एक जना बहालवाला सरकारी कर्मचारी, नातामा दाइ पर्नेको सामाजिक सञ्जालमा स्टाटस देखेँ।
‘तपाईं ध्रुत बन्नुस्, जेसुकै गरेर भए पनि पैसा आर्जन गर्नुस् घरपरिवार, आफन्त अनि तपाईं बसेको समाजले, तपाईंको जय जयकार गर्छन् तर तपाईं आफ्नो इमान र आदर्शमा बाँच्न खोज्नुस् त...तपाईंलाई आफ्नै घरपरिवार, आफ्नै आफन्त अनि आफ्नै समाजले निरिह र नालायक र केही गरिखान नसक्ने कमजोर बनाउँछन्, .....कोही कसैसँग मेल खाएमा संयोग मात्रै हुनेछ।’
सामाजिक सञ्जालमा दाइलाई कुनै प्रतिक्रिया नजनाइकन फोन गरेँ,
‘के भयो र दाइ? सामाजिक सञ्जालमा त कडा स्टाटस लेख्नु भएछ? आफैंलाई लक्षित हो वा अरू कसैप्रति हो दाइ?’
मेरो कुरा सुनेर दाइ हाँस्नुभयो।
‘किन र ? त्यस्तो लाग्यो तिमीलाई?’
तपाईंले लेखेको कुरा सत्य हो भनेरै त मैले फोन गरेको हो दाइ।
‘सम्झेकोमा धेरै धन्यवाद बहिनी, म अहिले अलि ब्यस्त छु, अफिस बिदा भएको दिन भेट्नुपर्छ है’ दाइले व्यस्तता देखाउनु भयो।
‘हस्’ दाइ भनेर फोन राखेँ।
एकदिन भेटमा दाइले प्रश्न गर्नुभयो, ‘समाजले भ्रष्ट आचरण भएका पात्र जन्माउँछ कि भ्रष्टहरूका कारण समाज विकृत भएर जन्मन्छ हँ?
समाज अनुसार मान्छे सदाचारी र दुराचारी बन्ने हो कि व्यक्ति अनुसार समाज त्यस्तो बन्ने हो के लाग्छ तिमीलाई?’
दाइको प्रश्नले एकैछिन सोचमग्न बनायो।
मेरो विचारमा दुवै होला जस्तो लाग्छ दाइ.... जवाफ फर्काएँ।
‘कसरी?’ फेरि प्रश्न गर्नुभयो।
‘समाज निष्ठावान छ, सत्कर्ममा विश्वास गर्छ , आडम्बरलाई प्रश्रय दिँदैन भने त्यहाँ बसोबास गर्ने व्यक्तिहरू पनि स्वाभाविक रूपमा त्यस्तै हुन्छन् तर फलानाको यस्तो भयो, उसले जस्तो कसरी गर्ने? फलानाले जति कसरी कमाउने? जसरी पनि अर्कासँग दाँजिने हुँकार लिएपछि भ्रष्ट आचरणमा निर्लिप्त हुन्छ मान्छे .......। बुवाआमाले सत्कर्मले कमाएस्, इमानदारिता नगुमाएस्, अरूको देखासिकीमा नलागेस् भन्ने आशिष दिने हो भने सन्तान पक्कै त्यही लयमा जान्छ तर फलानाको जस्तो धनसम्पत्ति कमाएस्, फलानाको जस्तो गाडी किनेस्, फलानाले जस्तो बाउआमालाई सुख दिएर पालेस्.... यस्ता अर्कासँग दाँजिने, धनसम्पत्तिमा तौलिने आशिष दिएपछि त्यसकै सिको सन्तानले गर्न खोज्छ होइन र? संगत गुनाको फल, समाज अनुसारको भेष भन्थे नि बुढापाकाले होइन र दाइ ?’ दाईलाई उत्तर दिएँ ।
‘तिमीले कम्तीमा यति कुरा त बुझेकी रहेछौ। खुसी लाग्यो।’ दाइ मुसुक्क हाँस्नुभयो।
‘यो कुरा किन सोध्नुभएको दाइ?’ फेरि सोधेँ, ‘मेरो ठूलो कहानी छ, मेरो कहानी कतै कोहीसँग मेल खान्छ कि भनेर मात्रै हो अरू केही होइन।’
दाइको कहानी धेरैको प्रतिनिधिमूलक दाइहरूको साझा भोगाइजस्तै लागेर उतार्ने जर्मर्को गरेँ।
***
‘तैंले जागिर खाएको कति वर्ष भयो कान्छा?’ एकदिन आमाले सोध्नुभयो।
केही नसोची आमालाई भनेँ, ‘लगभग एघार वर्ष पो पुग्न थालेछ त आमा।’
मेरो जवाफ सुनेर आमा केही बोल्नु भएन, आमालाई मौन देखेपछि फेरि सोधें, ‘यो कुरा किन सोध्नु भएको आमा ? ठूली भान्जी एक कक्षामा पढ्दा खरिदारमा नाम निकालेको थेँ अहिले भान्जी नै पाँच कक्षामा पुगिन्।’
अझै पनि आमा केही बोल्नु भएन।
प्रश्नमा मौनता देखेपछि आमालाई प्रश्न गरेँ, ‘खासमा यो कुरा किन सोध्नुभएको आमा ? भुइँमा सिन्काले कोट्याउँदै मलिन मुहारमा आमा बोल्न थाल्नुभयो, ‘तँ एघार वर्ष जागिर खाएर पनि जस्ताको तस्तै छस् तेरो ठूलीआमाको छोराको प्रगति हेर त .... उसले पाँच वर्षमा कति प्रगति गरिसक्यो। तँ खरदार, भइस, सुब्बा भइस, अधिकृत पनि भइस्। अझै केके हुनेहोस्। सबैले हाकिमकी आमाभन्दा मेरो नाक घिरौंला जत्रै फुलेको थ्यो। मेरो छोराले अब सुख दिन्छ, दुखका दिन गए भनेको त। बर्मा गए कर्म सँगै भनेजस्तै रहेछ बाबै, यही कुटो कोदालोमा जिन्दगी जाने भयो।
आफ्नै दिदीको अगाडि म ...आमाको अनुहार झनै मलिन देखेँ। आमाका यस्ता कति गुनासाहरू मनमा गुम्सिएका थिए, आमाले छोराले जागिर खाएर के के न गर्ला भन्ने सोच्नु भएको होला, आमाका कति रहरहरू मनमा सजिएका थिए होला, आमाले मेरो छोरो जागिरे भएपछि यस्तो गर्छ उस्तो गर्छ भन्ने कति अभिलाशा सजाउनु भएको होला? त्यो अस्वाभाविक पनि होइन नि।
आमाको गुनासोमा कत्ति पनि आपत्ति जनाइनँ। आमाले के के भन्नुहुन्छ, थप सुन्ने आँट गरेँ।
छोराछोरी सानै हुँदा बुवा बित्नुभयो, ४५ वर्षमा आमा विधवा हुनुभयो। ठूली दिदीको बिहे भर्खर भएकोथ्यो, कान्छी दिदीको बिहे हामी ठूलै भएपछि नै भएको हो। बुवा बित्दा भाइ भर्खर तीन वर्षको थियो। त्यस्तो बेलामा सन्तानको लागि आफ्ना रहर थाती राखेर आमाले गरेको संघर्षको त जति वर्णन गर्दा पनि कमी नै हुन्छ।
यदि आमाले घर नथेगेको भए, हाम्लाई राम्रो संस्कार नदिएको भए, आज कुन गल्लीमा अनाथ बनेर कचौरा थापिरहेका हुन्थ्यौँ होला। कति आमाहरू सन्तानको बिचल्ली पारेर भागेको समाचार देख्दा, पढ्दा म आफ्नी आमालाई सम्झन्छु।
यदि मेरी आमा म यी लालाबाला स्याहार गर्न सक्दिनँ, भनेर अन्यत्रै गइदिएको भए? हाम्रो के हालत हुन्थ्यो होला? बुवा र आमा दुवैको मायाममता आमाले दिएर हुर्काउनुभयो, आमा हुन्जेल कोही सन्तान टुहुरो हुने रहेनछन् भन्ने ज्ञान पनि थाहा पाएँ। बुवाको याद त आइरहन्छ तर आमाको अगाडि सबै यादहरू पूर्ण भएजस्तो लाग्छ।
बुवाले आमा बितेपछि अर्को महिलाको साथ खोज्छन् रे कसरी बाँकी जीवन बिताउने भनेर तर आमाले बुवा बित्दा सौभाग्य गुमाएको भन्दा बढी पीडा सन्तानको भविष्य सम्झेर आफ्ना चाहनाहरू मार्छन रे भन्ने सुनेको थिएँ त्यो आफ्नै आमामा देख्छु।
कानका मारवाडी, गलाको तिलहरी समेत बेचेर छोराछोरीलाई पढाउनुभयो, हुर्काउनुभयो अब हुर्केका छोराछोरीबाट समय अनुसार अपेक्षा गर्नु नाजायज पनि त होइन? आमालाई गलत देख्दिनँ र देख्ने अधिकार ममा छैन। मैले जिम्मेवार छोराको भूमिका निर्वाह गर्नुपर्छ भन्ने मनन गर्छु।
आमाका नातेदारका छोराहरूले आमाकै शब्दमा भन्दा निकै प्रगति गरेका छन्, यस अर्थमा उनीहरूले गरेको प्रगति मान्नुहुन्छ मेरी आमाले, उनीहरूले वर्षमा दुई चार पटक बाआमालाई घुमाउन लैजान्छन्, बेलाबेलामा जहाज पनि चढाउँछन्। सहरमा घर घडेरी जोडेका छन्, छोराछोरीलाई राम्रो स्कुलमा पढाएका छन्, गाउँमा गन्नेमान्नेका व्यक्तिमा पर्छन्। सबैले ओहो यिनीहरूको प्रगति हेर त भन्छन्। चर्चा सबैतिर उनीहरूकै हुन्छ। बाआमा छोराको प्रगतिबाट मख्ख छन्, यो छोराले बनाइदिएको, यो ज्वाइँ साबले उपहार ल्याइदिनुभएको, महंगा गहनाहरू आमालाई गर्वका साथ देखाउँछन्।
मेरी आमालाई पनि आफ्नो छोरामा यी गुणहरू भइदिए? मेरो पनि भाग्यमा यस्तै लेखेको भइदिए .... भन्ने लाग्दो हो। आमा बुवालाई लाग्नु स्वाभाविक हो तर कति अपेक्षा कसरी हुन हदसम्म पूरा गर्न सकिन्छ कि सकिँदैन भन्ने कुरा महत्वपूर्ण हो नि।
मनमा धेरै कुरा खेले पनि आमाको अगाडी हाँसीहाँसी कुरा गरेँ, एकदिन पक्कै पनि ठूलीआमाको जस्तै पहेँलपुर बनाइदिउँला आमालाई .... के को पिर मान्नुहुन्छ? आफैंलाई ढाडस दिएँ।
कान्छी दिदीको बिहेको पूरा ऋण तिरेर सकिएको थिएन, कान्छो भाइ पढ्दैथ्यो, उसको पनि जिम्मेवारी छ।
दुइटा दिदी, भिनाजू, भान्जा भान्जी सबैको ठूलो मामा, भाइ, सालो जे भने पनि मेै हुँ। अझ आमाको अगाडि उहाँका दिदी बहिनीहरूका छोराले जस्तो प्रगति गरेर देखाउने छोरा हुँ।
एकछिनपछि आमाले फेरि सोध्नुभयो,
‘तँ कस्तो जागिर खान्छस् कान्छा? तेरो अलि राम्रो कमाइ हुने ठाउँमा सरूवा गराउन मिल्दैन? सधैंभरी उही ठाउँमा किन बस्छस् हँ? यसपालि त चुनाव जितेका सांसद ठूलो भिनाजूका नाता पर्ने हुन रे.... यसो भिनाजूलाई भन्न लगाए हुन्थ्यो नि। सोर्सफोर्स लगाएर भए पनि कमाइ हुने ठाउँमा सरूवा गरा न कान्छा। तेरो दाइ (ठूलीआमाको छोरा) उस्तै परे वर्षमा दुईपटक सरूवा हुन्छ। तँ जेठो छोरो भएर पनि आँटिलो भइनस्......’
आमाले मलाई एक किसिमले नालायक नै ठान्नुभयो।
आमालाई कसरी सबै कुरा सम्झाऊँ? मेरो तलब कति हुन्छ? खर्च कति हुन्छ? कति बचत हुन्छ? आमाका अपेक्षा कति पूरा गर्न सक्छु? दिदी, भान्जा भान्जीका अपेक्षा कति पूरा गर्न सक्छु ? भाइको भविष्य कसरी उज्वल बनाउन सक्छु? मैले आफैंभित्रको म खोजिरहेँ। एकदिन पालो आउँछ आमा धैर्य गर्नुपर्छ, आफूभन्दा तल्लासँग पनि दाँज्नुपर्छ, सधैं माथिल्ला हैसियतका हेरेर हुँदैन।
अब चाहिँ आमा रिसाउनु भयो, ‘तेरा यस्ता भाषणले सेतो चामल पहेँलपुर सुन हुन्न क्यारे। तँमात्रै कहीँ नभएको रहेछस्।
तँलाई कुन चाहिँले तक्मा लाइदिन्छ र? इमानदार भइस् भनेर? कमाउनेले कति कमाइसके, जागिर खाएको एघार वर्षमा एक्काइस ठाउँमा त डेरा सरे होला, यसो बस्ने बासको टुंगो गर्नु, माटोमा थोरै भए पनि लगानी गर्नु, अब त बिहे गर्लास् नि? कि यत्तिकै बस्छस्? बिहेमा त खर्च होला कि कुशको औंठी लाएरै भित्राउँछस् बुहारी?
मलाई भनेजस्तो भाषण छाँटेर दुलही आउँदैनन् होला त? छोरो भएर आँटिलो हुनुपर्छ, तेरा बा पनि सोझो हुँदा दाजु भाइले सबै सम्पत्ति हडपे, आफूले कुम्लाएर बाँकी भएको तेरो भाग यही हो भने त्यसमै चित्त बुझाएँ .... तँ पनि बाउकै बिँडो थाम्ने भइस्।’
आमाले बारम्बार यस्ता कुरा सुनाउन थाल्नुभयो।
मैले गम्भीर रूपमा लिइनँ र मात्रै हो नत्र म जस्ता कर्मचारीहरू घरपरिवारबाट डिप्रेसनको ठूलो शिकार हुने रहेछन् भन्ने ज्ञान पाएँ। मेरी आमाले छरछिमेकमा देख्नुहुन्छ, आफ्ना दिदी बहिनीका छोराको तामझाम देख्नुहुन्छ स्वाभाविक हो मेरो छोराले पनि यस्तै गर्दिए हुन्थ्यो भन्ने लाग्नु ..... तर मेरी आमालाई के थाहा? त्यो छिमेकीको छोराको देखिने जागिर केही छैन, उसले के धन्दा गर्छ भन्ने पनि थाहा छैन।
जागिर खाने आफ्ना दिदी बहिनीका छोराहरूले कसरी कमाएका छन्? सरकारले दिने तलब कति हो? त्यो आमालाई थाहा छैन। म आमालाई आत्मादेखि भन्छु, मेरी जन्मदाता आमा सरकारले मजस्ता कर्मचारीलाई दिने तलबले फेरिफेरि सुन होइन लसुन किन्न मात्रै पुग्छ। सजिलोसँग बाच्न पुग्ने तलब हुँदैन। एकाद पात्रले चुरीफुरी देखाएको जस्तो कहाँ छ र? तपाईंको छोरामा त्यत्रो हिम्मत छैन.....’ मनमनै आफैंलाई दुत्कारेँ।
एकदिन गाउँमा हल्ला चलेछ, फलानो व्यक्ति यति रकमसहित रंगेहात समातियो भनेर।
समाचार हेरेर मैले थाहा पाइसकेको थिएँ, एक कान दुई कान हुँदै सबैतिर हल्ला फैलिएछ। भर्खर बढुवा भएको आफ्नै ठूलीआमाको छोरा मेरा दाइ रहेछन्। बढुवाको पत्र हात नपर्दै भ्रष्टाचारको काण्डमा समातिएछन्। उनको बैंक खाता रोक्का भयो, जागिरबाट निलम्बनमा परे। परिवारमा रूवाबासी भयो।
हिजो फलानाको जस्तो प्रगति गर भन्नेहरू आज उसैलाई दुत्कार्न थाले, यसको चुरीफुरी देख्दा त उहिल्यै पक्राउ पर्ने जस्तोथ्यो .....।
यसका बाउआमाको सानो फूर्ति थिएन छोराले यसरी कमाउने रहेछ र पो? बुढी पहेँलपुर भएर हिँड्थी... बुढाको धन्दा यस्तो पो रहेछ..... यस्ताको घरमा पूजा खाइयो....थुइक्क..... यस्ता छोरा त कसैका नहोऊन्.. बरू नुनका ढिका सिलौटामा पिसेर निस्तै भात खाइन्छ तर यस्तो गरी छोराले कमाएको खानु छैन।’
हिजो जयजयकार गर्नेहरू आज छिछि र दुरदुर गर्न थाले।
दाइलाई स्रोत नखुलेको रकम, सम्पत्ति शुद्धीकरण कताकता मुद्दा पर्यो। त्यो मुद्दा टुंगिने कहिले? सफाइ पाउने कहिले? इमानमा लागेको दाग मेटाउने कहिले? भ्रष्टाचारीको श्रीमती भनेर बसिसक्नु नभएपछि भाउजू माइतमा गएर बसिन्। बाउआमा छोरो सम्झेर धिक्कार्न थाले। एक किसिमले परिवारमा सन्नाटा छायो।
यो सबै नजिकबाट नियालेकी मेरी आमाले एकदिन मलाई भन्नुभयो, ‘तेरो दाइ खहरे रहेछ कान्छा बर्खामा ह्वात्त बढ्यो हिउँदमा सुक्यो तँ चाहिँ समुद्र रहेछस् आफ्नै गतिमा हिँड्न खोजिस्। मैले त्यत्रो बचन लाउँदा पनि केही भनेनस्, तेरो बाउजस्तै रहेछस् तँ। बाउको गुण तँमा सरेछ। मलाई केही चाँहिदैन। छोराका कारणले बाउआमाको बदनाम नहोस्, तँ साँच्चिकै मेरो छोरो रहेछस्। नाककान बुचै राखौंला तर बदनामीले कमाएको धनमा खुसी हुने छैन।
यो भोगाइबाट के देखिन्छ भने, कोही किन मतिभ्रष्ट हुन्छ? किन जसरी पनि कमाउ धन्दामा लाग्छ? हिजो कमाउँदा जय जयकार यही समाजले गर्छ, आज आलोचित हुँदा धारे हात पनि यही समाजले लगाउँछ।