काठमाडौंमा सयौं टोल, हजारौं गल्ली छन् र प्रत्येक टोल, प्रत्येक गल्लीमा हामी देख्छौं — कुकुरहरूको बथान।
यी कुकुरहरू बाटोमा खाना खोज्दै घुमिरहेका हुन्छन्। जाडोमा थरथर काम्दै सुतिरहेका हुन्छन्। टोलकै कतिपय मनकारी मान्छेले यिनलाई माया गरेर खाना खुवाउँछन्, आफ्ना पुराना लुगा ल्याएर ओछ्याइदिने गर्छन्।
कति मान्छे भने यस्ता पनि हुन्छन्, जो यी अबोध कुकुरलाई अनाहक कुट्छन्। आफ्नो टोलबाट लखेट्छन्, भगाउँछन्।
मान्छेले आफ्नो सहर–टोलका कुकुरलाई माया गरेर स्याहारे त राम्रै भयो, कुटपिट गरेर खेदे भने ती कुकुर कहाँ जालान् हँ?
कतिपय अवस्थामा हुइँकिएर आउने गाडीले सडकका कुकुरलाई किचेर ज्यान लिएको वा घाइते पारेको पनि हामी देख्छौं। मान्छे घाइते हुँदा त सबै मिलेर दौडादौड अस्पताल पुर्याउँछन्, कुकुरहरू घाइते हुँदा तिनको अवस्था के होला हँ?
के यो सहर र यहाँका टोल, गल्लीहरू मान्छेका निजी हुन्? यहाँ बसोबास गर्ने हक जति मान्छेको छ, त्यति नै कुकुरहरूको छैन र?
यिनै प्रश्न मनमा खेलिरहँदा मैले 'एनिमल नेपाल' भन्ने संस्थाबारे थाहा पाएँ। यो संस्थाले सन् २००९ देखि काठमाडौंका सडक–गल्लीमा बेवारिसे छाडिएका कुकुर स्याहार्दै आएको छ। घाइते कुकुरको उपचार पनि गर्दै आएको छ। यसको निम्ति संस्थाले चोभारको आदिनाथ सामुदायिक जंगलमा आश्रय स्थल खोलेको छ।
कुकुरहरूको यो आश्रय स्थल पुग्न मूल सडकबाट अलिकति भिरालो बाटो ओर्लिनुपर्छ।
जति तल ओर्लियो, कुकुरहरू भुकेको आवाज उति बढ्दै जान्छ। जसै बाटोको आखिरीमा पुगिन्छ, आँखाअगाडि देखिन्छ — करिब ८० वटा कुकुरको हुल।

यी सबै कुकुरको आ–आफ्नै समस्या छ। कसैको खुट्टा चल्दैन, कसैले आँखा देख्दैन। कसैलाई गाडीले ठक्कर दियो, कसैलाई रोग लागेर आफ्नै घरका मान्छेले सडकमा छाडिदियो।
म आफू सानैदेखि कुकुरसँगै हुर्केकीले उनीहरूको खुसी र दु:ख आँखामा पढ्न सक्छु भन्ने लाग्छ।
यही अनुभवका आधारमा मैले त्यहाँ देखेँ — कसैको आँखामा खुसीको झलक थियो, कसैको आँखा डरले कामिरहेको थियो।
कोही पुच्छर हल्लाउँदै मेरो उपस्थितिमा रमाउँदै थियो, कोही भने पुच्छर लुकाएर डर वा शंकाले मलाई हेर्दै थियो।
मैले यो पनि देखेँ — मान्छेबाट लखेटिएका यी कुकुर मान्छेलाई नै जीवनको पाठ पढाउँदै छन्। खुसी होस् वा पीडा, डर होस् वा शंका; हर परिस्थितिमा रमाउन सिकाउँदै छन्।
मैले ती सबै कुकुरको आँखामा एउटा साझा भाव पनि भेटेँ — मायाको आशा।
मैले के महसुस गरेँ भने, आफू जन्मे–हुर्केको टोल वा घरबाट हेपिएर, कुटिएर निकालिएका; वा घाइते अवस्थामा मिल्काइएका यी कुकुर मबाट त्यही मायाको आशा गर्दै छन्, जुन माया उनीहरूले यो संस्थामा पाइरहेका छन्।
बेवारिसे र घाइते कुकुरलाई माया र मह्लम दिइरहेको यो संस्थाको सुरूआत प्रमादा शाह र नेदरल्यान्ड्सकी लुसिया दि भरिजले मिलेर गरेका हुन्।
प्रमादा योभन्दा अगाडि 'साथी' भन्ने संस्थामा आबद्ध थिइन्, जसले महिला र बालबालिकामाथि हुने हिंसाविरूद्ध काम गर्छ।
लुसिया भने पत्रकार हुन्। उनले सन् २००४ देखि पशु अधिकारको पक्षमा वकालत गर्दै आएकी छन्। नेपाल भ्रमणमा आएका बेला उनले यहाँ पनि सडकका बेवारिसे कुकुरलाई खाना खुवाउन र आश्रय दिन सुरू गरिन्। त्यसै क्रममा ललितपुरको झम्सिखेलका बेवारिसे कुकुरलाई सहयोग गरिरहँदा उनको भेट प्रमादासँग भयो।
प्रमादा पनि पहिलेदेखि नै कुकुर लगायत सबै खालका जनावरलाई माया र हेरविचार गर्थिन्। यही जनावर प्रेमले उनलाई लुसियासँग जोड्यो।
'मैले पहिलोचोटि लुसियालाई भेट्दा उनी सोखका रूपमा कुकुरलाई मद्दत गरिरहेकी थिइन्। लुसिया र मेरो इच्छा एउटै भएपछि हामीले कुकुर हेरविचारको निम्ति संस्था खोलेर सँगसँगै काम गर्ने निधो गर्यौं,' प्रमादाले भनिन्।
दुई जना कुकुरप्रेमीको सहकार्यबाट सुरू भएको 'एनिमल नेपाल' ले चोभारमा आश्रय स्थल खोलेर घाइते कुकुर र बाँदरहरूको उपचार गर्न थाल्यो।
प्रमादाका अनुसार यो संस्था उनीहरूको आफ्नै पैसा र केही दाताहरूको सहयोगबाट चलिरहेको छ। आश्रय स्थल निम्ति नगरपालिकाबाट जग्गा भाडामा लिएको उनी बताउँछिन्।
प्रमादा शाह। तस्बिर स्रोत: प्रमादाको फेसबुक
सहरका बेवारिसे कुकुरलाई आश्रय दिने ठाउँ सहरभन्दा यति टाढा किन त?
मेरो यो प्रश्नमा प्रमादाले भनिन्, 'जनावर रेखदेख गर्ने संस्था मान्छेको बस्ती बीचमा खोल्नु हुँदैन। घाइते कुकुरहरू पीडाले धेरै भुक्ने, कराउने र रूने गर्छन्। उनीहरूको आवाजले मान्छेलाई असहज हुन सक्छ। त्यही भएर सहरको बीचमा खोलिएका संस्था छरछिमेकले आपत्ति जनाएपछि बन्द गर्नुपर्ने अवस्था आउँछ। त्यही भएर हामीले बस्तीभन्दा टाढाको ठाउँ रोजेका हौं।'
यहाँ आश्रय स्थल सँगसँगै उपचार केन्द्र पनि छ। उनीहरू सडकमा भेटिने घाइते कुकुरहरू लिएर आउँछन् र उपचार सुरू गर्छन्।
केही समय राखेर घाउ–चोटपटक वा रोग निको भएपछि ती कुकुरलाई उनीहरूकै टोलमा लगेर छाडिन्छ। तर कतिपय अवस्थामा कुकुरको बस्ने ठाउँ हुँदैन। घरका मान्छेले नै घाइते वा बिरामी कुकुरलाई बाटोमा छाडेको हुनसक्छ। त्यस्तो अवस्थामा चोभारकै आश्रय स्थलमा हेरविचार गरेर राखिन्छ।
यहाँ कुकुरको दैनिक हेरविचारमा संलग्न छिन्, राधा गुरूङ।
उनले यो काम थालेको सात वर्षभन्दा बढी भयो। स्वयंसेवकका रूपमा सन् २०१८ बाट यहाँ आबद्ध भएकी थिइन्। काम गर्दै जाँदा कुकुरप्रतिको माया पहिलेभन्दा हलक्कै बढ्यो। त्यसपछि यही संस्थामा पूर्णकालीन काम गर्न थालिन्।
राधाका अनुसार यहाँ वर्षको एक हजारदेखि १२ सय कुकुरले उपचार पाउँदै आएका छन्। तीमध्ये धेरै कुकुर यति असक्त र गम्भीर अवस्थामा ल्याइएका हुन्छन्, तिनको उपचार क्रममै ज्यान जान्छ।
'कतिपय मान्छे आफ्नो कुकुरलाई रेबिज खोप दिन पनि हामीकहाँ ल्याउँछन्,' राधाले भनिन्।
केही समययता यो संस्थाले कुकुरको उपचार निम्ति मोबाइल सर्भिस पनि सुरू गरेको छ। यसअन्तर्गत घाइते वा बिरामी कुकुर भेटिएको ठाउँमा एम्बुलेन्स पठाइन्छ। सँगसँगै, एक जना भेटेरिनरी डाक्टर मोटरसाइकलमा पनि खटिन्छन्। घाइते वा बिरामी कुकुरको जिम्मा टोलकै कुनै मान्छेले लियो भने उनीहरू आवश्यक औषधि छाडेर आउँछन्।
-1751739123.jpeg)
भेटेरिनरी पढिरहेका केही विद्यार्थी यहाँ प्रशिक्षार्थीका रूपमा पनि कार्यरत छन्। उनीहरू कुकुरको उपचारदेखि नियमित औषधि खुवाउने र खोप लगाउने काममा संलग्न छन्।
'कुनै कुकुर उपचार गर्दा शान्त बस्छन्, कुनै भने एकदमै धेरै चल्ने र भुक्ने गर्छन्। हामी हरेक कुकुरको स्वभाव हेरेर फरक फरक तरिकाले उपचार गर्छौं,' हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजीमा अध्ययनरत सागर पोखरेलले भने, 'अहिलेसम्म कुनै कुकुरले टोक्ने गरेको छैन। बेला बेला उपचार गर्न वा औषधि खुवाउन आउनेलाई नंग्राले चिथोर्नु चाहिँ सामान्य हो।'
उनीहरू आश्रय स्थल ल्याइएका कुकुरलाई नाम पनि दिन्छन्। हरेक कुकुरका लागि फरक फरक नाम सोच्न गाह्रो हुने उनीहरू बताउँछन्।
'नयाँ कुकुर ल्याइँदा हामीलाई रमाइलो लाग्छ। हामी तिनलाई यहाँको माहोलमा घुलमिल हुन सहज होस् भनेर विशेष ध्यान पुर्याउँछौं,' राधाले भनिन्।
उनका अनुसार यहाँ विभिन्न उमेर समूहका कुकुर छन्। सबभन्दा सानो कुकुर डेढ वर्षको छ। उसको नाम 'टुलिप' हो। सबभन्दा ठूलो कुकुर नौ वर्षको 'बर्दिया' हो। बर्दियाबाट ल्याइएकाले उसको नाम नै त्यही राखिएको राधा बताउँछिन्।
'बर्दिया यहाँको सबभन्दा पुरानो सदस्य हो। ऊ यहाँ आउँदा एकदमै दुब्लो थियो। ढाडको पछिल्लो भाग र खुट्टा चल्दैन थियो। अहिले त यहाँ बस्दा बस्दा हिँड्न थाल्यो। मोटोघाटो पनि भएको छ,' उनले भनिन्, 'हामी काठमाडौं बाहिरबाट पनि घाइते र बिरामी कुकुर उपचार गर्न ल्याइरहेका हुन्छौं।'
यहाँ कुकुरलाई दिनको दुईपटक — बिहान ८ र साँझ ५ बजे — खाना खुवाइन्छ। खानामा दाल, भात, मासु र मस्यौरा दिइन्छ। त्यसबीच दिउँसो १ बजेतिर बिस्कुट वा कुकुरको खाना पनि खुवाइन्छ।
कुकुरको खान्कीमा साताको दुई सय किलोभन्दा बढी चामल खपत हुने यहाँका भान्से श्यामराज माझी बताउँछन्।
श्याम, उनकी श्रीमती इन्दिरा र दुई जना छोरी यहीँ बस्छन्। कुकुरहरूको देखभाल, खानपिन र आश्रय स्थल सरसफाइको जिम्मा उनीहरूकै हो।
श्यामका अनुसार खाने समय भएपछि कुकुरहरू भान्साको ढोकामा आएर बस्छन्। खाने बेला अलि आक्रामक हुन्छन्। त्यसैले बाँधेर खुवाउने गरिन्छ। साना कुकुरलाई खुवाउँदा ठूला कुकुरलाई थुन्ने पनि गरिन्छ।
'कुकुरहरू साह्रै सन्तोषी हुन्छन्। जे खान दियो, त्यसैमा रमाउँछन्,' श्यामले भने, 'कहिलेकाहीँ एकभन्दा धेरै हड्डी वा मासु नदिए थाहा पाइहाल्छन् र खान मन नभएजस्तो गर्छन्।'

मान्छेजस्तै कुकुरलाई पनि घरको घेराभन्दा बाहिर हिँडडुल गर्न मन लाग्छ। त्यसैले स्वास्थ्य राम्रो हुँदै गएका कुकुरलाई बाहिरतिर डुल्न पनि पठाइन्छ।
यहाँ कतिपय मान्छे कुकुर पाल्ने रहरले लिन आउँछन्। तर दुई–चार दिनको रहर मात्र हो कि साँच्चिकै गम्भीर छन् भनेर परीक्षण गर्न विभिन्न प्रश्न सोधिन्छ।
'जसले राम्रो जबाफ दिन्छन्, हामी उनीहरूको घर हेर्न जान्छौं,' राधाले भनिन्, 'कुकुर पाल्नु भनेको बच्चा हुर्काउनुजस्तै हो। उनीहरूको घरमा कुकुर हुर्काउने वातावरण छ कि छैन र उनीहरूलाई कुकुरमा गहिरो रूचि छ कि छैन भनेर राम्ररी जाँचेपछि मात्र हामी आफ्नो कुकुर दिने गर्छौं।'
उनका अनुसार मान्छेहरू सोखका लागि महँगो जातका कुकुर त किन्छन्, तर तिनलाई कुनै रोग लाग्यो भने उपचारमा पैसा र समय खर्च गर्नुको सट्टा सडकमा बेवारिसे छाडिदिन्छन्। त्यसरी नै बेवारिसे छाडिएका रटवाइलर, तिबेतियन म्यास्टिफ, डोबरमेन लगायतका महँगा कुकुर पनि यहाँ उपचाररत छन्। यी सबै महँगा जातका कुकुर घरबाट निकालिएका हुन्।
राधाले हालैको एउटा घटना सुनाइन् —
एक जना मान्छेले आफ्नो महँगो कुकुर उपचार गर्न ल्याएको थियो। त्यो कुकुरको अवस्था धेरै गम्भीर भएकाले अलि राम्रो भेटेरिनरी अस्पतालमा लगेर उपचार गर्न सल्लाह दिइयो।
त्यसको केही दिनपछि त्यो बिरामी कुकुर आश्रय स्थलको ढोकामै बेवारिसे लडिरहेको फेला पर्यो।
भएछ के भने, त्यो मान्छेले उपचारमा धेरै खर्च लाग्ने भएपछि आफ्नो कुकुरलाई आश्रय स्थलको ढोकामै छाडेर हिँडेछ।
'यसरी घरपालुवा कुकुरलाई बाटोमा बेवारिसे छाड्ने मान्छेहरूविरूद्ध हामी वडा कार्यालयमा उजुरी गर्ने तयारीमा छौं,' राधाले भनिन्।
-1751739125.jpeg)
यहाँ कुकुर उपचारमा प्रयोग हुने प्राय: औषधि विभिन्न दाताबाट सहयोगमा आउँछ। खासगरी बेलायत, फ्रान्स, अस्ट्रेलिया लगायत मुलुकमा रहेका कुकुरप्रेमी दाताले सहयोगस्वरूप महँगा औषधि र खानेकुरा पठाइदिने गरेको राधा बताउँछिन्। आवश्यक पर्दा स्थानीय बजारबाट पनि औषधि ल्याइन्छ।
आश्रय स्थलमा कुकुरलाई राति सुत्न छुट्टै घर बनाइएको छ। त्यहाँको ढोका सधैं खुल्लै हुन्छ। गर्मी बेला भने ठूला कुकुर बाहिरै सुत्छन्। जाडोमा कुकुरलाई चिसो नहोस् भनेर भुइँमा सिरक ओछ्याएर राखिन्छ। साना कुकुरका लागि हिटर पनि बालिन्छ।
यो संस्थाले कुकुर हेरविचार सँगसँगै तिनको स्याहार र संरक्षण कसरी गर्ने भनेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। कुकुर लगायत अन्य घरपालुवा जनावरको बन्ध्याकरणको काम पनि गरिन्छ।
'एनिमेल नेपाल' ले गोदावरीमा पनि शाखा खोलेको छ। त्यहाँ कुकुरसहित घोडा, भैंसी, बाख्रा, गधा लगायत जनावरको उपचार गरिन्छ र आश्रय दिइन्छ।
यो संस्था काठमाडौंबाहिर पनि सक्रिय छ। नेपालगन्ज र कैलालीमा घोडा रेखदेख गर्छ भने चितवन र लुम्बिनीमा कुखुराको हेरचाह र उपचारमा संलग्न छ।
'सबै जनावरको आ–आफ्नै दु:ख हुन्छ,' प्रमादाले भनिन्, 'मान्छेलाई जस्तै यी जनावरलाई पनि खुसी भएर बाँच्ने हक छ। हामी उनीहरूको जीवनमा थोरै भए पनि खुसी भर्ने कोसिस गरिरहेका छौं।'
सबै तस्बिर: आर्या श्रेष्ठ/सेतोपाटी
***
प्रमादा शाह। तस्बिर: प्रमादाको फेसबुकबाट

