परीक्षा भन्ने बित्तिकै मेरो सातो उड्थ्यो। समकक्षीहरूसँगको अघोषित प्रतिष्पर्धाले त झन् परीक्षा हलमा थप दबाब महसुस हुन्थ्यो।
परीक्षामा अरूलाई जित्नै पर्ने दबाबमा परेका साथीहरूलाई मैले नजिकबाट देखेको छु। धेरैजसोले आफैंसँग हारेर पनि अरूलाई जित्न खोज्छन्।
स्कुल सकेर आइएस्सी पढ्न हामी ठिटा-ठिटीहरू धरान थियौं। त्यो बेलासम्म पूर्वको नाम चलेको कलेज थियो हात्तीसार कलेज। एसएलसीसक्ने बित्तिकै घरबाटै उठाएर कलेज लाने होडमा कलेजहरू थिएनन् त्यो बेला। भर्ना पाउन प्रवेश परीक्षामा खरो उत्रनु पर्थ्यो। बल्ल कलेजको ढोका खुल्थ्यो।
एक त कलेजहरु नै थोरै, त्यसमाथि पूर्वकै नाम चलेको विज्ञान तथा प्रविधि क्याम्पस। क्याम्पसमा एक से एक तेज विधार्थी भर्ना भएका थिए।
म झापा प्रथम।
म सुनसरी प्रथम।
मैले स्कुल टप गरेर आएकी।
हेर्दा पत्यार नलाग्ने ठिटा-ठिटी आफू अब्बल भएको फूर्ति गर्थे।
गाउँको सरकारी स्कुलबाट प्रथम श्रेणीमा उत्तीर्ण भएर धरान पढ्न आएका मित्रले भन्थे फूर्ति पनि यतिसम्म हुन्थ्यो कि गाडीमा कण्डक्टरले भाडा माग्दा पनि उसलाई रिस उठ्थ्यो रे।
उनी भन्थे एसएलसीमा प्रथम श्रेणीमा उत्तीर्ण भएको ठिटोलाई कण्डक्टरले कसरी भाडा माग्ने आँट गर्न सकेको होला?
शायद त्यो फूर्ति गर्ने बेला थियो।
सरकारी स्कुलबाट सामान्यभन्दा थोरैमाथि परेका मजस्ता धेरै विद्यार्थीलाई फूर्ति गर्न हाम्रो मार्कसिटले हैसियत दिएको थिएन। हामी फूर्ति हेर्ने र सुन्ने वर्गमा थियौं।
साथीहरूको फूर्ति हेर्दाहेर्दै परीक्षाको मिति नजिकियो। सबै दुला पसेर परीक्षाको तयारीमा लागे।
विक्रम र राजेश पनि कम्मर कसेर पढ्न लागे। उनीहरू सुनसरीको सरकारी स्कुलबाटै साथी थिए।
अझ गज्जबको कुरा त के थियो भने विक्रम एसएलसीमा जिल्ला प्रथम भएको थियो, राजेश दोस्रो।
विक्रमलाई फेरि जित्नु थियो, राजेशलाई यसपालि चाहिँ जित्नै पर्ने थियो।
त्यै मानसिकतामा उनीहरू परीक्षा हलमा पसे। पहिलो दिन नै भौतिक शास्त्रको परीक्षा थियो। कलेजमा हामी सबैको गाह्रो विषय थियो भौतिक शास्त्र।
धेरैले परीक्षामा सोचे जस्तो लेख्न सकेनन्। विक्रम र राजेशले पनि परीक्षा बिगारे।
परीक्षा बिग्रिएसँगै उनीहरूको मनस्थिति बिग्रियो। हामीमध्ये कसैले उनीहरूको घरमा खबर गरिदियो। घरबाट उनीहरूका बाहरू विक्षिप्त छोराहरू भेट्न आए।
मैले पनि एकदिन मेरा बालाई भनेको थिएँ, बा मलाई यो साइन्स पढ्न गाह्रो भयो म पढ्न सक्दिनँ।
‘सबैले सजिलो पढ्ने भए पढ्नेको के भाउ हुन्छ? कौडीको क्यै मूल्य हुन्छ?’ बाले यत्तिमात्रै भन्नु भो। मैले बाको आशय बुझें।
पहिलो वर्ष गाह्रो भए पनि दोस्रो वर्षबाट पढ्न त्यति गाह्रो भएन। विज्ञानका सूत्रलाई गहिराइसम्म पुगेर ब्याख्या गर्नें प्राध्यापकको शैलीले मलाई नजानिँदो तरिकाले भौतिक विज्ञानको नजिक लग्यो। अन्तत: मैले पढाइका लागि भौतिक विज्ञान नै रोजें।
अहिले म टेक्सास राज्यको अष्टिन सहरमा अवस्थित अष्टिन सामुदायिक कलेजमा भौतिक विज्ञानको प्राध्यापकको रूपमा काम गर्छु।
यो मेरो पूर्णकालीन काम होइन। भौतिक विज्ञानको विशाल ज्ञानकुण्डबाट मैले एक थोपा जति पनि ज्ञान लिएको छैन। तर जति सुत्र जानेको छु, तिनको व्याख्या गर्दा मलाई आनन्द आउँछ। म मेरो आनन्दको लागि पढाउने गर्छु।
तर जब म पढाउन जान्छु मेरो अगाडि झण्डै तीन दशक अगाडिको मेरो आकृति देख्छु।
मेरो अगाडि विक्रम र राजेश देख्छु। डेरा भाडा समयमा नबुझाउँदा घरबेटीले झपारेकी खाँदवारीकी पूजा विजयपुरको डाँडोमा रुँदै हिँडेको सम्झन्छु। परिक्षामा सोचेजस्तो गर्न नसकेपछि क्याम्पस छोडेर हिँडेका उदयपुरका गणेश र माला सम्झन्छु।
मैले पढाउने कक्षा ग्रीष्मकालीन कक्षा हो। एक दिनमा झण्डै चार घण्टाको दरले हप्ताको दुई दिन पढाएर दुई महिना भित्र सम्पूर्ण कोर्ष पूरा गर्नुछ। यही समयावधिमा तीन वटा परीक्षा पनि लिनुछ र उनीहरूको नतिजा पनि प्रकाशित गर्नु छ। चानचुन सोह्रवटा कक्षामा यी सबै काम गर्नु छ। त्यस हिसाबले हरेक पाँचौं कक्षामा परीक्षा हुन्छ।
मैले पढाउने कक्षा सन्ध्याकालीन समयमा छ। प्राय: सबै विद्यार्थी काम सकेर कक्षामा आउँछन्। कामबाट थाकेर आएपछि पढ्न खासै जाँगर नहुँदो हो।
कक्षाकोठामा विद्यार्थीको भौगोलिक, सांस्कृतिक विविधता छ। मलाई मेक्सिको तिरका विद्यार्थीहरू हाम्रो गाउँका खड्काजस्तै लाग्छन्, भियतनाम, कोरिया, वा चिनियाँ मूलकाहरू पूर्वी पहाडका राई-लिम्बूजस्तै लाग्छन्। हाम्रै गाउँठाउँका आदिवासी जस्तै लाग्ने विद्यार्थीहरू पनि कक्षामा प्रशस्त छन्।
केही गोरा विद्यार्थीहरू पनि आफ्नै देश भित्रै देखका मान्छे झैं लाग्छन्। एक जना गोरी विद्यार्थी त मेरै गाउँकै आचार्य बज्यै कि छोरी जस्ती छ।
देश छोडेर हिँडेपछि मान्छेले देश बाहिर पनि देश र देशका अनुहार खोज्दो रहेछ।
आज पहिलो परीक्षाको दिन हो।
मेरो अगाडि बसेका विद्यार्थीहरू त्यस्तै गरी आत्तिएर बसेका छन् जसरी लगभग तीन दशक अघि म आत्तिएको थिएँ।
अहिलेसम्म मैले भेक्टर पढाएको छु।
दुई वा दुई भन्दा बढी भेक्टरलाई कसरी जोड्ने, कसरी घटाउने र तिनीहरूको योग वा फरकबाट बन्ने नयाँ भेक्टरको दिशा कता हुन्छ सिकाएको छु।
दूरी, गति र समयको सम्वन्ध पढाएको छु। वस्तुको प्रवेग वा मन्दताले दूरीलाई पार्ने असरको बारेमा पढाएको छु।
घर्षण हुने कारण र तिनीलाई न्यूनीकरण गर्ने उपायको बारेमा बताएको छु। तापले वस्तुको आयतनमा पार्ने प्रभावदेखि शक्ति र सामर्थ्यको बारेमा सिकाएको छु। अझै धेरै कुरा पढाउन बाँकी छ।
यहाँको परीक्षामा विद्यार्थीले आवश्यक ठानेका सूत्रहरू कागजको टुक्रामा बोकेर आउन अनुमति हुन्छ। यहाँको शिक्षा प्रणालीले ज्ञानको गहिराइ खोज्न सिकाउँछ, समस्याहरू समाधान कसरी गर्न सकिन्छ त्यो सिकाउँछ। सूत्र घोक्नु, किताबका पेजहरू कण्ठ गर्न सक्नु वा गेस पेपर पढेर परीक्षा उत्तीर्ण हुनुलाई ज्ञान मान्दैन।
प्राय: विद्यार्थीहरू आ-आफ्ना सुरमा छन्। तर, एक जना विद्यार्थीको लय बिग्रिएको छ। सबैले आफ्नो परीक्षा सकेर गई सक्दा पनि ऊ परीक्षा हलमा घोत्लिरहेकी छ।
'हे गेरी आर यू डुइङ् अल राइट इन् एक्जाम?' ( हे गेरी के तिमी परीक्षा ठिकै गर्दै छौ?) मैंले उसको अवस्था जान्न प्रश्न गरें।
खासमा उसको नाम गेराल्डिन नुनेज हो। म उसको बारेमा योभन्दा धेरै जान्दिनँ।
विद्यार्थीहरू वैयक्तिक कुरा सोध्नु यहाँ पेशागत धर्मविपरीत मानिन्छ। उसको अनुहार हेर्दां लाग्छ ऊ अमेरिकाकै रैथाने चाहिँ पक्कै होइन।
‘नो प्रोफेसर। आइ निड टु टक टु यू।’ (छैन प्रोफेसर। म तपाईंसँग कुरा गर्न चाहन्छु।)
'अल राइट। यू टेक योर टाइम। वी क्यान टक आफ्टर योर एक्जाम।' (ठीक छ। तिमी समय लिएर आफ्नो परीक्षा देऊ। तिम्रो परीक्षापछि हामी कुरा गरौंला।)
परीक्षा हलमा ऊ अन्तिमसम्म नै थिई। तोकिएको समयमा परीक्षा नसकिएपछि मैले उसलाई थप पन्ध्र मिनेटको समय दिएको थिएँ। एक मापदण्डभित्र बसेर आफ्नो कोर्ष बनाउने, पढाउने, प्रयोगशाला संचालन गर्ने, प्रश्नपत्र तयार पार्ने, उत्तर पुस्तिका जाँच्ने र समयमै विद्यार्थीलाई नतिजा दिने अधिकार एउटा प्रोफेसरमा निहित हुन्छ।
विद्यार्थीलाई पन्ध्र मिनेटको समयले परीक्षामा सफलता मिल्छ भने राम्रै होला ठानेर मैले मेरो अधिकारको प्रयोग गरेको हुँ।
एकैछिन पछि ऊ मेरो सामु आई। उसको मुखाकृतिले भन्दै थियो प्रोफेसर मैले परीक्षामा राम्रो गर्न सकिन।
मैले सोधें- गेरी परीक्षा कस्तो भयो? प्रश्नहरू धेरै गाह्रो महसुस त भएन?
उसले केही बोलिन। उसका आँसुले बोल्यो। ऊ सानो बच्चा जस्तै रोई। र्याल सिंगान भएर रोई। आँखाको डिलबाट गाला हुँदै मुखमा आँसु पुगेपछि मात्र उसले आफ्नो दाहिनेले आँसु पुछी, सिंगान पुछी। ऊ लगातार पाँच मिनेट जस्तो रोई।
मैले उसलाई चुपचाप हेरें। लाग्यो एकछिन ऊ भित्रको गुम्सिएको पीडा आँखाबाट बगोस्।
ऊ एकछिनमा मथ्थर भई।
'प्रोफेसर मलाई माफ गर्नुस्। म तपाईंको सामु बच्चा जस्तै रोएँ।'
'विद्यार्थी भनेका प्रोफेसरको परिवारका सदस्यजस्तै हुन् गेरी। तिमी मेरो सामु निर्धक्क रोयौ। मलाई लाग्यो मेरो सामु मेरै छोरी रोइरहेकी छ। के तिम्रा लागि फलामको च्यूरा भयो र?'
'धन्यवाद प्रोफेसर। परीक्षामा सोधिएका प्रश्नहरू औधी गाह्रा प्रश्न होइनन्। मैले तयारी गर्न नै पाइनँ।'
'तिमीलाई तयारी गर्न केले रोक्यो त गेरी?'
'म अहिले दुइटा काम गर्छु। मेरा बा- आमा दुबै छैनन्। मेरो काँधमा मेरो भाइको रेखदेखको जिम्मा छ। मैले काम नगरे हामी बाँच्न सक्दैनौं। दुइटा कामको थकान र भाइको पनि अभिभावक हुनुपर्दा मैले आफूलाई पढाइमा एकत्रित गर्न सकेकी छैन। तर, मलाई यसपछि अमेरिकाभित्रकै ख्याति प्राप्त कलेजमा भर्ना पाउन मन छ। यो परीक्षा नै बिग्रिएपछि मेरो सपनाको पहिलो खुड्किलो नै भाँचिएको झैं भएको छ।'
यत्ति भनेर ऊ फेरि रोई।
म फेरि केही क्षणको लागि मुकदर्शंक भएँ।
'गेरी तिमीलाई थाहा छ। आकाशमा इन्द्रेणी कसरी लाग्छ?'
उसले फगत थाहा छैनको आशयमा टाउको हल्लाई।
'पानी परेको आकाशमा सूर्यको प्रकाश विच्छेद भएपछि सप्तरंगी इन्द्रेणी बन्छ। तिम्रो आँखाबाट अहिले इन्द्रेणीका सात रंग मिसिएर सफेद पानीका थोपा झरेका हुन्। हरेश नखाऊ। तिमीले अहिले दिएको परीक्षा यो सेमेस्टरको पहिलो परीक्षा हो। तिम्रा अगाडि अरू दुई परीक्षा, प्रयोगशालाको अंक, तिम्रो कक्षाको उपस्थिति, कक्षामा तिम्रो सहभागिताको अंक जोडिएर अन्तिम नतिजा आउँछ। आफूलाई अब्बल बनाउन तिमीलाई अरू पनि मौका छन्। तिमीले अहिले नै हार मान्ने बेला भएको छैन। आफ्नो पढाइको विषयलाई लिएर यति गम्भीर र चिन्तित हुनु सुखद कुरा हो। म तिम्रो भविष्य पनि सप्तरंगी इन्द्रेणीझैं देखिरहेको छु।'
मैले थपें- हेर गेरी कोइला पनि राप, ताप र दबाब सहेरमात्र हिरा बन्छ। हिरा बनेपछि पनि नघोट्ने हो भने हिरा चम्कँदैन। तिमीलाई अहिलेको राप र तापले हिरा बनाउने छ।
मैले सकेसम्म उसलाई सम्झाउने प्रयत्न गरें। उसले मेरो कुरा सुनी रही। र, जाने बेलामा भनी 'धन्यवाद प्रोफेसर। मैले तपाईंभित्र एउटा असल मान्छे पनि देखें।'
गेरी आफ्नो बाटो लागेपछि म पनि घरतिर लागें।
बाटोमा गाडी कुदाउँदै म सोच्दैछु, मैले कक्षामा पढाएको भेक्टरले गेरी र उसका साथीहरूलाई जीवनको दिशा देखायो कि देखाएन होला? समय, दूरी, गति, प्रवेग, र मन्दाताको ज्ञानले उसको अप्ठ्यारो समयमा जीवनको आफ्नो गतिलाई सुचारू राख्ने पाठ पढायो कि पढाएन होला? कक्षा कोठामा पढेको शक्ति र सामर्थ्यको ज्ञानले उसलाई आफ्नो जीवनमा आइपर्ने दु:खमा शक्ति र सामर्थ्यको सही सदुपयोग गर्न सिकायो कि सिकाएन होला? कक्षामा मैले घर्षण कम गर्न सिकाएको ज्ञानले आफ्नै जीवनलाई कत्तिको सहज हुन सिकायो होला? सोच्दा सोच्दै पत्तै नपाई म आफ्नो घर अगाडि आइपुगेको छु।
घर छिर्ने बित्तिकै भर्खंरै स्कुल जान थालेकी छोरीले सोधिन्, 'बाबा मेरो स्कुलमा मिसले भनेको हिउँ परेको बेला बाटोमा अर्को गाडीले नुन छर्कंदै हिँड्छ रे। बाटोमा नुन फ्याँक्दा के हुन्छ?'
'नुनले बाटोमा जमेको हिउँ पगाल्न मद्दत गर्छ छोरी।' मैले जवाफ फर्काएँ।
ठूली भएपछि मेरी छोरीले कुनै दिन सोध्न सक्छिन्, ‘बाबा भौतिक विज्ञानमा दु:ख पगालेर बगाउने कुनै सिद्धान्त, सूत्र वा उपाय छैन?’
त्यो दिन मसँग उनलाई चित्त बुझ्दो जवाफ नहुन सक्छ।
तर, अहिले भने मेरो आँखामा गेरी नुनेजको रोइरहेको आकृति झल्झल्ती आइरहेको छ।
@tdahal1