के तपाईँ बर्खापछि मुक्तिनाथ यात्रामा निस्कने तयारी गर्दै हुनुहुन्छ, यदि त्यसो हो भने तपाईँका लागि खुसीको खबर छ। मुक्तिनाथको फेदी ठिनी गाउँमा सस्तोमा खाना खुवाउने र बास बस्ने गरी थकाली होमस्टे खुलेको छ।
मुस्ताङको घरपझोङ गाउँपालिका वडा नं ५ ठिनी गाउँको होमस्टे शनिबार नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले उद्घाटन गरेका छन्। करिब ११० घरधुरी रहेको गाउँका ५ घरमा होमस्टे सुविधा छ।
थकाली समुदायको उद्गम थलो ठिनीमा पर्यटन मार्फत सम्बृद्धि ल्याउन होमस्टे सुरू गरिएको हो। मुस्ताङको सदरमुकाम जोमसोमसँग जोडिएको गाउँमा थकाली सभ्यता अध्ययन गर्न पाइन्छ। ठिनीबाट मुक्तिनाथ यात्रा गर्न जिपमा डेढ घन्टा लाग्छ। ठिनीबाट मुक्तिनाथ २४ किमी छ।
कार्यक्रमका प्रमूख अतिथि सिइओ जोशीलाई ठिनी गाउँले आफूलाई मोहित बनाएको बताए। कार्यक्रमको उद्घाटन गर्दै उनले भने, ‘गाउँलेको उत्साह र आत्मियताबाट प्रभावित भएँ। यति सुन्दर गाउँको पर्यटन विकासमा हामी सहयोग गर्न तयार छौं।’ उनले सबै मिलेर एकीकृत रुपमा पर्यटन विकासमा लाग्नुपर्नेमा जोड दिए।
होमस्टेमा अन्नपूर्ण क्षेत्र र मुक्तिनाथ घुम्ने पर्यटक लोभिनेमा गाउँले आशावादी छन्। ‘हाम्रो होमस्टेमा बेडको दुई सय रूपैयाँ र खानाको २ सय ५० रूपैयाँ मात्रै पर्छ’, थकाली सामुदायिक होमस्टेका अध्यक्ष सनप्रसाद थकाली भन्छन्, ‘हामी पाहुनालाई लोकल परिकारहरू फापरको रोटी, नुन चिया, ढिँडो, चम्पा, याकको सुकुटी, स्याउ, आदि खुवाउँछौं ।’
पाहुना बढ्दै जाँदा होमस्टेको क्षमता बढाउँदै जाने गाउँलेको योजना छ। जनमुक्ति युवा क्लबका सचिव निरज थकालीका अनुसार गाउँलेहरु होमस्टे पर्यटनबाट आम्दानी हुनेमा आशावादी छन्। ‘हामीलाई पर्यटन सम्बन्धी थप तालिमहरू चाहिएको छ’, उनले भने, ‘हामी बेनीदेखि जोमसोमसम्म दसैं अगाडिनै होमस्टेको प्रचारात्मक होर्डिङबोर्ड राख्ने योजनामा छौं।’
ठिनी गाउँमा घुम्नका लागि कुछप तेरङ्गा गुम्बा, युङडुङ गुम्बा, लकी कर्पोक गुम्बा, घरपझोङ किल्ला, ढुम्बाताल, निलगिरि हिमाल, थकाली संग्रहालयलगायत सम्पदा छन्। ठिनीलाई हिउँ चितुवाको राजधानीसमेत भनिन्छ। गाउँमाथिको नमखुलेकमा क्यामेरा ट्रयापिङमा चार वटा चितुवा परेका थिए।
कार्यक्रममा मुस्ताङका निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मण बहादुर खड्का, कन्सेप्ट नेपालका अध्यक्ष पवन शाक्य, पत्रकार अमृत भादगाउँले, जिल्ला समन्वय समितिका उपप्रमुख राजेन्द्र शेरचन, घरपझोङ गाउँपालिका प्रमुख आशबहादुर थकाली, एक्याप जोमसोमका प्रमुख तुलसी दाहाल, जनमुक्ति युवा क्लबका अध्यक्ष नरेन्द्र थकाली, होमस्टेका सचिव प्रदिप थकाली, महिला समूहकी सरिता थकालीले ठिनीको पर्यटन विकासमा जोड दिएका थिए ।
कार्यक्रममा होमस्टे सञ्चालकलाई कन्सेप्ट नेपालले ठिनीका पोस्टरहरू, एक्यापले सिरक, म्याट्रेस र होमस्टे दर्ता प्रमाणपत्र, स्नो लियोपार्ड कन्जरभेन्सी र ग्लोबल प्राइभेट नेटवर्कले टी-शर्ट प्रदान गरेको थियो ।
कार्यक्रममा स्थानीयले परम्परागत याक नाँच, ढोंग्री नाँच, थकाली नाँच प्रस्तुत गरेका थिए।
हेर्नुहोस् केही तस्बिरहरू