एक्काइसौं शताब्दीको सुरूआतदेखि नै सामाजिक सञ्जालको व्यापक प्रयोग बढिरहेको छ।
विश्वका करिब ८ अरब जनसङ्ख्यामध्ये ५ अर्ब जति मानिसहरू कुनै न कुनै सामाजिक सञ्जालको प्लेटफर्ममा संलग्न छन्।
फेसबुकमा मात्रै करिब ३ अर्ब ७ लाख मानिसहरू आबद्ध छन्। त्यसैगरी ट्वीटर, ह्वाटसएप, इन्स्टाग्राम, टिकटक, वीच्याट, टेलिग्राम लगायत अन्य विभिन्न सामाजिक सञ्जालका प्लेटफर्महरूमा मानिसहरू आबद्ध छन्।
मानिसहरूले बिहानदेखि बेलुकासम्मका विभिन्न गतिविधिहरूलाई सामाजिक सञ्जालमा राखिरहेका हुन्छन्। साथै समसामयिक मुद्दाहरूमा विचार प्रस्तुत गर्ने, बहस गर्ने, समर्थन गर्ने, वकालत गर्ने र आफ्ना मागहरू पूरा गराउने साधनको रूपमा पनि सामाजिक सञ्जालको प्रयोग गरिरहेका छन्।
वर्तमान समयमा मानव जीवनका हरेक पक्षहरूलाई सामाजिक सञ्जालले प्रभावित गरिरहेको छ।
शिक्षा, स्वास्थ्य अर्थतन्त्र, राजनीतिक, प्रशासन, न्याय, समाजसेवा लगायत अन्तर्राष्ट्रिय सम्बन्धलाई समेत सामाजिक सञ्जालले प्रभावित गरिरहेको छ।
सामाजिक सञ्जालका धेरै फाइदाहरू छन्। यसको सदुपयोग गरेर मानिसले आफ्नो काम, नाम र सम्मान बढाउन सक्छन्। ठूला सञ्चार गृह र मूलधारका मिडियाहरूको एकाधिकारलाई सामाजिक सञ्जालले भत्काएको छ भने सत्यतथ्य समाचार छिटोछरितो प्राप्त गर्न सकिने आधार खडा गरेको छ। तर अफसोस सामाजिक सञ्जालको प्रयोग बढेसँगै यसका विभिन्न बेफाइदाहरू देखापरेका छन्।
सामाजिक सञ्जालको दुरूपयोगले गलत सूचनाको प्रसारण गर्ने, कुनै व्यक्ति जाति वा संस्थाप्रति घृणा फैलाउने, आपराधिक क्रियाकलापहरू बढाउने, ध्वंसात्मक कार्य वा आतङ्कवादी क्रियाकलाप बढाउन पनि सामाजिक सञ्जालले मलजल गरेको छ।
सबै पुस्ताका मानिसहरूलाई सामाजिक सञ्जालले सकारात्मकका साथै नकारात्मक रूपमा प्रभाव पारिरहेको छ। यस आलेखमा सामाजिक सञ्जालको बढ्दो प्रयोगले युवा पुस्तामा बढाएको निराशाबारे चर्चा गरिएको छ।
एकातर्फ युवा अवस्था जैविक र मनोवैज्ञानिक रूपमा उच्च संवेगको अवस्था हो भने अर्कोतर्फ सामाजिक सञ्जालको आबद्धताले उनीहरूमा निम्न बमोजिमको मनोदशा उत्पन्न गराई उच्च निराशामा पारेको छ।
१. अरूसँग तुलना गर्ने प्रवृत्ति
मनोवैज्ञानिकहरूले युवा अवस्थालाई काल्पनिक उमेर वा अवस्था भनी नामकरण गरेका छन्। उनीहरूले आफूलाई आफ्नो दृष्टिकोणबाट पूर्ण भएको देख्न वा पाउन चाहन्छन्। यस्तो अवस्थामा सामाजिक सञ्जालका विभिन्न प्लेटफर्महरूमा पोस्ट गरेका अन्य मानिसहरू, आफन्तहरू र साथीभाइहरूले रमाइलो गरेका फोटो भिडिओ वा दैनिक जीवनशैलीका भ्लगहरूसँग तुलना गर्दा आफूलाई उनीहरू जतिको पाउन नसक्दा अत्यन्त दुःखी र निराश हुन्छन्।
सञ्जालमा आफ्नोभन्दा पनि खराब अवस्थाका मानिसहरूको बारेमा कुनै चासो र चिन्ता गर्दैनन्। अरूले लगाएका महंगा, महंगा ब्राण्डेड कपडा, जुत्ता, घडी, उनीहरूले बोक्ने आइफोन, खाने बर्गर, पिज्जा, बिरयानी, जाने महँगो र डेकोरेटेड रेस्टुरेन्ट वा रिसोर्ट, चढ्ने मोटरसाइकल वा कार, बोल्ने बनावटी भाषा, गर्लफ्रेण्ड र ब्वाइफ्रेण्डसँगको मस्कामस्की, हिपहप शैली र चुरोट समाएर कुल देखिने प्रवृत्तिसँग आफ्नो अवस्था तुलना गरेर आफूलाई ज्यादै कमजोर र तुच्छ छान्ने प्रवृत्तिले उनीहरूलाई चरम निराशामा पुर्याएको छ।
अरूले सञ्जालमा देखाउने बनावटी चमकधमकलाई वास्तविक ठानी आफूलाई निरीह मान्ने, बाबुआमालाई असहयोगी ठान्ने र आफन्तहरूसँग टाढिने प्रवृत्तिले पनि उनीहरूलाई थप निराश र एकाङ्की बनाएको छ।
२. कमजोर आत्मसम्मान
सामाजिक सञ्जालमा देखाउने र देखिने कृत्रिम समृद्धि तथा खुसीले पनि युवाहरूको आत्मसम्मानलाई कमजोर बनाएको छ। अरूको दिनचर्या, जीवनशैली र स्तरसँग तुलना गरी आफूलाई ज्यादै कमजोर ठान्ने, आफ्नो अवस्थालाई नजरअन्दाज गरी अरूको अवस्थालाई नै राम्रो, आकर्षक र महान भएको ठान्ने प्रवृत्तिले युवाहरूको आत्मसम्मानलाई कमजोर बनाएको छ। जसले गर्दा उनीहरू अरूसँग खुलेर कुराकानी गर्न नचाहने, झर्केर बोल्ने र परिवारका सदस्य लगायत आफन्तहरूसँग आत्मीय व्यवहार नदेखाउने अवस्था बढिरहेको छ। अरूले भनेका सामान्य कुरा वा गरेका सामान्य व्यवहारको प्रतिक्रिया स्वरूप उच्च आवेग देखाएर चरम निराशामा पुगेको पाइन्छ। आफूले भने जस्ता कपडा र स्मार्टफोन नपाएकै कारण कैयौं युवायुवतीले आत्महत्या गरेका घटना समेत सुन्ने गरिन्छ। जब आत्मसम्मान अत्यन्त कमजोर हुन्छ
तब उनीहरूले दैनिक क्रियाकलाप लगायत आफ्नो सुन्दर भविष्य निर्माण गर्ने कार्यमा समेत पछि पर्दछन्।
३. साइबर बुलिङ
सामाजिक सञ्जालका प्लेटफर्ममार्फत कसैले दिने उत्पीडन डर धम्की चेतावनी युवायुवती ज्यादै प्रताडित हुने गर्दछन्। उनीहरूको बारेमा सामाजिक सञ्जालमा गरिएका नकारात्मक पोष्टहरूले वा उनीहरूका पोस्टमा गरिने नकारात्मक तथा अपमानजनक प्रतिक्रियाहरूले युवायुवतीहरूलाई उच्च तनाव, गहिरो चिन्ता र डिप्रेसनमा पुर्याएको छ।
परिचित, अपरिचित विभिन्न व्यक्तिहरूबाट आउने धम्कीका कारण डरत्रासको मनोदशाले बाँचिरहेको पाइन्छ। विभिन्न प्रलोभनमा परेर वा झुटा आश्वासन तथा प्रेमका कारण यौनजन्य क्रियाकलापमा संलग्न हुने र पछि त्यसैलाई आधार बनाएर ब्ल्याकमेलिङ गर्दै थप आर्थिक, मानसिक तथा यौन शोषणमा परेको पाइन्छ।
४. बहिष्कृत हुने डर( फियर अफ मिसिङ आउट)
आफ्ना साथीभाइ, आफन्तजन र छिमेकीहरू विभिन्न पिकनिक, पार्टी र भ्रमणहरूमा घुमेको देख्दा युवायुवतीहरूले आफूलाई एकदम कमजोर र एक्लिएको महसुस गर्दछन्। नयाँ पार्क पोखरी, पुल, मन्दिर, नदी, पहाड, हिमाल, सहर आदि ठाउँहरूमा रमाइलो गर्दै घुमेका फोटो र भिडिओहरू सामाजिक सञ्जालमा देख्दा आफूहरू साथीसर्कल वा समाजबाटै बहिष्कृत भएको ठान्दछन्। शैक्षिक संस्था वा कुनै क्लबबाट गरिने महँगा भ्रमणहरूमा संलग्न हुन नसक्दा पनि आफूलाई ज्यादै निरीह भएको ठान्दछन्। यसबाट उनीहरूमा एक्लोपनको भावना तीव्र रूपमा बढ्दछ र उनीहरू गहिरो निराशामा पर्दछन्।
५. सुताइमा अवरोध
उमेरको आधारमा युवापुस्ताले नै समाजिक सञ्जालको अत्यधिक प्रयोग गरिरहेका छन्। विश्वव्यापी रूपमा १६ देखि २४ वर्ष उमेरसम्मका युवायुवतीले औसतमा दैनिक ३ घण्टा सामाजिक सञ्जालका कुनै न कुनै प्लेटफर्ममा बिताउने अध्ययनहरूले देखाएको छ।
कम विकसित र बेरोजगारीको समस्या भएको देशमा युवायुवतीहरूले अझ बढी समय सामाजिक सञ्जालमा बिताउने गरेको पाइन्छ। राति अबेरसम्म सामाजिक सञ्जालमा संलग्न हुने भएकोले एकातर्फ उनीहरूको सुत्ने समय घटिरहेको छ भने अर्कोतर्फ सञ्जालमा देखिने अत्यन्त संवेदनशील, भावनात्मक र हृदय विदारक दृश्यहरूले उनीहरू मस्तसँग निदाउन नसक्ने अवस्था रहेको छ। बिहान अबेरसम्म सुत्ने बानीले उनीहरूमा थप निराशा, आलस्य र चिन्ता बढाएको छ। यस्तो प्रवृत्तिले न त उनीहरूले घरायसी काममा सघाउने अवस्था छ, न त अध्ययन कार्यलाई नै बलियो बनाउन सकेका छन्। यसले उनीहरूको पाचन प्रणाली, आँखा सम्बन्धी र आधारभूत व्यवहार प्रदर्शनमा समस्या ल्याएको छ।
६. सञ्जालको लत बस्न
तुलनात्मक रूपमा युवायुवतीले सामाजिक सञ्जालको प्रयोग अत्यधिक रूपमा गर्ने भएकोले उनीहरूमा यसको लत बसेको पाइन्छ। मोबाइल नचलाएर एकछिन पनि बस्न नसक्ने, जुनसुकै बेला अनलाइनमा रहने, सञ्जालमा विभिन्न कन्टेन्ट पोस्ट गर्ने, मेसेज आदानप्रदान गर्ने, नोटिफिकेसन चेक गरिरहने, लाइक कमेन्ट र सेयरको आशा राख्ने, सकारात्मक प्रतिक्रियाको अपेक्षा गर्ने अझ कतिपय अवस्थामा केटा साथी वा केटी साथीबाट छिटो जबाफ नआउँदा, मेसेज नहेर्दा र हेरेर पनि जबाफ नदिँदा युवायुवतीहरू उच्च तनावको अवस्थामा पुग्ने गरेको पाइन्छ। डाटा खरिद गर्न घरमा पैसा माग्दा, पढाइमा ध्यान नदिँदा र खाना खान समेत टाइम नदिई कोठामा सीमित हुँदा परिवारका सदस्यहरूसँग सम्बन्ध सुमधुर हुने गरेको पाइँदैन। अनलाइन गेमिङ, एनिमेटेड फिल्म र एआई जेनरेटेड सामग्रीका कारण उनीहरूमा अस्वाभाविक व्यवहारको विकास भइरहेको छ।
७. डोपामिन चक्रमा अवरोध
मानिसमा हुने डोपामिन हर्मोनलाई खुसीको हर्मोन भनिन्छ। सामाजिक सञ्जालको सन्दर्भमा डोपामिन चक्र भन्नाले मस्तिष्कको पुरस्कार प्रणालीलाई सक्रिय बनाउने प्रक्रिया हो। मानिस जब खुसी र पुरस्कृत भएको महसुस गर्दछ, तब उसमा डोपामिन नामक न्युरोट्रान्समिटर उत्पन्न हुन्छ। मानिसले सामाजिक सञ्जालमा आफूलाई मनपर्ने दृश्य वा सामग्री देख्दा उत्पन्न हुने उक्त रसायनले थप सञ्जाल प्रतिशत लत बसाउँदछ। तर सामाजिक सञ्जालमा देखिने क्रुर, निराशाजनक र वीभत्स दृश्यहरूले मानिसको डोपामिन चक्रलाई नै अवरूद्ध गर्दछ र व्यक्तिमा क्रमश: निराशा उत्पन्न हुन्छ। उच्च संवेगको उमेर भएकोले यसको नकारात्मक असर बढी मात्रामा युवा युवतीमाथि नै बढी पर्दछ। यसले उनीहरूको निन्द्रा र पाचन प्रणालीमाथि गम्भीर असर पार्दछ।
८. प्रत्यक्ष अन्तरक्रियामा कमी
युवायुवतीहरू अत्यधिक रूपमा सामाजिक सञ्जालमा सक्रिय हुने भएकोले परिवारका सदस्यहरू, आफन्त र साथीभाइहरूसँग प्रत्यक्ष अन्तर्क्रिया अत्यधिक कम हुन्छ। जसले गर्दा उनीहरूलाई अरूको अवस्था समस्या आवश्यकताबारे जानकारी हुँदैन। दिनभरि आफूले भोगेका गरेका काम तथा अनुभवहरू पनि परिवारका सदस्यसँग सेयर हुन पाउँदैन। आफ्नै सन्तानका राम्रा नराम्रा क्रियाकलापहरूबारे परिवारका सदस्यहरू अनभिज्ञ हुन्छन्। उचित सल्लाह निर्देशन र परामर्श दिने लिने अवसर नै मिल्दैन। पारिवारिक तथा सामुदायिक कार्यहरूमा युवायुवतीहरू बिरलै रूपमा सरिक हुन्छन्। यसबाट पारिवारिक तथा सामाजिक मूल्यमान्यता सिक्ने सिकाउने प्रक्रिया नै अवरूद्ध हुन पुग्दछ। परिवारका सदस्य लगायत अन्य व्यक्तिहरूसँग आत्मीय सम्बन्ध स्थापित हुन सक्दैन। जसका कारण युवायुवतीहरूमा डर र असुरक्षाको भावना वृद्धि हुन्छ। समयमै उनीहरूले उचित निर्देशन सल्लाह र परामर्श प्राप्त गर्न सक्दैनन्। फलस्वरूप गलत बानी, व्यवहार र सङ्गतको सिकार हुन पुग्दछन्।
९. अवास्तविक अपेक्षाहरू
सामाजिक सञ्जालमा अन्य व्यक्तिहरूले रमाइलो गरेर हालेका फोटो, भिडिओ भ्लगहरू देखेर युवायुवतीहरूमा उच्च महत्त्वाकांक्षा जागृत हुन्छ। सञ्जालका दृश्यहरूलाई साँच्चिकै जस्तो ठानेर उनीहरूले आफ्ना आकाङ्क्षा र अपेक्षाहरू निर्माण गर्दछन् जुन अवास्तविक र केही हदसम्म काल्पनिक पनि हुन्छन्।
आफ्नो र परिवारको अवस्थाभन्दा पनि बढी चाहना राखेर त्यसको परिपूर्तिका लागि प्रयास गर्दछन्। बाबुआमासँग अपेक्षाहरू प्राप्तिका लागि माग गर्ने र माग पूरा नभएमा रिसाउने, झगडा गर्ने, बोल्न छोड्ने र घर छोडेर समेत हिँड्ने गर्दछन्। यसबाट एकातर्फ उनीहरूको पारिवारिक सम्बन्ध खराब बन्न पुग्दछ। अर्कोतर्फ आफूलाई कमजोर र निरीह ठानी युवायुवतीहरूमा हीनभावनाको विकास हुन्छ।
१०. नकारात्मक सामग्रीको सम्पर्क
सामाजिक सञ्जाल अहिले स्वामित्वविहीन पोखरी जस्तै भएको छ, जहाँ खान नहुने धेरै जीवहरू बसोबास गरेका हुन्छन्। अर्थात् सामाजिक सञ्जालमा अरूको बदनाम गर्ने, विभिन्न व्यक्ति, समुदायप्रति घृणा फैलाउने, गलत सूचनाको प्रचारप्रसार गर्ने, सामाजिक सन्तुलन खल्बल्याउने, हिंसा बढाउने, आतंकवादलाई प्रवर्द्धन गर्ने, अश्लिलता एवं अप्राकृतिक यौन व्यवहारलाई फैलाउने, राजनीतिक स्वार्थ पूरा गर्ने, आर्थिक ठगी गर्न सघाउने जस्ता विभिन्न सामग्री पाइन्छन्। जसले युवापुस्तालाई दिगभ्रमित गर्न, खराब आचरण सिकाउन मद्दत गरिरहेका छन्। जसले गर्दा कुनै व्यक्ति, जाति, समुदाय र धर्मप्रति घृणा फैलाउने अपशब्द बोल्ने, डरधम्की देखाउने र आपराधिक क्रियाकलापमा संलग्न हुन प्रेरित गरिरहेको छ।
समग्रमा युवायुवतीहरू नै सामाजिक सञ्जालमा अत्यधिक सक्रिय हुने भएकोले उनीहरूमा एक प्रकारको अस्वाभाविक व्यवहारको विकास भइरहेको छ। उच्च संवेगको अवस्थामा रहेका उनीहरूमा शारीरिक, मानसिक र व्यवहारजन्य समस्याहरू देखा परेका छन्। जसको समाधानका लागि परिवार, शैक्षिक संस्था, समुदाय, स्वास्थ्य संस्था र नियमनकारी निकाय थप जिम्मेवार भई प्रभावकारी पहल गर्न अत्यावश्यक भइसकेको छ।