राष्ट्रसेवक कर्मचारी! शब्दले मात्र आम नेपालीको मन पुलकित हुनुपर्ने हो। यस सेवामा प्रवेश गर्ने उत्कट इच्छा जागृत हुनुपर्ने हो। यस सेवामा जवानी मात्र होइन, जीवन नै समर्पण गर्छु भन्ने भाव उत्पन्न हुनु पर्ने हो।
संघर्ष, परिश्रम र कठोर मिहिनेतको प्रतिफल स्वरुप प्राप्त यो पदनाम आज यति निष्कृष्ट र सबै तीरबाट तिरस्कृत हुन पुगेको छ कि आम मानिसको राष्ट्रसेवक कर्मचारीप्रतिको धारणा मापन गरी नसक्नु नकारात्मक रहेको बुझ्न कठीन छैन ।
तर सरकारी सेवा प्रवेशको मेरो यात्रा सुरु हुन्छ स्वर्ग सरी मेरो गाउँको कथाबाट। जो अन्य मेरा सहकर्मी मित्रहरूको परिवेश र पारिवारिक पृष्ठभूमिसँग समेत मिल्दोजुल्दो हुनुपर्छ सायद।
एक हल गोरु, गोठमा दूधालु गाई, खान लाउन पुग्ने खेतबारी र ओत लाग्ने घर। सबै कुराले परिपूर्ण थियो हाम्रो परिवार। छङछङ बग्ने बिरिङ खोला, खोला पारिको मनमोहक हरियाली जंगल, त्यही खोलाबाट सिंचित उर्वर भूमि रहेको स्वर्ग झैँ सुन्दर गाउँमा जन्मेहुर्केको मान्छे।
दाउरा र घासपातको लागि मात्र होइन तरकारी, कन्दमुल, फलफूलमा केरा, आप, जामुन, क्यामून, कुसुमहरूले भरिपूर्ण थियो जंगल। न त जंगली जनावरलाई आहराको लागि वस्ती तिर पस्न पर्थ्यो न त गाउँलेलाई तरकारीको लागि सहर तिर जान पर्दथ्यो। माछा खान मन लागे खोलाभर बग्रेल्ती पाउने बुहारी, गराई, झिङ्गे, पैया बुधुना लगायत माछा। मौसमअनुसार च्याउ, तामा, तरुण, जिव्री साग र निगरो सबै उपलब्ध थिए पारिको जंगलमा।
त्यसबेला रासायनिक मलखादको प्रयोग गर्ने चलन पनि थिएन। तराईमा मनग्गे उत्पादन हुने, उत्पादित धान, जुट, दलहन र तेलहन लगायत कृषि सामग्रीको सहज बिक्रीमा कुनै समस्या थिएन। ठूल्ठूला धान मिल र जुट मिलहरूका देशमै त्यो पनि तराई तिर जो थिए ।
धान रोप्ने समयमा होस वा काट्ने वा दाउनी नै गर्ने समय किन नहोस्, खेतीपातीको समयमा पनि गाउँघर तिर उल्लासको माहौल हुने। अर्मपर्मबाट नै काम टर्ने। सिजनअनुसार पारि इन्डिया तिरबाट आउने सिजनल मजदुरहरूका कारण खेती किसानी कुनै बोझिलो पेसा थिएन।
चाडबाड बेलाको माहौल त झनै बयान गरी नसक्नु। दसैँ, तिहारमा लिङ्गेपिङ, रोटेपिङको चचहुई। दसैँ भर लाग्ने मेला र सन्थाल नृत्यको मनोरञ्जन, तिहारमा रातभर नै देउसीभैलोको माहौल, तीन दिनसम्म नाचगान साथ धुमधामसँग मनाइने रङ्गहरूको पर्व फागु पूर्णिमा, माघे सङ्क्रान्तिमा हुस्सु लागेको मौसम अनि चिसो खोलामा नुहाउँदाको आनन्द र माइ मेलाको रमाइलो, साउने सङ्क्रान्तिमा नाङ्गलो र थाल ठटाएर लुतो भगाउँदाको उत्साह वर्णन गरी नसक्नु हुने।
यति प्यारो र रमाइलो थियो कि कसैले गाउँघर छाडेर जागिर खाने वा विदेश तिर रोजगारीको लागि जाने त कल्पना पनि गर्नुपर्ने अवस्था थिएन। बरु रोजगारीको लागि इन्डिया तिरबाट हुलका हुल आउने श्रमिकहरूका कारण कामदारको कुनै अभाव थिएन। तर मानवीय अतिक्रमण र दोहनकै कारण न त खोलामा जलचर बाँकी रहे, न त जंगलको अस्तित्व नै, न त उर्वर भूमिको उर्वराशक्ति नै।
अब खेती किसानी बाध्यता बनिसकेको थियो। छेउमै बग्ने बिरिङ खोला अविवेकी मानवीय क्रियाकलापहरू खोलामा बिख हालेर र करेन्ट लगाएर माछा मार्ने लागायतका कारण जलचर विहीन भइसकेको थियो।
न त पारिको जंगल नै २०३६ साल र २०४६ को राजनीतिक चपेटामा परि जंगल जस्तो रहन पाएको थियो। मासिँदै पातलिँदै गइसकेको जंगलबाट घाँसदाउरा, तरकारी, कन्दमूल र फलफूल पाइन्थ्यो भन्नु अब कथा बनिसकेको थियो।
खेती किसानीबाट मात्र जीवन निर्वाह नहुने भयो। बढेको पारिवारिक सदस्य र उनीहरूको लालनपालन, शिक्षादीक्षा तथा बिरामी पर्दाको थप अतिरिक्त आर्थिक भारका कारण जीवन झन् कष्टकर बनिरहेको थियो।
एक हल गोरु, गोठमा दूधालु गाई, ओत लाग्ने घर र खान लाउन पुग्ने जग्गा जमिन हाम्रो लागि बोझ भइसकेको थियो। त्यसैले गाउँमा बसोबास गर्ने हामीहरूसँग अब दुई वटा विकल्प मात्र बाँकी रह्यो। एक रोजगारीका लागि भारत वा तेश्रो देश जाने वा जागिर खाने।
वैदेशिक रोजगारीको लागि विदेश जानका लागि राहदानी बनाउन र पैसाको जोहो गर्न अहिले जस्तो कहाँ सहज थियो र! त्यसैले त्यसबेला रोजगारीको लागि सहज गन्तव्य धेरैको लागि भारत नै थियो। देशमा चाहिँ रोजगारीको लागि नेपाली सेना र नेपाल प्रहरीमा सीमित अवसर त थियो तर सिपाहीमा जागिर खानु पनि महाभारत नै थियो। खुलेआम सोर्स फोर्स।
शिक्षाको उज्यालोबाट वञ्चितहरूका लागि जसरी भारत रोजगारीको सहज गन्तव्य रह्यो, निर्धा निमुखाका लागि लोक सेवा आयोग नै आशा र भरोसाको केन्द्र।
बाह्रै महिना खेतिकिसानीमा गधा झैँ घोटिँदा पनि वर्षभर खान लाउन नपुग्ने, उत्पादित नगदेबालीले (सनपाट लगायत) पर्याप्त बजार भाउ नपाउने। सनपाट बेच्न पनि पालो र लामो लाइन लाग्नु पर्ने। त्यसैले फगत संजोगले उच्च शिक्षासम्म अध्ययन गर्ने अवसर पाएको मेरा लागि भारत होइन लोक सेवा आयोगको तयारी गर्नु उपयुक्त लाग्यो।
लोक सेवा आयोगबाट भाग्य अजमाउने निधो गरेर काठमाडौंको यात्रा तय गरेको थिएँ। पहिलो प्रयासमा लोक सेवा आयोगबाट खरिदार पास हुनु मेरो अहोभाग्य नै थियो। खेतिकिसानीको दुःख सम्झिँदा र वर्षभर काम गर्दा पनि गोजीमा सय/दुई सय रुपैयाँको अभाव हुने मेरा लागि अब महिनामा पच्चिस सय आउन थालिसकेको थियो। भलै काठमाडौं बसाइका लागि सो रकम अपर्याप्त नै किन नहोस्, त्यो क्षण मेरो र परिवारको लागि संसार जिते सरह नै थियो। गाउँबाट दाल चामल ओसारेर भए पनि यन तेन प्रकारेण जीवन धान्न र समय समयमा घर परिवारका लागि दुई चार सय जोहो गर्न अब समस्या रहेन।
गाउँघरमा खेतिकिसानी गरेर, दुःखजेलो गरेर पढियो। भाग्यवश वा मिहिनेत वा कर्मको कारण सरकारी सेवा पनि प्रवेश गरियो। जवानी मात्र होइन, समय र प्रयत्न सबै यसै सेवामा लगाइयो। तर पनि आज आएर यो सेवाप्रतिको आम धारणा तथा परिवारको लालनपालन, शिक्षा/दीक्षा र बिरामी पर्दा उपचार खर्च धान्न नपुग्ने अवस्था, परिवारको साथ सधैँ समय बिताउन नपाउँदाको क्षण, उहिले खेतिकिसानी गर्दा झैँ खान लाउन पर्याप्त नपुग्दाँको अवस्थामा पनि यस सेवाप्रतिको मेरो लगाव र आकषर्णमा कुनै कमी ल्याएको छैन बरु उत्साह नै संचार गरेको छ।
उही समय (पच्चिस वर्ष), उही प्रयत्न र उस्तै-उस्तै वुद्धी तथा धन भएका मित्रहरूले आज समाजमा गरेको तरक्की भनौँ वा के भनौँ, राजनीति गरेको भरमा उच्च स्तरको जीवनयापन गर्नु, व्यपार व्यवसाय गरेर घर/घडेरी, गाडी, बैंक ब्यालेसन्स र छोराछोरीको लागि राम्रो विद्यालयमा शिक्षा दीक्षाको प्रबन्ध गर्नु मेरा लागि दिवा स्वप्न जस्तै हो । आफनो जवानी र समय, प्रयत्न तथा वुद्धी/विवेक र धनसम्म विदेशी भूमिमा सुम्पिएर मातृभूमिको बदख्वाइँ गर्नु मेरा लागि किमार्थ सुहाउने कार्य नभएकोले कसैको करकाप र सोर्सफोर्सले होइन मेरो रोजाइ र इच्छाअनुसार नै यो पेश छनौट गरी प्रवेश गरेको कारण मेरो लागि अझै पनि सरकारी जागिर सम्मानित पेसाको रुपमा रहेको छ। र त आजसम्म पनि कामप्रतिको लगावमा कुनै कमी आएको छैन।
व्यापार/व्यवसाय, वैदेशिक रोजगारी वा विदेशतिर पलायन भएर जीवन निर्वाह गरी रहेकाहरूलाई आफ्नो छनौट र पेसाप्रति जति गर्व छ, मलाई मेरो पेसाप्रति त्योभन्दा बढी गर्व छ। अरुले जे उपमा दिए पनि (सुविधा भगी, भ्रष्ट), जे भने पनि, पत्रपत्रिका, टेलिभिजन र रेडियोमा जे-जस्तो समाचार आएता पनि म जस्तै यो देशलाई माया गर्नेहरूकै कारण यो देश बाँचिरहेको छ।
भलै मेरो देश भौतिक रुपमा विकसित भएन होला। म पनि दोषहीन नहुँला। यसमा मेरो दोष कति छ, भविष्यले बताउँदै जाला वा भोलि समयले दूधको दूध पानीको पानी छुट्याउला। तर मलाई यो देश अझै स्वर्गझैँ लाग्छ। त्यसैले यो देशमा जीवन समर्पण गरिसकेको म यो देशको काखमा नै हाँसीहाँसी मर्न चाहन्छु। मलाई थाहा छ म जस्तै यो देशलाई माया गर्नेहरू, देशका खातिर जीवन समर्पण गर्नेहरूका कारण नै म मरे पनि चन्द्र-सूर्य रहेसम्म यो देश रही रहनेछ।
संयोगले अरबको चर्को गर्मीमा पसिना बगाउन जान नपर्नु, परिवारको भरण पोषणका लागि मुग्लान नपस्नु मेरो दोष हो भने भन्न केही बाँकी रहेन। तर यो देशको नागरिक भएको नाताले सरकारी जागिर खानु, सरकारी सेवामा प्रवेश गर्नु, यही देशमा श्रम र पसिना बगाउनु मेरो लागि देशप्रति, समाजप्रति र परिवारप्रतिको लगाव हो।