाइडिङ कम्पनी अनि तिनमा आश्रित जनशक्ति के गर्दै होलान्?
माछापुच्छ्रेको ऐना फेवाताल ‘बराखी’ बसेझैं लाग्छ। रित्ता अनि रङ उड्न थालेका डुंगाहरू वरिपरि जलकुम्भीले साम्राज्य फैलाउँदै छ। लकडाउन खुलेसँगै आशाका किरणहरू भने छरिएका छन्।
एक जना दिदी बर्खाले ढुसी आएका डुङ्गा सयर गर्दा लगाउने लाइफ ज्याकेट सुकाउँदै थिइन्। कोही पानीले गलेका डुंगा मर्मत गर्दै थिए।
बाटोमा भेटिएका विदेशी, टेक अवे सेवा मात्र लेखेर बसेका रेस्टुरेन्ट सञ्चालक, ब्याटमिन्टन खेल्दै गरेका फेन्सी पसले र माछा मारेर दिन कटाउँदै गरेका बोटेहरूसँग गफिनु आलो घाउमा नुन छरेझैं हुने ठानेर मन हुँदाहुँदै पनि भलाकुसारी गर्न सकिनँ।
मन फुकाएर डुल्न र एडभेन्चरमा रमाउन नपाए पनी साथीहरू सँग भेटघाट चाहिँ राम्रै भयो।
भूकम्पको मार पछाडि पर्यटनले विस्तारै लिएको गति अनि नेपाल सरकारले गरेको पर्यटन वर्षको घोषणासँगै आशाका पालुवा पलाएको पर्यटनमा कोरोना भाइरसका कारण अपुरणीय बज्रपात आइलागेको छ।
यस अवस्थामा केन्द्र र स्थानीय सरकारहरूले बेलैमा पर्यटन व्यवसायीलाई राहत हुने गरी सम्बोधन गर्नु आजको आवश्यकता हो।