मनन गरौं त, हामी कस्तो अवस्थामा के खोज्छौं!
आफूसँग भएको; आफूले देखेको, भोगेको, जानेको, राखेको चिजवस्तु आदि आवश्यक परेका बेला खोजी गर्छौं। फेला परेन भने कुनै विकल्पले प्रतिस्थापन गर्छौं। यसो गर्न नसके त्यागिदिन्छौं।
कहिलेकाहीँ आफूले नजानेको चिजवस्तु हराएको महसुस गर्नु र त्यसको खोजीमा लागेर आफै हराउनु बडो रोचक हुने रहेछ।
जसको अस्तित्व जानकारी छैन त्यही हराएको अनौठो अनुभूति गर्नु र त्यसैको खोजी गर्नु एक हिसाबले मूर्खता पनि हुन सक्ला!
म अस्तित्वहीनजस्तो केही तत्त्वको खोजीमा छु, चार वर्ष भयो।
मैले म र मजस्ता मान्छेमा आफ्नो 'म' हराएको महसुस गरेँ। म त्यो 'म' को खोजीमा लागेको छु भनेर सार्वजनिक गरेँ। अरूलाई पनि आफूभित्रको 'म' खोज्न आग्रह गरेको थिएँ।
मेरो आग्रहको विवरण पाठकहरूले गम्भीरतापूर्वक लिनुभयो कि भएन त्यो पनि थाहा भएन। त्यसमा गम्भीर हुनैपर्थ्यो भन्ने पनि होइन।
मेरो आग्रह अनुसार कोही खोजीमा लाग्नुभयो कि भएन, थाहा छैन। कोही लाग्नुभयो भने फेला पार्नुभयो कि भएन, त्यो पनि थाहा छैन।
मैले अल्पज्ञान र अल्पअनुभूतिमा मेरो विचार सार्वजनिक गरेको थिएँ। आधार र प्रमाण पेस हुने विषय पनि थिएन।
आज पनि उही स्तर र अनुभूतिबाट उही सन्दर्भ उठाउने जमर्को गरेको छु।
यो विषय गम्भीर हो कि होइन, यसको कुनै तात्त्विक अर्थ छ कि छैन, यस सन्दर्भमा पाठकहरूबाट फरकफरक दृष्टिकोण प्रस्तुत हुन सक्ला। बुझाइ पनि आआफ्नो हुन सक्ला।
म चाहिँ जति बुझ्ने प्रयास गर्छु त्यति नै जटिल महसुस गर्दै छु। पहिलो प्रस्तुतिमा केही द्विविधा थियो। आकार, प्रकार, संरचना र क्षेत्रसमेत पहिचान नभई 'म' को खोजीमा लागेको थिएँ।
चार वर्ष बित्दा यो सन्दर्भ सतही होइन, गहिरो र जटिल छ भन्ने महसुस भयो।
मभित्रको 'म' के हो? यसको खोजी गर्नु भनेको के हो?
यी प्रश्नमा जानुअघि मभित्रको 'म' हराउनु भनेको के हो?
यो प्रश्नको जबाफ पाउनुपर्ने रहेछ भन्ने थाहा पाउँदै छु।
यस्ता अमूर्त प्रश्नमा पाठकहरूको मतभेद हुन्छ नै।
नेपाली शब्दकोशमा 'हराउनु' शब्दको अर्थ 'कुनै खास वस्तु बेपत्ता हुनु, गुम्नु, त्यसको टुंगो बिर्सनु, अदृश्य बन्नु, फेला नपर्नु वा लुप्त हुनु, कसैलाई पराजित गर्नु' लेखिएको पाइन्छ।
यो लेखको सन्दर्भमा 'हराउनु' को अर्थ शब्दकोशको भन्दा भिन्न छ। शब्दकोशले कुनै भौतिक वस्तु हराएको सन्दर्भमा अर्थ दिन्छ।
यो आलेख जे खोजी भएको छ त्यसको आकार, प्रकार, संरचना वा क्षेत्र केही पनि छैन, अभौतिक छ।
अभौतिक हुनुको अर्थ तत्त्वज्ञानसँग सम्बन्धित छ भन्ने हो।
तत्त्व ज्ञान भनेको ब्रह्म, आत्मा र सृष्टिको यथार्थ ज्ञान हो, मोक्ष प्राप्तिको ज्ञान हो, समग्रमा ब्रह्मज्ञान हो।
आफूभित्र के छ? आफूभित्रको 'म' के हो? 'म' कस्तो छ? 'म' हुनुको उद्देश्य के हो? 'म' र म हुनुको अन्तर्सम्बन्ध के हो?
आफुसँग जबाफ नहुनु नै हराउनु हो जहाँ हराएँ भन्ने आभास स्वयंलाई हुँदैन। व्यक्ति आफूभित्रको 'म' खोजी नगरी बाँचिरहेको हुन्छ।
वास्तवमा 'म' हराउनु भनेको अरूले चिन्ने लोकप्रिय भौतिक म निर्माणका लागि ठाँटयुक्त, जीवनशैलीमा अभ्यस्त हुनु हो। हाम्रो वर्तमान सामाजिक संरचनाले अवलम्बन गरेको अभ्यास यही हो। यो अभ्यास तुलनात्मक र प्रतिस्पर्धात्मक छ।
राज्यको स्थापित कानुन, स्थापित सामाजिक–सांस्कृतिक अभ्यास, धर्म–परम्परा अनुसारको नैतिकताभित्र हुने अभ्यासमा दोष छैन। यसमा नकारात्मकता खोजी गर्नु आवश्यक छैन।
यसो भए पनि यो युगमा 'म' हराएको छ, हामी यही युगमा छौं।
प्रश्न उठ्छ 'म' हराएको युग यो मात्र हो? होइन; सबै युगमा हराएको छ, युग बदलिए पनि 'म' हराउने क्रम उस्तै छ।
यस सन्दर्भमा केही दृष्टान्तहरू यहाँ प्रस्तुत गर्नु सान्दर्भिक हुनेछ।
हाम्रा धार्मिक ग्रन्थहरूमा उल्लेख भएका र हामीले मानेका हनुमानको कुरा गरौं।
संकटमोचक हनुमानको बाल्यकाल आजका बालबालिकाको जस्तै थियो तर उनमा अद्वितीय शक्ति थियो। आमबालकहरूझैं बालक हनुमान पनि अनियन्त्रितरूपमा आफ्नो शक्ति प्रयोग गर्दै हिँड्थे।
त्यस्तो स्वभावका कारण ऋषिमुनिहरूले श्राप दिए– जबसम्म तिमीलाई कसैले स्मरण गराइदिँदैन तबसम्म तिमी आफ्नो शक्ति बिर्सिने छौ।
त्यसपछि हनुमानको 'म' हरायो। उनी शक्तिशाली थिए तर आफू को हुँ, किन जन्मिएको हुँ, कुन मार्ग रोज्नुपर्छ भन्ने आत्मबोध भएन।
यो प्रसंग आजका प्रत्येक व्यक्तिमा मिल्दोजुल्दो देखिन्छ। प्रत्येक व्यक्ति कुनै न कुनै क्षमता लिएर जन्मिएको हुन्छ तर युगको दौड, समाजको अपेक्षा र आफ्नो अस्तित्वको भ्रममा अल्झँदा प्रत्येकको 'म' हराएको छ।
श्रीरामसँगको पहिलो भेटपछि हनुमानको जीवन बदलियो। उनले आफू जन्मिनुको सार 'रामसेवा' हो भन्ने आत्मबोध गरे। त्यही बेला उनको 'म' पहिचान भयो।
हनुमान आफैले रामसेवा मेरो धर्म र अस्तित्व हो भनेका छन्।
हनुमान फेरि शक्तिशाली र सशक्त आत्मचेतनायुक्त परामानव बने।
आजका मानिस पनि श्रापित हनुमानजस्तै भएका छौं। हामीसँग सामर्थ्य छ तर त्यो थाहा छैन। आफैमाथि विश्वास छैन, आफैलाई चिन्न सकेका छैनौं। हामी सबैको 'म' हराएको छ। हामी केवल अरूको अपेक्षा अनुसार चलेका छौं।
महाभारतका महान नायक अर्जुन सांसारिक यथार्थ र धर्मका बीचको गहिरो द्वन्द्वमा फसेका थिए। कुरूक्षेत्रको रणभूमिमा आफन्तहरूविरुद्ध युद्ध गर्नुपर्ने स्थिति आएपछि उनको मनमा प्रश्न उठ्यो– के मैले यो युद्ध गर्नैपर्छ?
उनले आफ्नो अस्तित्व र कर्तव्य पहिचाननिम्ति संघर्ष सुरू गरे। श्रीकृष्णबाट गीता उपदेश प्राप्त गरेपछि मात्र अर्जुनले आत्मबोध गरे, युद्ध र धर्मको भेद र अन्तरसम्बन्ध थाहा पाए। यसको अर्थ उनले आफ्नो 'म' चिने। फलस्वरूप धर्मवीर योद्धा र समाजका संरक्षक बने।
महाभारतका अर्का शक्तिशाली पात्र कर्णको जीवन आफैमा एक कहानी हो। उनले पहिचानको गहिरो संकट भोग्नुपर्यो, पहिचानका लागि संघर्ष गर्नुपर्यो।
अविवाहित कुन्तीका पुत्र कर्णले अनेक निन्दा खेप्दै आफ्नो अस्तित्वको खोजी गर्नुपरेको थियो। उनले लिएको निर्णय ठीक कि बेठीक भन्ने तर्क गर्नु तपशीलको विषय हो।
उनको धनुर्विद्या र दानवीरता उनीभित्रको 'म' थियो। अर्जुनको सशक्त प्रतिस्पर्धी हुनु उनी जन्मनुको सार थियो।
महाभारतकै एकलव्य धनुर्विद्यामा कुशल थिए तर पनि उनी धनु चलाउनबाट वञ्चित पारिए। उनी निष्ठा र त्यागका प्रतिविम्ब भए। सृष्टिका सबै पात्र युद्ध जित्न मात्र जन्मिएका हुँदैनन् भन्ने प्रमाण हुन एकलव्य। उनको 'म' धर्मको असमर्थ पक्ष उजागर गर्नुमा थियो।
महाभारतका महत्त्वपूर्ण पात्र हुन् शिखण्डी। उनले आफ्नो अस्तित्वको औचित्य पुष्टि गर्नु थियो। उनले आफ्नो अस्तित्वको अर्थ थाहा पाएपछि मात्र जीवन सार्थक हुन्छ भन्ने पुष्टि गरे। उनले आफूभित्रको 'म' चिने, त्यसै अनुसार योगदान गरे।
रत्नाकर डाँकु आफ्नै भोगाइबाट वाल्मीकि ऋषि भए, रामायण रचना गरे।
इस्लाम धर्मग्रन्थका पात्र युनुसको दृष्टान्त पनि उल्लेखनीय छ। इस्लाम धर्ममा नवी युनुस अलैहिस्सलाम (प्रोफेट जोन) को कथा कुरआनमा तीन ठाउँमा आउँछ। सबैमा युनुसको आत्मसंघर्ष र आत्मबोधको यात्रा चिरस्थायी शिक्षाका रूपमा प्रस्तुत गरिएको छ।
युनुसको कथा आत्मपछुतो, आत्मबोध, र आध्यात्मिक पुनर्जन्मको हो। सुरुमै उनले आफ्नो नवीत्व (डिभाइन आइडेन्टिटी) अनुसार होइन, मानवीय भावनाका आधारमा निर्णय गरे।
आफू समुद्रमा माछाको गर्भमा परेपछि उनले देखे– म आफूलाई नै भुलिरहेको थिएँ; मेरो मार्ग, उद्देश्य, र अस्तित्व सबै ईश्वरसँग जोडिएको छ।
त्यही बिन्दुमा 'म' आत्मचेतनामा फर्कन्छ।
नवी युनुसको कथा कुनै धार्मिक मिथ मात्र होइन, आत्मसंघर्ष र आत्मबोधको हो। जब हामी आफ्नो समाजबाट, धर्मबाट र आत्मिक मार्गबाट विचलित हुन्छौं तब 'म' हराउने खतरा हुन्छ। आत्माले आफैलाई सोध्न थाल्छ– म को हुँ?
अनि सुरू हुन्छ आत्मबोधको यात्रा।
सिद्धार्थ गौतमबाट गौतम बुद्धसम्मको यात्रा हेर्दा विलाशिता, सुखसुविधा र राजकीय शक्ति मात्र मानवजीवनको उद्देश्य होइन भन्ने प्रस्ट हुन्छ। सबै पक्षबाट सम्पन्न मान्छे पनि आफ्नो 'म' पहिचान नगर्दासम्म बेचैन रहन्छ भन्ने गौतम बुद्धको जीवनबाट प्रस्ट हुन्छ।
राजकुमार सिद्धार्थले लामो साधानबाट आफ्नो 'म' फेला पारे अनि अहिंशा र शान्तिका दूत गौतम बुद्ध भए। अन्ततः भगवान भए।
'म' भन्नु शरीर, भावना, संवेग, चेतना र संस्कार (पञ्चस्कन्ध) को अस्थायी संयोजन मात्र होइन।
जब कुनै व्यक्तिले यो संयोजनको स्वभाव थाहा पाउँछ तब उसले 'निर्वाण' प्राप्त गर्छ, ऊ परमानन्द र शान्तिमा पुग्छ जहाँ मोह, द्वेष र अहंकार हराउँछ। यही हो सच्चा 'म'; इच्छामुक्त र करुणासम्पन्न।
ईशाई धर्मग्रन्थ बाइबलमा येशू ख्रिस्टको जीवन, शिक्षा र उनका शिष्यहरूको यात्रामा 'आत्मबोध' को सन्दर्भ गहिरो रूपमा देखिन्छ। उनका शिष्य पेत्रुस (पिटर) को कथा निकै महत्त्वपूर्ण छ।
पेत्रुस येशूका अति नजिकका अनुयायी थिए। येशूले उनलाई 'मेरो चट्टान' भनेर सम्बोधन गरेका थिए, भविष्यमा उनी 'चर्च' का आधार बन्ने भविष्यवाणी समेत गरेका थिए। येशू समातिएको प्रसंगपछिका घटनाक्रमले पेत्रुस एक शिष्य र एक भक्तका रूपमा आफ्नो 'म' हराएको महसुस गर्छन्। पेत्रुसको कथा आत्मबोधको यात्रा हो।
परिस्थिति सहज हुँदासम्म उनी आफूलाई यशूको बलियो आस्थावान र विश्वासी ठान्थे तर डर र संकटको घडीमा आफ्नो 'म' हराएको थाहा पाए। पेत्रुसको कथाले उनको आत्मग्लानी आत्मबोधमा रूपान्तरण भएको देखाउँछ। येशूको कथाले साँचो 'म' को दर्शन गराउँछ।
जब सामाजिक दबाब, डर वा कुनै परिस्थितिका कारणले हाम्रो 'म' हराउँछ तब पेत्रुसझैं आत्मबोधप्रति संवेदनशील बन्न जरूरी हुन्छ।
म को हुँ?
सरल जस्तो लाग्ने यो प्रश्नको जबाफ निकै जटिल छ। युग फेरिन्छ, धर्मको स्वरूप बदलिन्छ तर आत्मसत्य कहिल्यै बदलिँदैन, यसको खोज कहिल्यै पुरानो हुँदैन।
हिन्दु, बौद्ध, इस्लाम, ईशाई वा अन्य जुनसुकै परम्परामा पनि सबै पात्रको यात्रा 'म' को पहिचानकै बिन्दुमा ठोकिन्छ।
मानवयात्रा बाहिरी साजसज्जा, पदप्रतिष्ठा र सामाजिक स्वीकृतिमा मात्र सीमित छैन। भोगविलासले मात्र कुनै मान्छेलाई कहिल्यै पूर्ण सन्तुष्टि दिन सकेको छैन।
पद वा लोकप्रियताको शिखरमा पुगेको व्यक्तिको पनि अन्तर्मनको कुनै स्थान रिक्त देखिन्छ। उच्च पद र लोकप्रियताले मात्र उसले आफूलाई पूर्ण ठानेको हुँदैन।
आफ्नो 'म' आफू स्वयंले नचिनेसम्म व्यक्ति पूर्ण भएको हुँदैन।
मान्छेको 'म' द्रुत गतिमा हराउँदो छ; यसरी हराउनु अज्ञानताको होइन, दबाबको उपज हो।
जात, धर्म, सफलता, असफलता, सम्बन्ध आदि सबैले व्यक्तिको मौलिक 'म' मा अनेक पहिरन हालिदिएका छन्। यस्तै पहिरनमा मान्छे आफ्नो म बिर्सिँदै छ। 'म' बिर्सनु भनेको आफू हुनुको अस्तित्व बिर्सिनु हो।
'म' कुनै बाहिरी पहिचान होइन' कुनै पद, नाम, उपाधि वा समाजले दिएको परिचय पनि होइन। यो त चेतना हो जो प्रत्येक व्यक्तिको आत्मामा मौनरूपमा अवस्थित छ।
दुर्भाग्य' त्यो 'म' सँग प्रत्येक व्यक्तिको सम्पर्क तीव्र गतिमा टुट्दै छ। हामी भुलभुलैयामा परेका छौं।
हरेक व्यक्तिले जीवनको कुनै न कुनै बिन्दुमा 'म को हुँ' भन्ने प्रश्नको जबाफ पाउँछ, आफ्नो 'म' चिन्ने अवसर पाउँछ।
त्यो अवसर आफ्नो पक्षमा पार्न सक्नु–नसक्नु एउटा कुरा, अवसर अवश्य प्राप्त हुन्छ।
प्रत्येक धर्मले कर्म, सत्कर्म, साधना, ध्यान, पश्चात्ताप, माफी, करूणा आदिको बाटो देखाउँछ। यी सबैको मूल जरो चेतनशील 'म' भित्र हुन्छ।
हामी मानिसले धर्म, संस्कृति, परम्परा, समाज, प्रतिष्ठा आदि अनेक नाम र अपेक्षामा अनेक कवच ओढेका हुन्छौं। यस्ता कवचहरूले व्यक्तिलाई आत्मचिन्तनबाट विचलित गराएर 'म' चिन्ने बाटोमा व्यवधान खडा गरेका हुन सक्छन्।
आफूभित्रको 'म' नचिनेसम्म व्यक्ति अधुरो रहन्छ, अधुरै समाप्त हुन सक्छ। सफलता र प्रतिष्ठाका नाममा जतिसुकै प्रख्यात बने पनि 'म' को आवाज सुनेर आत्मसात नगरेसम्म व्यक्ति पूर्ण मानव बन्दैन।
'म' पहिचान गर्ने आधार के हो? 'म' कसरी खोज्ने?
यी प्रश्नको सोझो जबाफ कठिन छ। कोही 'ज्ञानी' ले यसको अकाट्य आधार दिन सक्दैन। 'म' पहिचान गर्नु भनेको व्यक्ति स्वयंले आफ्नो अस्तित्व खोज्नु हो।
'म' को खोज अध्यात्म हो तर अध्यात्म मात्र होइन; मनोविज्ञान पनि हो, अस्तित्वको विज्ञान हो र चेतनाको पुनर्जागरण हो।
यही 'म' ले मानिसलाई इर्ष्या, द्वेष, लोभ, मोहजस्ता बन्धनबाट मुक्त पार्छ र साँचो अर्थमा सन्तुष्टि र खुसी दिलाउँछ। मौनता अभ्यास, आत्मावलोकन, अविराम चिन्तन, दृढ संकल्प, आत्मानुशासन 'म' पहिचानका प्रमुख आधार हुन्। यस्ता आधारहरू व्यक्ति विशेषमा फरक हुन सक्छन्।
'म' खोजी कुनै बाह्य गन्तव्य होइन, यो त अन्तरमनको सूक्ष्म यात्रा हो। यही यात्राले जीवनको सारतत्त्व भेटाइदिन्छ।
कस्तुरी मृग आफ्नै नाभीबाट निसृत सुवासको स्रोत थाहा नपाएर हैरान भएझैं मान्छे पनि 'म' नचिनेर हैरान छ।
मान्छे र कस्तुरीमा एउटा फरक छ। कस्तुरीले कहिल्यै आफ्नो सुवासको स्रोत फेला पार्दैन तर मान्छेले साधानाबाट 'म' फेला पार्न सक्छ। यथार्थमा व्यक्तिभित्रको 'म' आत्मसाक्षात्कारको मूल कुञ्जी हो। 'म' पहिचान नभई आत्मसाक्षात्कार हुँदैन। यसो नभई भ्रमको कुहिरोबाट मुक्त हुन सकिँदैन।
यसो हो भने सबै कामधन्दा छाडेर 'म' खोज्ने भन्दै फेरि अर्को भुमरीमा पर्ने?
होइन, कदापि होइन।
आफू हुनुको महत्त्व र अस्तित्व के हो; यसबारे चिन्तन गर्ने, थोरै साधना गर्ने, अध्यात्म र करुणाको मार्ग अवलम्बन गर्ने।
'म' रातारात फेला पर्ने पनि होइन, यो त निरन्तर साधानाको परिणाम हो।
यसर्थ,
आफैलाई प्रश्न गरौं– म को हुँ, किन छु?
यही प्रश्नको जबाफ खोज्दै जाँदा आफूभित्रको 'म' फेला पर्नेछ।
(लेखक नेपाल प्रहरीका प्रहरी निरीक्षक हुन्।)