राजा महेन्द्रको इच्छा अनुसार मनमोहक पार्कसहित व्यवस्थित बस्ती बसालिएको सहर कैलालीको टीकापुरले नयाँ चिनारी बनाएको छ । कृषिविज्ञ कालु हमालले १४ वर्ष अघि पार्क नजिकै खोलेको बनाना रेस्टुरेन्ट र पछि खोलेको रिसोर्टकै कारण टीकापुर केराका परिकार चाख्ने गन्तव्यका रुपमा चिनिएको हो ।
अचेल घुमन्तेहरु पार्क घुम्न मात्रै होइन, बनाना रेष्टुरेन्ट र रिसोर्टमा केराका परिकार चाख्न र कोसेली ल्याउन समेत टीकापुर पुग्छन् । वनाना किङ हमालले किसानको बगैंचा नै रिसोर्ट बन्न सक्छ भन्ने उदाहरण पस्केका हुन् ।
त्यो एग्रो टुरिज्मको नमुना हेर्न देशभरबाट आउँछन् । टीकापुरमा उनले वनाना रेष्टुरेन्ट, रानीमहल रिसोर्ट र वनाना रिसोर्ट सञ्चालन गर्दै आएका छन् । वनाना रिर्सोट चाहिँ उनका छोराले सम्हाल्छन् । तीनै ठाउँमा केराका परिकार पाइन्छ ।
केराको जरादेखि फुलबाट बनेका ४० थरि परिकार पाक्छ । केराबाट निम्की, चुकाउनी, अचार, तरकारी, फिंगरचिप्स, पकौडा, मम, खीर, परौठा, रोटी, स्वीट बल, चिप्स, ब्रान्डीदेखि वाइनसम्म बन्छ । त्यतिमात्र हो र, भित्तामा थरिथरिका रमाइला सायरी पनि लेखिएको छ ।
‘हामीले रिफ्रेसमेन्ट सेन्टर खोलेका हौंं’, वनाना किङ हमाल भन्छन्, ‘अरु किसानले कतै सुन्तला, कतै आँप र कतै स्याउका परिकारसहित यस्तै रिसोर्ट खोल्न सके हुन्थ्यो । हामी सहयोग गर्न तयार छौं ।’
पछिल्लो समय उनी कर्णाली करिडोरमा एग्रो टुरिज्म अभियान चलाउँदै छन् । उनले किनारमा बीच रिसोर्ट खोलिसके । त्यहाँ बसेर कर्णालीमा नुहाउन, माछा मार्न र राफ्टिङ गर्न सकिन्छ ।
रामपुर कृषि क्याम्पसबाट विसं २०३९ सालमा बिएस्सी एजी उर्तिण गरेका हमाल भन्छन्, ‘जागिर खाँदा कित करप्टेड हुनु पथ्र्यो कि त फ्रस्टेड । त्यसैले म आफैं उद्यमी बन्ने अभियानमा जुटेको हुँ ।’
कैलालीमा व्यवसायिक केरा खेतीका अभियन्ता पनि उनै हमाल हुन् । टीकापुरको चर्चा गर्दा राजा महेन्द्र, खड्गबहादुर सिंहसँगै कालु हमालको नाउँ एकैलहरमा आउँछ । टीकापुर विकासका शुत्रधार राजा महेन्द्र हुन् । कञ्चनपुरको शुक्लाफाँटामा शिकार खेल्दाखेल्दै मुटुको व्यथाले च्यापेपछि चिकित्सकको सुझाब अनुसार आरा गर्न राजा महेन्द्र र रानी रत्न विसं ०२७ मा २९ दिन टीकापुरमा बसेका थिए । उनीहरुले कर्णालीको किनारबाटै राजकाज चलाएका थिए ।
उनकै चाहनामा टीकापुरको विकास गरिएको हो । खड्गबहादुरको अध्यक्षतामा ०२८ सालमा टीकापुर विकास समिति गठन गरियो । समितिले बस्ती बसाल्यो । ८४ हेक्टर जमिनमा पार्क बनाइयो । हाल नगरपालिकाको स्वामित्वमा रहेको पार्कलाई व्यवस्थित गर्नु पर्ने देखिन्छ ।
टीकापुरको पहिलो पर्यटकीय होटल ‘होटल सिद्धार्थ’ हो । अचेल त्यहाँ आधा दर्जन राम्रा होटल छन् । दुई रात बसेर टीकापुरको आनन्द लिन सकिन्छ ।
काठमाडौंबाट टीकापुरको दुरी ६९० किमि छ । पूर्व–पश्चिम राजमार्गको लम्कीबाट १८ किमिमा टीकापुर पार्क । काठमाडौंदेखि धनगढीसम्म १ घन्टा १० मिनेट उडान भरेपछि गाडिमा अढाई घन्टामा टीकापुर । नेपालगञ्ज र धनगढीबाट करिब सय किमि हाराहारीमा छ टीकापुर ।
सम्पर्क
वनाना रिसोर्ट, टीकापुर
कालु हमाल–९८१४६७३६५१