विचारधारा सिद्धान्त, दर्शन, रणनीति र मापनका आधारमा धेरै शब्दावलीहरू सिर्जित, परिभाषित र वर्णित छन्। त्यसैअनुसार प्रयोगमा छन्। यस्ता शब्दावलीहरू अधिकांश उत्तरी विश्वबाट व्युत्पन्न भएका हुन्, उनीहरूकै मूल्यमान्यता अनुसारका छन्।
शिक्षा, स्वास्थ्य, विकास, अर्थतन्त्र, संगीत, संस्कृति, भाषा, सामाजिक संरचना जताततै आआफ्ना खास शब्दावली छन्। यस्तो सूची लामै हुन्छ। यस विषयमा ठोस उदाहरणसहित निकै ठूलो किताब नै हुन सक्छ।
अब यी शब्दावली र परिभाषाहरूलाई अझ तटस्थ, प्रमाणमा आधारित, व्यापक र प्रतिनिधिमूलक तरिकाले पुनर्विचार गर्ने र प्रतिस्थापन गर्ने समय आएको छ।
आउनुहोस्, राजनीतिका परिभाषाहरूको समीक्षाबाट सुरू गरौं। उत्तरी विश्वका राजनीतिक प्रणालीलाई उत्तम अभ्यासका रूपमा देखाइएको छ र मानकको रूपमा स्थापित गरिएको छ। यी अभ्यासहरू छाडेर अर्को अभ्यास गर्नेमाथि प्रश्न उठ्छ, शंका हुन्छ।
हरेक राजनीतिक प्रणालीका फाइदा र बेफाइदाहरू हुन्छन्। हरेक देशको प्रणाली आफ्नै विशेषताका आधारमा बनेको हुन्छ। जुन प्रणालीले व्यक्तिगत स्वतन्त्रता, अधिकार, शिक्षा सेवा, स्वास्थ्य सेवा, आधारभूत आवश्यकताको परिपूर्ति र सामाजिक सुरक्षाको प्रत्याभूति गर्छ, त्यही राम्रो हुन्छ।
समाज निर्माणमा मानिसहरूले कसरी सिक्छन् र अभ्यास गर्छन् भन्ने कुरामा मिडियाको महत्वपूर्ण भूमिका हुन्छ। डिजिटलीकरण र सामाजिक सञ्जालको आगमनले समाजलाई आकार दिन मिडियामा जिम्मेवारी थपिएको छ।
विशेष गरी मूलधारका मिडियाले पदावली र परिभाषाहरू उत्तरी विश्वको पक्षमा निर्माण गरेका छन्। दक्षिणी विश्वका उत्तम अभ्यासहरू मुख्य मिडियामा आउँदैनन्। उत्तरी विश्वबाट यसरी नियमित रूपमा सूचना प्रसारित गरिन्छ कि मानौं दक्षिणमा धेरै समस्या नै समस्या मात्रै छ।
उदाहरणका लागि हेरौं; मानिसहरू सडकमा सुत्छन्, उनीहरूसँग बिजुली छैन, लगाउन उचित लुगा छैन। राम्रा स्कुल र विश्वविद्यालयहरू छैनन्।
यस्तो भाष्य बनाइरहेका हुन्छन्।
उनीहरूले म्याकडोनल्ड्स वा पिज्जेरिया नहुनु पनि कुराकानीको विषय बनाइरहेका हुन्छन्। उनीहरू दक्षिणी विश्वका सामाजिक–सांस्कृतिक अभ्यासहरू कहिल्यै सम्प्रेषण गर्दैनन्।
दक्षिणी समाजमा मानिसहरू एकअर्काको हेरचाह गर्छन्, विशेष गरी कठिन समयमा। परम्परागत मूल्यहरू पछ्याउँछन् र समाजलाई आकार दिने सामाजिक–सांस्कृतिक मान्यताहरूको सम्मान गर्छन्। स्वदेशी ज्ञान र अभ्यासहरू नयाँ पुस्तामा हस्तान्तरण गर्छन्। फास्ट फुडको साटो स्वस्थकर खाना खान्छन्।
उत्तरी विश्वले दक्षिणी विश्वका स्कुल र विश्वविद्यालयका सबभन्दा राम्रा उत्पादनहरू उनीहरूकै देशमा 'ब्रेन-ड्रेन' भएको छ भनेर कहिल्यै उल्लेख गर्दैनन्। दक्षिणका तिनै विज्ञहरूले उत्तरी विश्वमा स्वास्थ्य सेवा दिइरहेका छन्। नवीनता र विज्ञानको विकास उच्च स्थानमा पुर्याइरहेका छन्।
प्रगति मापनका सूचकहरू
आउनुहोस्, विकास वा प्रगति मापन गर्ने उद्देश्यले तयार पारिएका केही सूचकहरू हेरौं।
मानव विकास सूचकांकले विकासको प्रगतिको अनुगमन गर्न ज्ञान, दीर्घ र स्वस्थ जीवन (आयु सम्भाविता) र राम्रो जीवनस्तर गरी तीन आयाम समेटेको छ।
देशको आयस्थिति (कुल राष्ट्रिय आय) राम्रो जीवनस्तरको प्रगतिको अनुगमन गर्ने एक आयाम हो। यो आयाम देशहरूलाई 'धनी' र 'गरिब' को रूपमा वर्गीकृत गर्ने माध्यम बनेको छ।
त्यसकै परिभाषाअनुसार उत्तरी विश्वको तुलनामा कम आय भएका सबै देशहरू 'गरिब' को श्रेणीमा राखिएका छन्। गरिब हुनुको अर्थ जीवनस्तर राम्रो नहुनु हो। उत्तरी विश्वले दक्षिणको यस्तै प्रतिविम्ब दिने गरेको छ।
गरिब र धनीको परिभाषा यसरी स्थापित गरिएको छ कि दक्षिणी विश्वबाट गएर उत्तरी विश्वमा तालिम प्राप्त व्यक्तिहरूले पनि आफ्नो देशलाई गरिब भनिदिन्छन्।
आयको मापन हेरेर मात्र कसैलाई गरिब वा जीवनस्तर राम्रो नभएको भन्न मिल्दैन। हो, धेरै देशहरूमा स्रोतको अभाव छ तर अन्य धेरै पक्षहरूले सामाजिक संरचना र मान्यता, सांस्कृतिक अभ्यास, परम्परागत मूल्य, मानवव्यवहार र मनोवृत्तिले सभ्य जीवन बाँचेका हुन्छन्।
गरिब मुलुक भनेर वर्गीकृत गरिए पनि कतिपय देश शिक्षा, स्वास्थ्य, सामाजिक संरचना र अभ्यासमा उच्च आय भएका केही देशभन्दा राम्रा छन्।
प्रश्न उठ्छ, औपचारिक र अनौपचारिक दुबै प्रकारका रोजगारीको दर वा स्वास्थ्य र शिक्षा जस्ता सेवाहरूमा पहुँचलाई किन देशको क्षमताको 'प्रोक्सी' को रूपमा लिइएन? सबभन्दा महत्वपूर्ण कुरा; परिवारको आय, स्वास्थ्य, शिक्षा, आवास, खाना जस्ता आधारभूत पक्षमा पहुँचको प्रावधान हो।
स्रोत–
शीर्ष १० धनी देशहरूमध्ये एकमा बेरोजगारीको दर ६५ भन्दा बढी छ। जबकि तथाकथित 'गरिब' देशहरूमध्ये एकको बेरोजगारी दर २५ भन्दा कम छ। अधिक सेवा 'कभरेज' छ। यस्तो देशलाई गरिब भनेर सम्बोधन गर्नु जायज छ र?
यी स्रोत सीमित देशहरूमध्ये धेरै एक न एक पटक उत्तरी विश्वद्वारा उपनिवेश गरिएका थिए। कुनै समय, तिनीहरू संशाधनप्रचुर थिए। उपनिवेशवादीहरूले छोडेपछि धेरै देशका स्रोत सीमित हुन पुगे। तसर्थ, विश्वले स्रोत-साधन अभाव भएका देशलाई 'गरिब' वा 'गरिब देश' भन्न बन्द गर्नुपर्छ। 'गरिब' को परिभाषा परिमार्जन गर्नुपर्छ।
ज्ञान–
स्कुलिङका अपेक्षित वर्षहरू र स्कुलिङका औसत वर्षहरू गरी दुई मापन प्रक्रिया प्रयोगमा छन्। यी मापनहरू आय स्थितिको मापनभन्दा राम्रा छन् तर तिनीहरूले परिणामहरू मापन गर्दैनन्। यी प्रक्रिया अभ्यास गर्ने तरिकामा भेदभाव छ।
यसो भए पनि तिनीहरूको प्रयोगमा भने राम्रो मनसाय नै थियो। दक्षिणी विश्वका धेरै बच्चाहरू विद्यालयमा जाँदैन थिए। भनिन्छ, जसको मापन हुन्छ त्यसको विकास पनि हुन्छ। यो मापनको प्रयोगले थप विद्यालयहरू निर्माण र भर्ना सुनिश्चित गरेको हुन सक्छ तर यी मापनहरूले शिक्षा र ज्ञान कसरी व्यवहारमा रूपान्तरण भएको छ भन्ने देखाउँदैनन्।
उत्तरी विश्वका धेरै देशहरूमा राम्रो स्कुलिङ प्रणाली छ, उच्च अकं ल्याउने सम्भावना छ। दक्षिणी विश्वका देशहरूमा स्कुलिङ प्रणाली कमजोर रहेकाले अंक पनि कम हुने नै भयो।
यी मापनहरूले व्यावहारिक र परम्परागत ज्ञान–विधिहरू समेट्दैनन्। अर्को मापन साक्षरता वा विद्यालय भर्नाको दर प्रयोगमा छ। विद्यालय भर्नाको उच्च दर वा उच्चतम साक्षरता दरले ज्ञान प्रयोग गरी प्रमाणमा आधारित निर्णय सुनिश्चित गर्छ? अवश्य गर्दैन। संसारमा यसका प्रमाणहरू धेरै छन्।
गलत सूचना वा नक्कली समाचार मिलिसेकेन्डमा भाइरल हुन्छन्।
प्रमाणित सार्वजनिक स्वास्थ्य र सामाजिक उपायहरू छन् जसले धेरै रोगहरू नियन्त्रण गर्न सक्छन्। कोभिड–१९ को समय याद गरौं। धेरै शिक्षित वा साक्षर व्यक्तिले रोकथामका उपायहरू अभ्यास गरेनन्, विशेष गरी उत्तरी विश्वका देशहरूमा।
उत्तरी विश्वका देशहरूमा खोपविरोधी समूहहरूको बढ्दो संख्या साक्षरता र जागरूकता (अभ्यासमा ज्ञान लागू गर्ने) बीचको भिन्नताको बलियो उदाहरण हो।
त्यसकारण, विकासमा ज्ञान अनुप्रयोगको मापन किन सार्वजनिक वा सामाजिक उपायहरूको अनुपालनको दरबाट नगर्ने? केहीले मानव अधिकार र स्वतन्त्रताको अवस्थाबाट ज्ञानलाई व्यवहारमा उतारेको मापन पनि गर्ने गरेका छन्।
कसैले रोकथामका उपायहरू पालना नगर्दा बाँकी नागरिकहरू जोखिममा पर्ने भएकाले प्रत्येक नागरिक आफ्नो र अन्यको सुरक्षा गर्न जिम्मेवार हुनपर्छ। ज्ञानको मापनमा सबैका लागि शिक्षा र ज्ञान प्रयोगको अवस्थाको मापन गर्ने सूचक हेर्नुपर्छ। सबैका लागि शिक्षा भन्नु शिक्षामा पहुँच, लैंगिक र जातीय सन्तुलन तथा शिक्षाको गुणस्तर हो।
आयु सम्भाविता–
तेस्रो सूचक भनको आयु सम्भाविता हो। स्वास्थ्य कार्यक्रमको परिणाम मानिसको दीर्घायु हो तर यसको मतलब मानिसहरू स्वस्थ जीवन बिताइरहेका छन् भन्ने होइन।
उपनिवेशीकरणबाट पीडित देशहरूसँग धेरै स्वास्थ्य कार्यक्रमहरू व्यवस्थापन गर्न संशाधनको अभाव छ। धेरै देशहरू अनेक संक्रामक रोगहरूबाट पीडित छन् जसले गर्दा मृत्युदर उच्च छ।
स्रोत अभावका कारण उनीहरूले मातृ तथा शिशु स्वास्थ्य कार्यक्रमहरूमा पर्याप्त मात्रामा आर्थिक लगानी गर्न सकेका छैनन्। त्यसैले त्यहाँ मातृ मृत्युदर र बाल मृत्युदर उच्च छ। यसले आयु सम्भावितामा असर पारेको छ।
तसर्थ, कुनै पनि अशक्तताबिना जीवनको गुणस्तरको अवस्था मापन गर्नु महत्वपूर्ण छ।
दक्षिण विश्वका धेरै देशहरूमा सामूहिक परिवार प्रणाली छ जहाँ सन्तानले आफ्ना वृद्ध आमाबाबुको हेरचाह गर्छन्। यसबाट मानसिक, सामाजिक र शारीरिक तन्दुरुस्ती कायम राख्न ठूलो सहयोग पुग्छ। आधुनिकीकरण र भूमण्डलीकरणले धेरै ठाउँमा यी अभ्यासहरू परिवर्तन गरिरहेको छ तर अझै पनि उनीहरूले आफ्ना आमाबाबुलाई केही अपवाद बाहेक नर्सिङ होममा पठाउँदैनन्।
सम्भवतः विकास मेट्रिकले अशक्तता मापन प्रयोग गरेर जीवनको गुणस्तर सम्बोधन गर्न सक्छ। स्वस्थ आयु सम्भाविता एउटा राम्रो विकल्प हुन सक्छ जसले मानिसले आनन्द लिने जीवनको गुणस्तर प्रतिविम्बित गर्न सक्छ।
सायद मापन र परिभाषा सिर्जनाको मनसाय राम्रो छ यद्यपि यसको अभ्यास गर्ने तरिकाले वास्तविकता, स्थानीय अभ्यास र संसारको अर्को पक्षको गरिमा बेवास्ता गर्छ।
यी मापन र परिभाषाहरू प्रायः दक्षिण विश्वका देशहरूप्रति भेदभावपूर्ण छन्, वास्तविक स्थिति प्रतिविम्बित गर्दैनन्। यो नभुलौं, यी धेरैजसो देशहरू कुनै समयमा उपनिवेश बनाइएका थिए। यी मापनहरूले विकसित देश, कम विकसित देश र विकासशील देशको वर्ग सिर्जना गरेका छन्।
के यी वर्गहरू अपमानजनक छैनन्?
हामी मानवताको सेवा गर्न नयाँ प्रविधि, सिद्धान्त र अभ्यास विकास गरिरहेका छौं। विकास गतिशील हुन्छ। विकसित भनिएका देशहरूले विकास गरिरहेका छैनन् र? गरिरहेका छन् नि।
संसारका सबै देशहरू विकासशील छन् तैपनि मापन र परिभाषा यसरी सिर्जना गरिएका छन्, हरेकले उत्तरी विश्वका सकारात्मक पक्ष मात्र झल्काउँछन् र दक्षिण विश्वलाई होच्याउँछन्।
के वास्तविक अवस्था त्यही नै हो?
यो प्रश्नको जवाफ दिन वर्तमान प्रमाणहरू, विशेष गरी कोरोना नियन्त्रणमा देखिएका उत्तरी विश्वका कमी कमजोरी, पर्याप्त छन्। त्यसैले यी पारिभाषा र मापनहरू परिवर्तन गर्न जरूरी छ।
अहिले ठीक समय आएको छ।
यसको सुरूआतका रूपमा स्रोत-साधन अभाव भएका देशहरूलाई 'गरिब' वा 'गरिब देश' भन्न छाडौं।
(डा कँडेल जेनभामा कार्यरत मेडिकल एपिडेमियोलोजिस्ट तथा मानवशास्त्री हुन्)