गर्मीयाम सुरू भएसँगै लामखुट्टेको टोकाइबाट हुने डेंगी जस्ता संक्रमणहरूको जोखिम बढ्दो छ। तर के लामखुट्टेले टोक्ने बित्तिकै डेंगी हुन्छ?
अहँ हुँदैन।
कतिपय मानिसले लामखुट्टेले टोक्ने बित्तिकै हनहन्ती ज्वरो आएको र आफूलाई डेंगी भएको आशंका गर्नुहुन्छ। तर यथार्थमा त्यो हुँदैन। किनकी डेंगीबाट संक्रमित लामखुट्टेले टोकेको चारदेखि १० दिनमा बल्ल लक्षणहरू देखिन थाल्छ।
लक्षणहरूको कुरा गर्दा धेरै जसोलाई अत्यधिक ज्वरो आउने, शरीर र मांसपेशी दुख्ने गर्छ। र त्यो दुखाइ यति पीडादायी हुन्छ कि हड्डी भाँचिएको जस्तो दुख्छ। त्यसैले पहिले यसलाई 'ब्रेक बोन फिभर' पनि भनिन्थ्यो। अरू लक्षणको कुरा गर्दा आँखाका गेडी दुख्ने, टाउको दुख्ने, र खानामा रूचि नहुने। कतिपयलाई त खानाको नाम पनि लिन खोज्दा बान्ता आउन खोज्छ। र पछिल्लो समय केही संक्रमितहरूलाई पखाला पनि लागेको पाइएको छ।
यी माथि उल्लेखित लक्षणहरू देखिएमा डेंगी संक्रमण भएको आशंका गर्न सकिन्छ र चिकित्सकको परामर्श लिन सकिन्छ।
अर्को महत्वपूर्ण कुरा भनेको डेंगी संक्रमितहरूलाई आफू कुन अवस्थामा अस्पताल जाने भन्ने अन्योल हुनसक्छ। किनकि धेरैजसो संक्रमितहरू घरमै बसिरहनुभएको हुन्छ। यस्तो अवस्थामा माथि उल्लेखित लक्षणहरूलाई ख्याल गर्नुपर्छ। जस्तो कि तारन्तार बान्ता भयो वा नाक र गिजामा रगत देखिन थाल्यो अथवा असाध्यै पीडा र शरीर आलस्य भयो भने अस्पताल जाने वा चिकित्सकको परामर्श लिनुपर्छ। किनकि गत वर्ष पनि अस्पताल आएका धेरै संक्रमितहरूमा नाकबाट रगत बग्ने समस्या देखिएको थियो।
अर्को कुरा भनेको कस्तो लामखुट्टेले टोकेपछि डेंगी हुन्छ?
यसका लागि हामीले लामखुट्टेको आवरणलाई ध्यान दिनुपर्छ। किनकी डेंगी संक्रमण सार्न लामखुट्टे कालो र सेतो मिसिएको छिरबिरे रङको हुन्छ। जुन एडिस जातका लामखुट्टे हुन्।
यसमा मुख्य ख्याल गर्नुपर्ने भनेको यो लामखुट्टे बिहानी पख र सूर्यास्त हुनु भन्दा केही घण्टा अगाडिको समयमा बढी सक्रिय हुन्छ। र यो समय भनेको धेरैजसोको कार्यालय समय हो। त्यसैले कार्यक्षेत्रमा हुँदा यो समयमा विशेष ख्याल गर्नुपर्ने हुन्छ।
अर्को भनेको गत वर्ष पनि झन्डै ४५ हजार जनामा डेंगी संक्रमण पुष्टि भएको थियो। यो वर्ष पनि बेलैमा सतर्कता अपनाइएन भने सोही नियति हुन्न भन्न सकिँदैन। त्यसैले समयमै सावधानी अपाउनुपर्ने हुन्छ। त्यसो भए संक्रमणबाट बच्न के-के गर्ने त?
आउनुस् यसबारे विस्तृतमा कुरा गरौं।
मुख्यतः गर्मी याम सुरू भएपछि लामखुट्टेको गतिविधि बढ्ने गर्छ। र यो समय भनेको धेरै पानी पर्ने समय हो। जसले गर्दा हाम्रो घर वरिपरि, खाल्डाखुल्डी र पुराना सामानहरूमा पानी जम्ने गर्छ। र ती ठाउँहरू भनेको लामखुट्टेले आफ्नो जीवनचक्र चलाउने ठाउँ हो।
हामी देख्छौं घर फ्यालिएका पुराना भाँडाकुडा, गमला, ड्रम, टायर लगायत विभिन्न सामग्रीमा पानी जमिरहेको हुन्छ। हामीले त्यस्ता सामग्रीमा जमेको पानी तुरून्तै सफा गर्नुपर्छ। त्यति मात्र हैन घर वरिपरि खाल्डोहरूमा जमेको पानी पनि सफा गर्नुपर्छ र आइन्दा पानी जम्न नदिन त्यस्ता खाल्डाहरू पुर्नुपर्छ। अर्को भनेको समुदाय स्तरमै सरसफाइको कार्यक्रम नियमित चलाउनुपर्छ। जसले गर्दा समुदाय सफा रहन्छ र लामखुट्टेको गतिविधि कम हुने गर्छ।