जसलाई आफ्नो जग्गा भाडामा उपयोग गर्न दिएको हो, उसैले जालसाजी गरेर अर्कैलाई बेचिदियो भने ती जग्गाधनीको हालत के होला?
घोराही उपमहानगरपालिका– १४, सरस्वती टोलकी ६६ वर्षीया एकल महिला मुलजिता रोका अहिले यही समस्याबाट गुज्रिँदै छिन्।
उनी न्याय पाऊँ भन्दै जिल्ला प्रहरी कार्यालयदेखि अदालत र सरकारी निकायहरू धाइरहेकी छन्। त्यसै क्रममा बुधबार घोराहीमा पत्रकार सम्मेलन गरिन्।
लेखपढ गर्न नजान्ने रोकाले आफ्नै नामको १० कठ्ठा ८ धुर जग्गा भतिजा नाता पर्ने 'रञ्जित' भनिने टीका बूढालाई भाडामा दिएकी थिइन्। घोराही उपमहानगरपालिका– ७ सौडियारस्थित उक्त जग्गाको कित्ता नम्बर ३ क ९२६ रहेको लालपुर्जाबाट खुल्छ।
रोकाले छोरीको पढाइ खर्च पुर्याउन २०७८ असार १६ गते १० वर्षका लागि जग्गा भाडामा दिएको सम्झौता पत्रमा उल्लेख छ। उनले वार्षिक २४ हजार रूपैयाँका दरले भाडामा दिएको बताएकी छन्।
जग्गा भाडामा लिएका टीका बूढा 'जनज्योति पशुपालक कृषक सहकारी संस्था' मा आबद्ध थिए। उनी नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराका कान्छी छोरी–ज्वाइँ पनि हुन्।
बूढाले कृषि प्रयोजनका लागि जग्गा भाडामा लिएका भए पनि जालसाजी गरेर अर्कै व्यक्तिलाई बेचेको तथ्य खुलेको छ।
भाडामा दिने सम्झौता भएको १२ दिनपछि नै मुलजिता रोकाको नाममा रहेको जग्गा २० लाख रूपैयाँको कागजी मूल्यांकन देखाएर लक्ष्मण शर्मालाई बिक्री गरिएको प्रमाण फेला परेको छ। लक्ष्मणलाई बिक्री गर्दा साक्षी बस्ने उनै बूढा थिए।
त्यो जग्गा अहिले लक्ष्मणको नाममा पनि छैन। उनले पनि ६ महिनापछि २०७८ पुस २० गते घोराही– १५ का पर्शुनारायण श्रेष्ठलाई जग्गा बेचेको लालपुर्जा फेला परेको छ।
हाल एक करोडभन्दा बढी मूल्यको त्यो जग्गा श्रेष्ठले किन्दा पनि २० लाख रूपैयाँ नै मूल्यांकन गरिएको मालपोतको रेकर्डमा छ।
यसरी आफूले भाडामा दिएको जग्गा अर्कैलाई बिक्री गरिएको रहस्य रोकाले त्यति बेला थाहा पाइन्, जब उनी जग्गाको तिरो तिर्न वडा कार्यालय पुगेकी थिइन्।
वडाका कर्मचारीले त्यो जग्गा अर्कैको नाममा पास भइसकेको बताएपछि रोका छाँगाबाट खसेझैं भइन्।
'सुरूमा त विश्वासै गरिनँ। वडाका कर्मचारीले सबै कागजपत्र देखाएपछि छाँगाबाट खसेझैं भएँ,' रोकाले भनिन्, 'मैले विश्वास गरेर जग्गा भाडामा दिएको मान्छेले नै मलाई धोका दिएछन्।'
मालपोतको रेकर्ड हेर्दा उक्त जग्गा बिक्री गर्न रोका आफै गएको र उनको डिजिटल तस्बिर पनि खिचिएको देखिन्छ।
रोका भने जग्गा भाडामा लगाउन मात्र मालपोत गएको र त्यही मौकामा छलछाम गरेर जग्गा बिक्रीको कागज बनाइएको दाबी गर्छिन्। आफू निरक्षर हुनुको फाइदा उठाउँदै टीका बूढाले जालसाजीपूर्वक जग्गा हत्याएको उनको भनाइ छ।
'मलाई जग्गा भाडासम्बन्धी सम्झौता गर्न मालपोत जानुपर्छ भनेका थिए, म गएँ। मालपोतको झ्यालबाट कागजातमा ल्याप्चे लगाउन लगाए, मैले लगाइदिएँ। त्योबाहेक अरू केही थाहा छैन,' उनले भनिन्।
उनले भाडामा दिएको जग्गा आफूलाई थाहा नदिई कसरी बिक्री गर्यौ भनेर भतिजा नाता पर्ने टीका बूढालाई सोधेकी थिइन्।
टीकाले 'झुक्किएर जग्गा पास भयो' भन्दै केही समयमा फिर्ता गर्ने आश्वासन दिएको रोकाले बताइन्।
'उसले जग्गा फिर्ता गर्छु भनेको पनि महिनौं भइसक्यो, अहिलेसम्म गरेको छैन,' उनले पत्रकार सम्मेलनमा भनिन्, 'त्यही भएर घटना सार्वजनिक गर्न बाध्य भएकी हुँ।'
यो घटना खुलेपछि रोकाकी छोरी पेम्बा तामाङले गत जेठ ४ गते आफ्नी आमाविरूद्ध जिल्ला अदालतमा तीनवटा मुद्दा दायर गरेकी छन्। जग्गा बिक्रीको राजीनामा लिखत बदर गर्नुका साथै जालसाजी र अंशसम्बन्धी मुद्दा दायर गरिएको अदालतले जनाएको छ। यसमा असार २३ गते पेसी तोकिएको छ।
यसबीच जग्गा भाडाबापत् बूढाले चारपटक गरेर रोकालाई एक लाख २० हजार रूपैयाँ बुझाएका थिए। सम्झौता पत्रमा पाँच–पाँच वर्षमा भाडा बुझाउने भनेर लेखिएको छ।
रोकाले माओवादी नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरासँग पनि यो घटनाबारे कुरा गरेको बताइन्।
'तपाईंको छोरी–ज्वाइँले यस्तो यस्तो गर्यो भनेर महरालाई सबै बताएँ। उनले पनि आश्वासन त दिएका थिए, तर केही गरेनन्,' उनले पत्रकार सम्मेलनमा भनिन्, 'ममाथि भएको अन्याय कसैले नसुनेपछि तपाईंहरूसमक्ष आउनुपर्यो।'
पत्रकार सम्मेलनमा यो घटनासँग जोडिएका अरू व्यक्ति पनि उपस्थित थिए।
तीमध्ये वीरू घर्ती मगर र दीपा बूढाले आफूहरूलाई झुक्याएर जनज्योति सहकारीको अध्यक्ष र कोषाध्यक्ष बनाइएको र आफ्नो दस्तखत दुरूपयोग गरिएको आरोप लगाए। मुद्दा परेपछि मात्र यो कुरा थाहा भएको उनीहरूको भनाइ थियो।
यी सबैको आरोप सुनेपछि हामीले टीका बूढासँग पनि यसबारे कुरा गर्यौं।
जबाफमा उनले भने, 'त्यो जग्गा मैले बेचेको होइन। जग्गा धितो राखेर लिएको ऋण तिर्न नसक्दा छिनुवा पास भएको हो।'
कुनै जग्गा धितो राखेर ऋण लिइएको छ भने तोकिएको भाखासम्म तिर्न नसके ऋण दिने व्यक्तिकै नाममा जग्गा पास हुन्छ। यसलाई छिनुवा पास भनिन्छ।
यस्तो कसरी भयो त भन्ने प्रश्नमा बूढाले भने, 'अहिले आएर मैले अरूलाई दोष लगाएर आफू पन्छिन मिल्दैन। लक्ष्मण (शर्मा) भन्ने साथीले त्यो जग्गामा के–के कार्यक्रम गरौं भनेर सल्लाह गर्नुभयो। त्यसको निम्ति अनुदान लिन आधा पहिले नै लगानी गर्नुपर्ने रहेछ। त्यति बेला हामीसँग आधा लगानी गर्न पैसा थिएन। त्यसैले त्यही जग्गा धितो राखेर कार्यक्रम लिने कुरा भयो। म त साक्षी मात्र बसेको हुँ।'
यसरी जग्गा धितो राखेर कृषि कार्यक्रम लिए पनि संरचना बनाउँदा बनाउँदै पैसा सकिएपछि तोकिएको भाखामा ऋण उतार्न नसकेको र छिनुवा पास भएको उनले बताए।
जग्गा बिक्रीमा आफू संलग्न नरहेको दाबी गरे पनि त्यसबाट आएको ४५ लाख रूपैयाँ आफूले चलाएको उनले स्वीकार गरे।
'हिजो जे जस्तो कारणले यो अवस्था आएको भए पनि अहिले हामीले जग्गा फिर्ता लिन सम्झौता गरिसकेका छौं,' बूढाले शुक्रबार दाबी गरे, 'आजै मात्र जग्गा फिर्ता गर्न लिखित सम्झौता हुँदैछ।'
तर त्यो जग्गा त तेस्रो व्यक्तिको नाममा पास भइसकेको छ, अब कसरी फिर्ता लिनुहुन्छ भनेर सोध्दा बूढाले भने, 'बाँकी रहेको ऋण तिरेपछि जग्गा फिर्ता गर्छु भन्ने छ। यसबारे हाम्रो सम्झौता भइसकेको छ।'
हामीले घोराहीस्थित भूमिसुधार तथा मालपोत कार्यालय प्रमुख कमल पौडेलसँग पनि कुरा गर्यौं।
उनका अनुसार कुनै पनि जग्गाधनीले अरूलाई जग्गा पास गर्नुअघि वडा कार्यालयको सिफारिस चाहिन्छ। मालपोत कार्यालय आइसकेपछि पनि आफै उपस्थित भएर सहीछाप वा ल्याप्चे लगाउनुपर्छ।
'जग्गा बेच्ने व्यक्तिलाई हाम्रा कर्मचारीले जग्गा बेचेको हो कि होइन? हो भने कतिमा बेचेको? पैसा बुझ्नुभयो कि भएन? जस्ता प्रश्न सोध्छन्,' उनले भने।
मुलजिता रोकाले भने आफू मालपोत कार्यालय जाँदा यस्ता कुनै प्रश्न नसोधिएको बताइन्।
मालपोत प्रमुख पौडेलले यो घटनाबारे पीडित पक्षसँग कुराकानी भएको र सर्सर्ती हेर्दा रोकामाथि जालसाजी भएकै देखिने धारणा व्यक्त गरे।
'यो मुद्दा अदालतमा विचाराधीन छ। जालसाजीको कुरा त्यहाँबाट टुंगो लाग्ला,' उनले भने, 'जसले जग्गा किनबेच गरेका छन्, उनीहरू फिर्ता गर्न राजी भए जग्गा फेरि मुलजिता रोकाको नाममा ल्याउन सहज हुनेछ।'
***