गत हप्ताको बिहीबार पोखराको चिप्लेढुङ्गामा रहेको एउटा नाम चलेको इजुकेसनल कन्सल्टेन्सीमा पुग्दा मैले देखेको दृष्य नै यो आलेखको पृष्ठभूमि हो।
कार्यालयकै कामको सिलसिलामा म र मेरा एक जना सहकर्मी त्यहाँ पुगेका थियौं। हामी पुग्दा त्यहाँ निकै चहलपहल थियो। रिसेप्सन (सोधपुछ) कक्षका तीन जना बहिनीहरू निकै व्यस्त देखिन्थे।
हामी पुग्नेबित्तिकै उनीहरूले हामीलाई एक–एक वटा फर्म थमाए, जसमा केही आधारभूत वैक्तिक विवरण, शैक्षिक योग्यता, जान चाहेको देश, पढ्न चाहेको विषय आदि कुराहरू उल्लेख गरिएको थिए, जुन सामान्यतया त्यहाँ पुग्ने सबैलाई भर्न लगाइँदो रहेछ। तर हामी फरक काम र उद्देश्यका लागि आएको भनेपछि फर्म भर्नु परेन। यद्यपि त्यस कन्सल्टेन्सीका प्रमुखलाई भेट्न भने केही समय कुर्नुपर्ने भयो। हामी नजिकै रहेको सोफामा बस्यौं। करिब १५ मिनेट जतिको बसाइँमा मैले जुन कुरा अवलोकन गरेँ, त्यसले मेरो मनमा थुप्रै प्रश्नहरू उब्जाइदिएको छ।
हामी त्यहाँ बस्दै गर्दा कोही आफूले चाहेको देशको भिसा प्राप्त गरेको खुसीयालीमा लड्डु/मिठाइ बाँड्दै थिए, कोही चाहिँ आइइएलटिएस, टोफेल, पिटिईमा राम्रो स्कोर आएकोमा मख्ख देखिन्थे भने कोही अपेक्षित स्कोर नआएकोमा निराश थिए तथापि उनीहरूको अनुहारमा चिन्ताको कुनै गुन्जायस थिएन बरू कसैगरी पुन: राम्रो गर्ने अठोट देखिन्थ्यो। अझ मेरो विशेष ध्यान तानेको कुरा त के थियो भने त्यो भीडका अधिकांश युवायुवतीहरू भर्खरै प्लस टु वा स्नातक पढ्दै गरेका/सकाएका करिब १८–२२ वर्ष उमेर समूहका थिए।
यत्तिकैमा प्रमुख ज्यूले बोलाउनु भएपछि हामी उहाँको कार्यकक्षतिर लाग्यौं। सामान्य भलाकुसारीसँगै केहीबेर कार्यालयको काम सम्बन्धी कुराहरू भए, जुन हाम्रो मूल उद्देश्य पनि थियो। त्यसपश्चात मैले उहाँसँग जिज्ञासा राखेँ।
सर अहिलेका युवायुवतीहरू किन सबै विदेश मात्र जान चाहन्छन्?
हिजो अस्ति प्लस टु पढ्दै गरेको बच्चालाई मामाघरसम्म एक्लै जान सक्दैन भन्ठान्ने हाम्रा अभिभावकहरू कसरी आज प्लस टु सकिने बित्तिकै उति टाढा अर्काको देश पठाउन राजी हुन्छन्?
तपाईंले उनीहरूको मनोभावना कस्तो पाउनुभएको छ?
एयरपोर्टमा देखिने लाइन त तपाईंकै मा देखिन्छ, भोलि एयरपोर्टमा देखिने अनुहारहरू यिनै होइनन् र?
मेरा प्रश्नहरूको सार चाहिँ किन विदेशिनेहरूको संख्या यति उच्च दरले बढ्दै छ भन्ने नै थियो।
उहाँले अलि लामो भूमिका बाँध्दै जबाफ दिनुभयो। यद्यपि उहाँको जबाफको सार चाहिँ अहिलेको युवा पंक्तिमा देखिएको भविष्यप्रतिको अनिश्चितता र अन्यौलता, छोटो समयमा अधिक पैसा कमाउने तीव्र महत्वकांक्षा, देखासिकी जस्ता कारणहरू नै प्रमुख रहेको बताउनु भयो।
आज पनि हाम्रो समाजमा कुनै परिवारको सन्तान नेपालमै बस्छ र सरकारी जागिरे नै छ वा आफ्नै कुनै उद्यम गर्छ भन्दा बा–आमाले जति शिर उँचो गर्न सक्दैनन्, त्योभन्दा छाती फुलाएर मेरो छोरा/छोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा वा युरोपको कुनै देशमा छ भन्दै हिँड्ने बा–आमाहरू हुनुहुन्छ, जसले गर्दा सन्तानलाई विदेशै पठाउन सामाजिक र मनोवैज्ञानिक दबाब हुने गरेको छ।
देशमा दक्षता, क्षमता र योग्यता अनुसारको रोजगारी छैन। आफै केही गर्छु भन्नेहरूका लागि उद्यमशिलता र नवप्रवर्तनमा कुनै किसिमको प्रोत्साहन छैन। नेपालको शिक्षा केवल औपचारिक रूपमा प्रमाणपत्र लिनका लागि मात्र जस्तो भइरहेको छ। विश्वविद्यालयहरू खोज तथा अनुसन्धानको केन्द्र बन्नुपर्नेमा राजनीतिको अखडा र नेताका आसेपासे आफन्तहरूको भर्तीकेन्द्र जस्तो भएका छन्। न गुणस्तरीय, व्यावहारिक र वैज्ञानिक किसिमको पढाइ छ न समयमै परीक्षा सम्पन्न हुन्छ। चरम राजनीतिक अस्थिरता छ। पछिल्लो पन्ध्र वर्षमा नेपालमा १२ पटक सरकार परिवर्तन भए। जसमा आठ जना फरक फरक व्यक्तिहरू पालैपालो प्रधानमन्त्री बने।
उता हाम्रै छिमेकी राष्ट्र भारतमा सन् २०१४ देखि लगातार नरेन्द्र दामोदर दास मोदी सत्ताको नेतृत्वमा छन् र कुनै अन्यथा भएन भने अबको पाँच वर्ष उनै नेतृत्वमा रहने पक्का छ। थाहा छैन अबको ५ वर्षमा नेपालमा कति वटा सरकार फेरिनेछन्। सरकार मात्र फेरिँदैन यससँगै नीति, कार्यक्रम र योजनाहरू पनि फेरिन्छन्, जसको प्रत्यक्ष प्रभाव वैदेशिक लगानी र व्यावसायिक वातावरणमा पर्छ। सरकारको नेतृत्वमात्र नभई कर्मचारीतन्त्र समेत भ्रष्टाचारमा लिप्त छ। जताततै भनसुन, नातावाद, कृपावाद र आफन्तवाद व्याप्त छ। चिनजान वा आफ्नो मान्छे नभई अड्डा, कार्यालयहरूमा कुनै काम नै हुँदैन भन्ने भाष्य निर्माण भएको छ। हरेक नेपालीको मनस्थिति नै ‘नेपालमा केही हुँदैन’ भन्ने बनेको छ। यस्तो मनस्थिति बन्नुका पछाडि माथि चर्चा गरिएका कारणहरू नै प्रमुख हुन्। त्यसका अलावा अन्य केही फरक परिस्थितिजन्य वा व्यक्तिगत कारणहरू पनि हुनसक्छन्।
सामान्यतया आफ्नो क्षमता र सामर्थ्यले पुगेसम्म उच्च शिक्षाका लागि विदेश जानुलाई सकारात्मक रूपमै लिन सकिन्छ तर हिजो ‘विदेश कसरी जाने?’ भन्नेबाट आज ‘विदेश जसरी पनि जाने!’ भन्ने भावनाबाट प्रेरित भएर विदेशिनेको संख्या उच्च दरले बढ्नु चाहिँ चिन्ताजनक विषय हो।
आजको अर्को मुख्य समस्या भनेको युवाहरू विदेशिनु मात्र होइन विदेशिएकाहरू स्वदेश नफर्किनु पनि हो। यो विषयमा सबै सरोकारवाला पक्षले आ–आफ्नो भागको जिम्मेवारी लिन तयार हुनुपर्छ।
हरेक दिन त्रिभुवन विमानस्थलबाट बाहिरिनेको संख्या गनेर, अंकमा हिसाब गरेर, गोहीको आँसु बगाउनुभन्दा एक जनाले मात्रै पनि देश छोड्यो भने पनि किन र के कारणले छोड्यो भन्ने कुरामा घोत्लिन आवश्यक छ।
देश नै बन्दैन ठान्ने वा यो देशमा आफ्नो भविष्य नै नदेख्ने अवस्था कसरी सृजना भयो भन्ने चाहिँ मनन योग्य कुरा हो। देशको समग्र अवस्थालाई अगाडि बढाउने जिम्मा सरकारको हो तर सरकारको नेतृत्व गर्नेहरू पटक पटक परीक्षण भएका र परीक्षणमा अनुत्तिर्ण भएकाहरू छन्।
नयाँ राजनीतिक विकल्पको रूपमा आएका भनिएकाहरूले पनि उच्च नैतिक आचरण र इमानदारिता देखाउन सकेका छैनन्। जसले गर्दा देशमै बस्ने र केही गर्ने आत्मविश्वास सायदै कसैमा छ भन्दा हुन्छ।
नेपालमा सरकारी पछिको आकर्षक मानिने जागिर भनेको बैंकिङ क्षेत्र हो। आज तथ्यांक हेर्ने हो भने बैंकको जागिर छोड्ने र छोडेकामध्ये विदेशिनेको संख्या निकै उच्च छ।
अहिले विदेशिनेको सरदर उमेर १८–३५ वर्ष हो। जुन उमेर समूह भनेको देश विकासका लागि असाध्यै महत्वपूर्ण शक्ति हो। यो जोश जाँगरले भरिपूर्ण बौद्धिक वर्ग हो। जसले विदेशमा जस्तोसुकै श्रम गर्न, पसिना बगाउन तयार छ तर नेपालमा भविष्य देख्दैन। यो जमातलाई नेपालमै भविष्य र सम्भावना दुवै छ भनेर देखाउन सामान्य नभई चमत्कारी कदम चाल्नुपर्नै देखिन्छ।
नेपालको शिक्षा क्षेत्रको आमूल परिवर्तन, माथि चर्चा गरिएका विषयको समाधानका लागि मेरूदण्ड बन्न सक्छ। त्यसपछि राजनीतिक नेतृत्वमा परिवर्तन सहितको स्थायित्व कायम गर्न सक्नु अर्को महत्वपूर्ण कडी हो। वैज्ञानिक र प्रयोगात्मक शिक्षा र दुरदृष्टि सहितको नयाँ राजनीतिक नेतृत्वले मात्र नयाँ आशाको सञ्चार गर्न सक्छ। बिहानीले दिनको संकेत गर्छ भनेझैं यी दुई विषयमा परिवर्तनकारी कदम चाल्न सकियो भने अन्य कुराहरूलाई समेत समयानुकूल व्यवस्थापन गर्दै लैजान सकिन्छ। अन्यथा युवा विदेशिए, देश बनेन भनेर चिन्ता लिनु र बहस गर्नु फगत बहसका लागि बहस मात्र हो।