जिल्ला प्रशासन कार्यालयको लाइनमा छु।
आइतबारको दिन। १० नबज्दै लाइन लामै भइसक्यो।
'सिस्टम खुल्न समय लाग्छ' भन्ने एकोहोरो आवाज भित्रबाट आइरहेछ ११ बजेसम्म।
'कति बेरमा खुल्ला केही थाहा छ?' बाहिरबाट कसैले सोध्यो।
'दिनभर पनि नखुल्न सक्छ। हामीले गरेको होइन क्यारे,' भित्रबाट कोही बोल्यो।
'समय लाग्छ जस्तो छ। आज फर्किन भ्याउँदिनँ होला ममी,' मभन्दा ठिक पछाडि लाइनमा उभिएका एक युवा अलिक हतास शैलीमा फोनमा गफ गर्दै छन्।
यसो फर्केर झुलुक्क हेरेँ। जुँघाको रेखी भर्खरै बस्दै छ। लाग्छ, एक-दुईपटक बाहेक उनले आफ्नो दारी पनि सायदै काटेका होलान्। बिहानै आएर फर्म भरेर तम्तयार बसेका रहेछन्।
'एक्लै आउनुभएको?'
मेरो प्रश्न झर्न नपाउँदै बोले – विदेश गएपछि जसरी पनि एक्लै स्ट्रगल गर्नैपर्छ भन्ने बुझेर ड्याडी-ममीसँग जबर्जस्ती गरेर एक्लै आएको दाइ!
यसो अनुहार हेरेँ, कस्तो संकल्पित!
उनले लेखेको फर्ममा आँखा जाने भइहाल्यो।
जन्ममिति – २०६४ वैशाख।
१७ वर्ष!
तिमी पहिलेबाटै यस्तै निडर हो कि क्या हो? आफ्नो उमेर १७ वर्ष हुँदाको समय सम्झेर उनलाई फेरि सोधेँ।
उनले जबाफ दिनुपहिले अलिक पछाडि बसेर चासोपूर्वक हाम्रो गफ सुनिरहेका अलिक पाको उमेरका व्यक्ति बोले – यी बाबुले कस्तो राम्रो कुरा गरे! नेपालका बाआमाहरू १२ कक्षा सकिएको भोलिपल्टै छोराछोरीलाई विदेश पठाउन मरिहत्ते गर्ने तर विदेश जाने दिनसम्म पनि बेडमै चिया ल्याइदिने! विदेश गएकै दिनबाट शून्य मात्र होइन, माइनसबाट सुरू गर्नुपर्छ भन्ने बुझेका बाआमाले समेत छोराछोरीलाई नेपालमै हुँदा अलिकति जिम्मेवारी बहन गर्न सिकाउनुको साटो खानासमेत खाटैमा लगिदिने गर्छन्! यसरी पुल्पुल्याएर राखेको बच्चा विदेश गएको पहिलो दिनमै त्यो यथार्थ भोग्न कसरी सक्छ! हामी बाआमाले छोराछोरीको क्षणिक खुसी चाहेका हौं कि आजीवनको? मैले बच्चालाई विदेश पठाएको धेरै वर्षपछि मात्र अलिअलि बुझ्न थालेको छु।
ती व्यक्तिले एक सासमै यति भनेर लामो सास लिए, सायद आत्मसन्तुष्टिको!
एकैछिन सन्नाटा छायो।
कुरा सुनिरहेका सबैमा 'हो त है' भन्ने भाव झल्कियो।
१२ बजिसकेछ।
सिस्टम अझै चलेको छैन।
चल्ने सुरसार पनि देखिएको छैन।
'हतार हुनेहरू आज जानू। भोलि दसै बजे आए हुन्छ,' भित्रबाट आवाज आयो। अघिकै जस्तो। आवाज सुनेपछि मलाई अनुहार हेर्न मन लाग्यो।
झ्यालको डन्डीका बीचबाट पुलुक्क हेरेँ, निधारमा टीको, ढाकाटोपी र दौरासुरूवाल लगाएका एक कर्मचारी आरामले मोबाइल चलाउँदै रहेछन्।
बाहिरबाट कोही चर्कै आवाजमा बोल्यो, 'हतार भएरै त बिहान खाजासमेत नखाई यसरी हलचल नगरी लाइनमा बसिरहेको नि! कस्तो उल्टो कुरा गर्नुहुन्छ तपाईं पनि!'
'त्यसो भए दिनभर यसैगरी बस्नुस्। मेरो केही जाने होइन। कराएर हुने होइन हजुर,' दौरासुरूवालवाला सर भित्रबाट फेरि बोले।
यसपटक उनी उनी बोल्दै गर्दा मलाई उनको अनुहार हेर्न मन लागेन।
हो नि है!
सिस्टम नचलेपछि उनको पो के दोष!
'सिस्टम नचलेपछि मेरो के दोष,' उनको आवाज मेरो कानमा दोहोरिरह्यो।
एक बजेछ।
खाजा खाने समय भयो। काम पो सिस्टमले नचलेको त! खाजा त समयमै खानपर्यो नि! खाजा खाएर दुई बजे ती कर्मचारी आए। ऊनीसँगै अर्का एक मान्छे हातमा केही फाइल लिएर भित्र छिरे।
'अब त सिस्टम चल्यो होला नि!'
'एकैछिन है, चलेको जस्तो छ' भन्दै सँगै आएका अर्को मान्छेका फाइल हेर्दै कम्प्युटरमा के के गरिरहे। लाइनको सुरूआतमा १५ औं नम्बरमा रहेको म अहिले तेस्रोमा आइसकेछु। बाँकी अन्य कर्मचारीले भनेझैं हतार भएकाहरू भोलि आउने भनेर गए सायद!
ठ्याक्कै २:२३ मा हाम्रो काम सुरू भयो। काम बन्ला कि त भनेर बिहानैदेखि अन्तिमसम्म कुरिरहेका १८ जना रहेछन्।
मेरो आजको एक चरणको काम सकेर फर्किँदै गर्दा प्रशासनको छेउकै पसलमा ती भाइ बसिरहेका रहेछन्।
'ओहो! सिस्टमले काम गरिसक्यो दाइ?' भन्दै दोडिएर लाइन बस्न गएका भाइलाई आज भ्याइँदैन, भोलि आउनू भनेर फर्काइदिएछन्।
मैले मगाएको चिया आइनपुग्दै ती भाइ पनि पनि आइपुगे।
'बिहानैदेखि बसेको भनेर भन्नुपर्थ्यो नि!'
'कोकोसँग लड्ने, कति झर्किने। १२ कक्षापछि विदेश जाने क्रमका प्रक्रिया भोग्दा यो दुई-तीन महिनाले धेरै सिकायो दाइ। कमसेकम, यो देशमा चाहिँ म हारिसकेँ।'
मैले मध्यरातमा फेसबुकमा लेखेको आफ्नै स्टाटस सम्झिँए – १२ सकिनेबित्तिकै विदेश जानेहरू मलाई बढो दूरदर्शी लाग्छन् आजभोलि!
तपाईं अहिलेसम्म किन नेपाल बसिरहनुभएको छ? घर परिवारको मायाले? देशको मायाले? विदेशमा गएर शून्यबाट सुरू गर्नुपर्ने डरले? जाने भन्दाभन्दै समय नमिलेर?
यस्ता प्रश्नले मलाई आफ्नै प्रश्न सम्झाउँछ।
'दाइ, तपाईं किन चालीस कटेसी मात्र विदेश जानुभएको?,' सात वर्ष एमबिबिएस, तीन वर्ष एमडी, अर्को तीन वर्ष डिएम सकेर कलेजो विशेषज्ञ भएका एक डाक्टरलाई प्रश्न गर्दा उनले भनेको सम्झिन्छु, 'भाइ! अहिलेको परिवेशमा विदेश जाने सबभन्दा उत्तम निर्णय हो। उत्तम निर्णयमा पुग्न कहिल्यै ढिलाइ नहुने रहेछ!'
देशले रगत मागे मलाई बलि चढाऊ.... भन्ने गीत मात्र भइदिए!
'देशले मलाई के दियो होइन, मैले देशलाई के दिएँ सोच्नुपर्छ' भन्ने भाष्य नेपाली समाजमा सबैभन्दा बढी घातक छ। यो र यस्तै भाष्यले आज हामीलाई यस्तो बनाएको। भुइँमान्छेमाथि चरम अन्याय र शोषण गरेर अन्तिममा अमूर्त नारा पिलाएर वर्षौंदेखि शासकले हामीमाथि भावनात्मक अत्याचार गरिरहेका छन्। अनि हामीले राज्यलाई दिएको रगत, पसिना, पैसा, सम्मानमाथि खेलिरहेका छन्!
देश भनेको को हो? देशलाई मात्र हामीले एकोहोरो किन दिइरहने? जिन्दगीभर एकोहोरो दिइरहेको देशले सारा जनतालाई पटकपटक संकट पर्दा चाहिँ के दिइरहेछ?
देश अनि जनताबीच यो कस्तो विरोधाभासपूर्ण प्रेम!
फेरि देश भनेको माटो हो कि होइन, थाहा छैन! तर देश भनेको यहाँको सत्ता, प्रशासन अनि सार्वजनिक पदहरू पनि हो। सत्ताले फालेको तुरूपमा मोहित भएर देशप्रति एकोहोरो प्रेम गर्नुभन्दा देशप्रति प्रश्न गरौं। देशलाई दिने मात्र होइन, देशबाट लिनु पनि पर्छ!
फेररि एकोहोरो रटान लगाइरहन्छु – हामीले देशले के दियो होइन देशलाई के दियौं सोच्नुपर्छ!
जुन वस्तु र विचार बिहान राम्रो लाग्छ, मध्याह्नमा राम्रो नलाग्न पनि सक्छ। मध्याह्नमा राम्रो लाग्ने वस्तु रातिमा राम्रो नलाग्न पनि सक्छ। जे बाल्यकालमा राम्रो लाग्थ्यो, त्यो यौवनमा राम्रो नलाग्न पनि सक्छ। जो यौवनमा राम्रो लाग्छ, त्यो वृद्ध अवस्थामा नराम्रो लाग्न पनि सक्छ।
हामीले देख्ने, भोग्ने सबै कुरा यस्तै त हुन्।
प्लस-टु पढ्दै गर्दा मलाई लाग्थ्यो – नपढेकाहरू बाध्यताले गएका होलान्, पढेकाहरू रहरले जाने हुन्, रहर गर्नेहरू नगन्य त होलान्।
प्लस-टु लगत्तै एकपछि अर्को साथी विदेश जाँदा यता मेहनत गर्न अल्छी लागेर गएका होला जस्तो लाग्थ्यो। एमबिबिएस पढ्न थाल्दा एकाधबाहेक अधिकांश साथीहरू सगौरव नेपालमै बस्ने भन्थे।
एमबिबिएस सकिएपछि दुई वर्षसम्म लाइब्रेरीमै बसेर विदेशको तयारी गरिरहेको देख्दा अनौठो केही लागेन। मैले कोही किन यो देशमा बस्न रूचाउँदैन भन्ने अलिकति भए पनि बुझ्न थालेको जो थिएँ।
हाम्रो ब्याचका त आधाभन्दा बढी साथी विदेश गइसके भनेर एक इञ्जिनियर मित्रसँग कुरा गरेको थिएँ, उनले विदेशिने इञ्जिनियरहरूको कथा सुनाउँदा अचम्मै लाग्यो। नर्सिङ साथीहरूको कथा त सबैलाई थाहा नै छ।
ब्याचलर सकेर विदेश जाने भन्नेहरू आजभोलि 'जहिले गए पनि जानैपर्ने रहेछ, जतिसुकै पढेर गए पनि गर्ने काम त्यही हो। बरू अहिल्यै जाने, तीन-चार वर्षमा त कसो सेटल नभइएला' भन्ने जबर्जस्त सोचमा छन्। स्नातक तहको पढाइ सकिएपछि नेपालमै बस्नेहरूको बहुमत भएको कुनै संकाय होला वर्तमान समयमा?
म छिमेकी जिल्लामा काम गर्छु। समय समयमा पहाडको घरमा गइरहन्छु। यसपटक घर गएका बेला अध्ययन गर्दा गाउँमै सधैं बसिरहेका मान्छेको भन्दा घरको संख्या धेरै भएछ। सहरको वातानुकूल कोठामा बसेर मैले यो धरातलीय यथार्थ लेख्दा तपाईं नपत्याउन पनि सक्नुहुन्छ। अझ, भूकम्पपछि पैसा पाउनैका लागि बनाइएका घरहरूको के गन्ती! भव्य विद्यालय बनेका छन्। पढ्ने विद्यार्थी छैनन्।
स्थानीय तहको सक्रियतामा राम्रै स्वास्थ्य संस्थाहरू छन् तर त्यहाँसम्म बिरामी पुर्याउने मान्छे छैनन्।
दिउँसो मेरा छोराछोरी दुवै अमेरिका छन् भनेर गर्व गर्ने र रातभर कस्तो भाग्य रहेछ मेरो, यो बुढेसकालमा एक्लै हुनुपर्यो भन्दै रोएर रात कटाउनेहरू पनि छन्।
कस्तो विरोधाभास!
देश कि विदेश?
आजको पुस्ताले आफ्नोबाहेक कसैको सल्लाह सुन्ने छैन यो कुरामा। खोक्रो भावना एकैछिन पन्छाएर आफैंलाई सोधौं त, न वर्तमान न भविष्य!
आफूले देख्दै नदेखेको विगतप्रति गर्व गरेर कोही कसैले यो जिन्दगी किन गुम्स्याओस्! पखेटा फिँजाउने सामर्थ्य हुँदाहुँदै किन रोकियोस्! कोही किन यही देश, यही माटोलाई माया गरिरहनुपर्छ भन्ने खोक्रो आदर्शको भारी आफैलाई बोकाइरहोस्!
(सुदन अधिकारीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)