असफलता भन्ने बित्तिकै हामीमध्ये धेरै जसोको वा अझ भनौं हामी सबैको मुटुले ठाउँ छोड्छ।
यो यस्तो शब्द वा भनौं अवस्था हो जो हामीले सुन्न वा कल्पना गर्न पनि चाहँदैनौं र एउटा यस्तो अनुभव हो जसबाट हामी जुनसुकै हालतमा पनि टाढा रहन चाहन्छौं तर असफलता नै यस्तो अवस्था हो जसले मानव जीवनको कुनै न कुनै पाटोमा व्यक्तिगत वा व्यावसायिक विकासक्रम मा महत्वपूर्ण रूपमा असर पार्ने गर्दछ।
असफलता मानव जीवनको एउटा अभिन्न अंग पनि हो जसलाई टारेर टार्न सकिँदैन। तर यसो भन्दैमा असफलता डरलाग्दो भने हुँदैन। असफलताले एउटा व्यक्तिमा नयाँ सीप र विशेषज्ञताका क्षेत्रहरू पहिल्याउन मद्दत पनि गर्दछ। हरेक असफलताले अझ परिष्कृत र परिमार्जित हुन सहयोग गर्दछ। कुनै पनि प्रयास सफल हुन के/के आवश्यक छन् भन्ने कुरा असफल प्रयासहरूले नै सिकाउने गर्दछन्। त्यसैले त भनिन्छ नि, ‘ती व्यक्तिले मात्र जीवनमा ठूला सफलताहरू हात पार्न सक्छन् जो जीवनमा एक पटक नराम्रोसँग असफल भएका हुन्छन्।’
असफलतालाई स्तरीय सम्बोधन गर्नसक्ने व्यक्तिले आफ्ना बारेमा सिक्ने, जान्ने मौका पाउनुका साथै परिवर्तनलाई कसरी सकारात्मक रूपमा स्वीकार गर्ने भन्ने कलाको पनि विकास गरिरहेको हुन्छ।
हामी अभिभावकहरू सन्तानलाई आफ्ना पूरा हुन नसकेका सपनाहरूको बाहकका रूपमा हेर्छौं। उनीहरू आफैंमा एक व्यक्तिगत एकाइहरू हुन् भन्ने कुरालाई बुझेर वा नबुझेरै हामी पूर्ण रूपमा नकार्छौं।
उनीहरूका क्षमता चिन्नुपर्छ भन्ने हामीलाई थाहा छ, तर त्यो कसरी चिन्ने भन्ने या त हामीलाई थाहा छैन र त्यो कला आफूमा विकास गर्ने हामीसँग समय पनि छैन, या त चिनेर पनि ती कलाले भविष्यमा उनीहरूलाई कस्तो बनाउँछ र हामी उनीहरूलाई के बनाउन चाहन्छौं भन्ने कुराको निर्णय बालबालिकासँगको सल्लाहबिना नै हामी आफैं लिइदिन्छौं। यसले बालबालिकाको मानसिकतामा पर्ने असरलाई पनि हामी बच्चा हो पछि बुझ्छ भनेर तर्कसंगत बनाइदिने गर्दछौं जुन पूर्णतः गलत हो।
हामी चाहन्छौं हाम्रा बालाबालिका सधैं जितुन्, हरेक प्रतिस्पर्धाहरूमा भाग लिऊन् र प्रथम पनि होऊन्, कक्षामा प्रथम होऊन्, खेलमा प्रथम होऊन्, अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गरून्, अनि हामीले जहाँ जहाँ हाम्रा बालबालिकाको कुरा गर्छौं त्यहाँ त्यहाँ केबल प्रथम भन्न पाइयोस्, द्वितीय र तृतीय सकेसम्म भन्न नपरोस्, त्यहाँ भन्दा तल त झर्न हाम्रा बच्चालाई अनुमति नै छैन। तर वास्तविक कुरा नितान्त फरक छ। सबै बच्चा सधैं प्रथम हुन सक्दैनन्, बच्चाका पनि आफ्नै किसिमका भोगाइ ,समय, समझ र बुझाइ हुन्छन् जसका आधारमा उनीहरूका शैक्षिक तथा अन्य विधामा योगदान र प्रदर्शन फरक हुन्छन्। आजको समयमा पनि हामी अभिभावकहरूले बालबालिकाका केही कुरा बुझ्न नसकिरहेको मेरो ठम्याइ हो।
हाम्रा बालबालिका उत्सुक, जिज्ञासु, सरल र नक्कल गरेर सिक्ने प्रवृत्तिका हुन्छन्।
हामीले भनेको वचन र गरेको व्यवहारले उनीहरूको कलिलो मनमा ठूलो प्रभाव पार्दछ। उनीहरूको प्रारम्भिक बाल्यावस्थाको अनुभव र अनुभूतिहरूले जीवनपर्यन्त जीवन जिउने शैलीमा प्रभाव पार्ने गर्दछ।
बाबा–आमा, सम्पूर्ण अभिभावक, विद्यालय, समाज, र सिङ्गो राज्यसँग जोडिएका उनीहरूको सिक्ने, जान्ने, र एक व्यक्तिगत एकाइका रूपमा हुर्किन पाउने अधिकार सुनिश्चित गर्नु हाम्राो पहिलो कर्तव्य हो। यो यात्रामा केही यस्ता कोसेढुंगाहरू हुन्छन् जसले उनीहरूलाई जीवनमा हारेर जित्न सिकाएका हुन्छन्।
प्रसिद्ध फुटबल खेलाडी रोनाल्डोको नाम फुटबल प्रेमी हामी सबैलै सुनेका छौं, उनीजस्तै बन्नुपर्छ भनेर हामी कतिपयले हाम्रो सन्तानलाई भनेका पनि छौं होला तर सात वर्षको उमेरदेखि संघर्ष गरेका उनको धैर्यताको कथा हामीले हाम्रा बालबालिकालाई कतिको सुनाएका छौं त, यो मनन योग्य कुरा हो जस्तो मलाई लाग्दछ।
प्रसिद्ध कम्पनी अलिबाबाका संस्थापक ज्याक माले उच्च शिक्षाका लागि आवेदन दिदाँ दश पटकसम्म विश्वविद्यालयबाट अस्वीकृति, तीस पटकसम्म जागिरका अन्तर्वार्ताहरूमा अस्वीकार भोगेका थिए।
आइफोन आज हाम्रा बालबालिकाको पहिलो रोजाइ होला तर के उनीहरूलाई हामीले भन्न भ्याएका छौं कि सोही कम्पनी एप्पलका संस्थापक स्टिभ जव्स एक पटक उनी आफैंले खडा गरेको कम्पनी एप्पलबाट आफैं बर्खास्त गरिएका थिए, त्यो कम्पनी जसलाई उनले आफ्ना बाबुआमाको ग्यारेजबाट सुरू गरेर दश वर्षको अथक प्रयासपछि एउटा उचाइमा पुर्याएका थिए।
तपाईं हाम्रा बालबालिकाले औधि मन पराएर पढ्ने किताब ह्यारी पोर्टर श्रृङ्खलाकी लेखिका जे. के. रोलिङ्ग्सलाई बाह्र जना प्रकाशकहरूले सोही किताब छाप्नका लागि अस्वीकार गरिदिएका थिए।
हामी सबैले चिनेका भारतीय चर्चित अभिनेता शाहरूख खानलाई पनि उनका शिक्षकले उनको सपना अत्यन्त अवास्तविक भएकाले उनले आफ्नो सपना कहिल्यै पूरा गर्न सक्नेछैनन् भनेका थिए।
यी मात्र हैन यस्ता धेरै सफल व्यक्तिहरू छन् जस्तै प्रसिद्व कम्पनी गुगलका प्रमुख कार्यकारी सुन्दर पिचाई, भारतीय क्रिकेटका प्रसिद्ध पूर्व कप्तान महेन्द्र सिंह धोनी, हास्यविधाका महागुरु र हाम्रा बालबालिकाका अत्यन्त प्यारा मिस्टर बीन, सबैले जीवनका असफलताहरूबाट नै सफलताको शिखर पहिल्याएका थिए।
भन्नाको अर्थ के हो भने असफलता वा असफलतादेखिको डर, मान्छेको आफ्नो सोचको उपज हो। यो आफैंमा जति परिमाणको हुन्छ, मान्छेले त्योभन्दा निकै ठूलो रूपमा आफ्नो दिमागमा, आफ्नो सोचमा धारण गरेर हिँडिरहेको हुन्छ। जबकि हरेक असफलताले व्यक्तिका लागि सफलताको उचाइतर्फ बढ्ने खुड्किलाहरू तयार गरिरहेको हुन्छ।
हाम्रा बालबालिकालाई हारको हाउगुजीबाट बचाऔं। अभिभावकका रूपमा हामीले उनीहरूको मानसिकतालाई बुझेर उनीहरूको असफलतालाई पनि सफलता जतिकै महत्व दिन जान्नुपर्छ।
कुनै पनि प्रयास सफल वा असफल के भयो भन्नुभन्दा पनि त्यो प्रयासबाट उनीहरूले के सिके भन्ने कुरालाई महत्व दिन जरूरी हुन्छ।
कुनै काम गर्दा आफूमा केन्द्रित हुनुपर्छ, अरूले के गर्दैछन् भन्ने चिन्ता लिनु हुँदैन, जीवनमा सधैं जित हुँदैन, र हार सधैं नराम्रो हुँदैन, हारले मान्छेलाई जीवनोपयोगी पाठ सिकाउँछ र मान्छेलाई सफलतातिर लैजान्छ, त्यसैले मान्छेले हार्न पनि जान्नुपर्छ र हारबाट सिक्न पनि जान्नुपर्छ भन्ने सिकाउन सकेमा बालबालिकाको हारलाई हेर्ने नजर पूर्णरूपमा बदलिदिन वा भनौं हारको डर उनीहरूको मनबाट निकालिदिन सकिन्छ।
कुनै काम गर्दा प्रयासमा ध्यान दिनुपर्छ, प्रतिफलको चिन्ता गनुहुँदैन भन्ने जीवनोपयोगी सिकाइलाई हामीले बढी महत्व दिएर चर्चा गर्नु राम्रो हुन्छ।
कर्म प्रक्रियामा शत प्रतिशत दिनु आफ्नो हातमा हुन्छ, त्यो इमान्दारीताका साथ गर्नुपर्छ, तर परिणाम आफ्नो हातमा हुँदैन र सधैं आफूले सोचेको वा चाहेको जस्तो नहुन पनि सक्छ र त्यो बेला आउँदा दिनका लागि कसरी तयार हुने भन्ने बारेमा हाम्रा बालबालिकालाई सिकायो भने भविष्यमा उनीहरू असफलतासँग डराउँदैनन् र जीवनलाई सहज रूपमा अगाडि बढाउन सक्छन्।
एक, दुई, तीनको होडबाट टाढा मानवीय गुणहरू सिक्दै, उनीहरूलाई प्रथम, द्वितीय हुने लाइनमा नउभिएर असल मानव हुने बाटोमा हिँड्न सिकाउनु जरूरी हुन्छ।
जीवनमा सदैव अर्कोपटक राम्रो गर्न सकिन्छ, एउटा असफलताले नै सबै कुरा निर्धारण गर्दैन भन्ने बुझाइलाई उनीहरूले जीवनमा आत्मसात् गर्नसकेको खण्डमा उनीहरूलाई सफलता सुनिश्चित छ भन्ने बुझाइ राख्नुपर्दैन।
जीवनमा जित्नु मात्र सबथोक हैन, हारेर सिक्नु पनि महत्वपूर्ण कुरा हो।
जीवनमा जित र हार हुँदैन, कि जित हुन्छ कि सिकाइ हुन्छ, र जुन भए पनि हामीलाई जीवनोपयोगी नै हुन्छ।
त्यसैले अभिभावक भएका नाताले हामीले हाम्रा बालबालिकालाई जित्नमात्र सिकाउने वा बाध्य गराउने भन्दा पनि हारलाई पनि सामान्य रूपमा लिने र हारबाट पनि सिकिन्छ भन्ने कुरा महसुस गराउन जरूरी छ।
आजको प्रविधि र अस्वस्थ प्रतिस्पर्धाको युगमा हारलाई स्वीकार गर्न नसक्ने वा नजान्ने बालबालिकाहरू एन्जाइटी, डिप्रेसन जस्ता समस्याहरूसँग जुधिरहेको पाइन्छ जुन उनीहरूको सर्वाङ्गिण विकासका लागि घातक कुरा हो। अभिभावकका हैसियतले उनीहरूलाई बुझ्नु हाम्रो पहिलो कर्तव्य हो।
अहिलेसम्म कुनै यस्तो लब्धाङ्क पत्र बनेको छैन जसले बालबालिकाको योग्यता बताउन सकोस्। तिनले बताउने भनेको केवल केही अङ्क हो जुन त्यसै पनि केही समयपछि धेरैलाई याद रहँदैन र वास्ता पनि हुँदैन। त्यसैले अङ्कका पछाडि दगुर्न छोडेर बालबालिकाको सिकाइमा जोड दिनु बुद्धिमानी हुन्छ भन्ने मलाई लाग्दछ।
जीवन सदैव एउटै हुँदैन र जीवनमा सदैव सफल र सम्मानित मात्र भैरहन सम्भव पनि हुँदैन। जीवनमा एउटा व्यक्ति कहिले असफल हुन्छ, कहिले धोका खान्छ, झुक्किन्छ, कहिले असुरक्षित हुन्छ त कहिले अपमानित पनि हुन्छ। जिन्दगी बाँच्ने क्रममा धेरै परिस्थितिहरू आइलाग्छन् जहाँ व्यक्तिले मानसिक रूपमा अडिग, सबल र सन्तुलित भएर काम गर्नुपर्ने हुन्छ, धैर्य धारण गर्नुपर्ने हुन्छ। आजका स–साना असफलताहरूले हाम्रा बालबालिकालाई भोलिको जस्तोसुकै परिस्थितिसँग पनि आँखा जुधाएर सामना गर्नसक्ने साहस दिन्छ। त्यसैले अभिभावकले बालबालिकालाई असफलतामा पनि सफलताको साँचो लुकेको हुन्छ भन्ने कुरा बुझाउन जरूरी हुन्छ।
हाम्रा बालबालिका अहिलेको समयमा विद्यालय जान थालेदेखि नै सबैको प्रशंसाका पात्र बनेका हुन्छन्। कुनै पनि शैक्षिक क्रियाकलाप होस् वा अतिरिक्त क्रियाकलाप, उनीहरूले प्रशंसा नपाएको कुनै विधा हुँदैन।
हरेक बालबालिका फरक छन् र त्यही अनुसार उनीहरूको विकासमा ध्यान पुर्याइनुपर्दछ भन्ने कुरा आजका विद्यालय र अभिभावकहरूले बुझेका हुनाले सानैदेखि उनीहरूलाई प्रोत्साहन गर्ने वातावरणमा हुर्काइएको हुन्छ। त्यस्तो वातावरणमा हुर्किएका बालबालिकाले सहजै असफलतालाई स्वीकार गर्न नसकेका उदाहरणहरू पनि हाम्रो समाजमा प्रशस्तै पाइन्छन्।त्यसमाथि पनि अभिभावकले उसका कमीकमजोरीलाई सहज रूपमा लिन नसकेको खण्डमा बालबालिकाको मानसिकतामा गम्भीर नकारात्मक असर पर्न जाने कुरालाई नकार्न सकिँदैन।
हाम्रा बालबालिकालाई हामीले जित र हारबाट धेरै टाढा राखेर हुर्काउन सक्नुपर्छ। हामीले उनीहरूलाई जित्नु वा हार्नु भन्दा सहभागिता जनाउनु ठूलो कुरा हो भन्ने सिकाउन जरूरी छ।
उनीहरूलाई जित र हारको दबाब दिएर हैन, जे गर्दा उनीहरू आनन्द लिएर गर्नसक्छन् त्यो गर्न दिनुपर्छ। हाम्रा लागि प्रथम, द्वितीय हुनुभन्दा उनीहरू खुसी भए कि भएनन् भन्ने कुराले महत्व राख्नुपर्छ।
शैक्षिक लब्धाङ्क पत्रका अंक जान्नु भन्दा जरूरी उनीहरूका मनका भावना, उनीहरूमा कुनै पनि घटनाले परिरहेको असर जान्नु हुन्छ भन्ने कुरालाई महत्व दिनुपर्छ।
उनीहरू असफलतामा हतोत्साहित नहोऊन् र सफलताले महत्वाकांक्षी नबनून् भन्ने कुरामा सजग बनाउँदै जानुपर्छ। जीवनमा यस्ता मोडहरू पनि आउँछन् जब जिन्दगीले झटारो हान्छ, त्यो बेला आफू र आफ्नो काबिलियत माथिको विश्वासलाई अडिग राखेर अगाडि बढ्ने कला हामीले हाम्रा बालबालिकाका आजका स–साना असफलताहरूबाट सिकाउन सक्छौं।
साथी भन्ने कुराले पनि मान्छेको जीवनमा धेरै र बेग्लै महत्व राख्छ। हाम्रा बालबालिकाकाले खेल्ने, सिक्ने परिवेश कस्तो छ, साथी संगत कस्तो छ, त्यतातिर पनि अभिभावक सचेत हुन जरूरी हुन्छ।
साथी संगतबाट हतोत्साहित गर्ने, असफलतामा डराउने प्रवृत्तिको विकास गरिदिने काम त भएको छैन भन्ने कुरामा अभिभावक सचेत रहि आफ्ना बालबालिकालाई समयानुसार सही मार्गनिर्देशन गर्नुपर्छ।
सामान्यतया हामी गलत संगत भएमा बालबालिकालाई त्यो संगत टुङ्ग्याउन ठाडो आदेश दिन्छौं तर किन, कसरी र कुन कारणले उसको संगतले उसलाई हानी गरिरहेको छ भन्ने कुरा खुलेर बताउँदैनौं।
यसले उनीहरूलाई झन् विद्रोही र विक्षिप्त बनाउँछ र उनीहरू आफ्नो असफलतालाई बहाना बनाउँदै झन् कुलत र कुसंगततर्फ आकर्षित हुन्छन्।
तसर्थ अभिभावकका रूपमा हामीले हाम्रा बालबालिकासँग प्रभावकारी र सरल सञ्चार गर्न अत्यावश्यक हुन्छ। हारले हामीलाई मानसिक रूपमा बलियो बनाउँछ।
जितले मान्छेमा घमण्डको सिर्जना हुन्छ। मान्छेले जीवनमा जति हारको, असफलताको सामना गर्छ त्यति ऊ भविष्यमा मानसिक रूपमा बलियो बन्छ। जसले सानो उमेरमा स–साना समस्याको सामना गरेको हुन्छ उसैले भविष्यमा ठूला समस्यालाई पनि नडराइकन ‘आउन देऊ, म तयार छु’ भन्न सक्छ।
केवल आवश्यकता हुन्छ त सही मार्गनिर्देशनको र त्यो काम जागरूक अभिभावकले राम्रोसँग गर्न सक्छन्।
गल्ती वा असफलताहरूले हाम्रा बालबालिकाहरूमा नम्र व्यवहारको विकास गर्नाका साथै उनीहरूलाई आत्मविश्वासी, योग्य, सफल र खुसी व्यक्ति बन्न पनि सहयोग गर्दछ।
असफल हुँदै र स–साना संघर्षहरू गर्दै हुर्कंदा बालबालिकाहरूमा महत्वपूर्ण सामाजिक तथा संवेगात्मक सीपहरूको विकास पनि हुने गर्छ।
कहिलेकाहीँ हामीले देखिरहेको असफलता हाम्रा बालबालिकाका लागि उनीहरूको चाहना पनि हुनसक्छ। हामीले परिभाषित गरिदिएको सफलताको परिधिभन्दा धेरै पर पनि हुनसक्छ उनीहरूको सोचाइ र बुझाइ।
समाज र अभिभावकले निर्धारण गरिदिएको सफलताको परिभाषामा नअटाउँदा हाम्रा बालबालिकाले असफलताको टर्रो स्वादलाई पचाउन गाह्रो पनि परिरहेको हुनसक्छ, जसले उनीहरूको विकासमा बाधा पुर्याउने गर्छ।
त्यसैले हामीले हाम्रा बालबालिकालाई जीवनमा हार्नु वा असफल हुनु सामान्य हो, यो पनि जीवनको एउटा पाटो हो भन्ने कुरा सिकाउन अपरिहार्य हुन्छ।
अभिभावकका रूपमा हामीले उनीहरूका सबै निर्णय आफैंले लिइदिएर उनीहरूलाई समस्यामा पर्दै नपरून् भन्ने सोच राख्नुभन्दा हाम्रा बालबालिकालाई सहयोग, समर्थन र मार्गनिर्देशन गर्नुपर्ने हुन्छ ताकि उनीहरूले स्वनिर्णय गर्न, आफ्ना गल्तीबाट सिक्न र आफूलाई परिष्कृत र परिमार्जित गर्न सिकून्।
अभिभावकले बुझ्नुपर्ने कुरा के हो भने, हाम्रा आशा पूरा गरिदिनुभन्दा हाम्रा बालबालिकाका लागि उनीहरूले आफ्नो जीवन जिउने कला सिक्नु महत्वपूर्ण कुरा हुन आउँछ।
आजको वैज्ञानिक युगमा हामीले हाम्रा बालबालिकाकालाई परम्परागत तरिकाले हुर्काउन खोज्नु न्यायसंगत नहोला। बदलिँदो सामाजिक परिवेश, सञ्चार र सूचनामा सहज पहुँच, प्रविधिको अनियन्त्रित प्रभाव आदिले आजका बालबालिकालाई हामी भन्दा निकै फरक बनाएको छ र हामी हुर्किएको परम्मरागत तरिका भन्दा आजको युग सुहाउँदो वैज्ञानिक तरिकाले बालबालिकालाई हुर्काउनु अहिलेको अपरिहार्य आवश्यकता हो।
यसका लागि पहिला बाबु आमा अनि सम्पूर्ण अभिभावक सचेत र तयार हुन जरूरी हुन्छ।
आजका बालबालिकाले ठूला सपना देख्न सिकिसकेका छन् तर ती सपनाको पछाडि लागि पर्दा बीचमा आउनसक्ने सम्भावित अप्ठ्यारा, असफलताहरू अनि तिनलाई सम्बोधन गर्न चाहिने निरन्तर प्रयास, धैर्यता, लगनशीलता र कलाको सिकाइ हाम्रा बालबालिकाले आजका स–साना असफलताहरूबाट नै सिक्ने हुन् तसर्थ हामीले हाम्रा बालबालिकाका सफलतालाई जसरी सह्राना गर्दछौं त्यसरी नै उनीहरूका असफलतालाई पनि सामान्य रूपमा लिएर उनीहरूलाई प्रोत्साहित गर्न जान्नुपर्छ।अन्ततोगत्वा, सत्य के हो भने प्रगतिका लागि असफलता पनि आवश्यक छ।
असफलतालाई कसरी सम्बोधन गर्ने भन्ने कला पनि अभिभावकले बालबालिकालाई सिकाउनुपर्छ। हाम्रो समाज यस्तो समाज हो जहाँ बालबालिकालाई उनीहरूका असफलता बारबार याद दिलाइन्छ जबकि उनीहरूलाई स्वतः थाहा हुन्छ कि कहाँ गल्ती भएको छ, त्यसलाई पटक/पटक प्रहार गर्नु जरूरी हुँदैन।
यसले उनीहरूलाई झन् विचलित बनाउँछ। उनीहरू समस्यालाई सामना गर्न छोडेर त्यसबाट टाढा भाग्न खोज्छन् जसले उनीहरूको जीवनलाई झन् जटिल बनाउँछ।
त्यसैले उनीहरूलाई समस्यालाई दोष दिने, बहाना बनाउने, समस्याबाट भाग्ने हैन, समस्या वा असफलतालाई सहज रूपमा स्वीकार गर्ने, शान्त तरिकाले जीवनलाई नयाँ दिशानिर्देश गर्ने, आफ्ना असफलतालाई अनुसन्धान गर्ने, कारण पत्ता लगाउने, असफलता एउटा काममा भएको हो जीवनमा हैन भन्ने कुरालाई बुझेर जीवनमा पाउनु, गुमाउनुभन्दा ठूलो कुरा म कस्तो मान्छे बन्दैछु , म हिजोभन्दा आज अझ परिष्कृत हुँदैछु कि छैन भन्ने कुरा महत्वपूर्ण हो भन्ने कुरा सिकाउनु जरूरी हुन्छ।
हामीले हाम्रा बालबालिकालाई सुरक्षित र सहज वातावरण दिनुपर्दछ जहाँ उनीहरूले आफ्ना सफलतामात्र हैन असफलता पनि सहज रूपमा छलफल गर्न सकून् र त्यसबाट सिकेर अगाडि बढ्न सकून्।
बालबालिकाको सर्वाङ्गिण विकासमा अभिभावकको निकै महत्वपूर्ण भूमिका रहन्छ। उनीहरूमा उत्प्रेरणा र सकारात्मक मानसिकताको विकास गर्नमा अभिभावकको व्यवहार र मानसिकताले अत्यन्त प्रभावकारी भूमिका खेलेको हुन्छ। तसर्थ बालबालिकासँग कुरा गर्दा वा व्यवहार गर्दा अभिभावकले मेरो वचन वा व्यवहारले मेरो सन्ततिमा कस्तो सन्देश जान्छ वा कस्तो असर पर्छ भन्ने कुरालाई मनन गर्नुपर्ने हुन्छ।
अभिभावकले असफलतामा पनि बालबालिकाको क्षमता, सीप र कलालाई उजागर गरिदिन सक्ने हो भने बालबालिकाले अवरोधहरूलाई पनि रचनात्मक ढंगले सम्बोधन गर्न सक्दछन्।
जीवनमा कुनै न कुनै बखत हरेक मान्छे असफल हुन्छ। असफलताले मनमा डर र असन्तुष्टि पनि जन्माउँछ तर त्यसलाई ठूलो समस्याको रूपमा नहेरेर सहज रूपमा सामना गर्दै त्यो असफलतालाई सफलतामा परिवर्तन गर्न म फरक के गर्न सक्छु त भनेर आफूलाई प्रश्न गर्न सक्ने साहस हामीले हाम्रा बालबालिकाकालाई दिन सक्नुपर्छ। संसारमा जति पनि व्यक्ति सफल भएका छन्, रातारात पक्कै पनि सफल भएका हैनन्।
दुनियाँले देखेका सफलताका धेरै उदाहरण पछाडिका थुप्रै असफलता र कठिन परिश्रमका कथा पनि हामीले हाम्रा बालबालिकाकालाई सुनाउनुपर्छ। जीवन भनेको निरन्तर रूपमा उठ्नु, तयार हुनु र अगाडि बढ्नु हो, असफलता जीवनमा एउटा अल्पविराम हुनसक्ला तर पूर्णविराम कहिल्यै पनि हुनसक्दैन भन्ने कुरा हामी अभिभावकले बुझ्नुका साथै हाम्रा बालबालिकालाई पनि राम्ररी बुझाउन जरूरी हुन्छ।
(लेखक स्मार्ट प्यारेन्टिङ नेपालका अभिभावक शिक्षा प्रशिक्षक हुन्।)