पोखराको फूलबारीस्थित मणिपाल हस्पिटल नजिकै मेरो एउटा साथीको घर छ। घरको भुइँतलामा एकजना डाक्टरको परिवार बहालमा बस्छन्। पहिलो तल्ला छिर्ने बित्तिकै लिभिङ रुम छ जसको भित्तामा ५२ इन्चको टिभी, भुइँमा पार्केटिङसहित महंगो गलैँचा र बडेमानका सोफा सेटले सु-सज्जित छ।
गत आइतबार बिहान म उसको घर पुग्दा साथी लिभिङ रुममा पब्जी खेल्दै थियो। आन्टी भान्छामा टिकटक हेर्दै काम गर्दै हुनुहुन्थ्यो। साथीको बुवा वैदेशिक रोजगारीको सिलसिलामा कतारको एक इलेक्ट्रोनिक्स कम्पनीमा काम गर्नुहुन्छ। एकछिन साथीसँग कुरा गर्दागर्दै हातमा स्कुटरको चाबी घुमाउँदै कलेजबाट बहिनी आइपुगी र 'दाइ नमस्ते' भन्दै आफ्नो कोठातिर लागी।
मैले साथीलाई सोधें- 'तिमीले यो टिभी कत्तिको हेर्छौ?'
उसले भन्यो- 'खासै त हेर्दिनँ यार, कहिलेकाहीँ फुटबल म्याच हुँदा मात्र हो।'
अनि घरका अरुले हेर्छन् त?
'हेर्दैनन् यार, मम्मी टिकटकमा बिजी, बहिनीलाई स्न्यापच्याटले भ्याइनभ्याई छ।'
आन्टीलाई भिपिएन प्रयोग गरेर टिकटक चल्ने पनि साथीले नै बनाइदिएको रहेछ। कुरैकुरामा आन्टीले स्कुटरको कुरा सुनाउनु भयो। छोरीले आइफोन र एउटा नाम चलेको महंगो स्कुटर नभएसम्म कलेज नै नजाले ढिपी गरेपछि नजिकैको सहकारीबाट पाँच लाख ऋण लिएर किनिदिनुभएको रहेछ।
उहाँहरूको पुर्ख्यौली घर वाग्लुङतिर हो। नयाँ घर बनाएर पोखरा बस्न थालेको करिब तीन वर्ष जति भयो। घर बनाउँदा पनि ऋण लिएर बनाउनुभएको अहिले बैंकको मासिक किस्ता तिर्न समेत गाह्रो भइरहेको रहेछ।
यहाँनिर मननयोग्य कुरा के छ भने, उसको घरको लागि टिभी आवश्यक हो तर ५२ इन्चको महङ्गो ब्राण्डकै आवश्यक हो त? बहिनीलाई मोबाइल आवश्यक हो, आइफोन नै चाहिने थियो? कलेज जान स्कुटर/बाइक अनिवार्य हो? यदि हो भने पनि महंगो नै चाहिन्थ्यो?
यी प्रश्नहरूको जवाफ व्यक्तिपिच्छे फरक-फरक हुनसक्छन् तर समग्रमा हेर्दा यी केही प्रतिनिधि उदाहरण मात्र हुन्। यस्तो त हाम्रो दैनिक जीवनमा थुप्रै कुराहरू छन् जुन हामीले आवश्यक ठानिरहेका हुन्छौं तर वास्तवमा ती कुराहरू आवश्यकताभन्दा चाहनाबाट बढी प्रेरित हुन्छन्।
अर्थशास्त्रको परिभाषाअनुसार कुनै पनि वस्तुको माग सृजना हुन क्रेतासँग वस्तुको मूल्य तिर्ने मता र चाहना दुवै हुनुपर्छ। तर हामी क्षमता नहुँदा नहुँदै पनि चाहना राखिरहेका हुन्छौं। मानिस आफैमा एक अतृप्त प्राणी हो, हाम्रा चाहनाहरू असीमित छन्, तर चाहनाहरूको परिपूर्ति गर्ने स्रोत र साधनको भने सीमितता छ।
नेपालीहरूको आम्दानी तथा खर्च वा उपभोगको प्रवृत्ति विश्लेषण गर्नुपूर्व यससम्बन्धी केही तथ्यांकहरू हेर्नुपर्ने हुन्छ।
राष्ट्रिय तथ्यांक कार्यालयले प्रकाशित गरेको गत मे २०२३ को तथ्यांकअनुसार नेपालको जिडिपीको २२.८९ प्रतिशत हिस्सा विप्रेषणले ओगटेको छ। जसमा नेपालबाट श्रम स्विकृती लिई विदेशमा काम गर्नेहरूले पठाएको रकम मात्र गणना गरिएको छ। यदि अनौपचारिक रुपमा भारत लगायत अन्य देशबाट प्राप्त हुने रकम समेत जोड्ने हो भने ३० प्रतिशतभन्दा बढी हुने अनुमान छ। यसरी जिडिपीको करिब एक तिहाई विप्रेषणले धानेको देशमा उपभोगको अवस्थालाई हेर्न हो भने पछिल्लो समय निकै खर्चालु र विलासी वस्तुहरूको खरिदमा बढी केन्द्रित भएको देखिन्छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार नेपालमा सर्वाधिक आयात हुने वस्तुहरूको सूचीमा सवारी साधन तथा यस सम्बन्धी पाटपुर्जा, तयारी कपडा, इलेक्ट्रोनिक्स सामानहरू जस्तै टिभी, वासिङ मेसिन, फ्रिज, मोबाइल, फर्निचर लगायतका विलासी वस्तुहरू अग्रस्थानमा छन्।
यस्तै गत आर्थिक वर्ष २०७९/८० मा भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा २६ अर्ब ५१ करोड रुपैयाँ बराबरको ३९ लाख ३५ हजार ३६७ थान मोबाइल आयात भएको छ। यद्यपि यो अघिल्लो आव २०७८/७९ को भन्दा करिब १२ अर्बले कम हो। आयातमा कमि हुनुको कारण उपभोगमा कमि हुनु नभई, विदेशि मुद्राको सञ्चिती व्यवस्थापनको लागि सरकारले महंगा मोबाइलको आयातमा लगाएको प्रतिबन्ध हो।
हामी नेपाललाई कृषिप्रधान मुलुक भन्छौं तर चामलमै पनि आत्मनिर्भर छैनौं। गत आव २०७९/८० मा मात्र हामीले ३६ अर्ब ४० करोड बराबरको चामल आयात गरेको तथ्यांक छ। चामल सर्वाधिक आयात हुने वस्तुको सूचीमा नवौँ स्थानमा छ। यसले हाम्रो परनिर्भरता र उत्पादनशीलतामा आएको कमिलाई प्रतिबिम्बित गर्छ।
मैले माथिका तथ्यांकहरू किन जोड्न खोजेको भने हामी धेरै नै विलासी र उपभोगी भयौं। पछिल्लो केही वर्षयता हाम्रो देशको बसाइँसराइको अवस्था हेर्दा गाउँबाट सहर र सहरबाट विदेशिनेको संख्यामा उच्च वृद्धि भइरहेको छ। यसका थुप्रै कारणहरू छन्, जुन अलगै चर्चाको विषय बन्न सक्छ।
वास्तवमा मानव जाति परिवर्तन चाहन्छ र हिजोभन्दा आज केही राम्रो हुन वा गर्न चाहन्छ। जुन स्वभाविक पनि हो। मेरो आशय मान्छेको विकासक्रम रोकिनुपर्छ वा मान्छे विलासी नै बन्नु हुँदैन भन्ने किमार्थ होइन। तर के चाहिँ हो भने, हामीले आवश्यकता र चाहनालाई छुट्याउन सक्नुपर्छ। देखासिखी र सामाजिक प्रतिष्ठाका नाममा फजुल खर्चहरूबाट जोगिनुपर्छ।
कसैको आवश्यकताको वस्तु अरु कसैका लागि चाहनाको वस्तु मात्र हुनसक्छ, तर त्यसलाई पनि आवश्यकता नै ठानियो भने आर्थिक रुपमा समस्या उत्पन्न हुन जान्छ। नेपाली उखान घाँटी हेरी हाड निल्नु भनेझैँ हाम्रो उपभोग गर्ने प्रवृत्ति आफ्नो आवश्यकता र क्षमतामा आधारित हुनुपर्छ न कि चाहना र देखासिखी।
हामीले पहिले आवश्यकताको परिपूर्तीमा ध्यान दिनुपर्छ अनि मात्र क्रमशः चाहनाहरूलाई सम्बोधन गर्दै जानुपर्छ। जसका लागि उपभोग्य क्षमतालाई मजबुत बनाउँदै लैजान आवश्यक छ। परिवारमा आर्थिक योजना बनाउने, उत्पादनमा जोड दिने, अनावश्यक दायित्व वहन नगर्ने, आम्दानीका स्रोतहरू बढाउँदै लैजाने, उपलब्ध स्रोत र साधनहरूको समुचित प्रयोग गर्ने गर्न सकियो भने आर्थिक अनुशासन कायम गर्न सकिन्छ। यसले गर्दा बचत वृद्धि हुँदै जान्छ जसलाई पुनः लगानी गरी थप आम्दानी गर्न सकिन्छ।
यसो गर्न सकिएको खण्डमा एउटा व्यक्ति वा परिवारको मात्र नभई समग्र समाज र देशकै समृद्धि र समुन्नतीमा समेत टेवा पुग्नेछ।