एउटा बेग्लै माहोलमा सम्पन्न गरिएको नूतन संस्कृतिसँग मेरो जम्का भेट भयो।
के लेखौं, के लेखौं हुने हात चल्मलाउन थाले। मन मुसुक्क मुस्कुरायो। नवीन विषयवस्तुले हृदय त छोयो। तर मन कुँडुल्कियो। निम्तो थियो सम्धिनी मिलनको। फेरि भन्नु होला कुन नौलो कार्यक्रममा गइछस् त? म भन्दै छु नि! पढ्दै जानू न।
आफू पनि दुई छोरीकी आमा चनाखो हुनैपर्यो नि! छोरीको बिहे, गुन्यूचोलो र सम्धिनी मिलनका कार्यक्रमको निम्तो आएपछि दगुर्न परिगो। के के गर्छन् हेर्नु परिगो। समाज र परिवारसँग मिल्न परिहाल्यो। नगए रिसाएर आइन भन्छन्। आफूलाई कत्रो पीर!
हे भोलेनाथ! पीर पनि कति हो कति भनिसाध्यै छैन। बरू खुसुक्क गयो टन्टै साफ। भोजमा गएपछि टन्न खान पनि पाइने। नयाँ विषयवस्तु पनि फुर्ने। मलाई त खुदो नै भएको छ नि। अनि म पनि चिरिच्याँट्ट परेर फरिया लगाएर नै पुगेकी थिएँ। सुनको गहना चाहिँ कतै थिएन है मेरो शरीरमा। पार्टीमा छिर्नु अगाडि सुनपानी छर्किनु पर्ने संस्कार भएको भए बित्याँस पर्थ्यो।
अब कुरोको चुरो खोल्नु पर्यो।
करिब छ महिना अगाडि अमेरिकामा छोराछोरीको बिहे सम्पन्न गरेर नेपाल फर्किएका अभिभावकहरूको रमाइलो सम्धिनी मिलन थियो। होटलको प्राङ्गणमा ठूला अक्षरले लेखिएको थियो ‘सम्धिनी मिलन, हल नम्बर १२’।
‘यस्ता आयोजनाले कति अभिभावकहरूको मनमा १२ बजाउने हो पत्तै छैन, वौद्धिक भनाउँदा धनाड्यहरूलाई’ मनमनै गुनगुनाएँ।
पार्टीमा ठूलै जमघट भएको छ है। धेरैजसो दिदीबहिनीहरू निकै साधारण भेषभूषामा आएको देखेर खुसी पनि लाग्यो। दश किलो सुन लगाउन सक्ने दिदीबहिनीहरू पनि म्याचिङ पोते र मालामा सजिएका देखेर हृदय खुसी हुँदै हाँस्यो। आफूलाई सजिलो र हलुङ्गो लाग्ने लुगामा कोही दिदीबहिनीलाई देख्न पाउँदा निकै खुसी लाग्यो।
पार्टीमा लगाउनै पर्ने पोसाकको मानकलाई तोडेर आएका सभ्य र भव्य नारी परैबाट नमन गरेँ। अन्तरहृदय जागेर वा चेतना पलाएर भित्रैबाट नलगाएका हुन् कि लकरबाट सुन झिक्क नभ्याएर हो कि, त्यो त तिनै जानून् या दैवै जानून्।
पार्टीमा मेरा आँखाहरूले केटीका दाइलाई खोज्न थालें। पार्टीमा केटीका दाजु आएका थिएनन्। भाउजूको अनुहार पनि अँध्यारिएको देख्दैछु। बाहिर गएका हुन् भनौं भने बिहान भर्खर भेट भएको। बिरामी भनौँ भने मर्निङ वाकमा सँगै हिँडेका। बिदा मिलेन भनौं आज शनिबार।
खुसुक्क केटीको आमालाई सोधें– केटीको आमाले कुराको गाँठो फुकाल्नुभयो- ‘बेहुलाबेहुली बिनाको बिहे भोज के गर्नु, के खानु। बहिनी र ज्वाइँ बिनाको सम्धिनी मिलनमा त मरिगए जान्नँ। पछि बहिनी ज्वाइँ आएपछि यो कार्यक्रम गरे हुँदैन?’ बेहुलीको दाजुले निकै विरोध गरेका रहेछन्। बेहुलीका बा मधुरो स्वरमा बोल्दै थिए रे–‘के गर्नु उहाँहरूले मानिबक्सेन, गर्नैपर्छ रे। ‘सम्धिनी मिलनको कार्यक्रम’ बनेपछि बाउ-छोराको बोलचाल बन्द भएन त फसाद! नवीन संस्कृतिको विरोधमा बेहुलीको दाजु सो पार्टीमा सामेल हुन मान्दै मानेनछन्। पार्टी पनि चानचुने ठाउँमा थियो र भन्या? काठमाडौंको नाम चलेको ठूलै होटलमा थियो।
के गर्नु आफूले त केटीको दाजुले गरेको जस्तो पनि गर्न सकिएन। तपाईंहरूले केटा पक्षको बिहे भोजमा केटी पक्षका मान्छेलाई निम्त्याएर गरिने सम्धिनी मिलन त पक्कै देख्नु भएको छ होला नि? त्यो भव्य सम्धिनी मिलन पनि पच्दै गएको छ नेपाली समाजमा। अब त छोराछोरी बिनाको सम्धेलो गर्नुपर्ने दिन पनि आएछ बाबै! हामीहरू पनि तयार भएर बस्नु पर्ने भएकै हो त? बेहुलाबेहुली बिनाको सम्धिनी भेटको नौलो कार्यक्रम अब कता जाला समाज? ‘त्यसै त कुन कानमा सुन’ खपिनसक्नु हुनेभो। हाम्रा सन्तानहरू पनि पक्कै अमेरिका, अष्ट्रेलिया र क्यानडा बस्छन् होला।
बिहै उतैबाट गरेर दुबै परिवार सँगै आएपछि नेपालमा भव्य सम्धिनी मिलन गर्नुपर्ने नै रहेछ?
लौ यो पनि बेठीक भन्न मिल्दैन रे। केटाकेटीले उतै बिहे गरे यता बाआमाले भेटघाट गरे। विधिअनुसार सम्धिनी मिलन पनि गरे। क्षमता अनुसार उपहार पनि दिए। यहाँसम्म त सबै ठीकै हो तर विदेशी भूमिमा छोराछोरीको बिहे गर्न दुबै परिवार नेपालबाट जाने। उस्तै परे दुबै परिवारका सदस्य एउटै जहाजमा सरर सँगै जाने। महिनौं दिनसम्म सम्धीसम्धिनीहरूसँगै बसेर खाने। नौलो नौलो ठाउँमा सँगै डुल्ने अनि नेपाल फर्किएपछि पुनः सम्धिनी मिलन! कस्तो आश्चर्य!
हे प्रभु! कस्तो आडम्बर। कस्तो देखावटी चलन भित्रियो बौद्धिक मान्छेहरूको हृदयमा? यो खोक्रो आडम्बर आखिर किन? आफन्तहरूलाई वैभव देखाउन? मान्छे भेला गराउन ठूलै पार्टी आयोजना गर्नुपर्ने? घरमा खुसुक्क एकाघरका सम्धीसम्धिनी मिलेर यो उत्सव मनाएको भए कसको टाउको दुख्थ्यो! यो कस्तो फूर्ति हो? फेरि त्यस्तो पार्टी केटाका बाआमाले आयोजना गरेर केटी पक्षका आफन्हरूलाई डाके हुँदैन र? अथवा दुवै परिवार मिलेर संयुक्त रूपमा खर्च गरेर यस्तो महङ्गो सभा सम्पन्न गरे पनि हुने। केटीको बाआमालाई मात्र कर? उनीहरूले मात्र आर्थिक भार बोक्नु पर्ने? उदेक लागेर आउँछ।
यो पार्टीमा पनि न बेहुला न बेहुली। बेहुलाबेहुलीको स्थानमा उनीहरूका बाआमा उभिएका थिए। माला र रातो टीका लगाएर बसेका। धन्न निम्त्याएका सबैलाई कर थिएन है उपहार दिन। केटीका बाआमा पूर्ण रूपमा देवता बने। धन्न आंशिक रूपमा भए पनि केटाका बाआमा पनि देवता भए। केटामा आफन्तहरू स्टेजमा जाँदै देवता भएको देखियो। केटीका नातेदार ताली पड्काउने दर्शक मात्र भए। सानी छोरी सँगै थिई सोधिहाली, ‘हामीलाई पनि टीका लगाएर उपहार दिन्छन् मामु?’
मैले भनेँ, ‘नानी हामी त केटी पक्षका मान्छे हो नि।’
छोरीले कति कुरा बुझी कुन्नी अनुहार बिगार्दै आइसक्रिमतिर लहसिई।
स्टेजमा नयाँ सम्धी र सम्धिनीको अनुहार देखिन्छ कि भनेर ठूलै पर्दा लगाइएको थियो। अनुहार नै कहिले नदेखेको जस्तो गर्नुपर्दो रहेछ फेरि। मलाई त कुरीकुरी लागेर भुतुक्कै भएँ। के उल्का! ओढ्नेको तलबाट हात घुसारेर केटीका बाआमाले बडो कष्टसँग केटाका बाआमालाई टीका लगाइदिँदै थिए। हेर्दै थिएँ चर्तिकला। सिंहासनमा केटापट्टिका अभिभावक विराजमान थिए। केटीपट्टिका अभिभावक केही कमीकमजोरी नहोस् भन्दै हस्याङ्फस्याङ गर्दै थिए। ठूला ठूला सुटकेस निकै भारी भएर सम्धिनी मिलनको मुख्य कर्म गर्न तम्तयार थिए।
मान्छेको मिलनभन्दा पनि महत्त्वपूर्ण पाटो त त्यहाँ नाता अनुसारका सौगात र उपहारमा थियो। सबै गम्भीर थिए। भद्रभलाद्मी जस्ता मान्छे यताउता गर्दै गरेका देखिन्थे। ओठले केही नबोले पनि सबैको अनुहार धपक्क बलेर बोलिरहेको थियो।
धन्न छोरापट्टिका बाआमाले पनि बुहारीका बाआमालाई सुट्केसमै सौगात ठीक्क पारेको देखेर यो लेखकको आन्दोलित मन अलि मत्थर भयो। हेर्दै थिएँ नयाँ सम्बन्धको एकतर्फी बलियो र पहेँलो साङ्लो।
छोरीकी सासू र ससुरालाई सुनको साङ्लोले कस्दै गरेको भविष्यको आशा र विश्वास। नौलो सम्बन्धको तागत घाँटी, कान र औँला हुँदै सुट्केसभरि छरप्रष्ट देखियो।
मेरो नजिकै भर्खरै सम्धिनी भएकी सुलोचना दिदी उभिएकी थिइन्। दिदीलाई सोधेँ, ‘दिदी यो कस्तो सम्बन्ध हो? यो सम्बन्धको संवेदना कति गहिरो होला?’ केही नसोचि प्वाक्क बोल्ने बानी बोली त हालेँ के गर्नु त। मैले त भुसुक्कै बिर्सिएकी ती दिदीको छोरीको भर्खरै पारपाचुके भएको थियो। हाम्रो परिवारमा पनि निकै चासोका साथ त्यो बिहेको तामझामको कुरा हुने गर्थ्यो।
कानुनी नाताको टिकाउपन बिस्तारै घट्दै गएको छ हिजोआज। बिहे भएको महिना दिनभित्र छोडपत्र। जोडिन पनि समय नलाग्ने। छुट्टिन पनि समय नलाग्ने। गुडियाको खेलजस्तै हुँदैछ विवाहको पवित्र बन्धन।
कसले बुझ्ने यो पीडा? समाज र सम्बन्ध कता हुत्तिँदै छ। अर्काको अस्तित्व स्वीकार्न गर्न नसक्ने। आफ्नो अहम् नछाड्ने। अनि कसरी धानिन्छ सहअस्तित्व? कोभन्दा को कम? तलको दानो जत्रो कुरामा सम्बन्ध विच्छेद हुँदैछ। सुलोचना दिदीको छोरीको पनि त्यस्तै भएको थियो। कुरो मिलेन केटाकेटी सँगै बस्नै सकेनन्। अलग भए। बाआमाले त्यत्रो हल्लाखल्ला र तामझाम गरेर गाँसेको सम्धेलोको सम्बन्ध थाहै नपाइ खुस्कियो। छोराछोरीको छोडपत्रसँगै चुँडिने यति कमजोर सम्बन्धमा यो कस्तो हर्क बढाइँ? मान र सम्मानले एकातिरको शिर उठ्न नदिने यो कस्तो नाता? अदालतै नगइ भव्य सम्धिनी मिलनबाट स्थापित भएको नाता खतम, स्वाहा! दिदीको सम्धैलोको पनि छोडपत्र भयो। सुनका बलिया साङ्लाले पनि सम्बन्धलाई खोई बाँधेर राख्न सकेको। आखिर सम्बन्ध मजबुत केले हुन्छ होला?
जेजति समस्या भोगे पनि सुलोचना दिदी उज्याली नै थिइन्।
दिदीले हाँस्दै बोलिन्,‘जुवाको ताउजस्तो नाता हो नानी यो सबै। जे पनि हुन सक्छ। कुनै ठेगान छैन। फेरि बहिनी, नराम्रो होला भनेर कर्मै गर्न छोड्न पनि त भएन। गर्नु परिहाल्यो। आफ्नो आफ्नो संयोग र संस्कारको खेल हो बाबै! सबैलाई मेरो जस्तो कुटुम्ब पनि त नपर्लान्? सभ्य र समझदार सम्धीसम्धिनीहरू पनि त भेटिएला नि।
कुनै कुनै सम्बन्ध त नानी, मानसम्मान, सम्पत्ति, वैभव र मन मिलुन्जेलको फुर्फुरी मात्र हुन्। मैले छोरीको सम्धिनी भेटमा लाखौँ खर्च गरेँ हूँला। के गर्नु? छोरी र ज्वाइँको छोडपत्र भए पछि बाटोमा सम्धिनीलाई भेट्दा पनि फनक्क मुख फर्काउँछिन्। यस्तो पनि नाता हुन्छ कहीँ?
छोराछोरीले जे गरे गरे भनेर बाटोमा भेट्दा त मीठो मुखले बोल्नु पर्छ नि। उनीहरूलाई देखेर म सधैँ हाँस्थेँ तर उनीहरू त ओठ लेप्र्याउँदै मुन्टो बटार्छन् बा! केही गर्नु नबिराउनु। छोराछोरीको मन नमिल्दा त यो नाता फुस्सा। केही न कोही।
मैले मनमनै भनें, ‘यति बहुमूल्य सुनको साङ्लोले कसेको सम्बन्ध सदैव मूल्यवान बनोस्। सुनजस्तै माननीय होस्। सुनजस्तै इज्जतिलो होस्। बरू सुनको मूल्यमा उतारचढाव आउँछ तर यो सम्बन्ध स्थायी होस्। यो सभामा सम्बन्ध जोडिएका मान्छेहरू सबैको मन मिलोस्। सबैको जय होस्। सुनले टनटनी बाँधेर पनि खुकुलो भएको सुलोचना दिदीको जस्तो कुटुम्ब कसैलाई नपरोस्। आजका बेहुलाबेहुलीको सम्बन्ध पनि सुनजस्तै पवित्र होस्। जुनीजुनीभर सुनजस्तै टिकिरहोस्। यो सम्धिनी मिलन अमर बनोस्।’
(अनिता कोइरालाका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्।)