विज्ञान र प्रविधिले फड्को मारेर निकै ठूलो प्रगति गरिसकेको छ र अझै गर्दैछ। टाढा भएका मानिसलाई नजिक ल्याउन जन्मिएको सामाजिक सञ्जाल प्रविधिको एउटा उल्लेखनीय देन हो।
यो आफैमा राम्रो/ठूलो भन्दा पनि यसले आजको समयमा मानिसको जीवनमा ल्याएको परिवर्तन निकै ठूलो छ। आज विश्वभरका मानिस सामाजिक सञ्जालमार्फत् एउटै मञ्चमा छन्। कुनै समयमा मानव समाजले सायद कल्पना पनि नगरेको भिडिओ कल, सन्देश आदि सुविधाहरू आज अत्यन्तै सहजताका साथ सर्वत्र उपलब्ध छन्।
सामाजिक सञ्जालले विश्वका फरक ध्रुवहरूमा बस्ने र कहिले भेट नहुने मानिसहरूलाई एउटै मञ्चमा ल्याइदिएको छ भने एउटै घरमा बस्ने परिवारका सदस्यहरूलाई एकआपसबाट टाढा गराइदिएको छ।
पहिले जस्तो परिवारसँगै बसेर फिल्म हेर्ने भन्ने चलन अब आफ्नो-आफ्नो मोबाइलमा केही सेकेन्डको भिडिओ हेर्दै मनोरञ्जन लिने चलनले विस्थापित गरिदिएको छ।
मानिसहरूबीच एक-आपसमा कुराकानी हुनुभन्दा पनि एकअर्काको पोष्ट हेरेर को कहाँ के गरिरहेको छ भन्ने थाहा पाउने जमाना आएको छ।
सामाजिक सञ्जालमा राखिएका पोस्टकै आधारमा जीवनशैली प्रदर्शन गर्ने एकअर्काको सामाजिक हैसियत दाँज्ने, सिको गर्ने अनि लवाई-खुवाईमा अस्वस्थ प्रतिस्पर्धा गर्ने चलन उस्तै बढेको छ। अझ इन्फ्लुएन्सर बन्ने नाममा 'आज दिनभरि के गरेँ।', 'मेरो झोलामा के छ' जस्ता सतही कुरालाई सामग्री (कन्टेन्ट) बनाएर भाइरल हुने र त्यसको आम्दानीकरण (मोनेटाइजेसन) गरी गुजारो गर्ने प्रवृत्ति नै विकसित भइसकेको छ। कतिले त अराजकता फैलाउने किसिमका सामग्री सामाजिक सञ्जालमा राखेर फलोअर्स कमाउने र भाइरल हुने प्रवृत्ति अंगालेका छन्।
यस्तो भइरहँदा मानिसको बौद्धिक क्षमताप्रति कसैलाई चासो हुन छोडेको छ। नयाँ कुरा सिक्नु, सीप सिक्नु, उत्पादनशील बन्नुभन्दा पनि रमाइलोको नाममा समयको बर्बाद गर्नु र फरक बन्ने नाममा जे पायो त्यही बोलेर भाइरल हुँदै पैसा कमाउनु सजिलो भएको छ।
सामग्री निर्माण (कन्टेन्ट क्रिएसन) अब एउटा पेसा नै बनेको छ, जुन आफैमा नराम्रो कुरा होइन। तर के कस्ता सामग्री (कन्टेन्ट) बन्दै छन् र जनमानसले कस्ता कन्टेन्ट मन पराइरहेका छन् भन्ने कुरा महत्वपूर्ण हुन्छ। कहिलेकहीँ साना-साना कुराले पनि मानिसलाई खुसी दिन्छन्, त्यसैले सकारात्मक ऊर्जा ल्याउने किसिमका सामग्री, चाहे ती सतही विषयका किन नहुन् त्यस्ता सामग्रीले समस्या नै त नल्याउला तर त्यस्तै विषय मात्र स्क्रोल गरेर दिन बिताउने जमात पनि राम्रै छ, हो तिनको समय बर्बाद हुनु चाहिँ सोचनीय विषय हो।
मानिसले सामाजिक सञ्जालमा यति धेरै समय व्यतित गरिराखेको छ तर त्योभन्दा ठूलो विलम्बना उसले समय खेर गएको थाहा नै पाइरहेको छैन। सामाजिक सञ्जालहरूको एल्गोरिदम यस्तो बनाइएको छ कि मान्छेले जस्तो सामग्री हेर्न चाहन्छ त्यस्तै सामग्री उसलाई देखाइन्छ। मान्छे लतमा पर्छ र एक दुई घण्टा समय त स्क्रोल गर्दा गर्दै खेर गएको पत्तै पाउँदैन।
पारिवारिक जीवनमा पनि सामाजिक सञ्जालको ठूलो असर परेको छ। बाल बच्चालाई नचाएर भिडिओ बनाउने, पोस्ट गर्ने र केही लाइक र कमेन्टमा मख्ख पर्ने आमाबुवा, वृद्ध आमा-बुवालाई अस्पतालमा उपचार गर्न लैजान संकोच मान्ने तर घुमाउन लगेर फोटो हाली दुनियाँलाई देखाउने छोराछोरी, महंगा लुगा, गहना, गाडी, मोबाइल आदि इत्यादि प्रदर्शन गर्न होमिने युवायुवती गरी समाजका सबै वर्ग, धर्म, जात, लिङ्ग र उमेर समूहका जनमानसले सामाजिक सञ्जालको प्रयोग गरेको देखिन्छ।
यस्तो प्रवृत्तिले मानिसहरूबीचको पारस्परिक सम्बन्धलाई जन्मदिनको शुभकामना, वैवाहिक वर्षगाँठको बधाई जस्ता फोटो पोस्टमा मात्र सीमित गराइदिएको छ। तर एउटा सकारात्मक पक्ष चाहिँ के छ भने नेपाली समाजमा परिवारभित्र एक-अर्काको प्रशंसा गर्ने वा कृतज्ञता व्यक्त गर्ने अभ्यास कम हुने अवस्थामा, यस्ता अवसरमा फोटो हालेर मन छुने क्याप्सन लेख्ने चलनले परिवारका सदस्यहरूबीच भावना अभिव्यक्त गर्न सक्ने वातावरण बनाइदिएको छ।
सबभन्दा नराम्रो पक्ष चाहिँ उपभोक्तावाद (कन्जुमेरिजम) र फास्ट फ्यासनलाई सामाजिक सञ्जालले निकै नै बढावा दिएको छ। वर्षको एकपटक दसैंमा लुगा किन्ने नेपाली जनता अहिले हरेक दिन जस्तो नयाँ लुगा लगाउनु पर्ने बाध्यतामा छन्, र त्यसको मुख्य कारण सामाजिक सञ्जाल हो। एकपटक कुनै लुगा लगाएर फोटो राखेपछि फेरि त्यही लुगा लगाउन नहुनेजस्तो सोच जनमानसमा बन्न थालेको छ।
अनि साधारण ढङ्गले मनाए हुने साना-साना अवसरलाई ठूला पार्टी र औपचारिक कार्यक्रमको रूपमा परिणत गरिँदैछ, जसका कारण हरेक पलमा नयाँ लुगा, जुत्ता, गहना चाहिनेजस्तो अवस्था सिर्जना भएको छ। यति मात्र होइन मानिसहरूबीच को कति घुम्ने, कसले राम्रो फोटो हाल्ने, कसले नयाँ डिजाइनको लुगा लगाउने जस्ता कुरामा एउटा सिक्रेट कम्पिटेसन चलिरहेको छ। अनि यिनै कुराको आधारमा मानिसको सामाजिक हैसियत (सोसल स्टेटस) निर्धारण भइरहेको छ।
सामाजिक सञ्जालका अनेकौं राम्रा पक्ष पनि छन् तर हामी नराम्रो नै धेरै अंगालिरहेका छौं। आजका दिनमा थुप्रै एप्लिकेसनहरू उपलब्ध छन्, जसमा समय खर्च गरेर केही नयाँ कुरा सिक्न, अरूलाई सिकाउन, वा शैक्षिक भिडिओ जस्ता गुणस्तरीय डिजिटल सामग्री सिर्जना गर्न सकिन्छ। दुर्भाग्यवश, हामी एउटा राम्रो फोटो हालेर त्यसमा आउने लाइक्स र कमेन्ट पढेर खुसी छौँ। उत्पादनशील, ज्ञानवर्द्धक काम गर्न हामीलाई फुर्सद नै छैन, सामाजिक सञ्जालमा उद्देश्यहीन सामग्री स्क्रोल गरेर हामीलाई भ्याइनभ्याई छ।
शुभेक्षा सहित,
प्रज्ञा शर्मा