भर्खरै एउटा लेख पढ्दै थिएँ। 'के म यो यात्रामा सुरक्षित छु?' लेखको शीर्षक देखेर लाग्यो कि यत्तिको वर्षा हुँदै छ, जताततै बाढी, जताततै पहिरो खसिरहेको छ, कति घरहरू बाढीमै डुबेका छन् त कति गोठहरू पहिरोमै लुकेका छन्। बाढी पहिरोले ल्याएको विध्वंसले गर्दा पूरै देश रोइरहेको छ। अझै कति अनिष्ट हुने हो, अझै कति परिवारले आफ्ना आफन्त गुमाउन पर्ने हो केही अत्तोपत्तो छैन, सामाजिक सञ्जालमा जताततै रुवाबासी मात्र देख्दा मन विक्षिप्त बनाइराखेको छ। उनी बहिनी पनि रातिको यात्रा गर्दै रहिछिन् र पहिरोले बाटो सबै बिगारेको अवस्थामा बाटोमा केही अनिष्ट नहोस् भन्ने पिर गरेकी होलान् भन्ने लागिरहेको थियो।
हाम्रो समाजको विडम्बना, यहाँ बाढी पहिरोभन्दा पनि मानिसको डर पो बढी रहेछ। बसको सिटमा छेउमा सँगै बस्ने व्यक्ति कतै पुरुष त पर्ने हैनन् भन्ने डर पो रहेछ। उनी बहिनीको भावनामा कतै न कतै मैले आफूलाई पाएँ। केही खराब नियत भएका पुरुषहरूका कारण हाम्रा दिदी-बहिनीहरू मानिसहरूले नै भरिएको गाडीमा पनि सुरक्षित महसुस गर्न सक्दैनन्।
मैले देउता जस्ता पुरुष जसले यात्रामा भेटिएका दिदीबहिनी जो एक्लै हुन्छिन्, उनलाई घर सुरक्षित पुर्याउनु आफ्नो कर्तव्य ठानी दाजुभाइको भूमिका निभाउने पनि भेटेको छु। उनीहरूको म हृदयदेखि नै सम्मान गर्छु भने कति यस्ता दाजुभाइ पनि भेटेको छु जो नाताले त आफ्नै नै हुन्छन् तर उनीहरूको नियत भने खराब हुन्छ।
म १३ वर्ष उमेरको थिएँ जब पहिलो पटक यौन दुर्व्यवहार महसुस गरेकी थिएँ, मेरी आमाको फुपूको छोराबाट। मलाई गलत तरिकाले छुँदै अनि मेरो हातमा १०० रुपैयाँको नोट थमाउँदै, 'लेउ चकलेट खानू, केही हुँदैन यहाँ आऊ न' भन्दै तानिएकी थिएँ। घरमा अरू पनि सदस्य हुनुभएको हुनाले हात छुटाएर त्यहाँबाट भाग्न सफल भएँ। कसैलाई केही भन्ने आँट पनि आएन।
भागेर हाम्रै घरमा कोठा लिएर बस्नु हुने दिदीको कोठामा गएर लुकेँ। दिदीले आएर 'नानी तँ किन रोएको अनि किन कामेको यसरी? के भयो?' भन्नु हुँदा दिदीलाई सबै भनेँ। ल यही बस अहिले, म कुरा गर्छु भन्नुभयो। केही ढुक्क भएँ र एक छिन त्यही बसेँ। केही बेरमा नै उक्त नाताले मेरो दाइ पर्ने व्यक्ति जसले मलाई छुन खोज्दै थिए उनी घरबाट निस्किए। मलाई नदेखेपछि सायद कसैलाई भन्दिली भन्ने डर भयो होला। पछि सबै जनासँग कुरा त भयो तर त्यस्तो गरेको हैन होला, नानीलाई त्यस्तो लागेको मात्र हो, त्यस्तो गलत सोच्नु हुन्न भनेर १३ वर्षको बालिकाको सोच्ने तरिकालाई गलत ठहराइयो।
त्यसपछि पनि बाटोमा हिँड्दा, आफूले काम गर्ने कार्यालयमा, गाडीमा, मन्दिरमा, आफन्तको घरमा र अन्य जति पनि ठाउँ छन्, कहिल्यै कतै सुरक्षित महसुस भएन। हरेक स्थानमा कुनै न कुनै किसिमको दुर्व्यवहार भोग्दै नै आएको छु। आफ्नो जीवनमा यौन दुर्व्यवहार कहिल्यै पनि नसहेकी छोरी/दिदीबहिनी हाम्रो समाजमा सायद कोही नहोला। हाम्रो समाजले छोरी चेलीलाई दुर्व्यवहारबाट बच्ने विभिन्न किसिमका तरिकाहरू सिकाउँदै गर्दा पुरुषलाई महिलाप्रति गलत नियत राख्नु हुन्न, दुर्व्यवहार गर्नु हुन्न, उनीहरू कतै एक्लै भेटिन्छन् भने त्यहाँ यौन दुर्व्यवहार गर्न मौका हैन उनलाई सुरक्षित राख्ने आफ्नो कर्तव्य सम्झनु पर्दछ, उनीहरूलाई कोही नजिकै हुँदा डर हैन सुरक्षित महसुस हुने वातावरण बनाउन सक्नु पर्छ भन्ने शिक्षा दिन खोजिएको निकै कम नै देखिन्छ। कतै केही अप्रिय घटना हुँदा सबैभन्दा पहिले महिलाले लगाएको कपडालाई प्रश्न तेर्साइन्छ, त्यसपछि समय र स्थानलाई हेरिन्छ भने अन्तिममा पुरुषलाई प्रश्न गरिन्छ।
महिला अधिकारको कुरा गर्दै गर्दा प्राथमिक मानव अधिकारका कुरा पनि पाएका छैनन् कतिपय महिलाहरूले। आफ्नो हक पाउन उसको शरीर मागिन्छ। पुरुषले भन्दा धेरै कमाउन सक्ने महिलालाई ऊ प्रतिभाशाली हुन् भन्ने कुरालाई नजरअन्दाज गरिँदै उसको चरित्रमा प्रश्न गर्न थालिन्छ। अझ समाजका केही अग्रजहरू भन्छन् कि महिलाहरूलाई अहिले के कुरामा रोकटोक छ र, सबै छुट दिएका छौँ, केही रोकटोक त हामी उनीहरूकै सुरक्षाको लागि गरेका हौँ नि।
मेरो प्रश्न उनीहरूलाई- महिलाहरूलाई सुरक्षित वातावरण बनाउन पहल पनि गर्न नसक्ने समाजले उनीहरूले खाने, लाउने, हिँडडुल गर्ने, कहाँ जाने कहाँ नजाने, कसरी बोल्ने, कसरी बस्ने, काम गर्ने कि नगर्ने जस्ता कुराहरूको अनुमति दिने अधिकार कसले दिएको हो यो समाजलाई?