सेता भुइँकुहिरोले ढपक्कै ढाकिएका डाँडाहरु। बिस्तारै कुहिरो फाट्दै जाँदा देखियो निलो आकाश, आकाशमूनि सेता चम्किला हिमाल। अनि तलतल काठमाडौ उपत्यकाको पुरा दृष्य। स–साना सलाईका बट्टा जस्ता गुचुमुच्च घरहरु। र, पुर्वदेखि पश्चिमसम्म फैलिएको हरियो महाभारत सृङखला। हेर्दाहेर्दै एकैछिनमा उडेर आएका कुहिरोले लपक्कै ढाकिदियो डाँडा र उपत्यकालाई।
पलभरका लागि हामी पनि कुहिरोभित्र हरायौं। अहा, कति रमाइलो ! अझ चिसो हावाको स्पर्शले शरीर र मनमा नयाँ जोश र जाँगर भरिदियो। यसरी हरेक दिन भुइँकुहिरोमा लुकामारी खेल्छ दलचोकी (२२००मिटर) डाँडा।
काठमाडौंको उकुसमुकुस गर्मी, कोलाहल र प्रदूषण छाडेर जबजब म दक्षिणी ललितपुरको दलचोकी पुग्छु तब मन चंगा भएर आउँछ। उमंग बढ्छ। राजधानी खाल्डोमा बस्नेहरु गर्मी छल्न नगरकोट पुग्छन्। पूर्वमा बस्नेहरु भेडेटार उक्लन्छन्। काठमाडौंबासीका लागि अझै नजिकको हिल स्टेशन बन्न सक्छ दलचोकी। लगनखेलबाट मात्र २१ किमि दुरीको दलचोकी हरेक दिन कुहिरोको घुम्टोभित्र मुस्कुराउँछिन्। त्यो घुम्टो छिनमा उघ्रिन्छ, छिनमा बन्द हुन्छ अनि छिनमै फाटेर मुस्कुराउँछ।
बिहानै डाँडाबाट हेर्दा ‘व्हाइट लेक’ देखिन्छ, कुहिरोको तलाउ। काठमाडौं उपत्यकाको भेडेटार भने हुन्छ दलचोकीलाई। भुइँकुहिरो मात्र होइन, आकाश निलो भएका बेला यहाँबाट १८० डिग्रिमा हिमसृङखला देखिन्छ। पश्चिमदेखि उत्तरपूर्वसम्म लहरै उभिएका हिमाल। काठमाडौं उपत्यकाको बस्तीसहित पहाड र हिमालको तस्बिर आँखा र क्यामेरामा सजाउन मन लाग्छ। छिनछिनमा लुकामारी खेल्न आउने बादलको सौन्दर्यले पूर्वको भेडेटारलाई विर्साईदिन्छ।
काठमाडौं उपत्यकालाई पहरा दिएर बसेकामध्ये दक्षिणी डाँडो–दलचोकी। प्राकृतिक सुन्दरतामात्र होइन, ऐतिहासिक र धार्मिक हिसाबले समेत महत्व बोकेको छ यसले। त्यहाँ अबस्थित दलचोकी माई र मनकामना माईका मन्दिर पवित्र तिर्थ हुन्।
दलचोकी नामाकरणबारे रोचक किँवदन्ती छ। जस अनुसार राष्ट्र निर्माता पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका कब्जा गर्न चारैतिरका नाका प्रयोग गरे। उनले दक्षिणी नाका दलचोकीबाट काठमाडौं आक्रमण गरेका थिए। तिनताका दलचोकीमा जंगल थियो। जंगली जनाबरको डर हुन्थ्यो। जनाबर आक्रमणको डरले फौज तितरवितर थिए। त्यसैले यहाँ फौजलाई एकै ठाउँमा राखियो र भगवतीको पूजा गरी सैनिक चौकी स्थापना गरियो। तिनले देवीको पूजा गरेको ठाउँ भएकाले यसको नाउँ दलचौकी भनियो। समयक्रममा अपभ्रंस हुँदै दलचोकी भन्न थालियो।
दलचोकीलाई स्थानीयले इष्ट देवता मानेर पूज्छन्। हाल दलचोकी मन्दिर गोठ भञ्ज्याङ उच्च मावि परिसरमा सारिएको छ। पृथ्वीनारायण शाहले स्थापना गरेको दलचोकीको मन्दिर तीनपाने भञ्ज्याङ माथि डाँडामा छ। दलचोकीबाट करिब ४ किमि टाढा करिब २३०० मिटर उचाईमा दक्षिणमा पर्छ। त्यहाँ भगवतीको मन्दिर छ।
शाहले स्थापना गरेको मनकामना मन्दिर पनि दलचोकीको मनकामना चौरमा छ। हाल मनकामना भएको ठाउँमा पहिला पानी पोखरी थियो। २०५२ सालमा विधिवत तरिकाले गोरखाबाट ल्याएर मनकामना स्थापना गरिएको स्थानीय रामप्रसाद तिमिल्सिना बताउनु हुन्छ। मन्दिर (२२६०मिटर)को चारैतिरबाट काठमाडौं झलमल्ल देखिन्छ। मन्दिरबाट करिब १५ मिनेट उकालो चढे पुगिन्छ दलचोकी भ्यू टावर (२,३००मिटर) जहाँबाट हिमालको लश्कर, उपत्यकाको दृष्य र दक्षिणमा महाभारत श्रृखलाका साथै तराईका फाँट समेत देखिन्छ।
दलचोकी थुम्को पर्यटन केन्द्र बन्दै छ। काठमाडौंबाट नजिकको गन्तव्य वर्षैभरि शीतल हुन्छ। त्यहाँ होमस्टे सुविधा छ। होटल/ रिसोर्ट खुलेमा दलचोकी नगरकोट र भेडेटार झैं चम्किन सक्छ। काठमाडौंसँग कुम जोडेर बसेको छ दलचोकी। मोटर बाटो दलचोकीसम्मै पुग्छ। तर, सडक कच्ची छ। बाटो राम्रो बनाउने हो भने काठमाडौंबासीमा गर्मी छल्ने, पारिवारिक भ्रमण गर्ने र सभा सम्मेलन गर्ने थलोका रुपमा विकास हुन सक्छ।
गाउँलाई पर्यटन गन्तव्य बनाउन स्थानीयहरु जुर्मुराउनु पर्छ। सरकार, पर्यटन बोर्ड लगायत सरोकारवालाले यस्ता सुन्दर गन्तव्य प्रबर्धन गर्न बिशेष कार्यक्रम ल्याउनु पर्छ। दलचोकीमा सामुदायिक होमस्टे दर्ता भएको छ। अचेल रामप्रसाद तिमिल्सिनाले मात्र होमस्टे चलाउनु भएको छ। १२ वैशाखको भुकम्पले घरलाई क्षति पु¥याएपछि उहाँले मर्मत गरि होमस्टेलाई निरन्तरता दिनु भएको हो।
‘तीस जनासम्म एकै रात राख्न सक्छौं’, उहाँ भन्नु हुन्छ, ‘बेला बेलामा आन्तरिक पर्यटक आइरहनु हुन्छ। सेवा गर्न पाउँदा खुशी लाग्छ।’
तामाङ जातिको बाहुल्यता रहेको दलचोकीमा सँस्कृति पस्केर हाइकिङ प्याकेज बनाउन सके काठमाडौंबासीलाई संस्कृति हेर्दै स्वच्छ र शान्त वातावरणमा रमाउन मिल्छ। सूर्योदय र सूर्यास्त दृष्याबलोकन गर्दै सप्ताहन्तको थकाई मेटाउन सकिन्छ। हप्ताभरको थकानबाट ह्याङआउट भई दिमाग र मनलाई रिचार्ज गर्न सकिन्छ।
दलचोकीबाट शंखु, गोटिखेल, इकुडोलको माझखण्ड पदयात्रा गर्न सकिन्छ। दलचोकीबाट शंखु १३ किमि दुरीमा छ, हिँड्न तीन घन्टा लाग्छ भने इकुडोल २३ किमि दुरीमा पर्छ।
दलचोकीमा प्रकृतिप्रेमि समूहले सबै सदस्यहरुको सहयोग जुटाएर निरोग आनन्दधाम निर्माण गरिरहेको छ। शारीरिक र मानसिक समस्याबाट मुक्त भएर निरोग आनन्दित हुन निरोगआनन्दधाममा व्यवहारिक अभ्यास गराइने छ। भवनमा १२० जना बसेर जीवन जीउने साँचो कला सिक्न पाउने छन्।
हाल विश्वमा देखिएका अधिकाँश स्वास्थ्य समस्याहरु मानिसले गर्ने आहार, विहार र विचार नमिलेर आउँछ। यही तीन चिज मिलाएमा स्वास्थ्य समस्याबाट मुक्त हुन सकिन्छ। यसका लागि प्रकृतिमै रहेको सरल नियम ‘उचित आहार, विहार र विचार’ को अभ्यासले ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ लिने व्यवहारिक ज्ञान आनन्दधाममा सिकाइनेछ।
जनता स्वस्थ नभई देश स्वस्थ हुन सक्दैन। त्यसैले स्वस्थ समाज सृजना गर्न पहिला जनता आफैं स्वस्थ हुन जरुरी छ। र, स्वस्थ मनमा मात्र स्वस्थ विचार हुन्छ। त्यसैले प्रकृतिप्रेमी समूहले सातदोबाटोस्थित निरोगधाममा हरेक दिन निरोगी रहन परामर्श दिंदै आएको छ। दलचोकीमा हाम्रो समूहको पहिलो आवासिय घर हो। समयसँगै अन्यत्र पनि यस्तो आनन्दधाम बनाइने छ।
हाम्रो समूहले बेलाबेलामा हाइकिङ गराउँछ। स्वस्थ पर्यटन प्रबर्धन गर्न हामी हरेक महिनाको चौंथो शनिबार स्वच्छ वातावरण भएका गाउँपाखामा हाइकिङ गराउँछौं। हाम्रो १२४ औं पदयात्रा यही सुन्दर दलचोकीमा भएको थियो। हामी करिब तीनसय जना हाइकर्स थियौं। विर्खेधाराबाट दलचोकी मनकामना मन्दिर हुँदै निरोग आनन्दधाम र आनन्दधामबाट गएकै बाटो फर्केर विर्खेधारासम्म १२ किमि पदयात्रा गरेका थियौं।
हाइकिङ, बाइकिङ र साइक्लिङ सबैका लागि दलचोकी उपयुक्त छ। लगनखेलबाट निजी सवारी साधनमा डेढ घन्टामै पुगिन्छ। चैत–बैशाखमा वनै राताम्मे हुने गरी फुलेका गुराँसको जवानी हेर्दै पदयात्रा गर्न सकिन्छ भने असोज–कात्तिकमा हिमालसँग आँखा जुधाउँदै।
यात्रामा मौसम अनुसार आरुबखडा, काफल, ऐसेंलु, नासपाती जस्ता फलफुल चाख्न पाइन्छ। यतिबेला दलचोकीबाट हिमालका लश्कर मात्रै होइन तलतल बादलको तलाउ पनि देखिन्छ।
कसरी पुग्नेललितपुरको लगनखेलबाट नेवार बस्ती सुनाकोठी, चापागाउँ हुँदै टीकाभैरबसम्म गाडीमा। टीकाभैरबबाट कोटडाँडा, तीनपाने भन्ज्याङ, खुर्सानीबारी हुँदै दलचोकी र त्यहाँबाट सैनिक क्याम्प, मल्ल होटल हुँदै टीकाभैरबसम्म पदयात्रा। पदयात्रा दुरी १४ किमि, समय ५ घण्टा। निजी गाडिमा डेड घण्टामै दलचोकी पुग्न सकिन्छ।
दलचोकी राइजिङ होमस्टे दलचोकी डाँडामा रामप्रसाद तिमल्सिनाले होमस्टे सञ्चालन गरेको करिब ६ वर्ष भयो। जन्मथलोलाई पर्यटन गन्तव्य बनाउने उनको अठोट छ। ‘गाउँमा पर्यटक बढ्दै गएका थिए तर भुइँचालोले घर भत्काईदियो’, उहाँ भन्नु हुन्छ, ‘त्यसपछि टेन्टमा पनि पर्यटक राख्यौं। अचेल घर मर्मत गरेर पाहुना राख्न थालेका छौं।’
अहिले उनको घरमा मात्र होमस्टे सुविधा छ। घर पुनःनिर्माण भएसँगै अरु घरमा पनि होमस्टे गराउने योजना छ। भुईंचालो पछि नेपालीमा आफ्नो देश घुम्नुपर्छ भन्ने भावना अझ बढेको छ। दलचोकी घुम्ने अधिकाँश पर्यटक नेपाली नै हुन्। ‘आफ्नै दाजुभईहरुलाई सेवा गर्न पाउँदा खुशी लाग्छ’, तिमिल्सना भन्नुहुन्छ, ‘आउनु अघि फोन गरेर आएमा हामीलाई स्वागत गर्न सजिलो हुन्छ।’
सम्पर्क–रामप्रसाद तिमल्सिना, ९७४१०४६१००