मेरी छोरी उमेरले १२ वर्षकी भइन्। उनी कक्षा ६ मा पढ्छिन्। पढाइमा अब्बल छिन्। कक्षामा राम्रो गरेबापत थुप्रै पटक 'बेस्ट पर्फर्मर अवार्ड' पनि जितेकी छन्।
उनको मनमा एउटा गहिरो सपना गडेको छ। त्यो हो जीवनमा एक असल डाक्टर बन्ने। उनमा डाक्टर बन्ने प्राकृतिक जूनून छ/ छैन तर उनको मनमा त्यो सपनाको अंकुरण मेरो आर्थिक अवस्थाले गरिदियो।
म पेशाले एक स्कुल शिक्षक। सीमित आयस्रोतले जिन्दगीको ठेलागाडा अगाडि बढाउनु पर्ने। उनको मानसपटलमा एउटा बलियो धारणा बनेको छ। जति पनि परिवारका कठिनाइ छन् ती मेरो बुवाका असक्षमताका उपज हुन्।
यो धारणा बन्नुमा एउटा पारिवारिक घटनाले काम गर्यो। उनी पाँच/छ वर्षको हुँदा उनको आमा सानोतिनो जागिरको लागि घरदेखि टाढा बस्नुपर्ने भयो। दुई चार महिना भेट नहुने। जब आमाको याद आउथ्यो उनी अनयास रून्थिन र भन्ने गर्थिन्- बाबा तपाईंले राम्रो विषय नपढेर मम्मीले जागिर खाना पर्यो!
लाग्छ यो घटनाले उनको बाल मानसपटलमा पैसावाल पेशा नै सबथोक हो भन्ने धारणा बन्यो।
सन्तानको आँसुमा धेरै ठूलो शक्ति हुँदोरहेछ। आमाको काख अरूको लाख त्यत्तिकै भनिएको रहेनछ। लाग्थ्यो दोष मेरै हो। मन भक्कानिन्थ्यो, आँखाबाट आँसु झर्थ्यो। लाग्थ्यो राज्यले मलाई अन्यायको भारीले थिचिरहेको छ। आफूलाई एक निरीह प्राणी भएको महसुस हुन्थ्यो।
विषय कुनै राम्रो वा नराम्रो हुँदैन सबै सामाजिक आवश्यकतामा आधारित भएर छनोट गरिएको हुन्छ। तर उनको मनमा जुन विषय वा पेशाबाट मनग्य आम्दानी हुन्छ त्यो राम्रो भान्ने छाप परेको थियो र छ।
उनको उमेरमा मैले यत्तिकै मेहनत गरेको भए सायद परिस्थिति फरक हुन्थ्यो होला। उनी जतिबेला पनि किताबमै तल्लीन हुन्छिन्। राति अबेरसम्म किताबसँगै हुन्छिन्। साथीहरूसँग खेल्नलाई पनि कर गरेर पठाउनु पर्ने। उनको मनमा यो भावनाले जरो गाडेको छ, मलाई कुनै पनि मूल्यमा डाक्टर बन्नु छ, मनग्य पैसा कमाएर आफ्ना र परिवारका अतृप्त चाहना पूरा गर्नु छ।
उनको जीवनको छुट्टै अर्को पाटो छ फेरि।
उनलाई खाना पकाउन आउँदैन। धान काट्न र कोदो गोड्न आउँदैन। घाँस काट्न आउँदैन, मकै ढाल्न आउँदैन। ढिकी कुट्न र जाँतो पिस्न आउँदैन। आजकलका बालबालिका व्यवहारिक भएनन्। जीवनमा आवश्यक सीपहरू छैनन् भन्ने धारणा यत्रतत्र सर्वत्र छ। घरमा जब आफन्तहरूको कहिलेकाहीँ आगमन हुन्छ उमेर अनुसारका तर्क गर्नुहुन्छ।
मेरो हजुरआमा र आमा पुस्ताले यो उमेरमा त हामीले घर गरेर खाएको हो। तिमीहरूले छोरी बिगारेऊ, न घाँस काट्न आउँछ न कोदो गोड्न। न मकै ढाल्न आउँछ न धान काट्न। अलि होस् गर है छोरीले दु:ख पाउली!
मेरो पुस्ताको तर्क बेग्लै छ।
जीवनमा काम लाग्ने आधारभूत सीप त सानैमा सिकाउनु पर्छ है नत्र पछि गह्रो हुन्छ।
आजको जमानामा त बच्चा बहुप्रतिभाशाली हुनुपर्छ। खेलकुद, पढाइ, तर्कवितर्क के के न के के। तर म यो तर्कमा सहमत छैन। गार्डनरको बहुबौद्धिकताको सिद्धान्तले पनि यसलाई मान्दैन। सबै बालबालिका सबै सीपमा पोख्त हुँदैनन्। उनीहरूमा आठमध्ये एक प्रकारको बौद्धिकता हुन्छ। जोसँग जे बौद्धिकता हुन्छ, त्योसँग त्यही अनुसारको क्षमता। यति भनिरहँदा मैले मान्ने हिन्दु धर्मका विभिन्न देवीदेवताको याद आउँछ। विद्याको लागि हामी सरस्वतीसँग हात थाप्छौं, धनदौलतको लागि लक्ष्मी। शक्तिको लागि दुर्गा देवी, समर्पणका लागि पार्वती। हामीले पुज्ने देवता त सर्वगुण सम्पन्न हुँदैनन् भने मानिसको के कुरा?
यसै क्रममा म वर्तमान विश्वमा फुटबलका चर्चित हस्तीको रूपमा करोडौं फ्यानहरूको मनमुटुमा बस्न सफल पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको प्रसंग उप्काउन चाहन्छु।
उनलाई पत्रकारहरूले तपाईंको विद्यालय जीवनको सर्वप्रिय विषय कुन थियो भनी सोधेका थिए। उनको उत्तर थियो सिन्स। पत्रकारले साइन्स भनेर भन्दा एस!एस ! साइन्स भने। उनलाई जीवनमा फुटबल बाहेक केही गर्नु थिएन। केही जान्नु थिएन।
उनलाई जान्नु थियो त फुटबललाई खुट्टामा नचाउन जान्नु थियो। विरोधिलाई छक्काउँदै गोलपोस्टमा बल छिराउने कौशल जान्नु थियो।
उनको प्रमुख उद्देश्य फुटबल थियो। अरू विद्याको ज्ञान नहुनुको के अर्थ ?
जीवनको प्रमुख उद्देश्य नै मानिसको प्रधान प्राथमिकता हुनुपर्छ। सर्वज्ञानी बन्ने ध्याउन्नमा जो लाग्छ त्यो कहीँकतै पुग्दैन। बालबालिकासँग जस्तो प्रकारको क्षमता छ त्यसै प्रकारको क्षेत्रमा अगाडि बढायो भने सफल र आनन्दपूर्ण जिन्दगी जिउन सक्छन्।
बालबालिकाले जीवनका आधारभूत सीपहरू सिक्नै हुँदैन भन्ने मेरो मान्यता हैन। तर उसको जीवनको प्रमुख गन्तव्य के हो ? त्यो गन्तव्यमा पुर्याउने बाटो मजबुत र फराकिलो हुनुपर्छ भन्ने हो। बाँकी सहायक कुरा तपसिलका हुन।
सहायत रोनाल्डोलाई खाना पकाउन या भाँडा माझ्न नआउन सक्छ। नआएर के भो त खाना पकाउने मात्रै हैन के खाने र कति खाने भन्ने निर्धारण गर्ने मान्छे अर्कै छन्।
हामी त एउटै बालकभित्र सबथोक देख्छौं। सबथोक बनाउन खोज्छौं तर अन्तमा केही पनि बनाउँदैनौं।
जब हामी पेले र म्याराडोनाको जादुयी फुटबल कौशल देख्छौं, हामीलाई आफ्नो बच्चालाई फुटबलको हस्ती बनाउन खोज्छौं। चार्ली च्याप्लिन वा जिमकेरी, मह जोडी या मनोज गजुरेल जब पेट मिचिमिची हाँस्ने बनाउँछन्, हामी बच्चालाई कमेडियन बनाउन चाहन्छौं। जब कुनै संगीत वा कलाले मोहित बनाउँछ, हामी उसलाई कलाकार बनाउन लाग्छौं। तर ऊ जे छ हामी त्यो बनाउँदैनौं। उसमा जुन क्षमता छ त्यसको विकास गर्दैनौं।
कक्षाकोठा एउटा रङ्गीन फूलबारी हो। हरेक बालक या बालिका प्रकृतिको अद्वितीय सृजना हो। कसैको कसैसँग तुलना हुँदैन। यहाँ विभिन्न क्षमताका बालबालिका हुन्छन् तर ती सबैलाई एउटै बनाउने ध्याउन्नमा हामी छौं। सबै अभिभावकलाई आफ्नो बच्चा डाक्टर भएको हेर्ने ब्यग्रता छ। सबै शिक्षकलाई सबै विद्यार्थीले अतिउत्तम श्रेणीमा पास होऊन् भन्ने ध्याउन्न छ।
तर त्यो फगत एउटा सपना मात्रै हो। त्यो आजसम्म विश्वमा कहीँ सफल भएको छैन। कक्षाकोठामा त आइन्स्टाइन छन्, एडिसन छन्, सेक्सपियर छन्, मिल्टन छन्, म्यारोडोना र पेले छन्। त्यहाँ साकिरा छन्, माइकल ज्याक्सन छन्। तिनीहरूलाई उपयुक्त वातावरण दिएर विकास गर्नुको सट्टा सबैलाई एउटै भट्टीमा हालेर एउटै ब्रान्ड बनाउने ध्याउन्नमा छौं।
विज्ञानमा हरेक तत्वको गुण फरक हुन्छ। एक तत्व अर्को तत्वको सम्पर्कमा आउँदा देखाउने प्रतिक्रिया फरक हुन्छ। कुनै तत्वको मिलनबाट झन् उपयोगी कम्पाउण्डको सृजना हुन्छ भने, कुनैको मिलनबाट घातक विस्फोट। त्यसकारण बालकको प्राकृतिक जूनून् जे छ त्यसै अनुसारको वातावरण र शिक्षा दियौं भने ऊ एक अद्वितीय सफलताको उदाहरण बन्न सक्छ। उसको प्राकृतिक क्षमताविपरीत चक्करमा फसाइदियौं भने जिन्दगी न सफल न सरस हुन्छ।
म शिक्षा क्षेत्रमै काम गर्छु तर म सधैं भन्छु, हाम्रा शैक्षिक संस्थाहरू बेरोजगार उत्पादनका कारखाना बने। हाम्रो शैक्षिक प्रणालीको पुनर्संरचना गरौं। बालबालिकाको एप्टिट्युड के हो सानैमा पत्ता लगाऊँ र त्यही अनुसारको वातावरणमा उसको प्रतिभालाई प्रस्फुटन गरौं। यतिमात्र गर्यौं भने शिक्षा प्रणालीमा सुधार आउँछ र शिक्षा प्रणालीले उत्पादन गरेका जनशक्तिले देश विकासमा टेवा पुर्याउन सक्छन्।
(प्रेम शर्माका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्।)