कहिलेकाहीँ बिमार परेर औषधि खानुभएको होला। एन्टिबायोटिक पनि खानुभएको होला, होइन त!
औषधि भन्ने बित्तिकै रोग र बिमारीको कुरा आउने भइहाल्यो। धेरैको त साधारण रूघाखोकीमा आफूखुसी औषधि खाने बानी हुन्छ। कतिपयले एन्टिबायोटिक औषधि पनि आफूखुसी किनेर खान बेर लाउँदैनन्। क्लिनिक वा अस्पताल गएर डाक्टरलाई नै औषधि सिफारिस गर्ने बिरामी पनि भेटिन्छन् कहिलेकाहीँ।
यहाँ म औषधि खानुको अर्थ, एन्टिबायोटिक औषधिको फाइदा-बेफाइदा र औषधिको वैकल्पिक उपायका बारेमा लेख्दैछु।
आधुनिक औषधिको विकास भएको धेरै लामो समय भएको छैन। उन्नाइसौं शताब्दीको प्रारम्भमा आधुनिक औषधिको आविष्कार र प्रयोग सुरू भएको मानिन्छ। सन् १८०४ मा जर्मन वैज्ञानिक फ्रेडरिच सेरटुरनरले दुखाइ कम गर्ने औषधि मोर्फिन (ओपियम) आविष्कार गरे। त्यही मोर्फिन नै पहिलो आधुनिक औषधि मानिएको छ।
त्यसअघि मानव सभ्यता विकासका क्रममा उपचारका लागि जडिबुटी प्रयोग हुन थाल्यो। लामो समय सबै किसिमका रोगको उपचार जडिबुटीमै निर्भर रह्यो। अद्यापि कायम छ।
चिकित्सा विज्ञानका आधुनिक पिता भनेर हिप्पोक्रेट्स (४६०-३७० बिसी) ले करिब २४ सय वर्षअघि नै चिकित्सकहरूले प्रमाणित हुने काम-कुरा मात्र गर्नुपर्छ, प्रमाणित भएका उपचार विधि मात्र अपनाउनुपर्छ र जादुमा विश्वास गर्नु हुँदैन भनेर निर्देश गरेका थिए।
उनले मानिसमा रोगप्रतिरोधात्मक (प्रतिरक्षा) शक्ति हुन्छ र चिकित्सकले त्यो शक्ति बलियो पार्ने गरी उपचार गर्नुपर्छ भनेका थिए। मानव शरीरमा धेरै किसिमका रोग गराउने अति सुक्ष्म भाइरस र ब्याक्टेरियाबारे धेरैपछि मात्र जानकारी भयो। यी सुक्ष्म जीवाणु र कीटाणुबारे जानकारी भएपछि महामारीको कारण थाहा हुन थाल्यो। भाइरस र ब्याक्टेरियाले विश्वमा धेरै पटक धेरै किसिमका महामारी फैलाए।
भाइरस र ब्याक्टेरिया मानव जीवनको शत्रु भएको धेरै लामो समय भइसकेको छ। ब्याक्टेरिया पेस्टिसले मात्र सन् ५४२ सम्ममा ५ करोड मानिसको ज्यान लिएको अनुमान छ। सन् १३०० देखि १७०० सम्ममा करिब १० करोड मानिसको ज्यान लिएको अनुमान छ।
उन्नाइसौं शताब्दीमा पनि मानव जीवनको ठूलो क्षति भयो। अहिले पनि भाइरस र ब्याक्टेरियाका कारण हरेक वर्ष लाखौं मानिसको मृत्यु हुने गरेको छ। उन्नाइसौं शताब्दीमा पटक पटकको इन्फ्लुएन्जा भाइरसले करिब १० करोड मानिसको ज्यान लिएको अनुमान छ।
सबैभन्दा पछिल्लो चरणको कोरोना भाइरसले पनि करिब ३० लाख मानिसको ज्यान लियो। भाइरस र ब्याक्टेरियासँगको युद्धमा वैज्ञानिकहरूले मानिसको ज्यान जोगाउन अथाह प्रयास गरेका छन्। वैज्ञानिकहरू महामारीको संक्रमणमा परेर बाँचेका मानिसको प्रतिरक्षा शक्ति बलियो रहेको मान्छन्। प्रतिरक्षा शक्ति बलियो भएका मानिस रोग लागेर पनि बाँचे। तिनलाई औषधिले पनि काम गर्यो।
हिप्पोक्रेट्सले मानिसको शरीरमा प्रतिरोधात्मक शक्ति हुन्छ भनेका भए पनि कोषमा त्यो शक्तिले कसरी काम गर्छ भन्ने थाहा भएको सय वर्ष मात्र पूरा भएको छ।
सन् १९०५ मा रोबर्ट कोचले क्षयरोग भएको व्यक्तिको शरीरमा रोगका कीटाणु मार्न एन्टिबडीले काम गर्छ भन्ने पत्ता लगाए। त्यो खोजमा उनलाई नोबेल पुरस्कार प्राप्त भएको थियो।
आज वैज्ञानिकहरूले मानिसको प्रतिरक्षा प्रणालीबारे थप प्रस्ट पार्न सकेका छन्।
मानिसको शरीरमा भाइरस र ब्याक्टेरिया प्रवेश गरेपछि प्रतिरक्षा प्रणाली (इम्युन सिस्टम) ले ती जीवाणु-कीटाणु मार्न युद्ध सुरू गर्छ। धेरैजसो अवस्थामा प्रतिरक्षा प्रणाली विजयी हुन्छ।
एक पटक शरीरमा प्रवेश गरेको जीवाणु-कीटाणु अर्को पटक प्रवेश गरेको अवस्थामा प्रतिरक्षा प्रणालीले सजिलै चिन्न सक्छ र सजिलै पराजित पनि गर्छ। यस कारण एकै प्रकारको जीवाणु-कीटाणुले एकै मानिसलाई पटक पटक बिरामी पार्न सक्दैन। बिरामी नै भए नि आफै छिटो निको हुन्छ।
प्रतिरक्षा प्रणालीको यसै सिद्धान्त अनुसार खोप तयार गरिएको हुन्छ। खोप लगाएपछि प्रतिरक्षा प्रणालीले नयाँ जीवाणु-कीटाणु प्रवेश गरेको थाहा पाउँछ। खोपको बनावट र गुण साँच्चैको जीवाणु-कीटाणुकै जस्तो हुन्छ।
खोप लगाएपछि मानव शरीरले एन्टिबडी (जीवाणु-कीटाणु चिन्ने रक्त प्रोटिन) बनाउँछ। शरीरमा बाहिरबाट साँच्चैको जीवाणु-कीटाणु प्रवेश गरेको अवस्थामा खोप लगाइएको जीवाणु-कीटाणुको प्रतिरोधात्मक शक्ति अर्थात् एन्टिबडी तयार भएर बसेको हुन्छ।
महामारीले धेरै मानिसको ज्यान लिने क्रम बढेपछि वैज्ञानिकहरू जीवाणु-कीटाणु मार्ने औषधि बनाउने चिन्तनमा लागे। औषधि विज्ञानको अनुसन्धानमा गति बढ्न थाल्यो।
परिणामस्वरूप सन् १७९६ मा सर एड्वार्ड जेनरले बिफर (स्मल पक्स) को खोप पत्ता लगाए। त्यसपछि भाइरस र ब्याक्टेरियाविरूद्ध शरीरको प्रतिरक्षा प्रणाली बलियो पार्ने विधि विकास हुँदै आयो।
फार्मेटिक औषधिको युग
सन् १८०४ मा दुखाइ कम गर्ने औषधि मोर्फिन आविष्कार भएपछि औषधि विज्ञानको क्षेत्रले ठूलो फड्को मार्यो। सन् १८७७ मा पारासिटामोल र सन् १९२१ मा इन्सुलिन आविष्कार भयो। त्यसपछि त विश्व बजारमा सयौं थरीका औषधि आए।
सन् १९२८ मा अलेक्जेन्डर फ्लेमिङले ब्याक्टेरिया मार्ने एन्टिबायोटिक आविष्कार गरे। एन्टिबायोटिकको युग सुरू भयो यद्यपि ब्याक्टेरियाका नयाँ प्रजाति विकास हुँदै जाँदा प्रचलित एन्टिबायोटिकले काम नगर्ने अवस्था हुन थाल्यो। ब्याक्टेरिया नमर्ने भयो।
एन्टिबायोटिकभन्दा ब्याक्टेरिया बलियो हुँदै जानु नै अहिलेको सबभन्दा ठूलो चुनौती हो। प्रचलित सबैभन्दा कडा एन्टिबायोटिकले पनि नमर्ने 'किलर ब्याक्टेरिया' केही वर्षअघि भारतमा देखापर्यो।
कुनै पनि एन्टिबायोटिकले नमर्ने (मल्टी-रेसिस्टेन्ट) ब्याक्टेरियाले मानिसको ज्यान लिने क्रम बढ्दै गएको छ। यस प्रकारका नयाँ ब्याक्टेरिया मार्ने एन्टिबायोटिक बन्न सकेको छैन।
वैज्ञानिकहरूले ब्याक्टेरियाको यस्तो संक्रमण नियन्त्रण गर्ने एक मात्र उपाय एन्टिबायोटिकको प्रयोग पूर्ण बन्द गर्नु हो भनेका छन्।
अब नो एन्टिबायोटिक!
मानिसको शरीरमा इन्फेक्सन (संक्रमण) हुने भनेकै ब्याक्टेरिया वा भाइरसले हो। सामान्यतया यी दुबैले गराएको संक्रमण शरीरले एक हप्ताभित्र आफै नियन्त्रण गर्छ र संक्रमण घट्दै जान्छ।
भाइरसले गराएको संक्रमण एन्टिबायोटिकले ठीक हुँदैन। भाइरसको संक्रमणमा एन्टिबायोटिक खाइयो भने शरीरका उपयोगी ब्याक्टेरियालाई नकारात्मक असर पर्छ र उल्टै शरीरलाई हानि हुन्छ।
सामान्य अवस्थाको ब्याक्टेरिया रहेछ भने एन्टिबायोटिकले बिमारको अवधि थोरै घटाउँछ तर खास फाइदा हुँदैन। उल्टै शरीरका उपयोगी ब्याक्टेरियालाई असर गरी रेसिस्टेन्ट हुन मद्दत गर्छ। यस्तो अवस्थाले दीर्घकालमा नकारात्मक असर पार्छ।
यसकारण सामान्य अवस्थामा एन्टिबायोटिक खानु धेरै खतरनाक हुन जान्छ। हाम्रो शरीरमा भएका उपयोगी ब्याक्टेरियाहरू पनि एन्टिबायोटिकको प्रयोगले हानिकारक बन्छन् र बिमार बनाउन सक्छन्।
कुनै कारणले शरीरको प्रतिरक्षा प्रणाली कमजोर भएको अवस्थामा उपयोगी भए पनि रेसिस्टेन्ट भएका ब्याक्टेरिया सक्रिय भएर संक्रमण गराउँछ। यस्तो अवस्थाको उपचारमा जब एन्टिबायोटिक प्रयोग गरिन्छ, तब त्यसले काम गर्दैन। रगत परीक्षण गरेर हेर्दा मल्टी-रेसिस्टेन्ट ब्याक्टेरिया रहेको थाहा हुन्छ। यस्तो बिरामीको मृत्यु नै हुन सक्छ।
यस कारण एन्टिबायोटिक प्रयोग गर्नुअघि रगत परीक्षण गराएर ब्याक्टेरियाले नै संक्रमण गराएको हो भन्ने पक्का गर्नुपर्छ। कुन ब्याक्टेरिया हो भन्ने पनि निर्क्यौल गरेर त्यस अनुसारको एन्टिबायोटिक मात्र प्रयोग गर्नुपर्छ।
भाइरस संक्रमणको उपचार हाम्रो शरीरको प्रतिरक्षा प्रणालीले नै गर्छ। खतरनाक भाइरसका लागि खोपहरू उपलब्ध छन्। केही भाइरस मार्ने औषधि पनि विकास भएको छ तर भाइरस परीक्षण गरेर मात्र औषधि प्रयोग गर्नुपर्छ।
सामान्य रूघाखोकी लाग्दा र त्यसकै कारणले ज्वरो आउँदा नाकबाट सिँगान बग्ने समस्या हुन्छ। ब्याक्टेरियाको संक्रमण हो भने ज्वरो आउँछ तर सिँगान आउँदैन।
ब्याक्टेरियाको संक्रमण भन्दैमा एन्टिबायोटिक नै चाहिन्छ भन्ने होइन। शरीरको प्रतिरक्षा प्रणालीले काम गर्छ, बिस्तारै आफै निको हुन्छ। एन्टिबायोटिकको साटो फलफूल, सागसब्जी, भिटामिनयुक्त र पौष्टिक खाना खानुपर्छ।
बिरामी नपर्न सधैं हलुका कसरत गर्ने बानी लगाउनुपर्छ। कसरतले वैकल्पिक औषधिको काम गर्छ। बिरामी भएर औषधि प्रयोग गर्नुअघि चिकित्सकबाट आवश्यक सबै परीक्षण गराएर, चिकित्सकको सिफारिसमा मात्र औषधि प्रयोग गर्नुपर्छ।
आवश्यक सबै परीक्षण नगरी र चिकित्सकको नभई एन्टिबायोटिक प्रयोग गर्नै हुँदैन।
(डा. दिपराज थापा जनस्वास्थ्य विज्ञ र प्राध्यापक हुन्। उनी निरी नेपालमा आबद्ध अनुसन्धानकर्ता पनि हुन्।)
ट्विटर-@DrDipRajThapa
(दिपराज थापाका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)