(यो सेतोपाटीका सदस्यहरूले मात्र पढ्न मिल्ने 'प्रिमियम' स्टोरी हो। केही दिनका लागि सबै पाठकले पढ्न मिल्ने गरी खुला गरेका छौं।)
सन् २००४ को मध्य सेप्टेम्बरमा डा. सुवास प्याकुरेलको ओछ्यानमा भयानक दुःस्वप्न खस्यो।
औंसी पक्षको रात थियो।
अमेरिकाको कन्नेक्टिकट राज्यको आकाशको अनन्त फैलावटमा टिमटिमाइरहेका ताराको दीप्तिले घोर अँध्यारो छिचोल्न सकेको थिएन।
त्यो बेला उनी अमेरिकामा चिकित्साशास्त्र अध्ययनको तयारी गर्दै थिए। विश्वस्तरीय चिकित्सा शिक्षा अध्ययनको सुस्वादु सपना सिरान हालेर सुतेका थिए।
उनलाई राति रत्तिभर अप्ठ्यारो भएको थिएन।
ब्रह्ममुहूर्त अगावै ब्युँझिने बानी थियो उनको। ब्रह्ममुहूर्तबाटै सुरू हुन्थ्यो उनको दैनिकी। अध्ययनको साधना सिद्धिका लागि विदेशको बाटो तताएका थिए। किताबमै त उदाउँथ्यो उनको न्यानो सूर्यको आभा!
त्यस दिन पनि उनी सूर्योदयअगावै ब्युँझिएका थिए। उठ्दा घाँटीको स्वरयन्त्र बिर्को लागेर टपक्क टालिएझैं भयो।
झसंग भए सुवास!
राति सारसौंदो सुतेका थिए। बिहान बोली ब्युझिँदैन। उनी बल गरेर बोल्न खोज्छन्। स्वर च्यापिएको हो कि भनेर घाँटीको नसा तन्काएर चिच्याउँछन् पनि। परन्तु घाँटीका नसा बेलुनझैं फुलेर मोटामोटा हुन्छन्। आँखाबाट आँसु तरर्र चुहिएलाजस्तो हुन्छ। कञ्चटको ताप बढ्छ। निधारको धुप अझ चर्किँदै जान्छ। अहँ! आवाज फुत्किँदैन!
स्वरनली होइन, मुटुको पल्मोनरी धमनी टालिएझैं भयो उनलाई।
'यसो घाँटी छामछाम छुमछुम पार्छु, स्वर निकाल्न खोज्छु। आफैलाई सुन्न दुरूह हुने पातलो आवाज मात्रै निस्किन्छ,' सुवासले त्यो क्षण सम्झिँदै भने, 'केही बेर त बिलखबन्दमै परेँ म।'
आवाज घाँटीमै विलुप्त भएको चाल पाएपछि केही बेर त आँखामा पनि अन्धमुष्ठी छाएको थियो। अन्यमनस्क भाव नछिचोली उपाय थिएन।
जीवन आफैमा आकस्मिकताहरूको जमघट हो। त्यसमा थपघट भइरहन्छ।
चिकित्सा विज्ञानमा अभ्यास गर्दै थिए उनी। त्यसैमा पारंगत हुन अमेरिकी भूमि पुगेका थिए। जीवनमा आइपरेका कठिनाइसँग आफै जुध्न नसके अरूलाई कसरी आश्वस्त तुल्याउनु! कसरी उपचार गर्नु! जीवनको दुरत्यय बाटो कसरी देखाउनु! रोगसँग मुकाबिला गर्न सिकाएर जीवनको जिजीविषा र विजिगीषालाई कसरी बलियो तुल्याउनु! चिकित्सक नै त हुन् बिरामीको रोगप्रतिरोधात्मक र निरोधात्मक क्षमता!
सुवासले के गरौं, कसो गरौंको भावबाट शनैःशनैः बाहिर निस्कने प्रयत्न गरे।
नयाँ हावापानी, रहनसहन, आनीबानीसँग घुलमिल हुन समय लाग्छ नै। कहिलकाहीँ नयाँ घामपानी शरीरले सहँदैन पनि। विभिन्न हिसाबले प्रतिक्रिया जनाउँछ। बिसञ्चो तुल्याउँछ। कहिलेकाहीँ हर्सनेस (स्वर अवरोध) को समस्या पनि नदेखिने होइन।
नेपालबाटै उनले केही ओखतीमूलो लगेका थिए। एलर्जीजस्तो केही समस्या देखा पर्यो कि भनेर औषधी पनि सेवन गरे। तर त्यसले कुनै प्रतिक्रिया जनाएन। आवाजको द्वार उघ्रिने कुनै छाँटकाँट देखाएन।
औषधीय असरको पनि आफ्नै तौरतरिका हुन्छ। आफ्नै बाटो र रफ्तार हुन्छ। आत्तिएर समाधान निस्किँदैन।
यही निधो गरेर उनले एक साता पर्खिने निश्चय गरे।
'कहिलेकाहीँ कुनै संक्रमणले पनि यस्तो खालको समस्या देखापर्छ। संक्रमणसँग सम्बन्धित औषधी आफूसँग भएकाले त्यही खाँदै एक साता बाटो हेरेँ,' उनले भने।
त्यति बेला सुवासले अमेरिकामा पाइला राखेका मात्रै थिए। त्यहाँको स्वास्थ्य प्रणालीसँग परिचय पाइसकेका थिएनन्। त्यसमा कसरी जोडिनु! बिमा सुविधा नभएकाले जाँचपड्ताल दुरूह थियो।
एकातिर उनी कण्ठमै आवाज बिलाउनुको निदान गर्दै थिए, अर्कातिर उनमा निहित दृढ आत्मविश्वास क्षीण बनिसकेको थिएन।
कुनै कारणबिना यसै बिलाएको स्वर आफै फर्किनेमा ढुक्कै थिए सुवास।
एक दिन बित्यो, दुई दिन बित्यो। हेर्दा हेर्दै महिनादिनले पनि नेटो काट्यो।
स्वरयन्त्र उघ्रिने र पूर्ववत् लय र बान्कीमा आवाज फिर्ता आउने विश्वास बस्दाबस्दै तीन महिना पूरा भयो। अहँ! बोली खुल्ने छेकछन्द देखिएन।
एमडी अध्ययनको पयो बाट्न अमेरिका पुगेका थिए उनी। चिकित्सा विज्ञानमा उडान भरिरहेको भर्भराउँदो भविष्य भएको डाक्टर आवाजविहीन भएर कसरी आफ्नो क्षेत्रमा सिद्धहस्त हुनसक्छ भन्ने प्रश्न उनको मथिंगलमा ठिंग उभियो।
कतिपय अवस्थामा चिकित्सकको वाणी नै उपचारको विधि बन्छ।
भनिन्छ नि – चिकित्सकको बोलीमा औषधीय गुण हुन्छ। चिकित्सकको श्रुतिमधुर बोलीबाटै बिरामीले बिमार दोहोलो भएको अनुभूति गर्छन्। रोग निको भएर जिउ होलो भएको अनुभव गर्छन्।
'खेलाडीले हातगोडा गुमाएजस्तो, सिद्धहस्त गायकले जिब्रो गुमाएजस्तो समकक्षतामा पो पुगेँ। त्यसपछि असह्य पीडाबोध भयो,' उनी अहिले सम्झिन्छन्।
अमेरिकाबाट फरक्क फर्किए उनी।
'आवाज नै नभएपछि अन्तर्वार्ता कसरी दिनू!' उनले भने, 'पढाइ सुरू नै गर्न पाएको थिइनँ। ६ महिनामै अमेरिकाबाट रित्तो हात आउनुपर्दा धेरैथोक गुमाएको महसुस भएको थियो।'
ऊर्जा र उत्साह गुमाए पनि उनले आत्मविश्वास मुर्झाउन दिएका थिएनन्। एक दिन आवाज फर्किन्छ र उदीप्त भविष्यले पुनः लय समात्छ भन्ने आत्मबल जागै थियो।
नेपाल फर्किएपछि सुवासले इन्स्टिच्युट अफ मेडिसिन (आइओएम) मा एमडीमा प्रवेश परीक्षा दिए। सोचेजस्तो राम्रो अंक आएन। ४१ नम्बरमा नाम निस्किए पनि तिनताक छात्रवृत्ति पाउन सकिन्थ्यो।
त्यसपछि उनले 'अप्थाल्मोलोजिस्ट' अर्थात् नेत्र रोग विशेषज्ञको नयाँ उडान सुरू गरे। छ महिना नियमित कक्षा गए। असाइनमेन्ट (कार्यभार) पूरा गर्दै गए।
अफसोस!
त्यहाँ पनि आवाज नै बाधक भइदियो।
नेत्र रोग विशेषज्ञको उपाधि लिएर आफूप्रति त न्याय गरौंला, बिरामीप्रति त साह्रै अन्याय पो हुन जान्छ — फेरि खङ्ग्रङ्ग हुन थाले उनी।
बिरामीलाई न्याय गर्न विशेषज्ञ चिकित्सक बन्दैछु। उनीहरूलाई नै अन्याय हुने काम कसरी गर्नु — मथिंगल वरिपरि यही घुम्न थाल्यो। अध्ययन बीचमै छाड्ने निष्कर्षमा पुगे उनी।
त्यसबीच साथीसंगाती, वरिष्ठ चिकित्सक, प्राध्यापकहरूले सम्झाउन नखोजेका होइनन्। तर आवाजविहीनताको अवसादले उनलाई गाँज्दै लगिसकेको थियो। त्यसको क्षति बिरामीलाई नपरोस् भनेर एमडीलाई निरन्तरता दिन नचाहेको उनले बताए।
'एमडीको कक्षा छाडे पनि बीचमा अध्ययन, अन्वेषणको काम त गरिरहेकै थिएँ,' उनले भने, 'चिकित्सा अभ्यास चाहिँ ठप्पै भयो।'
एउटा चिकित्सक आफै दुर्बोध्य बिरामी बन्दै थिए। चिकित्सा विज्ञानले पनि उनको स्वर गुमेको कारण पत्ता लगाउन सकेको थिएन। औषधी र नियमित स्वर साधनाले पनि कुनै असर पार्न सकेको थिएन।
यसबीच सकारात्मक पाटो पनि नभएको होइन।
एउटा चिकित्सक स्वयंले आफैलाई परीक्षण गर्न पाएको थियो। स्वयंको निदान गर्न पाएको थियो। एउटा चिकित्सकले आफैलाई पारंगत बनाउन पाउँथ्यो। थप विशेषज्ञ बनाउन सक्थ्यो।
भावनाले मात्र कहाँ जीवन चल्छ र! कल्पनाले मात्र जीवनलाई कहाँ स्वादिलो तुल्याउँछ र! जति नै मीठो कल्पना गरे पनि जीवनको यथार्थले त्यसलाई खण्डित गरिहाल्छ। तितरबितर तुल्याइहाल्छ।
नाक, कान, घाँटीसम्बन्धी विशेषज्ञ चिकित्सकलाई देखाउँथे उनी। आवाज फर्किने आशामा शल्यक्रिया कक्षसम्म पुग्थे।
'रिपोर्ट हेर्दा तपाईंको भोकल कर्ड जमेर बसेको छ। स्वर फर्किन कठिन छ,' चिकित्सकहरूले यसै भनेर निराश बनाउँथे।
चिकित्सकको यस्तो जबाफ सुनेपछि उनले आफूलाई आवाजविहीन नै बाँच्न तयार बनाए। बोली नफर्किएपछि व्यवस्थित स्वास्थ्य क्षेत्र बनाउन आफ्नो तर्फबाट दिन सकिने योगदानका लागि आफूलाई विकास गराउँदै लगे।
'स-साना कुरा सुधार गरेर ठूलो परिणाम दिन सकिन्छ। स्वास्थ्य क्षेत्रलाई आमनागरिकको पहुँचका साथै व्यवस्थित र परिणामुखी कसरी बनाउन सकिन्छ भनेर चिन्तन गर्छु। यस अतिरिक्त आवाज नचाहिने क्षेत्रतिर पनि आबद्धता बढाउँदै जान्छु भनेर आफूलाई परिपक्व बनाउँदै थिएँ,' उनले सम्झिए।
त्यसबीच उनले आफूलाई लेखकका रूपमा चिनाउनेबारे पनि सोचेका थिए।
तर छ वर्षपछि जीवनमा चमत्कार भयो। जीवनको क्षितिजमा घामको नूतन आभा देखापर्यो।
त्यस दिन पनि उनी ब्रह्ममुहूर्तमै ब्युँझिएका थिए। शेष स्वरले जति भ्याउँथ्यो, त्यत्तिले बोल्थे।
उनले सदाझैं आफ्नो बचेको स्वरले श्रीमतीलाई 'चिया पकायौ त?' भनेर सोधेका थिए।
अहो! स्वर त छ्याङ्गै उघ्रियो।
दैवी शक्तिले नासो फर्काएझैं उनको आवाज खुलेको थियो।
उनले आफ्नो बोलीको लम्बाइ, चौडाइ नापे। दुरूस्तै ६ वर्षअघिको थियो।
कहाँ विलुप्त थियो यो प्राणध्वनि?
केही बेर उनी भावुक बने।
'आमाको पाउमा शिर राखेर दण्डवत् गरेँ। प्राणप्रिय श्रीमतीलाई अँगालो हालेँ। र, त्यही दिन बाचा गरेँ – अब जीवनमा मैले सबैथोक पाएँ। अब दिन मात्र चाहन्छु। यतिञ्जेल आफूले आर्जन गरेको ज्ञान-सीप अर्पण गर्न चाहन्छु,' उनले त्यो क्षण सम्झिँदै भने।
बाल्यकालदेखि नै पढाइमा विलक्षण थिए सुवास।
उत्तरपूर्वी काठमाडौंको काँठ क्षेत्र जोरपाटीमा जन्मिए पनि त्यहाँ शिक्षाको न्यानो प्रशस्तै थियो। गाउँ-ठाउँमा शिक्षाको चेतना पुगेको थियो।
सुवासलाई प्रारम्भिक शिक्षा आमाले नै दिइन्। उनी बाल्यावस्थामा हुँदा आमा बिरामी थिइन्। बिरामी भएका बेला माइत बस्ने काँठको पुरानो चलन हो।
त्यही बेला उनले छोरा सुवासलाई साँवा अक्षर खुट्टयाउन सिकाएकी थिइन्। तीक्ष्ण सुवासले लय समातिहाले।
त्यसैको प्रभाव उनको विद्यालय शिक्षामा देखियो। उनले कक्षा एक पढ्नै परेन। सिधै दुई कक्षामा फड्किन पाए।
'पढाइप्रति यस्तो लगाव थियो, गणितको पुछारको पानातिर उत्तरहरू समावेश गरिएको हुन्थ्यो। आफूले हल गरेको प्रश्नको उत्तर त्यहाँ मिल्यो भने त्यस क्षण औधी आनन्द लाग्थ्यो। अहिले सम्झिँदा पढाइप्रति मेरो राम्रै रूचि रहेछ भन्ने लाग्छ,' उनले भने।
२०४७ सालमा काठमाडौंको महेन्द्र बौद्ध माविबाट विद्यालय शिक्षा पूरा गरेका हुन् उनले। त्यति बेला १४ वर्षका मात्रै थिए। प्रवेशिका परीक्षा दिन पाउने उमेर विद्यालय आफैले मिलान गरिदियो।
७८ प्रतिशत प्राप्तांक ल्याएर उनले प्रवेशिका परीक्षाको अध्याय पूरा गरे।
'प्रवेशिका परीक्षा भर्खर दिएको थिएँ। त्यसको नतिजा नआउँदै म प्रवेशिका परीक्षा दिने विद्यार्थीलाई घरमै ट्युसन पढाउन थालेँ,' उनले सम्झिए, 'त्यति बेला पैसा अपुग भएर घरको गर्जो टार्नभन्दा एक जना दाइले तिमी जान्ने छौ, हामीलाई पनि सिकाइदेऊ न भनेर आग्रह गर्नुभयो। मलाई सिकाउन रूचि लाग्थ्यो। त्यही इच्छाले ट्युसनमा जोडेको हो। त्यति बेला दिनमा सात समूहसम्मलाई ट्युसन पढाएँ।'
उनले विद्यालय शिक्षाताककै एउटा प्रसंग सुनाए।
उनी सात कक्षा पढ्थे। त्यति बेला मीनपचासको लामो बिदा हुन्थ्यो। बिदामा उनी मामाघर जान्थे।
मामाघरका हजुरबुबा नारायणप्रसाद चालिसे प्रकाण्ड भविष्यवेत्ता (ज्योतिषी) थिए। उनको ख्याति तीन सहरसम्म थियो।
उनै हजुरबुबाले एक दिन सुवासलाई भने, 'बाबु डाक्टर बन्ने लक्षण पो देखिन्छ!'
त्यति बेलासम्म उनलाई डाक्टर बन्ने मेलोबाटो थाहा थिएन। सपना त निकै दूरको कुरा भयो।
हजुरबुबाको भविष्यवाणी उनको अवचेतनमा गहिरो गरी बसेछ। त्यसको प्रतिविम्बन कल्पनामा पर्न थाल्यो। चिन्तनधारामा पर्न थाल्यो। सपनामा प्रतिच्छवित हुँदै गयो।
प्रवेशिका उत्तीर्ण गरेपछि उनले चिकित्सा शिक्षा पढ्ने बाटो खोज्न थाले। तिनताकसम्म नेपालमा चिकित्सा शिक्षाको बाटो एउटै थियो – आइओएम।
'त्यति बेला टिचिङ अस्पताल भनियो भने त्रिवि शिक्षण अस्पताल महाराजगन्ज नै बुझिन्थ्यो। एउटा मात्रै मेडिकल कलेज थियो। त्यहाँ स्वास्थ्य सहायक (हेल्थ असिस्टेन्ट) पढाइ हुन्छ। एचएको बाटोबाट गयो भने डाक्टर बन्न सजिलो हुन्छ भन्ने जानेको थिएँ,' उनले भने।
तर एचएको प्रवेश परीक्षा खुल्न समय लाग्थ्यो। साढे दुई वर्षको कोर्स हुने भएकाले प्रवेशिका परीक्षाको नतिजा र त्यसको समय मिलाउन कठिन थियो। त्यो खाडल पुर्न उनी अमृत साइन्स कलेजमा आइएससीमा भर्ना भए। र, एचएमा प्रवेश परीक्षा खुल्नेबित्तिकै उता फड्को मारे। एचएको कोर्स पूरा गरे।
'एचए पूरा गरेपछि म केही समय सिरहाको देवीपुर गएँ। त्यहाँ कालाज्वर रोगबारे अध्ययन–अनुसन्धान पनि गरेँ,' उनले भने, 'मधेसको ठाउँ पुगेको थिएँ। भाषिक कठिनाइ थियो। संवादमा जटिलता उत्पन्न हुन्थ्यो। तर पेसाप्रतिको लगावले सातादिनमै मैथिली भाषामा दोहोरो कुराकानी गर्न थालेँ।'
त्यो बसाइलाई उनले मधेसको विषमता र विविधता बुझ्ने अवसरका रूपमा उपयोग गरे। भोक र अभावसँगै बाँचिरहेका दीनहीनहरूको आर्तनादले मधेस जटिलतलाई अझ नजिकबाट चिनायो। पूर्व-पश्चिम राजमार्गबाट जति दक्षिण गयो, उति नजिक भेटिने रोग, शोक, सुर्ता देख्दा, जान्दा र बुझ्दा उनमा सीमान्त समुदायप्रति केही गर्नुपर्छ भन्ने भावनाको पनि विकास भयो।
तिनताक आइओएममा एमबिबिएसका लागि ४० वटा कोटा थियो। २० सिट एचएबाट गएकाहरूका लागि थियो भने २० सिट आइएससी पढेकाबाट लिइन्थ्यो। प्रवेश परीक्षा एकै दिन हुन्थ्यो। तर फरक फरक प्रकृतिको।
उनको पहिलो प्रयास असफल भयो। एक नम्बर नपुग्दा एक वर्ष रोकिनुपर्यो।
दोस्रो प्रयास भने सफल भयो। २०६० सालमा एमबिबिएस उत्तीर्ण गरे उनले।
एमबिबिएस तहको अध्ययन पूरा गरेपछि मेडिकल अफिसरका रूपमा त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा झन्डै डेढ वर्ष काम पनि गरे। त्यसपछि एमडी पढ्न अमेरिकाको बाटो तताए।
'त्यति बेला लहर नै त्यस्तै थियो। नदीको भेल नै भविष्य बनाउन बाहिर जाने, खासगरी अमेरिका जाने लहर चलेको थियो,' उनले भने, 'म नेपाल छाड्दिनँ भनेर बसेको थिएँ। मनोविज्ञान पनि कडा विषय रहेछ! पढुञ्जेल अमेरिका बस्छु र फर्कन्छु भन्ने सोच ममा पनि आयो।'
भवितव्यले त्यो बाटो भने बिथोलिदियो।
उनी अमेरिका छाडेर नेपाल फर्किए।
अमेरिका जानुभन्दा अगाडि नै २०६० सालको वसन्त याममा सुवासको जीवनमा पवित्रा घिमिरे पल्लवित भएकी थिइन्।
ललितपुर लामाटारकी पवित्रासँगको विवाहपछि सुवासको जीवन सुवासिलो बनेको थियो। विवाह गरेको डेढ वर्ष हुँदा नहुँदै सुवासले विशेषज्ञ चिकित्सक बन्ने सपनामा पाइन हालेका थिए। र, उडान भरेका थिए।
तर बीचमै अवरोधको पहाड सामुन्ने खडा भयो र सपना उजाड बन्यो।
त्यो अवसादको घडीमा पवित्राले उनको सपना मुर्झिन दिइनन्। उनी सुवासको मात्रै अर्धांगिनी थिइनन्, सपनाकी साझेदार पनि थिइन्। आफै जनरल साइन्समा स्नातकोत्तर पवित्रा सुवासको सपनाकी सारथि पनि थिइन्।
'जति बेला उहाँ अमेरिका जाँदै हुनुहुन्थ्यो, त्यति बेला हाम्रो काखे शिशु थियो। भावनात्मक रूपमा म अत्यन्त कमजोर अवस्थामा थिएँ,' पवित्राले ती दिन सम्झँदै भनिन्, 'मलाई पाँच लाख रूपैयाँ ऋणको पिरलो थियो। ऋण त अरू पनि लिएका थियौं, तर पाँच लाख चाहिँ तत्काल फिर्ता गर्नुपर्ने भएकाले म भावनात्मक रूपमा म अझै थिचिएको थिएँ। ऋण चुक्ता गर्दा नगर्दै हाम्रो सपना दुर्घटना भयो।'
सुवास विनोदी स्वभावका थिए। आमोद-प्रमोदको भाव जोडेर घरायसी वातावरण हँसिलो, रसिलो बनाइरहन्थे। चुट्किला र टुक्काहरू लेख्थे पनि। तर अमेरिकाबाट फर्किएपछि उनको मनोदशा बदलियो। विनोदी स्वभावको घाम ओझेल परेझैं भयो।
'उहाँको आवाज फर्कन पूरै ६ वर्ष लाग्यो। त्यसबीच मैले कहिल्यै उहाँको अनुहारमा उज्यालो देखिनँ,' उनले सम्झिइन्, 'उहाँको हँसमुख अनुहार देख्नै पाइनँ।'
सुवासको अनुहारको घाम अस्ताएको देख्दा पवित्राको मन बेस्सरी पिरोलिन्थ्यो।
उनी आफै पनि अन्यमनस्क भावमा थिइन्। यस्तो अवस्थामा कस्तो प्रतिक्रिया जनाउने? प्रेरणाको दियो कसरी जगाउने? हौसलाको दीप्ति मनबाट कसरी निकाल्ने? यो पनि उनले भेउ पाउन सकिनन्।
'मेरो केटौले दिमागले उहाँलाई हौसला दिन सकेन होला। समभाव दर्शाउन सकेन होला,' उनले भनिन्, 'उहाँसँगै हिँडेर, उहाँको कर्ममा पाइलैपिच्छे साथ दिएर पीडा दूर गर्ने भरमग्दुर कोसिस गरेँ। आजका मितिसम्म म उहाँका हरेक कर्ममा सँगै छु।'
छ वर्षपछि सुवास दम्पतीको दैलोमा फेरि घाम पस्यो। सुवासले बिर्सिएको हाँसोले पुरानै लय समात्यो।
'त्यसबीच हामीले जीवनको अर्को पाटोसँग चिनापर्ची पायौं। ईश्वरलाई धन्यवाद नै दिनुपर्छ,' पवित्रा अहिले सम्झन्छिन्।
भनिन्छ – समस्याले गाँजेपछि आफू बाँचेको परिवेश थाहा हुन्छ!
चिकित्साशास्त्र पढ्दा र चिकित्सक बनेर अभ्यासमा जाँदा पनि सुवासलाई देशमा राम्रो स्वास्थ्य प्रणाली छ भन्ने लाग्थ्यो।
'चिकित्सक पनि भ्रममा बाँच्दा रहेछौं। हामीले पाना पल्टाउन जानेका रहेनछौं। पल्टाउन खोज्दा पनि रहेनछौं,' उनले भने, 'अर्को पाना पल्टाएर हेर्दा त बिरामी बनेपछि कहाँ जाने? कसलाई भेट्ने? के चढेर जाने? कुन अस्पताल कतिखेर खुल्छ? के-के सेवा पाइन्छ? चिकित्सक कति बेला आउँछन्? एम्बुलेन्स बोलाउनुपर्यो भने कहाँ भन्ने जस्ता आधारभूत कुरामै समस्या झेल्नुपर्दो रहेछ!'
चिकित्सक भएर बिरामी पर्दा स्वास्थ्य क्षेत्रका अनेक समस्यासँग उनको चिनापर्ची भयो। बिरामी भएर गलितम भएको छ, उभिनसक्ने त्राण पनि छैन। तर बिरामी घन्टौं लाइन बस्नुपर्छ। यस्तो दुरावस्था कसरी पन्छाउने भनेर उनी घोत्लिन थाले।
बैंक तथा वित्तीय कारोबार हुने ठाउँमा डिजिटल भुक्तानी आइसकेको छ। एटिएम जताजतै चल्न थालिसकेको छ। चलचित्र हेर्न मन लाग्यो भने अनलाइन टिकट काट्न, सिट बाँकी छ कि छैन भनेर हेर्न सकिने व्यवस्था छ। तर स्वास्थ्य क्षेत्र यी सबै सेवाबाट निकै पछि परेको अनुभव भयो उनलाई।
'हेल्थ साइन्सलाई सर्भिस र सर्भिसलाई सिस्टम नबनाउँदासम्म यो साइन्स नै हुँदैन भन्ने कुरा गहिरो गरी मनमा गढ्यो। यतातिर काम गर्नुपर्छ भन्ने लाग्यो,' उनले भने।
चिकित्साशास्त्र र सेवाबीच देखिएको खाडल पुर्न र यसलाई व्यवस्थित बनाउने ध्येयले उनले 'हेल्थ कन्सर्न' नामक गैरसरकारी संस्था खोलेका छन्।
'टेलिफोन नम्बर आवश्यक पर्यो भने बुझ्ने र थाहा पाउने प्रणालीसम्म बनाएका छैनौं। स्वास्थ्यजस्तो अत्यावश्यकीय र संवेदनशील क्षेत्रबाट सामान्य सूचना लिने बाटो पनि बनाएका छैनौं,' उनले भने, 'मैले त्यही काम सुरू गरेँ।'
उनले दस वर्षअघि अस्पताल, त्यसले दिने सेवा र चिकित्सकहरूको जानकारी समेटिएको 'हस्पिटल्स नेपाल' भन्ने एप सञ्चालनमा ल्याएका थिए। अस्पतालले दिने सेवाप्रवाहको जानकारीका लागि यो एप निकै उपयोगी थियो। त्यसमा झन्डै चार हजार चिकित्सक र दुई सयभन्दा बढी अस्पतालको जानकारी थियो। एक लाखभन्दा बढी प्रयोगकर्ता पनि थिए।
तर प्रविधि भरपर्दो नहुँदा सञ्चालनले निरन्तरता पाउन सकेन। त्यो पनि उनका लागि ठूलो सिकाइ सामग्री भयो।
'त्यति बेला चिकित्सा विज्ञानलाई सेवा के कुराले बनाउन सक्छ भनेर अध्ययन गर्न थालेँ। निष्कर्ष निस्कियो– बिमा। सूचना प्रविधि र बिमा त्यति महत्त्वपूर्ण हुँदो रहेछ भन्ने निचोडमा पुगेँ,' उनले भने।
कतिपय सवारी दुर्घटनामा हुने उपचार, बाह्य पर्यटकहरूको उपचार, वैदेशिक रोजगारीमा जाँदा गरिने परीक्षण लगायतमा भइराखेको सिन्डिकेटले मेडिकल क्षेत्रको बदनाम नै गरेको उनको बुझाइ छ।
उनले एउटा उदाहरण पनि दिए –
दुर्घटनामा परेका १९ वर्षका किशोरलाई अस्पताल भर्ना गरिएको थियो। पोखरा स्थायी घर भएका ती किशोर माइक्रो बायोलोजीका विद्यार्थी थिए। उनलाई कोलिस्टिन र मेरोपेनेम संयोजनको कडा खाले एन्टिबायोटिक चलाइएको थियो। यो औषधी सातौं दिनबाट आठौं दिनमा चलाउन सम्बन्धित अस्पतालले आन्तरिक रूपमा बनाएको एन्टिबायोटिक समितिको सिफारिस चाहिन्छ।
'त्यस्तो खालको कडा एन्टिबायोटिक ३७ दिनसम्म चलेको र बिल मात्रै उठिराखेको पाइयो। घाइतेको अवस्था बीसको उन्नाइस भएको थिएन। यस्तो अवस्था देखेपछि बिमाले प्रश्न उठाउँदै भुक्तानी दिन नसक्ने बतायो। विज्ञ लगाएर जाँचपड्ताल गरेपछि मात्रै भुक्तानी दिने भनेपछि विषय बाहिर आयो,' उनले भने, 'त्यसपछि उपचारको शुल्क नतोकिएको, उपचारको प्रोटोकल नभएको, सुसूचित नगरिकन उपचार गरिएको विषय पनि उजागर भयो।'
पोखराका १९ वर्षीय किशोरको यो विषय सर्वोच्च अदालतसम्म पुग्यो। अस्पतालले मुद्दा हार्ने स्थिति बन्यो। मुद्दाको साक्षी सुवास नै बसेका थिए।
यो विषयले चिकित्सा शिक्षामा सूचना प्रविधिको खाँचो औंल्याएको उनी बताउँछन्।
'त्यो कुरा इलेक्ट्रोनिक मेडिकल रेकर्डमा थियो भने नियमनकारीहरूले चाहेका बेला हेर्न सक्थे। चिकित्सकहरूको छविमा पनि दाग लाग्यो। अस्पतालको त लाग्यो, लाग्यो,' उनले भने, 'अहिले म यही कुरा न्यूनीकरणका लागि लागिरहेको छु।'
सुवास स्वास्थ्य क्षेत्रमा एकीकृत डाटा प्रणालीको पैरवी गरिरहेका छन्। सूचना प्रविधिका माध्यमबाट प्रत्येक नागरिकको स्वास्थ्यसम्बन्धी अभिलेख राख्ने परिपाटी विकास गर्ने हो भने स्वास्थ्य बिमासहित समग्र चिकित्सा प्रणाली नै व्यवस्थित हुने उनको निष्कर्ष छ।
'स्वास्थ्य क्षेत्रमा परिवर्तन ल्याउन स्थानीय सरकार बलियो हुनुपर्छ। तीनै तहका सरकारबीच समन्वय हुनुपर्छ। बिमालाई थप बलशाली बनाउनुपर्छ। सूचना प्रविधिले त्यसको मेरूदण्डको काम गर्नुपर्छ,' उनले भने, 'आठवटा नियामक निकाय भएर पनि सबभन्दा कम नियमन स्वास्थ्य क्षेत्रमा भइरहेको छ। यो खाडल पुर्नुपर्छ।'
अहिले उनी एकीकृत पालिका स्वाथ्य प्रणालीमा पनि काम गरिरहेका छन्। नागरिकको खल्ती खल्तीमा हेल्थ कार्ड होस् भनेर काठमाडौंको गोकर्णेश्वरबाट त्यसको सुरूआत गरेका छन्। हेल्थ कार्ड बिमितको परिचयपत्रका रूपमा नभएर उसको स्वास्थ्यसम्बन्धी सम्पूर्ण विवरण समेटिएको डिजिटल कार्डका रूपमा हुन्छ।
'पालिकाले एउटा मोडल बनाएपछि प्रदेश र संघमा पनि त्यसको प्रभाव र दबाब दुवै पर्छ,' उनले भने।
कुराकानीको आखिरीमा सुवासले भने, 'पहिला ड्रप आउट भएँ भन्दा दुःख लाग्थ्यो। कतै सभा-सम्मेलन हुँदा पछाडिको सिट रोज्थेँ। समय क्रममा अध्ययन र अनुसन्धानको दायरा फराकिलो बनाइरहँदा अचेल पोडियममा उभिएर 'म ड्रप आउट डाक्टर' भन्दा गर्व महसुस हुन्छ।'
***
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी