'मेरो एउटा सुझाव छ। २०–३० वर्षभित्रको उमेरतिर बिहे गर्नुस्। छिटै बच्चाबच्ची पाइहाल्नुस्। त्यसो गरेपछि अनि जबमा लागे पनि भो, जेमा लागे पनि भो। केही भएन। छोराछोरी हुर्किँदै गर्छन् कमसेकम। फ्युचर जेनेरेसनको कुरा गर्ने। फ्युचर भन्या पैसा हो?'
सम्माननीय प्रधानमन्त्री ज्यूको भाषण सुनेपछि त एकछिन लाग्यो म विश्वकै खुसी देशहरू नर्वे, डेनमार्क, स्विजरल्यान्ड तिर छु जहाँ यो भन्न पनि सम्भव छ। तर कास हाम्रो नेपालमा सोचे जस्तो यस्तो स्वतन्त्रता भइदिएको भए ६० कटिसकेका बुढा बाआमालाई 'नआत्तेऊ न आमा-बुवा, अब २/४ वर्ष मात्रै पर्ख छोरोले केही गर्दै छ' भन्दै यस अन्जान सहरमा हाड पसिना चुहाउनु पर्दैन थियो होला।
कास म माछा हुन्थेँ त प्रधानमन्त्रीको ५० वर्षपछि बुढाबुढी मात्रै हुने चिन्ता दूर गर्नै भए पनि दुई होइन कम्तीमा ५० छोराछोरी जन्माइदिन्थेँ। तर प्रकृतिले मान्छेलाई पनि माछा जस्तो जन्माए मात्रै हुने हुर्काउन नपर्ने बनाइदिएन। देशको अस्थिरता, बेरोजगारी, गरिबी, सीमित अवसर, महँगो शिक्षा र स्वास्थ्य, भ्रष्टाचार र कुशासनले आफ्नै भविष्य अन्योलमा रहेका बेला आफ्ना सन्तति र तिनको भविष्यबारे सोच्न पनि सकिएन।
अन्तर्राष्ट्रिय श्रम सङ्गठनका अनुसार बेरोजगारी तब देखा पर्छ जब सक्रिय जनशक्तिले विगत केही हप्तादेखि काम गर्न खोज्दा काम पाइरहेको छैन। र, म यहाँ छु जसले हप्ता होइन एक वर्षदेखि काम पाइरहेको छैन। नेपालमा एक त भनसुन बिना काम पाउनै गाह्रो र यदाकदा काम पाए पनि बढीमा १२/१५ हजार तलब जब कि सरकारले तोकेको न्यूनतम पारिश्रमिक नै १७ हजार ३०० छ। अब भन्नुस्, त्यो १५ हजारले भाडा तिरौँ कि आफ्नो पेट भरौँ कि, फी तिरौँ कि बुढा बाआमालाई सहयोग गरौँ, कि बिहे गरेर छोराछोरी जन्माऊँ? उद्यम गरौँ पैसा छैन। लगानीको वातावरण छैन।
नेपालमा काम गर्न सक्ने सक्रिय जनसंख्या (१५–५९ वर्ष) ६१.९६% अर्थात् १ करोड ८० लाख ७१ हजार ६८५ रहेको छ। जुन अहिलेसम्मकै उच्च बिन्दु हो। वार्षिक श्रम बजारमा प्रवेश गर्ने करिब ५ लाख छन्। यत्रो सक्रिय जनशक्ति हुँदा पनि राज्यले सही परिचालन गरेर लाभ लिन सकेको छैन।
नेपालमा बेरोजगारी दर ११.४ % रहेको छ। रोजगारीमा औपचारिक क्षेत्रको हिस्सा ३६.५ प्रतिशत मात्रै छ। रोजगारीको संख्या करिब ९ लाख ३१ हजार मात्रै छ। देशमा कुल उद्योग ९३४४ छन्। प्रति उद्योग रोजगारी संख्या गन्ने हो भने ७५ मात्र हुन आउँछ। हालसम्म विदेश जाने करिब ६० लाख छन् भने दैनिक बिदेसिने करिब दुई हजार छन् जुन सक्रिय जनशक्तिको पलायन हो।
यसरी राज्यले अहिले भएको जनशक्ति उपयोग गर्न नसक्ने, रोजगारीको वातावरण बनाउन नसक्ने, जनतालाई शिक्षा, स्वास्थ्य जस्तो आधारभूत विषयमा ग्यारेन्टी दिन नसक्ने तर ५० वर्ष पछिको चिन्ता गरेर छोराछोरी जन्माऊ भन्यो भने के राज्यले थेग्न सक्छ?
नेपालमा हाल गरिबीको रेखामुनि रहेको जनसंख्या २०.२७ प्रतिशत छ। स्वास्थ्य बिमामा पहुँच २१ प्रतिशतको मात्रै छ। अझै पनि निरक्षर दर २३.८ प्रतिशत छ। विज्ञान र प्रविधिको युगमा करिब ४० प्रतिशत मात्रै डिजिटल साक्षरता छ। अझै पनि ५१ प्रतिशतले दाउरा नै प्रयोग गर्छन्। कृषिमा आश्रित जनसंख्या ७२ प्रतिशत छ। यो त डाटाले बोलेको कुरा भयो। गाउँमा गतिलो उपचार नपाएर दाइ गुमाउनुको, महँगीले उपचार गर्न नसकेर आफन्त बित्नुको, पैसा नभएर गतिलो स्कुलमा पढ्न नपाउनुको, सिफारिस बनाउन जाँदा सरकारी कर्मचारीका हप्की दप्की सहनु परेको¸ बाउआमाले अब त सक्तैन बा आफै गरी खा भनेको सुन्नु परेको मन भित्रका घाउका टाटाहरू कति छन् कति कसले बोल्दिने? अनि म यस्तो देशमा आफू स्वावलम्बी, आत्मनिर्भर नभई छोराछोरी जन्माएर उनीहरूलाई आफूले बाँचेको भन्दा पनि तल्लो स्तरको जीवन दिऊँ?
फेरि आफू परियो गाउँले केटो। गाउँमा सानो झुप्रो छ। एक दिन कुरै कुरामा कक्षाको केटी साथीलाई सोधेँ, 'तिमीलाई कस्तो केटा मन पर्छ?'
अरू गुणसँगै उसले थपेर भनी, 'कमसेकम काठमाडौँमा सानै भए पनि घर भएको, सवारी साधन भएको।'
ऊ काठमाडौँकै रैथाने परी। मैले फेरि दार्शनिक भएर सोधिदिएँ, 'के मायामा पनि घर गाडी हेरिन्छ र?'
उसले अलिक सिरियस हुँदै भनी, 'माया यत्तिकै मजाक होइन हेर! गरेपछि फ्युचर सोचेर गर्नुपर्यो। अब आफै सोच न, म कहाँ गाउँमा गएर बस्न, काम गर्न सक्छु त? घरबाटै दिनु हुँदैन मलाई। म यही ब्याकग्राउन्डमा फिट भइसकेँ। कमसेकम यही स्ट्याण्डर्डको त हुनु पर्यो नि!'
सबै त्यस्तो नहोलान् तर भोलि गएर यस्तै कोही कसैको माया प्रेममा डुबियो भने त बिहे गर्नै भए नि त्यो मिनिमम स्ट्याण्डर्डमा फिट हुन एक टुक्रै भए पनि जमिन जोड्नुपर्ने तितो यथार्थ हामी केटाहरूको लागि छ। छोराछोरी जन्माउन त परको कुरा हामी मध्यम र निम्न वर्गीय परिवारको त बिहे गर्न समेत गाह्रो छ।
त्यसैले जबसम्म आत्मनिर्भर भएर आफ्नो परिवारलाई आधारभूत आवश्यकता पूरा गर्न सक्ने भइँदैन, अलिकति सानै भए पनि सके झुप्रो हालेर वा नहालेर सुविधाका लागि सहरमा बाआमालाई झार्न सकिँदैन र आफू आर्थिक रूपमा सेटल भइँदैन। तबसम्म बिहे गर्ने सोच आउँदैन र गरिँदैन पनि। अरूका लागि सामान्य लागे पनि हामी गाउँले मान्छेहरूको साझा सपना हो यो। र, यो सपना पूरा गर्न नेपालको परिवेशमा २०–३० वर्षमा धेरैका लागि सम्भव छैन र त्यो वातावरण पनि छैन।
केटाहरू मात्रै होइन, केटीहरू पनि अब बिहे गरेर घर परिवारमा सीमित हुन चाहँदैनन्। उनीहरूका लागि पनि उस्तै असीमित सपनाहरू छन्। व्यक्तिगत र व्यावसायिक प्रगतिले समाजमा उडान भर्नु छ। फेरि आधुनिक जमानामा बिहे गर्नपर्छ भन्ने मान्यता पनि त हराउन थालेको छ। सबैलाई व्यक्तिगत स्वतन्त्रता, आत्मनिर्भरता, पर्सनल ग्रोथ, आफ्नो पढाइ, करियर प्रिय लाग्न थालेको छ।
फेरि कलिलै उमेरमा बिहे गरेर पछि परिवार बिग्रेको, डिभोर्स भएको घटना पनि त छन्। हताशमा बिहे गर्दा गलत मान्छे पो पर्छ कि? त्यसैले पार्टनर छनोट र प्रतिबद्धताका लागि तत्पर हुन पनि अगावै बिहे गर्न सकिँदैन।
पिएम ज्यू, पैसा मात्रै फ्युचर होइन तर छोराछोरी जन्माउनु मात्रै पनि फ्युचर होइन। छोराछोरी जन्माएर हुर्काइदिनु मात्रै भविष्य बनाइदिनु होइन। कस्तो शिक्षा, कस्तो स्वास्थ्य, कस्तो जीवन दिने भन्ने चाहिँ फ्युचर हो। जीवन दिएर मात्रै हुँदैन, गुणस्तरीय जीवन दिन सक्ने गरी मात्रै आफ्नो परिवार बसाउँछु भन्ने कुरा नै हाम्रो लागि फ्युचर हो।
२०७८ को जनगणनामा जनसंख्या वृद्धिदर १.३५ बाट ०.९३ % मा आउनु भविष्यको चिन्ताको विषय हो तर हाल हामीसँग भएको सक्रिय जनशक्तिको भरपुर उपयोग गरेर देशमै केही गर्न सकिने वातावरण बनायौँ भने भ्रष्टाचार बेथिति हटाएर नागरिकलाई सुशासनको अनुभूति गर्न दियौँ भने, नागरिकलाई एक छाक के खाने? छोराछोरी कसरी पढाउने? बिरामी भए कसरी उपचार गर्ने जस्ता चिन्ताबाट मुक्त राख्न सक्यौँ र नवप्रवर्तन, खोज अनुसन्धान र प्रविधिमा जोड दिँदै उद्योग व्यवसायमा जोड दियौँ भने नागरिक तपाईंले भनेजस्तै खुसी मात्र होइन, सुखी हुन्छन्। उनीहरूले आफ्नो मात्र होइन आफ्नो सन्ततिको पनि भविष्य (सेक्युरिटी) देख्छन् र देशमै आफ्नो परिवारसाथ खुसिखुसी जीवन बिताउने कल्पना गर्दै घरजम गर्छन्। बालबच्चा जन्माउँछन्।
त्यसैले प्रधानमन्त्री ज्यू, राज्यले बिहे गर भनेर सुझाव दिने मात्रै होइन बिहे गर्ने वातावरण पनि बनाइदिनु पर्छ। होइन भने ३० वर्ष अगाडि त के पछि पनि बिहे गर्न सोच्नुपर्ने हुन्छ। माफ गर्नुहोला, ३० वर्ष अघि त बिहे गर्न सक्दिनँ।