'तिमीले आफ्नो सासूलाई किन यतिधेरै सम्मान दिन्छौ हँ बैनी?,' मैले तिजको बेलामा हजुरआमालाई किनेको साडी देखाउँदा एक जना दिदीले प्रश्न गरिन्।
'सासू भनेको सासू नै हुन् है, तिमीले आफ्नो माइतको आमालाई पनि किनिदेऊ त?,' फेरि प्रश्न गरिन्।
'मेरो आमा गाउँमा हुनुहुन्छ, मेरो बुहारीले मैलेभन्दा बढी माया गर्छिन्, बुहारीले भरिपूर्ण पार्छिन मैले त भेटेको बेलामा दिने मात्रै हो,' मेरो कुरामा दिदी सन्तुष्ट भइनन्, फेरि जबाफ फर्काइन्।
'तिमीले चाहिनेभन्दा बढी भाउ दियौ भने सासूले टाउकोमा टेक्छन्। सासूलाई सासूको ठाउँमा राख, आफ्नो आमालाई आमाको ठाउँमा। तिमीलाई एउटा कुरा भन्छु याद गर, तिमी यहाँदेखि गाउँमा जान्छौ नि श्रीमानको घर, हो त्यहाँ जाँदा तिमी थाकेर गएकी हुन्छौ, तिमीलाई थकाइको परवाह गर्ने छुट हुँदैन।
किन?
किनकी तिमी त्यो घरकी बुहारी हौ, तर तिमीसँग तिम्रो नन्दआमाजू सँगै घर जाऊन् त, तिम्रो सासूको व्यवहार फरक हुन्छ। तिम्रो नन्द आमाजू थाकेका हुन्छन्, उनीहरूलाई के चाहिन्छ भनेर तिम्रो सासूआमालाई चिन्ता हुन्छ तर सँगै गएको तिम्रो बारेमा चिन्ता हुन्छ त? हुँदैन। तिमीले जेसुकै भन हुँदैन, कुनै पनि हालतमा हुँदैन।
जबसम्म तिमीले यो कुरा स्वीकार गर्न सक्दिनऊ तिमी दास भइरहन्छौ। तिमीले आफ्नो घरका भनेर मरिमेट्छौ नि त्यो सब झुटो हो। थाकेर लखतरान परेर गएको बुहारीलाई परैबाट गोडा तेर्साएर ढोग्न लगाउने सासू र देवीको स्वरूप मानेर छोरीको गोडा ढोग्ने जन्मदाता आमाको बीचमा कहिल्यै समानता हुँदैन, तिमी यो भ्रमबाट बाहिर निस्क।'
यो भनाइ आफूलाई अलि बुझक्की ठान्ने, सहरमा बस्ने, जागिर माथिल्लै पदमा खाने, सचेत शिक्षित महिलाले पंक्तिकारलाई बुँदा केलाई केलाई सुनाइएका हुन्, काल्पनिक भनाइ होइनन्।
उनै दिदीले ३ वर्ष पहिले भनेको कुरा मानसपटलमा घुमिरह्यो। मेरो हजुरआमा एक्कासि बिरामी पर्नुभयो। कहिल्यै अस्पताल भर्ना भएर नबसेकी हजुरआमा एक्कासि बिरामी पर्दा सिंगो परिवार नै थला परेको जस्तो भयो। एकदिन म अस्पतालमा हजुरआमालाई खाना पुर्याएर अफिस आउँदै थिएँ, त्यही दिदीसँग भेट भयो।
म हतारमा थिएँ, एकैछिन कुरा गरेर बिदा मागेँ। उनले अफिसबाट फोन गरिन्।
'किन बहिनी निकै तनावमा देखिन्थ्यौ त? खासै कुरा गर्न पनि पाइएन, हिँडिहाल्यौ।'
मैले हजुरआमा बिरामी भएको कुरा बताएँ।
उनले फेरि प्रश्न सोधिन्, 'तिम्रो बुवाको आमा हो?'
मैले 'हो' भनेँ।
'तिम्रो घर त गुल्मी, उता बुटवलतिर राम्रै उपचार हुन्थ्यो त, काठमाडौंसम्म किन ल्याएको त?,' फेरि सोधिन्।
मैले फेरि जबाफ फर्काएँ।
'मेरो घरको हजुरआमा हुनुहुन्छ, सिन्धुली। दसैंमा घर गएपछि बिरामी हुनुभएको हो, उतैबाट काठमाडौं ल्याएको' बताएँ।
'ए तिम्रै सासूआमा पो हो?,' फेरि सोधिन्।
'मेरो सासूको पनि सासू, मेरो हजुरआमा हो' भनेँ।
फेरि ती दिदीको म प्रतिको रोष सुनेँ।
'कत्ति न आफ्नै हजुरआमा होला भन्ठानेको त घरतिरको पो! बुढीसासू बिरामी हुँदा पनि कोही यति मरिहत्ते गर्छ? बुढाबुढी बिरामी हुन्छन् त के अनौठो भयो र?'
उनको यो भनाइको जबाफ दिन मन लागेन। उनको लागि फगत सासू, अर्काको आमा होला तर मेरो लागि मेरो हजुरआमा सर्वस्व हुनुहुन्छ भन्ने ठानेँ।
'किन नबोलेको हो बैनी? मेरो कुराले चित्त दुख्यो?'
'चिन्ता गर्ने ठाउँमा गर बैनी, धेरै चेपारो घसेको राम्रो हुँदैन। हामी दुई हाम्रा दुई मलाई त कसैको मतलब छैन, कान्छा छोराले सासूससुरा पालेका छन्, अंश खाने उनीहरूले हो, जे गर्छन् उनीहरूले गर्छन्। मलाई त हाइसन्चो छ।'
ती दिदी उपल्लै तहकी कर्मचारी हुन्। निकै जाँगरिली छन, आफूलाई सभ्य ठान्छिन् तर त्यो पदको व्यक्तिले मप्रति गरेको व्यवहार, मलाई भनेका शब्दहरू यति नराम्रोसँग बिझेकी म व्यक्त गर्न पनि सक्दिनँ।
'अनि कति दिन यता राख्छौ त बहिनी बिरामी सासूलाई? बालबच्चा, घर अफिस, अस्पताल तिम्रो त बिजोग होला है?' धेरै कुरा भनिरहिन् दिदीले, सुनिरहेँ म।
फोनमा कुरा नगरौं भने उनैले फोन गरेकी छन् के भन्लिन भन्ने लागेको छ, कुरा गर्न पटक्कै मन छैन।
'मेरो हजुरआमा चाँडै निको हुनुपर्यो, पहिलेको जस्तो तन्दुरूस्त देख्न पाइयो भने केही चाहिएको छैन दिदी,' यत्ति भनेँ।
'आफू त एक्लै बस्ने बानी पर्यो, कोही आउँदा पनि झर्को लाग्छ मलाई त, झन् बिरामी बुढाबुढी स्याहार्नु पर्यो भने त ..... म अफिसको काज लिएर जाने हो बाहिर फिल्डमा, आफ्ना बाआमाको स्याहार उनकै छोराले गर्छन्,' यत्तिकैमा मेरो फोन आयो बहिनी पछि कुरा गरौंला है भन्दै फोन काटिन्।
ती दिदी यति दिक्दारी पोख्छिन् कि बेलाबेलामा भेट हुँदा पनि सकेसम्म पूजाआजामा, चाडवाडमा घरै जान नपरे हुन्थ्यो, सासूससुराको नजिक नपरे हुन्थ्यो, कसैको दायित्व लिनै नपरेहुन्थ्यो यस्तै यस्तै।
एकपटक एक जना स्टाफको छोरीको बिहेमा सँगै भेट हुने मौका मिल्यो उनै दिदीसँग।
खाना खाएपछि म घर जानको लागि निस्कँदै थिएँ, तिनै दिदीले हात तानिन्।
'के हो? आउन पाएको छैन घर जान हत्तार? तिम्रो घर कसैले लाँदैन, एकछिन नाच्नुपर्छ हिँड भित्र....।'
साँझ पर्दैथियो, मैले आफ्नो बाध्यता सुनाएँ।
'मेरो घरमा बुढी हजुरआमा हुनुहुन्छ, मैले मात्रै खाएर भएन, साना छोराछोरी छन्, घरमा गएर खाना बनाउनु पर्छ दिदी। तपाईंहरू रमाइलो गर्नुहोस् म जान्छु।'
झनक्क रिसाइन् दिदी।
'कसैको नभएको तिम्रै घर? किन यतिविधि मायाको अन्धभक्ति छ हो तिमीमा? एक छाक आफूले पकाएर खान सक्दैनन् तिम्रो घरका मान्छे? बुढालाई भन न पकाऔ, खाऔ भनेर, बेलैमा तह लगाउन सिक्नुपर्छ। हाम्रो लाइफ छैन र? हामी रमाउन पाइँदैन र? मैले त बुढालाई भनिसकेँ, बच्चालाई खुवाउनु, आफू पनि खानु भनेर। तिमी जस्तो इमानदार बुहारी बन्न सकिएन बैनी .....।'
दिदीको कुरा सकिएको थिएन अर्की दिदी आइपुगिन्।
'के छ बैनी, अहिले हजुरआमा पूरै सन्चो हुनुभयो?'
मैले सन्चो भइसकेको बताएँ।
'तिम्रो हजुरआमा त भगवानको अर्को रूप हो बैनी। त्यस्तो सासू त भाग्यमानीले मात्रै पाउँछ। यत्रो उमेरमा दुई वटा बच्चा हुर्काइदिएर आनन्दले जागिर खान पाएकी छौ, सहरमा बच्चा हुर्काएर जागिर खान निकै मुस्किल छ। आफ्नो त भाग्यमा सासूससुरा भोग्न लेखेको रहेनछ, के गर्नु? अनुहार पनि देख्न पाइएन।
ती दिदीको कुरा सुनेर उनै दिदी जंगिइन्, 'के गर्छौ त? तिमीहरू सासूससुरा देख्न नपाएर दुखी छौ, म सासूससुरा खप्न नसकेर दुखी छु। हेर अर्काका बाउआमा नभएकै ठिक। म त मेरी छोरीको बिहे सासूससुरा नभएको घर खोजेर गर्दिने हो।'
त्यत्रो पढेलेखेको, त्यत्रो पदमा जागिर खाएको, सभ्य सचेत महिलाले यस्तो तल्लो स्तरको कुरा गरेको सुन्दा बेलाबेलामा उदेक लाग्थ्यो।
मलाई फेरि सोधिन्, 'ए बहिनी मलाई भन त तिमीले आफ्नो गोडा ढोग्ने र आफूलाई गोडा ढोगाउनको बीचमा फरक पाएकी छैनौ? सासू र आमा कहिल्यै समान हुन सक्दैनन्, ठिक्क गर चाहिनेभन्दा बढी नगर।'
बारम्बार यस्तै कुरा सुन्दा सुन्नै नपरेजस्तो पनि लाग्थ्यो तर पनि भन्न मन लाग्यो र दिदीलाई जबाफ फर्काएँ।
'मलाई आजसम्म मेरो घरमा बुहारीको व्यवहार गरिएको छैन। मेरो सासूआमा, हजुरआमाले मलाई छोरी, नातिनीको व्यवहार गर्नुहुन्छ। बुवाले कहिल्यै बुहारी भन्नुभएको छैन। नाताले बुहारी हुँ त्यो आफ्नो ठाउँमा छ तर व्यवहारमा मेरो नन्दलाई जस्तो माया गर्नुहुन्छ मलाई त्योभन्दा कम गर्नुहुँदैन। साइनोले म बुहारी हुँ, मेरो दायित्व सासूससुराको सम्मान गर्ने हो, हामी भेट्दाखेरी जस्लाई पनि नमस्कार भन्छौं भने आफ्ना सासूससुरालाई ढोग्दा कुन अधिकारको हनन भएको छ र दिदी? मेरो माइतको बुवाआमालाई हात जोडेरै नमस्कार गर्छु, घरका बुवाआमालाई अलि निहुँरिएर गर्छु फरक त्यति होइन र? अग्रजको सामु निहुरिँदा सानो भइँदैन नि होइन र? जब मलाई बुहारीको व्यवहार गरिएको छैन भने मैले अर्काका बाउआमा भनेर बेवास्ता कसरी गर्न सक्छु?
बुवाआमा गाउँमै हुनुहुन्छ, हजुरआमा काठमाडौं बस्न थालेको ११ वर्ष भयो। आजसम्म मलाई हजुरआमाले बुहारी भनेको थाहा छैन, नातिनी भनेर बोलाउनुहुन्छ। मैले आजसम्म कुनै कुरा लुकाएर खाएकी छैन, एक्लै खाएकी छैन। मैले बाहिरै खाना खाएर घरमा नपकाउने गरी गएकी छैन। मैले आफूले नयाँ लुगा लगाएर घरपरिवारलाई वास्ता नगरेकी छैन। श्रीमानलाई आजसम्म कुनै कुरा लगाएकी छैन। मेरो कमाइ भनेर लुकाएकी छैन, माइतीमा लुकाईलुकाई दिने काम गरेकी छैन। आफ्नो ठाउँबाट जति सक्छु, जति सम्भव हुन्छ मैले आफ्नो कर्तव्य निभाएकी छु। मैले नजानेका घरका काममा मेरा आमा हजुरआमाले जर्वजस्ती गर्नुहुँदैन। गाउँमा जाँदा छोरीलाई जस्तै माया गर्नुहुन्छ आमाले, यहाँ हजुरआमाले नातिनीको व्यवहार गर्नुहुन्छ।
म मात्रै होइन, मेरी आमा र हजुरआमाको झनै गज्जबको दोस्ती छ। सासू बुहारी छुट्टिने बेलामा माहोल सम्हाल्न कठिन हुन्छ। सायद माया भएरै त्यस्तो भएको होला नि! मेरो सासूआमा, आमाको सासू हजुरआमा, हाम्रो तीन पुस्तामै उत्तिकै माया छ, सम्मान छ, इज्जत छ। जब मेरो घरपरिवारले मलाई सम्मान दिन्छ भने म कसरी भन्न सक्छु दिदी, सासू बिरामी हुँदा पनि कोही रून्छ?'
मेरो कुरा सुनिरहेकी दिदीले अन्तिममा जबाफ फर्काइन्।
'लौ तिमी संस्कारी बुहारी, जति सक्छौ गर बाबै हामी त हामी दुई, हाम्रा दुई अरूको केही मतलब नगर्नेवाला परियो।'
'हस् दिदी मलाई ढिलो भयो,' भन्दै म बिदा भएँ।
घर नपुगुन्जेल मनमा यति कुरा खेले कि, भोलि यी दिदीको बुवाआमालाई भाइबुहारीले यस्तै व्यवहार गरे भने के भन्दिहुन्? भोलि आफ्नै बुहारीले आफूलाई यस्तो व्यवहार गरे भने के भन्लिन्? नकारात्मक त हुन सकिएला, एउटै कोखको सन्तान त मन नमिलेर अलग हुन्छन् तर दुई अलग परिवारका सदस्यको बीचमा मिलन हुन समय लाग्ला, कुनै विषयमा असहमति हुन सक्ला तर हरेक पल नकारात्मक कोही मान्छे किन हुन सक्छ? यो प्रश्नको जबाफ भेटाउन सकिनँ।
दिदीलाई भन्न चाहन्छु, मैले आफ्नो कर्तव्यबोध मात्रै गरेकी हुँ दिदी। मैले आजसम्म माइतीमा घरको बारेमा कुरा लगाएकी छैन। माइतीमा पनि मेरो बुहारीलाई छोरीको जस्तै इज्जत दिन आमालाई भन्छु। मेरो बुहारी र मेरो बीचमा पनि दिदी बहिनीको जस्तै सम्बन्ध छ, कहिल्यै अर्काकी छोरी भन्ने मनमा आउँदैन। आफूले सही कर्म गर्दागर्दै कसैको चित्त बुझ्दैन भने त भन्न सकिँदैन तर आफूले आत्मादेखि नै सही कर्म गरियो भने सायद गलत पक्कै हुँदैन। यहाँ पत्थर त रसाउँछ दिदी मान्छेको मन हो आफ्नो व्यवहारले पगाल्न सकिन्छ, सुरूआत गर्नुहोस् न बिस्तारै।
(लेखकका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्।)