उर्लिरहेको बैंशमत्त कालीगण्डकीको खोंचमा पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने आधा किलोमिटर लामो पुल।
दायाँबायाँ ४/४ वटा लठ्ठामा झुन्डिएको सस्पेन्सन ब्रिज (झलुङ्गे पुल) नेपालमै यो डिजाइनमा पहिलो पटक बन्दै छ।
हो, यो त्यहीँ ठाउँ हो जहाँ अबको केही महिनामा एड्भेन्चरस् र थ्रिलको रूपमा चिनिने विश्वकै दोस्रो अग्लो ठाउँमा रहेको बञ्जी खेल खेलाइने छ।
उसै त मलाई एड्भेन्चरस् गतिविधिले छिट्टै तान्छ। झन् यो ठाउँमा पुगेपछि मन नलोभिने कुरै भएन।
गत साता पारिवारिक कामले बाग्लुङ जाने जुरेको थियो। त्यही दौरान बाग्लुङ पुगेर फर्कंने क्रममा पर्वतको सदरमुकाम कुश्मामा रोकिएँ।
हुन त अग्ला र लामा पुल भएको जिल्लाको नामले परिचित छन पर्वत र बाग्लुङ। झन् अहिले दुई जिल्ला(पर्वत र बाग्लुङ) जोड्ने गरी फेरि अर्को नेपालकै लामो र अग्लो पुल बन्दैछ।
जुन तयारी अवस्थामा त यति आकर्षक र मनमोहक छ भने झन् बनिसकेपछि कस्तो होला! सम्झेरै आन्नदको अनुभूति हुन्छ।
निर्माणको काम त पूरा भइसक्यो। बञ्जी र स्विङको सेटअप पनि नयाँ बर्ष अगावै सकाउने तयारी भइरहेको छ। भनिन्छ नि ‘मौकामा चौका’ हान्नुपर्छ । सायद बेलामौकामा आउने यस्तै पललाई भनिएको होला।
मौकाको फाइदा त उठाउनै पर्यो। त्यही भएर आएको बेला पुल हेरेरै जाने निधो गरियो।
भित्रैसम्म चिऽऽऽसो हुने मौसम। बादल अनि कुहिरोसँगै लुटपुटिएको पुल। घरि मौसम धुम्म हुन्थ्यो, घरि छ्याङ्ङ। साँच्चै लोभलाग्दो थियो दृष्य। डिलमा उभेर हेरें।
उर्लिरहेको बैंशमत्त कालीगण्डकीको खोंचमा पर्वत सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने आधा किलोमिटर लामो पुल।
म दौडेर पुलको बीचमा पुग्न यति लालायित भएँ कि, वर्षौं विदेशिएर फर्केको प्रेमीलाई स्वागत गर्न एयरपोर्ट पुगेकी प्रेमिका जस्तै।
दायाँबायाँ ४/४ वटा लठ्ठामा झुन्डिएको सस्पेन्सन ब्रिज (झलुङ्गे पुल)। मेरा पैताला बिस्तारै अगाडि बढें।
एकैछिन अगाडिको एक्साइटमेन्ट थ्रिलमा परिणत भयो। यसअघि रक क्लाइम्बिङ, क्यानोनिङ, र्याफ्टिङ, प्याराग्लाइडिङ, जिपलाइन, बञ्जी, स्वीङ गरिसकेको म ‘जाबो’ पुल तर्दा कताकता कहालिएँ।
मनको कुनै कुनामा डरले डेरा जमाउन खोज्दै थियो। सानोमा गाउँकै अग्लो चाँपको रूखमा चढेको घमण्डले अहिले आफैंलाई जिस्काएझैं भयो।
२२८ मिटर अग्लो पुल जो तर्दै थिएँ। पुल तर्दा त यो हालत छ जम्प गर्दा के होला? सम्झदै अतालिन्छु।
फेरि एक मनले सोच्छु, होइन जम्प त गर्नैपर्छ। आखिर यस्तै एड्भेन्चरस् त हुन् डरलाई जित्न सिकाउने। जिन्दगीमा हिम्मत जुटाउन सघाउने, अनि डरलाई जित्दै अघि बढ्न हौसला दिने पनि। बीचमा पुगेर म टक्क अडिएँ।
डोम आकारमा जम्प गर्ने प्लाटफर्मलाई निकै आकर्षक र सुरक्षित बनाइएको रहेछ। प्लाटफर्ममा काठ बिछ्याउने काम भैरहेको थियो।
सायद मलाई उर्लिरहको कालीगण्डकीसँग नजर जुधाइरहन हिम्मत पुगेन अनि सरासर लागें पारि बाग्लुङतर्फ।
कम्पनीले पुल बनाएर बन्जी, स्वीङ र स्काई साइक्लिङसँगै रिसोर्ट बनाउँदै रहेछ। जुन लगभग सकिने अवस्थामा छन्।
कुँदेर सर्लक्क पारेका ढुंगाको गाह्रो अनि स्थानीय स्लेट ढुंगाले चिटिक्क छाएको रिसोर्टको रिसेप्सन हल, बार र डाइनिङले जो कोहीलाई लोभ्याइहाल्छ।
सँगै २१ वटा सफारी टेन्ट लगभग तयार भएका रहेछ्न्।
गार्डनिङ र सरसफाइको काम पनि हुँदै थियो।
रिसोर्ट पुग्नासाथ भेटिए कम्पनी अर्थात् द क्लिफका अध्यक्ष एवम् मेरा मित्र राजु कार्की।
द लास्ट रिसोर्टमा बन्जी मास्टरको अनुभव संगालेका उनी पछिल्लो समय युरोपमा राम्रै कमाउँदै अनि परिवार जमाउँदै थिए।
यसै परियोजनाको परिकल्पनापछि उनी २०७३ देखि यहीँ पाखोमा आफ्नो भविष्य बनाउँदै छ्न्।
नेपालमा भविष्य नदेखेर दिनहुँ हजारौं युवा पलायन भैराखेको समयमा राजु युरोप छोडेर आफ्नै माटोमा केही गरुँ भन्ने धुनमा छन्।
अनि नेपालमा बसेर केही हुँदैन भन्नेका लागि उनी गतिला उदाहरण बनेका छन्।
फ्रान्सकी फ्लोरेन्सले पनि उनको सपनालाई पूरा गर्न साथ दिइरहेकी छन्, काँधमा काँध मिलाइरहेकी छन्।
आखिर श्रीमती हुन्, उनको धुनमा फ्लोरेन्सले लय थप्दै आइरहेकी छन्।
सम्पूर्ण परियोजना सक्न करिब बीस करोड लाग्ने राजुले बताए। कार्की जोडी सँगै युवराज जोशी, नेत्र प्रसाद पराजुली लगायतको लगानी रहेछ।
द क्लिफ प्रालिले यो परियोजनापछि विश्वकै दोस्रो अग्लो बन्जीमा आफूलाई दर्ज गर्ने दाबी गरेको छ। त्यति मात्र होइन यहाँ सन्चालनमा आउने स्वीङ र स्काई साइक्लिङ अर्को रोमान्चक पाटो बन्नेछ। जहाँ थ्रिल खेल मन पराउने खेलप्रेमीले नयाँ अनुभव बटुल्नेछन्।
यो विश्वकै सबभन्दा उचाइमा बन्न लागेको कम्पनीको दाबी छ।
पोखराबाट नजिक ५५ किमी, अन्नपूर्ण बेस क्याम्पको गेटवे नयाँपुलबाट १५ किमीमात्रै र मुस्ताङ जाने बाटो भएकाले पनि पर्वतमा चहलपहल बढ्दै गइरहेको छ।
यो पुल बनेपछि खेलप्रेमीलाई मात्र होइन पैदलयात्रीलाई पनि फाइदा पुग्नेछ। पैदलयात्रा गरेर बागलुङ –पर्वत आवतजावत गर्नका लागि यान्त्रिक पुलको सजिलो विकल्प हुनेछ।
बाटो छोटिएपछि कृषि क्षेत्रमा पनि टेवा पुग्ने देखिन्छ।
बाग्लुङका कृषि उपज सजिलै कुश्मा बजारमा पुग्ने छन्। जसले गर्दा कृषकलाई सजिलो पनि हुनेछ अनि फाइदा पनि।
पर्यटन प्रवर्द्धन र कृषि क्षेत्रमा यसले कतिको सहयोग पुर्याउला त्यो त आगामी दिनले बताउने छ।
मलाई पोखरा फर्कन हतार थियो। राजुले बस्न कर गरे। नाइ भन्न सकिनँ। बलेवाको द क्लिफ रिसोर्टमा व्यवसायिक सुरूआत नहुँदै बस्ने मौका जो जुरेको थियो।
बिहान चराको चिरबिरसँगै उठेर म पोखरा लागें, उद्घाटनकै बेला बन्जी गर्न फर्कंने वाचासहित।
भ्रमण वर्ष २०२० चलिरहेको छ। २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ।
सरकारसँगै हातेमालो गरेर पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याऔं। भ्रमण वर्ष सफल पारौं।
शुभकामना!