बेनी कटेर लेतेतर्फ लाग्दा सडक नामको मात्रै सडकभन्दा फरक नपर्ला।
बेनी बजार पुग्नै लाग्दा मनमनै राजु परियार र बालकुमारी दुराको ‘बेनीको बजार, जता माया उतै छ नजर तिरे मिरे जाले रुमाल’ भन्ने कुनै जमानाको चर्चित गीत मानसपटलमा घुम्न थाल्यो।
घासामा गाडी रोकिन्छ भनेर पोखराबाट नास्ता पनि नगरी ६ बजेनै फिरेका थियौं। अघिल्लो दिनको अनिन्द्र र गाडीको यात्राले शरीर लखतरान परेको थियो।
म र हरी गजुरेल गाडीबाट झर्यौं, निर्दोष घोरासाईंने भने गाडीमै बसे।
अरु साथीहरू अलि पर गएर मात्रै खाना खाने निर्णय गरेछन्। जुस भने पनि पिउँछु भनेर एउटा पसल छिरें। हरी पहिल्यै त्यो पसलमा गएर जुस पिउँदै एक युवकसँग गफिँदै रहेछन्।
ती युवकले भने, ‘तपाईंहरू यही गाडीमा मुक्तिनाथ जाने हो?’
‘हो’ हामीले जवाफ दियौं।
यो गाडी त जोमसोम पनि पुग्दैन होला, त्यस्तो बाटोमा यो गाडी कसरी जाला र!
ती युवकले यत्ति भनेपछि मनमा डरको बबन्डर नै चल्यो।
डर यति कुराको मात्र होइन। हाम्रा गाडीको चालक वीरगञ्जका। उनको पनि मुस्ताङ यात्रा पहिलोपटक नै रहेछ।
एक त चालकको लागि नयाँ सडक, त्यसमाथि टु ह्विल ड्राइभ भएको १५ सय सिसिको गाडी सन्तुलन बिग्रिएर भिरबाट खस्ने पो हो कि! जस्तो लाग्यो। तर त्यो डर अरुलाई भने सुनाइनँ।
यसै त केटाहरूले सानो कुरामा पनि एक अर्कालाई उडाए बसिखान दिँदैनन्।
बेनी बजार कटेपछि कालिगण्डकी रिर्सोटमा खाना खाएर लेतेतर्फ लाग्यौं।
घासा हुँदै लेते लाग्दा कच्ची बाटो त्यसपछि ठाडो ओरालो अनि फेरि मोड। डरको सीमाना थिएन।
ओरालोमा गाडीले सन्तुलन गुमाउँला कि! भन्ने डरले मुखबाट कुनै शब्द निस्किएको थिएन।
त्यो बेला भने साँच्चै एड्भेन्चर टूरको अनुभूति भयो।
गाडी जति गुड्छ हिमाल त्यही नजिक। बाटो कच्ची भए पनि आँखाले पहिलो पटक त्यत्ति नजिकबाट हिमाल देख्दा बाटोको अवस्था बिर्सियौं।
लेते पुग्दा साँझ परिसकेको थियो। गाडीबाट झर्ने बित्तिकै चाँदीजस्तो टल्किएको निलगिरी, टुक्चे, धौलागिरी, अन्नपूर्ण हिमालले ज्यानको थकान र मनको डर सबै हराएर गयो।
लेतेमा कालापानी गेष्ट हाउसमा बास बसियो। भोलिपल्ट बिहान उठेर हेर्दा घामले हिमाललाई स्पर्श गरेको दृष्यले मनलाई झनै रोमाञ्चित बनायो।
बिहान करिब ९ बजे हामी मुक्तिनाथतर्फ लाग्यौं। त्यो बाटो पनि कहाँ गतिलो हो र! जोमसोम पुग्दा १२ बज्नै लागेको थियो।
नेपथ्यको गीतमा भनेझै मान्छे उडाउँला जस्तो हावा चलेको थियो। जोमसोममा खाना खाएपछि सुरू भयो हाम्रो डेस्टिनेसन–मुक्तिनाथ।
जिन्दगीमा कहिल्यै हिउँ नदेखेको भएर होला कागबेनी नपुग्दै बाटो छेउमा देखिएको हिउँले रोमाञ्चित बनाउँदै थियो।
कागबेनी कटेपछि हाम्रो टोलीका सबै जसो चकित भए। जता हेर्यो उतै हिउँ। रेलका लिक जस्ता धर्सार्को भरमा चालकले गाडी गुडाउँदै थिए।
मुक्तिनाथ मन्दिर पुग्ने बेलामा ड्राइभरले गाडी मिलाउँदै गर्दा पछाडिको पांग्राले लिक छोड्यो। त्यो पांग्रा कसरी ट्रयाकमा आउँला भन्ने डर लाग्यो। अलिकति गाडीको सन्तुलन बिग्रिएको भए भिरमा खस्ने निश्चित थियो। तर धन्न गाडी सन्तुलनमा आयो।
मुक्तिनाथ दर्शन गर्यौं।
मुक्तिनाथबाट झनै राम्रो दृष्य देखिँदो रहेछ। जता हेर्यो उतै हिउँ। सानो छँदा ‘भारतीय धार्मिक टेलिफिल्म ‘ओम नम: शिवाय’मा भगवान शिव बस्ने कैलाश पर्वत झै लाग्यो।
त्यो फिल्मको सेट थियो। तर म वास्तविक हिमालको काखमा थिएँ।
जतिबेर बसे पनि बसिरहूँ जस्तो लाग्ने। तर हामीसगँ समय थोरै थियो र मौसम बिग्रदै थियो।
हिउँ परेर बाटो छेकियो भने अप्ठ्यारो पर्छ कि! भन्ने डर सबैमा थियो।
पहिले–पहिले मुक्तिनाथमा धर्म गर्न जाने भन्ने सुनिन्थ्यो तर अहिले हिमालको आनन्द लिँदै तस्बिर खिचाएर सामाजिक सञ्जालमा पोस्टिनेको जमात ठूलो छ।
म चाहिँ दोस्रो क्याटोगोरीमा पर्छु भन्दा फरक नपर्ला!
करिब १ महिना अगाडि सोल्टी होटलमा भएको एउटा कार्यक्रममा साथीहरू निर्दोष र हरीले मुस्ताङ जाने प्लान सुनाएका थिए।
युनाइटेड ट्रेडर सिन्डिकेट प्रालिले मुस्ताङको ‘एड्भेन्चर टूर’ तय गरेको रहेछ। प्रालिको टु ह्विलर ‘टोयोटा रस’को परीक्षण गर्ने उनीहरूको लक्ष्य रहेछ।
२ पटक मुस्ताङ जाने प्लान बनाएर पनि दुबैपटक कार्यक्रम रद्द भएको मलाई यो योजनाले उत्सुक बनाएको थियो। तर मुस्ताङको सडक यस्तो डरलाग्दो होला भन्ने कल्पना पनि गरेको थिइनँ।
७ वटा ‘रस’ र २ वटा हाइलक्समा धुम्बाराहीबाट फागुन २१ गते हाम्रो यात्रा सुरू भयो।
पहिलो दिन पोखरा, दोस्रो दिन लेतेको बास भयो तेस्रो दिन मुक्तिनाथ दर्शन गरेर दिन लेतेनै बस्यौं।
चौंथो दिन पल्लो मुस्ताङ जाने कार्यक्रम तय थियो। तर यो मौसममा उपल्लो मुस्ताङको बाटो बन्द रहेछ। हाम्रो गन्तव्य पनि परिवर्तन भयो।
आयोजकले ढुम्बा ताल जाने निणर्य गरे। हिउँदमा ढुम्बा ताल पुरै जमेको भन्ने सुनेको थिएँ।
उपल्लो मुस्ताङ जान नपाए पनि ढुम्बा ताल जाने निणर्यले म खुसी थिएँ। बाटो भने उस्तै उबडखाबड।
मुस्ताङमा अन्तिम दिन हाम्रो टोली ढुम्बा तालको लागि रवाना भयो। त्यो उचाइमा त्यस्तो ताल सायद प्रकृतिको बरदान नै हुनुपर्छ। भिडियो टोलीले पनि त्यो ‘सटको’ राम्रै उपभोग गर्यो।
कञ्चन पानीको ताल र त्यसमा हिमालको प्रतिबिम्ब। स्वर्ग हुन्छ भने सायद यस्तै हुन्छ होला मैले कल्पना गरें।
फेरि हाम्रो त्यो रात लेतेमै बित्यो।
भोलिपल्ट बिहानै पोखरा हिँड्यौं। बिहान सबेरै हिँडेको कारण चाँडै नै पोखरा पुग्यौं। केही घण्टा पोखरामा डुलेर होटल फर्कियौं।
हाम्रो यात्राको समय र उद्धेश्य दुवै पूरा भइसकेको थियो। २६ गते काठमाडौं फिर्किनु थियो।
बिहान होटलमै नास्ता गरेर हिँड्ने सुरसार कस्यौं।
आयोजकले एउटा गाडीमा ३ जना मात्र हाल्ने भनेको थिए। तर जति धेरै मान्छे भयो उति रमाइलो। गाडीमा स्पेस पनि राम्रै थियो। त्यसकारण बसन्तराज उप्रेती र नवीन अर्याललाई पनि हाम्रै गाडीमा आउन आग्रह गयौं। तर एक जना पछाडि बस्नुपर्ने भयो।
निर्दोषले मलाई लास्टमा बस्न भने। पालैपालो ठाउँ फेर्ने भन्ने उनको मनसाय थियो। मैले ‘हुन्छ’ भने। ७ सिटको टोयोटा अन्तिम सिटमा सामान राखिएको थियो। र अर्को सिटमा म।
यात्रा अवधिभर बीचको सिटमा बसेको मलाई लास्ट सिट झनै आरामदायी लाग्यो। मैले सिट फेरौं भनेर कसैलाई भन्दै भनिनँ र उनीहरूले पनि लास्टमा गाह्रो हुन्छ भन्ठाने होला मलाई सोध्दै सोधेनन्। बेलुका करिब ७ बजे धुम्बाराही आइपुगेर हाम्रो यात्रा टुंगियो।