बाआमासहित मेरो परिवारै युरोप यात्राका क्रममा फ्रान्स पुगेका थियौं। फ्रान्स घुम्दै एउटा पसलमा केरा किनेर खायौं। बाटोमा हिँड्दै गर्दा मलाई आमाले मेरो जन्मदिनको बारेमा भन्नुभयो।
घरनजिकै बारीको कान्लानिर केराको बोटछेउ जन्मिएको थिएँ रे म। त्यसैले होला, मलाई आज पनि केरा असाध्यै मनपर्छ।
आमा घाँस काट्न जाँदा बेथा लागेछ। केराको थाममा अडेस लाग्नुभएछ। म त्यहीँ जन्मिएँ। आमाले छिमेकी ठूलीआमालाई बोलाउनु भएछ। लगाएको फरिया आधा च्यातेर मलाई पुछपाछ गरी डोकाको घाँसमाथि आधा फरियाले बेरेर घर ल्याउनुभएछ।
जन्मिँदा मेरो घुँडानिर समस्या रहेछ। कसैले याद गरेनछन्। म सधैं रून्चे भएपछि मात्र याद गरेछन्। यसलाई खुट्टा छोयो कि रून्छ भनेर छिमेकी आमाले भनेपछि मात्र सबैको ध्यान गएछ।
परिवारको कान्छो छोरा म। अरू सबै सन्तान सकुशल। म मात्र त्यस्तो हुँदा आमालाई धेरै चिन्ता भएछ। एकदिन आमाले मलाई तेल घसेर घाममा सुताउन लाग्नुभएको थियो। गाउँका अरू केटाकेटी खेलेको देखेर उहाँ निकै रूनुभएछ।
अरूका केटाकेटी यसरी उफ्रिन्छन्। मेरो छोरा सक्दैन कि क्या हो!
बा बैंकमा अस्थायी जागिरे हुनुहुन्थ्यो। म जन्मिएपछि स्थायी भयो। बालाई लागेछ, म भाग्यमानी छु।
एकदिन आमाले बालाई भन्नुभयो- गाउँका सबै केटाकेटी उफ्रिँदै हिँड्लान्, मेरो छोरा त घाममा बिस्कुन मात्र कुरेर बस्ने भो!
आमाको कुराले बालाई त्यो रात निद्रा परेन। बाको चुरोट पिउने लत थियो। सायद चिन्ताले होला त्यो दिन धेरै पिउनुभयो।
आमा रोएको देखेर बाले जवाफ दिनुभयो- तेरो मात्र छोरा हैन यो, मेरो पनि हो। जहाँ लगेर भए पनि उपचार गराउँछु। उसको खुट्टा ठिक पार्छु। चिन्ता नगर। नरो।
गाउँमा गतिलो अस्पताल थिएन। त्यस बेला मेरो गृहजिल्ला सिन्धुलीबाट उपचारका लागि जनकपुर जाने चलन थियो। आमाबाले दुई दाजु र दिदीलाई हेर्न अनि घरको काम र गाईवस्तु स्याहारसुसार गर्न मान्छे राखेर मलाई उपचार गर्न लानुभयो।
आधा बाटोसम्म मलाई हाम्रो घरमा काम गर्ने एक जना दाइले बोकेर लानुभयो। आधाबाटोपछि गाडी चल्थ्यो।
मलाई बोकेर लाने ती दाइ मेरा बाभन्दा चार पाँच वर्ष मात्र कान्छा हुनुहुनुहुन्छ। अहिले विदेशबाट नेपाल गएका बेला म उहाँलाई भेटिरहन्छु। उहाँका दुई छोरी र एक छोरा थिए। मभन्दा साना। उहाँ हाम्रो खेत जोत्न आउनुहुन्थ्यो। सानामा मलाई उहाँ 'मेरो छोरीसँग बिहे गर्छौ सानो काजी' भन्दै जिस्क्याउनु हुन्थ्यो। रिस उठेका बेला बाको नाम लिँदै कुट्नुहुन्थ्यो। उहाँ धेरै समय हामीसँगै बस्नुभयो। अझै पनि सानो काजी नै भन्नुहुन्छ मलाई। म ठूले दाइ नै भन्छु।
जनकपुर अस्पताल पुगेर मेरो उपचार सुरू भयो। घुँडामा पानी जमेको जस्तो थियो रे। सामान्य उपचारपछि पानी निकालेपछि एक हप्तामा म ठिक हुँदै गएँ। मेरो रूवाइ बन्द हुँदै गयो। समय बित्दै जाँदा म स्कुल जान थालेँ। पाँच वर्षमा स्कुल सुरू गरेँ। एक कक्षा पढ्नुपर्ने भए पनि सरले दुईमा राखिदिनुभयो।
यसको कारण स्कुलले सित्तैमा दिने किताब मेरो पालोसम्म सकिएछ। कखरा र अंक आउने सबै भएपछि सरले दुईमै पढ्न सक्छस् भन्दै राखिदिनुभयो।
मेरा गाउँले साथी कक्षामा छुटे।
पढ्दै जाँदा म अलि राम्रै पढ्ने भएँ। चारमा म दोस्रो भएँ। स्कुले अवधिभरि दोस्रो, तेस्रो नै भइरहेँ।
पाँच कक्षा पढ्दा एक केटी साथी भेटिइन् मीरा। मेरो नाम अमिर थियो। सबैले यही नामले बोलाउँथे। पछि एसएलसी दिनेबेला बुवाले नील राखिदिनुभएछ। नील मेरो न्वारानको नाम। फर्म भर्ने म बिरामी भएकाले बुबा जानुभएको थियो। हेडसर गाउँकै काका पर्ने थिए। दुई जनाले सल्लाह गरेर नील राखिदिनुभएछ। मलाई साह्रै नरमाइलो लाग्यो। अमिर त हिरोको नाम थियो, मनपर्थ्यो।
मीरा असाध्यै पढ्ने खालकी थिइन्। म दोस्रो, तेस्रो हुँदा ऊ प्रथम हुन्थिन्।
सात-आठ पढ्दा सबैले मीरा र मेरो नाम जोडेर जिस्क्याउन थाले। कतिले अ छोडी मिरे भन्थे। कोही मीरा प्लस अमिर लेखिदिन्थे। हामी रिसाउँथ्यौं। साथीहरू गलल हाँस्थे।
कक्षाको कालोपाटीमा, भिता, डेस्क, बेन्चमा समेत लेखिदिन्थे। त्यतिखेर केटाकेटी एउटै ठाउँमा बस्नु त के बोल्नु नै अपराधझैं थियो। हामी नबोल्दा पनि जिस्क्याउँथे।
हामीलाई साह्रै लाज हुन्थ्यो। अरूले जिस्क्याउँदा मीरा रून्थिन्। कतिपटक उनी रोएको मैले देखेँ। ठूलै भएका विधार्थी समेत हामीलाई जिस्क्याउँथे। कसैले बुझेनन् हाम्रो बाल मष्तिष्कमा कस्तो असर पर्छ भनेर।
यस्तै कुराले होला, मीरा र मेरो खासै बोलचाल भएन। नौ कक्षा पुगेपछि त उनले स्कुल छाडिन्। शिक्षा विभागका जागिरे बाबुसँगै अर्कै ठाउँ गइन्। त्यसपछि उनीसँग भेट भएन।
धेरै समयपछि प्रविधिले हामीलाई फेरि जोडायो। फेसबुकमा कताकता स्कुले साथीभाइ हुँदै उनीसँग पनि साथी भएँ। तर अझैसम्म हाम्रो कुरा भएको छैन।
मेरो ९/१० कक्षासम्म पढाइ राम्रै भए पनि एसएलसीमा भनेजस्तो भएन। एक सय पाँच जनाले परीक्षा दिँदा जम्मा पाँच जना पास भयौं। म दोस्रो श्रेणीमा। पाँच जनामा पनि म दोस्रो नै भएँ।
स्कुल सकिएपछि म उच्च अध्ययनका लागि काठमाडौं पसे। गाउँको मान्छेलाई सहर गजब लाग्यो। त्यसमा पनि झने गजब लाग्यो म:मका डल्ला। म:मबाट सुरू भयो मेरो सहरिया विद्यार्थी जीवन।
म आफन्तको घरमा बसेँ। डाक्टर बन्ने सपना थिएन। घरपरिवारलाई भने बनोस् भन्ने थियो। त्रिचन्द्र कलेजमा विज्ञान संकायमा भर्ना भएर पढ्न थालेँ। पढ्न जाँदा थाहा भयो, डाक्टर हुन साह्रै गाह्रो रहेछ। किताबले थिच्यो। त्योभन्दा ठूलो भारी भयो अंग्रेजी। आज पनि अंग्रेजीको भारी गह्रुँगो ने लाग्छ।
अंग्रेजीले थिचेपछि डाक्टर छाडेर म सिए बन्न मिनभवनको कमर्स कलेज भर्ना भएँ। गाउँघरमा कमर्स पढे सिए भइन्छ भन्थे। पढ्दै जाँदा त हिसाब नै क्याल्कुलेटरमा अटाउँदैन जस्तो लाग्न थाल्यो। कमर्स नि असाध्यै मुश्किल भयो। गाउँको पढाइले सहरमा सक्दैन कि जस्तो लाग्यो। जेनतेन अल्झिँदै स्नातकसम्म पढेँ।
यसपछस भने अब पढाइ सकियो जस्तो लाग्यो। जागिर खान थालेँ। जागिर खान थालेपछि अर्को कुरा गज्जब लाग्यो काठमाडौंमा, मोटरसाइकल।
मोटरसाइकल भए त जिन्दगी यही हो जस्तो भयो। तीन-चार महिना जागिर खाएपछि ऋण गर्दै किस्तामा मोटरसाइकल किनेँ। किनेको दिन खुसीले काठमाडौं रिङरोड म सातपटक घुमेँ होला। भोलिपल्ट पछाडि ढाडदेखि तल पैतालासम्म दुखेको थियो।
चस्मा ढल्काएर मोटरसाइकल कुदाउँदा राजकुमारभन्दा कम आँकिन आफूलाई। अझ ठूलो शान त कम्मरमा भिरेको पेजर थियो। अफिसले पेजर दिएको थियो।
थाहा नहुनेले सोध्थे, भाइ यो कम्मरमा के भिर्या हो?
म शानले भन्थेँ, पेजर।
पछि मोबाइल आयो। अफिसले सिम दियो। मोबाइल चाहिँ आफैं किनेँ। मोबाइल फोन आएपछि त झन् कुरै बेग्लै। एकपटक त फूर्ति देखाउन त्यत्तिकै कुरा गरेको जसरी एक्लै ठूलो स्वरले बोल्दै बाटोमा हिँडेँ। बाटोमा हिँडेका मान्छे मलाई फर्केर हेर्थे।
एकदिन त्यसैगरी नाटक गर्दा मोबाइलमा घन्टी बज्यो। छेउका मान्छे मलाई देखेर हाँसेँ। त्यो दिनदेखि त्यस्तो खालको फूर्ति देखाउने काम बन्द गरेँ।
बागबजार पद्मकन्या क्याम्पसको गेट मेरो मोटरसाइकल पार्किङ क्षेत्र जस्तै थियो। नक्कली हो कि सक्कली थाहा थिएन, रेबन चस्मा र डक्टर मार्टिन जुत्ता। हातमा आधा तोलाको सुनको औंठी। एक तोला जति सुन जोडेर हात्तीको पुच्छरको बाला। १३ सयमा किनेको एउटा चेनवाला घडी। हातमा नोकियाको मोटो मोबाइल।अनि अर्को हात चुरोट। कलेजअगाडि उभिँदा मेरा ब्रान्डजस्ता भए ती चिज। अहिले सम्झिँदा लाजै लाग्छ।
एकदिन मोटरसाइकल हुइँक्याउदै थिए। गाउँकै एक जना आफन्त बा ज्ञानेश्वरमा भेटिनुभयो। बालाई ढोगेँ। उपचार गर्न आउनुभएको रहेछ। हाम्रै गाउँका ठूलाबा डाक्टर हुनुहुन्थ्यो, उहाँको क्लिनिक ज्ञानेश्वरमा थियो। त्यहीँ आउनुभएको रहेछ।
बाले मेरो मोटरसाइकल देखेर लामो जिब्रो निकाल्नुभयो। यस्तरी, मानौं मै उहाँको डाक्टर हुँ जसले जिब्रोबाहिर निकाल्नुस् त बा भनिरहेको छ।
बाले सोध्नुभयो, कति हात्ती खायो यसले?
मैले हाँस्दै भनेँ, एक सय आठ (एक लाख आठ हजार रूपैयाँ)।
बाले श्लोक भनेर व्यंग्य हान्दै थप्नुभयो- सुन किन्या भए दस तोला आउँथ्यो।
म हाँसेर भनेँ, बा रहर लागिहाल्यो! सुन लाउन हुन्छ। दौडाउन हुँदैन। यो बेस्सरी दौडिन्छ!
बाले मुख बटार्नुभयो। मनमनै गाली गर्नुभयो होला कि! उहाँले पढाइबारे पनि सोध्नुभयो। धान दिनुपर्यो भनेर मैले मास्टर्स सकेँ भनेँ। गाउँतिर मास्टर्स गर्या भनेको बुझ्थे। स्नातकोत्तर शब्द त मैले नै धेरै पछि शब्दकोषमा हेरेर थाहा पाएको।
पढाइको कुराले भने बा खुसी हुनुभयो।
भन्नुभयो- पढाइ धेरै पो सकिछस्। लु राम्रो गरेस्। म तेरो बाऊलाई केटी खोज भन्छु अब। बिहे गर्नुपर्छ। हामीलाई भोज खुवाउनु। पछि बाँचिन्छ कि मरिन्छ। के भर?
यति भन्दै बा आफ्नो बाटो लाग्नुभयो।
म:मका डल्ला, जागिर, मोटरसाइकलपछि काठमाडौंमा गज्जब लाग्ने धेरै कुरा भेटिँदै गए। सिनेमा हल, क्याबिन रेस्टुरेन्ट, डान्सबार, दोहोरी, अनि बेलाबेला क्यासिनो।
काठमाडौंका गज्जबका कुरालाई मैले पनि समयसँगै गज्जबले भोग गरेँ।
समय क्रममा डुल्दै जाँदा अर्को कुरा गज्जब लाग्यो, सिनेमाको सुटिङ।
'पोखराको बजार हैन, ठमेलमा घुमौंला, ऐना मात्र हैन नि मैचाङ, गालैमा चुमौंला' भन्दै राजेश हमाल र पूजा चन्द नाच्दै थिए बानेश्वर चोकैमा। म हेर्न भनेर भिडमा यताउता गर्दै छिरेँ।
सुटिङको अर्को टेक लिने बेला राजेश हमाल प्लास्टिकको कुर्सीमा बसे। एउटा केटोले फुत्त छाता खोलेर ओढायो।
आम्मा हो, सिनेमामा देखेको हिरो आँखाअगाडि देख्दा त मलाई भित्रैबाट काउकुति लाग्यो। बेस्सरी भुँडी फुलेर आयो। सहनै सकिनँ। परैबाट हात हल्लाउँदै कराएँ- राजेश हमाल!
मलाई लाग्या थियो छाता ओढेर बसेका उनले बोली सुने पनि कालो चस्मा लगाएकाले नदेखेझैं गर्छन्।
तर नसोचेको भयो। उनले हातै हल्लाएर बोलाए। मेरो फुलेको भुँडी स्वात्त सुक्यो। म हावाझैं झम्टिएर उनी छेउ पुगेँ। उनले हात पो मिलाए। मेरो हात त भारी भयो। लाग्यो उनको हात फलामकै हो।
हात मिलाउँदै उनले सोधिहाले, भाइको नाम?
छिटो जवाफ दिएँ, अमिर।
उनले फेरि सोधे, थर नि?
थापा।
फेरि सोधे, मेरो फिल्म हेर्या छ?
रिस पो उठ्यो, गलत प्रश्न सोधेर। मन शान्त पारेर भनेँ, हेर्या छु। धेरै हेरेको छु।
उनले फेरि सोधे, कुन कुन?
युगदेखि युगसम्म, कसम, भाउजू, देउता, देउकी, अधिकार, अपराध, ज्वाला....भन्दै गँए।
उनले भो भो भन्दै रोके, ओहो नेपाली फिल्म हेर्नु हुँदोरहेछ त!
उनले एक्कासि तपाईं पो भने। म जिल्ल परेँ।
उनले फेरि सोधे, कुन चाहिँ राम्रो लाग्यो?
मैले उत्तर दिएँ, सबै।
'हो र' भन्दै उनी हाँसे।
फेरि मैले देउता र अधिकार भनिदिएँ।
उनले सोधिहाले, किन नि?
'अधिकारमा तपाईंलाई भैंसीले लखेट्छ अनि हिलोमा डुब्नुहुन्छ। त्यो हिलो पखाल्न तपाईंलाई कृष्टिले डोर्याएर पोखरीमा पुर्याउँछिन्। हिलो पखालेर तपाईंले टिसर्ट खोल्दा कृष्टिले जसरी जिब्रो टोकिन्, मैले नि त्यसैगरी टोकेको थिएँ। तपाईंको बडी खत्रा छ,' मैले भनिदिएँ।
उनी हाहाहा गर्दै हाँसे। छेउछाउका मान्छे पनि हाँसे।
उनले फेरि सोधे, देउता चाहिँ?
'रूवाउने छ, मायालाग्दो छ तपाईंको रोल। फाइट राम्रो छ। गाग्रीवाला फाइट खत्रा छ। अनि शंकरवाला डायलग झन खत्रा छा। एकपटक त तपाईंलाई साँच्चिकै देउताजस्तै देखिन्छ। त्यो बोजुको घरभित्र। अन्तिम फाइटमा शंकर जस्तै देखिन्छ।'
उनी बेस्सरी हाँसे।
उनले सोधिहाले, कति पढ्नु भएको छ?
मैले जवाफ दिए, ब्याचलर सकियो कमर्समा, अब मास्टर्स गर्छु।
उनले उमेर सोधे।
मैले भनेँ, २१ वर्ष।
उनले भनिहाले, ल मेरो जस्तै चौबीस वर्षमा मास्टर्स सकिन्छ तपाईंको पनि। मैले नि चौबीस वर्षमा अंग्रेजी साहित्यमा मास्टर्स गरेको थिएँ
अंग्रेजी भन्नेबितिकै मलाई त पिसाब नै आउलाझैं भयो। उनले अंग्रेजीमा केही सोधी हाले भने त मेरो बिजोगै हुन्छ। म डराएँ। त्यहाँबाट कतिखेर कुलेलाम ठोकूँजस्तो भयो।
अटोग्राफ दिनुस् न भनेर मागेँ।
उनले केमा दिऊँ भने।
मैले पर्स निकालेँ। पर्स च्यातिएर अलि अगाडि राजेश हमालले जस्तै मुख बाएको थियो। एकतिर छेउको भाग हेरी नसक्नु गरी च्यातिएको थियो। च्यातिएको भाग छोप्दै भित्रपट्टि आँखा घुमाए। पचास, बीस र दस गरी तीनवटा नोट थिए।
दसको नोट निकालेँ।
ठूलो नोट निकाले त भरे मःम हेर्नु मात्रै पर्ने हुन्छ। निल्न पाइँदैन। अटोग्राफ लिएपछि त त्यो नोट मास्न मिल्दैन। साँचेर राख्नुपर्यो।
लाज मान्दै उनलाई दसको नोट दिएँ। उनले छेउबाट एक व्यक्तिसँग कलम लिए र 'विथ लभ राजेश हमाल' र फोन नम्बर राखेर हस्ताक्षर गरे।
'ल थ्याकं यु भाइ, रमाइलो भो, नेपाली सिनेमा हेर्नुस्, पढ्न चाहिँ नछाड्नुस है' भन्दै फेरि कर्याप्पै हात मिलाए। मेरो बाँसुरीजस्तो हात भए पनि योपटक अलि दरोसँग मिलाएँ। उनले सोचे होलान्, मेरो हात के हो र, यसको हात पो फलामको जस्तो।
म भिडबाट हिँडे। भिडभाडमा कसैले छोयो वा कसैले निहुँ खोज्यो भने यही फलामको हातले ठाउँका ठाउँ ढाल्छु। राजेश हमालसँग मिलाएको हात पो हो त!
राजेश हमालसँग भेटेपछि मलाई याद आयो, स्कुलमा म अलिअलि नाचगान र नाटक गर्थेँ। एक्कासि हिरो बनेको सपना देखेँ।
दसैंतिहारमा गाउँमा नाटक देखाउँथ्यौ। नाच्थ्यौं। तर द्वन्द्वकाल सुरू भएकाले गाउँतिर नाटक देखाउन नपाइने भयो। देउसी रोकियो। सिनेमा हल चल्न छाडे। बन्द हुँदै गए। तर हिरो हुने सपना फेरिएन।
बालाई सिनेमा सम्बन्धी पढेर हिरो हुन्छु भनेँ।
बाले खुरू खुरू पढेर राम्रो जागिर नखाएर केको हिरो हुने भन्नुभयो। गाउँघरमा बाहुन-क्षेत्रीहरूले नाचगान गरेको राम्रो मान्दैन थिए। समाज र समय त हो।
मैले हिरो बन्ने सपना छाडेँ।
पढाइसँगै जागिर थियो नै। पैसा हुँदै गएपछि साथीभाइ बढे, खराब बानी पनि। खराब बानीले पढाइ बिगार्यो। जेनतेन स्नातकोत्तर सकेँ।
दुई वर्ष भएको थियो जागिर खाएको। एकदिन मैले कलेजमा सँगै पढेकी केटी साथीलाई बिहेको प्रस्ताव गरेँ। उनले स्वीकार गरिन्। घरपरिवार सल्लाह भयो। साथीभाइको नजरमा हाम्रो प्रेम विवाह भयो, परिवारको नजरमा मागी। हाम्रो सम्बन्ध हुनुमा हाम्रा साथीहरूको पनि ठूलो हात छ।
बिहेपछि जिम्मेवारी बढ्यो। श्रीमती जागिर खान्थिन्। मैले सानोतिनो व्यापार गरेँ। सोचेजस्तो भएन। दुवैले स्नातकोत्तर गरेकाले विदेश जाने सोच आयो। घरपरिवारमा सल्लाह मिल्यो अनि हामी विदेसियौं।
विदेश पुगे पनि म साथीभाइ, समाज भनेर दौडिरहेँ। फुर्सदमा केही गरौंझैं लाग्थ्यो। कहिले सिनेमा देखाइन्थ्यो त कहिले कन्सर्ट। 'लूट' फिल्म हेरेपछि फेरि सिनेमा खेल्ने रहर लागेको थियो।
अहिले म डेनमार्कको कोपनेहगनमा म बस्छु। यहाँ सथीभाइ र सम्बन्ध बढ्दै गए। दस वर्षअगाडि मैले बाआमालाई युरोप घुम्न बोलाएँ।
फ्रान्सको आइफल टावर घुम्दा आमाले बालाई भन्नुभयो- बिस्कुन मात्र कुरेर बस्छ कि भन्या छोरो, आज संसार घुम्ने भो! आज यसले गर्दा सात समुद्रपारि आइयो!
बालाई पनि गर्व भयो होला। ढाका टोपी मिलाएजस्तो गर्नुभयो।
आमालाई मैले भनेँ, 'आमा म तपाईंहरूलाई तीर्थधर्म लान नसकूँला। मठमन्दिर घुमाउन नसकूँला। तर आएका बेला तपाईंलाई यही आइफल टावर वरिपरि बोकेर घुमाउँछु। यही मेरो धर्म भयो।'
मेरो कुराले आमा भावुक हुनुभयो। आखाँभरि आँसु पार्नुभयो।
बाले 'हावाले आँखा चिसो भयो' भन्दै आँखा पुछ्नुभयो। मैले पनि चस्मा लगाएँ। छेउमा भएकी मेरी श्रीमती पनि केही बोलिनन्।
स्कुल पढुन्जेल बासँग औधि डर लाग्थ्यो। अलि हुर्केपछि सहर छिरियो। पछि विदेश। बाआमा सँग समय बिताउनै पाएको रहेनछु। तीन महिना युरोपमा बाआमासँग बस्दा थाहा भयो, जीवनमा धेरै कुरा गुमाएको रहेछु।
२०७२ सालमा भुइँचालो जाँदा म नेपालमै थिएँ। सिनेमा बनाउँछु भनेर नेपाल पुगेको एक हप्तापछि भुइचालो आयो। भुइँचालोले सिनेमा हल मात्र भत्काएन, मेरो मन पनि भत्कायो। सिनेमा बनाउने सपना रोकियो।
तीन-चार वर्षपछि फेरि बजार तात्यो। म पनि तातेँ। तर काम गर्न सकिएन। बा बिरामी पर्नुभयो। म बालाई भेटेर दसैं मानेर फर्किएँ। बालाई क्यान्सर भयो। थप उपचारका लागि दाइले भारत लानुभयो। बा निको हुनुभयो। म फेरि बालाई भेट्न आएँ।
दुई वर्षपछि बा फेरि बिरामी हुनुभयो। बाको क्यान्सर कलेजोमा सरेर ड्यामेज भएछ। ठूलो दाजुले मलाई बोलाउनुभयो। म सपरिवार डेनमार्कबाट नेपाल आउने तयारीमा लागेँ।
कोरोनाकाल थियो। टिकट मिलाउँदा र कोरोना परीक्षण गर्दा दुई दिन लाग्यो। त्यो बीचमा बासँग धेरै कुरा भयो।
बाले 'ठिक छ, अहिले आउनुपर्दैन, मलाई ठिक छ' भन्नुभयो।
यताबाट हिँड्ने अघिल्लो दिन। बासँग बोलेँ। म आउँदैछु भनेँ।
बाले भन्नुभयो, 'मलाई के भा छ र आत्तिएर आउन? तँलाई दुःख दिएछन् यताकाले। बुहारीलाई कोरोना लाग्या भन्थिस्। किन आउनु? नातिनीको पढाइ छुट्ला।'
त्यति बेला मेरो श्रीमतीलाई कोरोना भएको थियो। चौध-पन्ध्र दिन जति भएको थियो होला। रिपोर्ट नेगेटिभ आयो।
बाले त्यो दिन भन्नुभएको थियो, 'आजको भोलि त मर्दिनँ म। किन आत्तिएर आउनु! त्यति लामो बाटो। तँलाई दुःख दिएछन्। लु आउने नै भए राम्रोसँग आइज।'
बाको त्यो वाक्य नै अन्तिम थियो।
भोलिपल्ट म प्लेन चढेर उड्ने दिन बा बित्नुभयो। प्लेनभित्र छिरेपछि थाहा पाएँ।
बाको अगाडि उभिएर 'बा म आएँ' भन्ने अवसर संधैका लागि गुमाएँ।
यात्रामा सपना देखेँ।
म सानो छु। अँगेनाको छेउमा आगो तापेर बसेको छु। बा बाहिर दलानमा हुनुहुन्छ कुर्सीमाथि। बा चुरोट सल्काउन आगो माग्दै हुनुहुन्छ। म दौडिएर अगुल्टो लिएर आउँछु। अगुल्टो देखेर बा तर्सिनुहुन्छ।
'के गर्छ यो, मलाई नै आगो लाउँछस् कि के हो!'
म झसंग भएँ। सपनाबाट ब्युँझे।
आर्यघाटमा बा चितामाथि सुतिरहनुभएको छ।
कसैले बोलायो, 'कान्छा, बालाई दागबत्ती दे।'
साँच्चै बालाई आगो लाउनुपर्यो। ह्वारह्वार आगो बल्यो। बालाई पोलेन। आइया-आत्था केही भन्नुभएन।
मलाई भने बेस्सरी पोल्यो। ठूलो स्वरले कराएँ, बा!
आज पनि बा सम्झेर कराउँछु। बा अगाडि हुनुहुन्छ। हेर्नु मात्र हुन्छ। म तड्पिन्छु। उफ्रिन्छु। टोलाउँछु। बा बाहिर निस्किन सक्नु हुन्न। बालाई मैले नै सिँगारिएको सिसाको जेलमा थुनेर राखेजस्तो भएको छ।
मैले बा गुमाएको साढे दुई वर्ष पूरा भयो। बा गुमाएपछि उहाँसग बिताएका दिनहरू सम्झिन्छु।
मैले बासँग धेरै कुरामा असहमति जनाएको छु। कति विषयमा फरक मत राख्दा बा र मेरो दुई-चार दिन बोलचाल पनि भएन। त्यस्तोमा मै बा भन्दै पाउ पर्थेँ। बाको पाउँ छुदा न मलाई लज्जाबोध हुन्थ्यो, न बामा घमन्ड थियो।
मेरो एक्लोपनको सहारा पुस्तक भयो। म पुस्तकसँग भुल्न थालेँ। गफिन थालेँ। आफ्ना सुखदु:खका भावना लेख्न पनि थालेँ। सिनेमामा रमाउन थालेँ।
साढे दुई वर्षमा करिब एक सय दसवटा किताब पढेछु। सत्तरी वटा जति सिनेमा हेरेछु। सोह्रवटा लेख लेखेछु। तीन पटक नेपाल गएछु। परिवारका साथ पाँचवटा युरोपेली मुलुक घुमेछु।
भर्खरै बुद्धिसागरको 'एक्लो' पढेँ। पात्रको नाम नील रहेछ। मन फुरूंग भयो। मनमनै लेखक बुद्धिसागरलाई धन्यवाद भनेँ। पुस्तकको नाम एक्लो भएर के भयो र, ऊ एक्लो भएन। मैले एक्लो हुन दिइनँ।
अहिले म एक्लोसँग कयौं पुस्तक छन् जो एक्लो हुन चाहँदैनन्। म एक्लो हुन चाहन्नँ।
'म समाजको एक पात्र हुँ तर समाज पूरै मेरो होइन। अलिअलि पुस्तक पढेँ होला, समाज पढ्न बाँकी नै छ.' डा. नवराज केसीले आफ्नो किताब 'शून्यको मूल्य' मा लेखेका यी हरफ सम्झेँ।
मलाई अहिले त्यही लाग्छ, मैले समाज पढ्न बाँकी नै छ। जीवन पढ्न बाँकी छ। सबभन्दा ठूलो कुरो मान्छे हुन बाँकी छ। अझ महत्वपूर्ण कुरा, असल मान्छे हुन बाँकी छ।
हेर्दा संसार रित्तो लाग्छ।
तर बुद्धिसागरले भने झैं म रित्तो हुने छैन।
कथाहरू बोकेर हिँडेको मानिस कहिल्यै रित्तो हुँदैन...।
बाका कथाहरू बोकेर हिँडेको मानिस कहिल्यै रित्तो हुँदैन।
बा! म रित्तो छैन!