ओछ्यानभरि लथालिंग फिँजारेर राखिएका किताब। निदाउन नसकेर छटपटाएको शरीर। घुमिरहेको घडीको सुई हेर्दा रातको १२ बजेछ।
आँखा तातेर रन्केको शरीर उस्तै थाक्दा निद्रा परेको थिएन। तर आँखा रसाएका छन्। सोच्दासोच्दै दिमाग थाकिसकेको छ। यताउता पल्टिँदा समेत निदाउन सकिनँ।
धेरै बेरसम्म एकोहोरो टोलाएर सोचमग्न हुँदा पनि निष्कर्षमा पुग्न सकिनँ। सायद चाहिनेभन्दा धेरै सोचेर पो हो कि?
जे सुकै होस्, अब केही पनि सोच्दिनँ भन्दा पनि फेरि अनेक कुरा सोच्न बाध्य हुन्छु।
उमेरकै कुरा गर्ने हो भने म २०६१ सालको हुँ। अहिलेसम्म सबै कुरा बुझेजस्तो लाग्छ। तर फेरि एकछिनमा केही थाहा छैन जस्तो भान हुन्छ।
कहिलेकाहीँ त लाग्छ, यदि म लेखक भएको भए यी कुराहरू मजाले, भाषा मिलाएर, धेरै रमाइला किस्साहरू त्यसरी नै लेख्थेँ होला!
अर्कातर्फ, हरेक वर्ष चाडवाडले मुहार फेरेझैं यो वर्ष पनि दसैंले हामी सबैलाई छोपिसकेको छ।
समयसँगै परिवेश फेरिए पनि यी मस्तिष्कमा रहेका सम्झनाका लहरहरू भने कसैगरी नमेटिने रहेछन्।
सायद जीवन स्मृतिको सँगालो पो हो कि!
दुई वर्ष पहिले हाम्रो परिवार नवलपरासी बसाइ सरेको थियो। मेरो कक्षा १० सकिएपछि बाँकी उच्च शिक्षाका लागि हामी नवलपरासी सरेका थियौं जुन आवश्यकता भएको अहिले बोध हुन्छ।
नयाँ ठाउँमा नयाँ संस्कार र रीतिरिवाजमा घुलमिल हुन निकै कठिन पर्यो।
सुरूसुरूमा त यताको संस्कार देखेर अनौठो पनि लाग्थ्यो। पहाडी संस्कृतिमा जन्मे हुर्केको मलाई यताको चालचलन देखेर अनौठो लाग्नु पनि स्वाभाविक नै हो।
सहर भनेको त स्वार्थको पोको बोकेका मानिस बस्ने ठाउँ अनि भावना पटक्कै नमिल्ने भन्ने भान भयो। अनि अहिले सम्झिँदा पनि लाग्छ, स्वर्णिम संसार त गाउँ नै हो।
नवलपरासीमा चाडपर्व मनाउने तरिका अलिक फरक रहेछ।
अहिले पहिलेझैं दसैं खासै हर्षोल्लास लाग्दैन। सानो हुँदा मात्र रहेछ दसैं आउने त। अब त वर्षैपिच्छे आफ्ना परिबन्द शृंखलाहरूको पहाड बन्दै गइरहेको छ।
दसैंको त्यो हर्ष उमंग अब कहाँ बाँकी छ र, जुन पहिले वर्षमा एकपटक किनिदिएका लुगाले ल्याउँथ्यो!
कृषि प्रधान मुलुक भएकाले सबै ठाउँ र परिवेश उस्तै थियो। अहिले जस्तो कहाँ थियो। त्यति बेला सानो बजार, सानै आम्दानीका स्रोतहरू थिए तर पनि दसैंको त्यो खुसी अमूल्य।
सानोमा दसैं आउनासाथ हजुरआमाले घटस्थापनाको दिन मलाई थुम्की अर्थात मेरो घर अर्जुनचौपारी गाउँपालिका-३ स्याङ्जाको चौपारिमा बेलपाती टिप्न पठाउनु हुन्थ्यो। म चुपचाप बेलपत्र ल्याउँथेँ। काम गरेबापत सेलरोटी पाउँथेँ।
माटो खानीको माटो घर लिएर जान्थेँ। जमरा राख्ने बेला हजुरआमाले केराको पात काटेर आइज भन्नु हुन्थ्यो। त्यसपछि मात्रै घरमा जमरा राखिन्थ्यो।
घटस्थापनापछि मात्रै गाउँमा मानिसहरूको चहलपहल बढेको अनुभूति हुन्थ्यो। बाटोकै घर भएर पनि होला मानिसहरू पैदल हिँड्दा पस्थेँ, त्यसैले पो बल्ल दसैं आएझैं लागेको होला।
काठमाडौंबाट काका-काकी अनि भाइ आउँदै छन् भनेपछि मनमा छुट्टै उमंग आउँथ्यो। तर ती पलहरू अहिले शब्दमा बयान समेत गर्न सकिँदैन। किनकि ती अमूल्य छन्।
काका-काकी र भाइ आउने थाहा पाएपछि उहाँहरूलाई लिन चकलेटको पाउने आशाले कमले बजारसम्म पुग्थेँ। तर काका-काकीले गाउँका सबैलाई पुग्ने गरी चकलेट ल्याइदिनु हुन्थ्यो। अनि फलानो आयो भनेर सुन्ने बित्तिकै मेरा साथीहरू पनि दौडिएर आउँथे। म त्यसै फुरूंग।
काकाले कसैलाई थाहा नदिई मलाई पैसा दिनुभएको अहिलेसम्म याद छ।
बुबाले लुगा किन्न सिमलचौरे शिव अंकलको पसलमा छोडेर 'ल के रोज्छौ, एक एक जोर रोज्नु' भनेर छोडिदिनु हुन्थ्यो। आफू भने घरमा चाहिने सर-सामान किन्न लाग्नु हुन्थ्यो।
अहिले सम्झिँदा बडो अचम्म लाग्छ। विद्यार्थी जीवनको उमेरमा धेरै रहरहरू एउटा दसैंको राम्रो लुगामा अट्थ्यो। तर अहिले पहिले जस्तो खुसी अहिले कहाँ किन्न सकिन्छ र!
भाइ, बहिनी, हजुरआमाहरू, बुबा, ममी, काका-काकीहरू सबै जना मूल घरमा एकजुट हुन्थ्यौं। बुढो घरले साँच्चिकै दसैंको अर्थ राख्थ्यो। त्यो बेला घरभरि मान्छे भेला भएपछि दसैं हुन्थ्यो।
ममीहरूको काम लुगा धुने, धान सुकाएर कुट्ने हुन्थ्यो। मरमसला तयार गर्न छुट्टै टोली हुन्थ्यो। बुबा र काकाहरूको काम सबै विभाजित थियो।
अहिले पनि याद आउँछ, कमेरो माटो लिन चउर र रातो माटो लिन ठूलाढुंगामा जान्थ्यौं। अनि घण्टौं लगाएर घरमा लिपपोत गर्थ्यौं।
साना साना हात हुँदा दसैंको साह्रै रौनक आउँथ्यो। तर ममी र काकीहरूलाई भ्याइनभ्याइ हुन्थ्यो।
अष्टमीको दिन भोलिका लागि पुग्ने गरी बस्तुलाई घाँस कटेर राखिन्थ्यो। दुर्गा पूजा गर्दा बनाएको फुस्रे कुभिन्डोको राँगो अनि भ्यान्टाबाट बनाएको खसी म पनि काट्थेँ। हामी केटाकेटीहरू यी सबै देखेर दंग पर्थ्यौं।
नवमीको दिन सबेरै उठेर नुवाइधुवाइ गरेर प्रत्येक पटक कान्छा काका र म डाँडामा रहेको कलिकादेवी मन्दिरमा पूजा गर्न जान्थ्यौं।
कालिका मन्दिरमा खसी, बोका, राँगा काटिन्थ्यो। त्यो देख्दा मनमा आखिर यस्तो चलन कहिलेदेखि चलिआएको होला भनेर खुल्दुली लाग्थ्यो। खसी काट्ने अघिल्लो दिन घिरौंला र कुभिन्डोमा खुट्टा राखेर किन काटेको होला भनेर पनि साह्रै उत्सुकता जाग्थ्यो।
मन्दिरमा पूजा सकेर घर फर्किन्थ्यौं। साँझपख बुबा दुइटा खसीको टाउको बोकेर आउनु हुन्थ्यो। सबै जना मिलेर मासु काटकुट पारी दसैं मनाउँथ्यौं।
विजया दशमीको दिन टीका लगाउँथ्यौं। भाइ र बहिनीलाई पैसा दिँदा मलाई पनि दिन्छन् कि भनेर आश गर्थेँ। दसैंमा एकपटक धर्ती छोड्नुपर्छ भन्ने विश्वास भएर भन्ज्याङमा पिङ खेल्न जान्थ्यौं। घर पूरै मासु र सेलले बसाएको हुन्थ्यो, घर पाहुनाले भरिँदा, माटाका घरमा राताम्य भएको दसैं अहिले सम्झिँदा पनि रोमाञ्चक भएर आउँछ।
पूर्वजहरूले बनाएको त्यो सृष्टि साँच्चै रहरलाग्दो छ। ती कति चाखलाग्दा र सुनौला दिन थिए। हरेक कुरामा उत्सुकता लुकेको त्यो बालापन कति पवित्र र निश्चल थियो।
दसैं अघिको सोह्र श्राद्ध अनि गुमाएका व्यक्तिहरूको सम्झनाले मनै रूवाउँछ। मेरा दुवै हजुरबुबा अहिले स्मृतिमा मात्रै हुनुहुन्छ। यो कुरा स्वीकार गर्नुबाहेक अन्य कुनै विकल्प छैन भनेर मन बुझाउँछु।
साँच्चै, पूरै परिवारसँग बिताएका ती पलहरू नजिकै छन्। दसैं हरेक साल आउन त आउँछ, तर एक किसिमको नरमाइलोपन मनमा छाउँछ।
किनकी आजभोलि प्रत्येक वर्ष घुमिफिरी दसैं आउँदा बाल्यकालको सम्झना झनै ताजा स्मृति बनेर सताइरहन्छ।
अनि अब त्यो दसैं कहिल्यै फर्केर आउँदैन!