अफिसको कामले पोखरा पुगेको थिएँ। त्यही बेला प्रभु हेलिकप्टरका पोखरा शाखा प्रबन्धक सुजन जोशीसँग भेट भयो। फुर्सद भए मर्दी हिमालको माउन्टेन फ्लाइट जान सुजनले प्रस्ताव गरे।
आफ्नो त काम नै घुम्ने। नयाँ-नयाँ ठाउँ घुम्ने,नयाँ अनुभव बटुल्ने अनि ती अनुभव समेटेर तपाईंहरूलाई बाँड्ने। राम्रो अवसर छोड्ने कुरै भएन। त्यसैले प्रस्ताव सहर्ष स्वीकारें।
भोलिपल्ट आठ बजे मेरो यात्रा तय भयो। रात बस्ने गरी जाने निधो गरें।
बिहानै एयरपोर्ट पुगें। धेरैपछि हेलिकप्टरमा यात्रा गर्दै थिएँ। फागुन अन्तिमको समय पोखरामा गर्मीले छोपिसकेको थियो।
पहिलोपल्ट मर्दी टेक्न लागेको उत्साह मनमा छँदै थियो त्यसमाथि त्यहाँ हरेक साँझ हिउँ पर्छ भन्ने सुनेपछि कतिखेर पुगौंझैं भयो। ग्राउण्ड क्रु दिलु जीले मेरो तौल र अन्य जानकारी लिए।
सबैमा फिट छु भन्ने ग्रीन सिग्नल पाएपछि हेलिकप्टर चढें साथमा थिए फ्रान्सेली पाइलट राफेल।
राफेलले हेलिकप्टरको टेक अफ लिए। विस्तारै हामी आकाशमा उड्न थाल्यौं। 'बर्ड आइ भ्यू' मा पोखरा नियाल्दै थिएँ। काठमाडौंभन्दा हरियो छ पोखरा। काखैमा फेवाताल। माथि दिब्य ध्यानमा बसेको बौद्ध शान्ति स्तुपा।
विस्तारै हेलिकप्टरले उचाइ लिँदै थियो। मेरा आँखा फेवातालमा टक्क अडिए। फेवातालको माथिल्लो भाग पुरिएको रहेछ, त्यहाँ कतिले प्लटिङ गरेर घरै बनाइसकेका।
केही अगाडि पोख्रेली पत्रकार फडिन्द्र अकिन्चन दाइले हट एयर बेलुन उड्न जाँदा भनेको याद आयो-"फेवातालमा अतिक्रमण प्राकृतिक पनि छ, मानवीय पनि छ। फेवातालको माथिल्लो भागमा हर्पन लगायतका खोलाले ल्याउने माटोले पुरिएको छ भने कतै मानिसले पुरेर घर पनि बनाएका छन्।" यो दृश्य देख्दा नरमाइलो लाग्यो। यस्तो सुन्दरतालाई पनि मान्छेले किन चिन्न सकिरहेका छैनन्? मनमनै सोचें। हुन त नजिकको तीर्थ हेला भन्छन् सायद यो दृश्यले थप प्रस्ट पार्छ जस्तो लाग्यो।
नभए त प्रकृतिको यस्तो अनुपम उपहारलाई पनि किन उपहास गरिरहेका छन् यहाँका मान्छेले?
अनि
पोख्रेली साहित्यकार कपिल शर्माको हाइकु सम्झिएँ:
ए फेवातल
तिमी छिट्टै सुक त
प्लटिङ् गर्नु छ।
हेलिकप्टरमा हामी दुई। के नबोली बस्नु ? मैले सोधिहालें: नेपालमा काम गर्दाको अनुभव कस्तो छ त?
उनले मतिर हेरेर फिस्स हाँस्दै थम्स अप गरे।
त्यतिनै बेला एयरपोर्टबाट केही सन्देश आएछ क्यारे उनले हेडफोनमा जोडिएको माइक्रोफोन मुखतिर सोझ्याउँदै उत्तर फर्काए, त्यसपछि मसँग बोल्न थाले-टाढा हुँदा आफ्नो देश र आफन्तलाई 'मिस' त गरिन्छ तर यो उचाइ अनि यति सुन्दर ठाउँमा उडाउन पाउनुको मज्जा अर्कै छ। जो कोही पाइलट यति भाग्यमानी हुँदैनन्।
माछापुच्छ्रे र मर्दी हिमालसँग दुरी नजिकिँदै थियो। पाइलटले हेलिकप्टर मर्दी हिमाल हाइ क्याम्पमा ल्याण्ड गराए।
लालीगुराँसको जंगलले घेरिएको थुम्को। उत्तरमा अन्नपूर्ण साउथ र हिमचुली हिमाल, पूर्वमा नाकैमा ठोकिएला झैं उभिएको माछापुच्छ्रे र मर्दी हिमाल। दक्षिण पूर्वमा पोखरा उपत्यका।
अहो! मलाई त अर्कै संसारमा पुगेंझैं भो। यति सुन्दर, यति शान्त अनि यति मनमोहक दृश्य जिन्दगीमै पहिलो पटक देख्दै थिएँ। साँच्चै एकटक हेरिरहुँ,यसमै विलिन हुन पाए! जस्तो लाग्यो। यी दृश्यलाई मन, मस्तिष्कमा मात्र कैद गर्न सकें। बोल्न केही शब्दै पाइनँ।
त्यसपछि होटलतर्फ लागें। होटलमा पस्दै गर्दा बेलायती नागरिक ब्राड कफी पिउँदै थिए। उनीसँगै एकछिन गफिएँ। नेपाल आउनु अगाडि गरिब देश भनेर सुनेको तर यहाँको प्राकृतिक सुन्दरता देख्दा विश्वकै धनी देश लागेको सुन्दा खुसी लाग्यो।
त्यहाँ फलामे ट्रस्ट र जस्ताले छाएका १० आकर्षक होटल रहेछन् सुविधासहित। सबै होटलमा एउटै मेनु। मान्छे र खच्चडले बोक्नु पर्ने भएकोले खाना केही महँगो छ तर बास बसेको भने जम्मा तीन सय पचास रुपैयाँ प्रति व्यक्ति रहेछ।
होटल स्नोल्याण्ड एन्ड स्पाका संचालकरवीन्द्रले मर्दीको बखान गरे-"यहाँ धेरै उकालो छैन र यो रूट शान्त पनि छ। उत्तरतर्फ अन्नपूर्ण आधार शिविर जाने बाटो र दक्षिणमा पोखरा उपत्यकाको दृश्य देख्न पाइन्छ। जाडोमा डाँफे देख्न पाइन्छ भने जेठ असारमा मृग झारल, घोरल।"
ब्रेकफास्ट खाएर पैदल हिँड्ने निधो गरें। हेलिकप्टरबाट एकैपटक उचाइमा आएकोले माथि जानभन्दा तल झर्न उचित लाग्यो। हुस्सुले पूरै डाँडा ढाकेको थियो।आफूभन्दा १/२ मिटभन्दा अगाडि केही नदेखिने।रोकिनु या हिँड्नु दोधारमा परें। बाटो भुल्छु कि जस्तो लाग्यो तर एक स्थानीय व्यापारीले बाटो देखाइदिए। पछि एक्लै ओरालो झर्न थालें।
दैनिक सयौं पर्यटक ट्रेकिङ गर्ने बाटोको बिजोग देख्दा पर्यटकसँग टिम्सलगायत शुल्क लिएकोमा तिनै पर्यटकले के सोच्लान भन्ने लाग्यो। कुनि के गर्नेलाई भन्दा देख्नेलाई लाज!
बाटोमा भ्यु पोइन्ट पुगेर फर्केका नेपाली साथीहरू भेटिए। गफिँदै झर्न सजिलो भयो। आइ एम इ लाइफ इन्स्योरेन्समा कार्यरत सृष्टि श्रेष्ठ (२७) एक हप्ताको बिदा लिएर आएकी रहिछन्। ३ दिनको ट्रेकपछि भ्यू पोइन्ट पुग्दा स्वर्गमा पुगेको अनुभव भएको उनले सुनाइन। उनले यो बताइरहँदा कुनै कृम नपोतिएको उनको अनुहारलाई खुसीको भावले मेक अप गरिरहेको थियो।
लालीगुराँसको जङ्गल, भुइँ हिउँले ढपक्कै ढाकेको छ हामी बेचैन पदयात्रामा छौं। बाटोमा एक लस्कर खच्चड भेटिए। बेलुका तिनै खच्चडले ओसारेको अनाज जो खानु छ। त्यो चिसोमा तिनको दुख देख्दा दया पनि लाग्यो।
बाटो पहाडको माथि-माथि थियो। बाटो बाटै उत्तरतर्फ अन्नपूर्ण आधार शिविर जाने बाटो देखियो। मुस्कुराइरहेको छोमरोङ गाउँ, सिनवा देख्दा दस महिना अगाडि साथीहरू सँगै त्यही बाटो यात्रा गरेको याद ताजा भयो।
विस्तारै करिब डेढ घन्टा ओरालो लागेपछि बतासे डाँडा पुगियो। सँगै ओरालो झरेका साथीहरूलाई बिदाइ गरें। मलाई अब फेरि हाइ क्याम्प उक्लनु थियो।
होटल थ्री सिक्स्टी भ्यूमा रोकिएँ। मसला टि पिउदै उकालो लाग्ने तरखरमा रहेकहरूसँग चिनाजान गरें। आफूलाई उकालोमा साथ दिने साथी चाहिएको थियो।
ट्राभल एन्ड टुरिजममा स्नातक तह पढ्दै गरेकी प्रशंसा सिग्देल सोलो ट्राभलर रै'छिन। नुडल्स सुप पिउँदै उनले सुनाइन्-"एक्लै डुलेर नयाँ मान्छेहरु भेट्नु अनि आफ्ना अनुभूति बाँड्नुमा अर्कै रमाइलो छ। त्यसैले प्राय: म एक्लै निस्कन्छु घुम्न।"
प्रशंसासहित जर्मन नागरिक लिएर मर्दी ट्रेकिङ पुगेका ट्रेकिङ ब्यवसायी एवम गाइड गोविन्द तिमल्सिनाको समूहसँगै म पनि उकालो लागें। छोटो दुरी गुँरासको जंगल बीचमा होटलहरू, नजिकबाट धेरै हिमालको अवलोकन गर्न पाइने भएकाले पर्यटकहरू मर्दी ट्रेकिङमा रमाउने गरेको तिमिल्सिनाले बताए। उनले आफ्नो वर्षौको अनुभव हामीलाई सुनाए। उनको यात्रा वर्णन सुन्दै बाटो काटेको पत्तै भएन।
करिब दुई घन्टा उकालो चढेपछि हामी हाइ क्याम्प पुग्यौं। छोटो यात्रामै नजिक भैसकेकोले मैले सबैलाई मै बस्ने होटलमा जान आग्रह गरें। सबैले स्वीकार गरे।
त्यो दिनको यात्रा सकिएको थियो। रवीन्द्रले भट्टीचुलोमा आगो सल्काए। आगो ताप्दै गफ गर्दै थियौं बाहिर आकाशबाट कपास पोखे जस्तै गरी हिउँ परिरहेको थियो। मलाई बाहिर गएर उफ्रन मन थियो। जगेडा कपडा थिएन। मन थामें। साँझ खाना खाइवरी सुत्यौं। ओढ्ने ओछ्याउनेको प्रबन्ध त राम्रै थियो तर धेरै उचाइमा भएकोले होला निन्द्रै पर्न मुश्किल भो। एक्लै कोठामा न कोहीसँग बोल्नु, न केही। जसोतसो रात काटियो।
बिहान ५ बजेको अलार्म थियो। ४:३० मै ब्युँझिएँ।
नित्यकर्म सकेर हामी उकालो लाग्न थाल्यौं। केही माथि पुगेपछि हाइ क्याम्पको दृश्य असाध्यै राम्रो देखिने रहेछ। सबेरै भएकोले पोखरा बत्तीको झिलिमिलीले आकर्षक देखिन्थ्यो।
गोविन्द लगायत साथीहरू भ्यू पोइन्ट पुग्ने धुनमा थिए तर म भने ७:३० बजेको उडानमा फर्कन पर्ने भएकोले भ्यू पोइन्ट भन्दा केही तल पुगेर फर्किएँ।
हाइ क्याम्प झरेर कफी पिउन नभ्याउँदै हेलिकप्टर आइपुग्यो। पुराना चिनजानका पाइलट रनिस डंगोल आएका रहेछ्न्। रनिससँग मर्दीको अनुभव साट्दै पोखरा फर्किएँ।
हुन त कोरोनाको त्रासले भिजिट -२०२० स्थगित भइसकेको छ। सरकारले १४ दिने लकडाउन घोषणा गरिसकेको छ। कोरोनाले सबै क्षेत्रलाई प्रभावित गइरहेको छ।
तर आशा गरौं यो क्षणिक हो र यो दु;खद घडीबाट हामीले चाँडै पार पाउनेछौं। नयाँ आशा, नयाँ उमंग साथ फेरि मर्दी टेक्ने छौं,विश्वसामु हाम्रो देशको प्राकृतिक सुन्दरताको बखान त गर्नुनै छ।