गएको शनिबार बिहान निजामती सेवामा नीतिगत तहमा कार्यरत एकजना मित्रसँग भेट भयो। म २०७३ सालमा निजामती सेवाबाट अलग भएपछि मेरो उहाँसँग भेट भएको थिएन।
करिब सात वर्षपछि भेट भएकाले हामी एकछिन भलाकुसारी गर्ने अभिप्रायले तीनकुनेको एउटा चिया पसलमा पस्यौँ। थोरै चिनी भएको चिया अनुरोध गर्दै हामी झ्यालको छेउमा बस्यौँ।
कुराको थालनी गर्दै मैले कुन अफिसमा हुनुहुन्छ, कसरी बित्दै छ जिन्दगी भनेर सोधेँ। उहाँले बडो ठट्यौली पाराले भन्नुभयो, ‘तपाईंलाई थाहा नै भएको हो नि बलराम जी, एउटा कर्मचारीको जीन्दगी कसरी बित्छ भनेर।
बिहान ५ बजे उठ्छु र एक घण्टा हिँड्छु। बाउ बाजेले खेतबारी, वनपाखामा परिश्रम गर्थे शरीर तन्दुरुस्त हुन्थ्यो। तर हामीलाई शारीरिक व्यायाम पुग्दैन अनि बिहान नहिंडी भएन। घर फर्किएपछि नित्य कर्म गर्ने, एकछिन फेसबुकमा झुन्डिने अनि खाना खाएर अफिस जाने।’
हाम्रो चिया पनि आइपुग्यो। चियाको चुस्की लिँदै साथीले अफिसमा गर्ने नियमित कार्य पनि बताउन थाले।
‘अफिस ठिक समयमा पुग्छु। दिनभरिमा केही थान पत्रहरू र टिप्पणीहरूमा सही गर्छु। कुनै दिन सरकारी बैठक छलफलमा पनि भाग लिनुपर्छ।
ती बैठक र छलफलहरूमा सुशासन, छिटो छरितो र चुस्त सार्वजनिक सेवा प्रवाह, सरकारी काम कारबाहीको प्रभावकारीता कसरी बढाउने आदि छलफल हुन्छन्। बैठक सकिन्छ, एउटा खाम बुझ्छु र फर्कन्छु। थाहा छैन मैले गरेका ती छलफलका निष्कर्षहरू कति लागु हुन्छन्।
कहिलेकाहीँ बाहिरका कार्यक्रमहरूमा प्रमुख अतिथि भएर जान्छु। अर्ति उपदेशयुक्त भाषण गर्छु र अरुका कुरा नसुनी हतार छ भनेर अफिसतिर लाग्छु।
अफिसमा पनि कहिले मन्त्रीले बोलाउँछन्, कहिले मुख्य सचिवले। अनि यसो-यसो गर्नू भनेर फर्मान जारी गर्छन्। राय बजाउन सकिँदैन्, नियममा यस्तो छ। यो त हुँदैन हजुर भनेर भन्न पनि सकिँदैन् आफ्नै विवेकलाई बन्दगी राख्यो, हस् हजुर भन्यो फर्कियो। यसरी नै दिन बितेका छन् बलराम जी मेरा त।’
एकछिन हामी दुवै चुप रह्यौं। उहाँले मलाई तपाईंको जिन्दगी कसरी चल्दै छ नि भनेर सोध्नुहोला भन्ने लागेको थियो। तर सोध्नु भएन। अनि मैले नै उहाँलाई सोधेँ- ‘साँझमा केही गर्नुहुन्छ कि? पहिले त कतै पढाए जस्तो लाग्थ्यो।’
उहाँले टाउको हल्लाउँदै भन्नुभयो, ‘हो केही वर्ष अगाडिसम्म पढाउँथें। अहिले सबै छोडेँ। साँझमा के गर्नु अफिसमा आएका पत्रिका पढ्न भ्याउन्न। मुख्य-मुख्य पत्रिका घरमै बोकेर ल्याउँछु। ती पत्रिकाका मुख्य समचार पढ्दै खाजा खान्छु र चिया पिउँछु।
यसो गर्दा नगर्दा श्रीमतीले खाना पाक्यो भन्छिन्, खाना खान्छु। केही क्षण टिभी हेर्छु। तर आकाश पाताल जोड्ने नेताका कुरा सुन्दा दिक्क लाग्छ अनि टिभी बन्द गर्छु र सुत्ने तरखरमा लाग्छु।
बिहानदेखि बेलुकासम्म चाहिने नचाहिने फोन आउँछन्। तिनको जवाफ दिन्छु। बस् यसैगरी चल्दैछ जीवन बलराम जी।’
उहाँले जीवनको निष्कर्ष भने बडो उदास, बैराग्य र निराशापूर्ण किसिमको सुनाउनु भयो।
‘निचोडमा भन्दा बलराम जी मैले त खान, सही गर्न र सुत्न मात्र जन्म लिएको रहेछु कि के हो भने जस्तो लाग्छ। यही सम्झेर अचेलभरि जीवनदेखि नै वाक्क लाग्न थालेको छ’ भनेर खुईय गर्नुभयो।
यति बोल्दै गर्दा उहाँको फोन आयो। सायद आफूभन्दा माथिको हाकिमको होला जस्तो लाग्यो।
उहाँको उत्तर थियो- ‘हस् सर, म एकछिनमा आउँछु।’
फोन राख्दै भन्नुभयो- ‘हेर्नुस् त कति पछि भेट भएको, मजाले गफ गरौंला भनेको आज बिदाको दिन समेत अफिस जानपर्ने भयो। आफ्नो मात्र कुरा गरेँ, तपाईंको दैनिकी कसरी चल्दै छ, अर्को दिन गफ गरौँला। आज छुटौं है!’
हामी छुट्टियौँ तर म उहाँसँगको गफको सन्दर्भबाट छुट्टिन सकिनँ। उहाँको आफ्नो जीवन सम्बन्धी निष्कर्षले मलाई पछ्याइरह्यो। म त खान, सही गर्न र सुत्न मात्र जन्मेको हो कि भन्ने उहाँको भनाइले मलाई कता-कता छोयो।
विगत सम्झँदै गर्दा एकजना सचिव शिक्षा मन्त्रालयबाट अर्को मन्त्रालयमा सरुवा भएपछि बिदाइ हुने क्रममा उहाँले व्यक्त गर्नुभएको केही वाक्य सम्झना आयो। उहाँको अनुभूति थियो कि जति-जति माथिल्लो पदमा पदोन्नति हुँदै गइयो, त्यति-त्यति आत्मा र विवेकलाई बन्दकी राख्दै गइयो। यहाँसम्म आइपुग्दा लाग्दैछ ‘हस् हजुर, हुन्छ, गर्छु, भैहाल्छ नि, मिलाउँछु नि हजुर’ भन्दा-भन्दा मैले मेरो आफ्नोपन सबै गुमाइसकेको छु।
मलाई लाग्यो सायद मेरो मित्रलाइ पनि यस्तै भएर जिन्दगीदेखि वाक्क लागेको हुनसक्छ।
मैले पनि करिब २३ वर्ष सरकारी सेवा गरें। मेरा मनमा अनेक कुरा खेल्न थाले, दिमाग मथलियो। के मैले २३ वर्ष खेर फालेको हुँ? खाने, सही गर्ने र सुत्ने गरेर मात्र बिताएँ २३ वर्ष मैले?
अनि कल्पना गर्न थालेँ कि म निजामती सेवामा नगएर अरु काम गरेको भए के हुन्थ्यो होला।
जागिर नखाएर राजनीति गरेर नेता भएको भए देशको सेवा बढी गर्न सकिन्थ्यो कि भन्ने पनि लाग्यो। तर आजका नेताले जनता झुम्याएको, ठूला-ठूला भाषण गरेर काम सिन्को नभाँचेको, सन्त महासन्तको जस्तो अर्ति उपदेश दिएर अदृष्य रुपमा अकुत सम्पत्ति जोडेको देख्दा राजनीतिमा नलागेर ठिकै गरिएछ भन्ने पनि लाग्यो।
भ्रष्टाचारी, व्यभिचारी, उडन्ते र काल्पनिक गफ गर्नेहरूले राजनीति कब्जा गरेको देख्दा यो क्षेत्रबाट बेलैमा पलाएन भएकोमा भित्रभित्रै खुसी पनि लाग्यो।
होइन! कर्मचारी नभएर ठेक्का पट्टा गरेको भए गजबले पैसा कमाइने रहेछ। नेताहरूलाई गोजीमा राख्ने हैसियत बन्दो रहेछ। अनि पार्टीलाई वा मुख्य नेताहरूलाई पैसा बुझाएर राजदूत, संवैधानिक निकायमा नियुक्ति, माननीय, मन्त्री पाइहालिने रहेछ भन्ने पनि लाग्यो।
तर अर्को मनले भन्यो, ठेकेदार नभएर ठिक गरिस्। ठेक्का पार्ने, काम नगर्ने, गरेको काम पनि गुणस्तरीय नगर्ने, नेता र कर्मचारीको आडमा सर्वसाधारणलाई वषौंवर्ष दुःख दिएर सडक, पुल, खानेपानी आदिको निर्माण अलपत्र पार्ने कामले मलाई आत्मासन्तुष्टि हुँदैन थियो। ठेकेदार नभएकोमा ठिक गरेछु भन्ने लाग्यो।
होइन उद्योग, व्यापार, व्यावसाय गरेको भए हुन्थ्यो नि भन्ने पनि लाग्यो। चुनावको बेला सहयोग गर्ने फेरि समानुपातिक सांसद, मन्त्री भैहालिन्थ्यो। जागिर खाएर ऊर्जावान समय सधैँ अरुको दास जस्तो भएर किन बिताएको होला भन्ने लाग्यो। अर्को मनले भन्यो न उद्योग व्यापार गर्ने पुर्ख्यौली अनुभव थियो न लगानी गर्ने सम्पत्ति। सोचेँ, बैंकसँग ऋण लिएर गर्न पनि त सकिन्थ्यो नि।
तर एक करोड नजाने गाउँका डाँडाहरू धितो राखेर पचासौँ करोड ऋण लिने अनि बैंकले तिर्न ताकेता गर्यो भने उद्योग व्यापार चौपट छ, तिर्न सक्दिनँ भन्ने काम गर्न सक्दैनथिस् नि तँ। त्यसैले उद्योग व्यापार नगरेर ठिकै गरिस् भन्यो अन्तरमनले।
अनि फेरि लाग्यो योग्यता, ज्ञान, सिप केही नचाहिने, लगानी गर्न पनि नपर्ने, मध्यस्तकर्ता (दलाली वा बिचौलिया) हुने काम गरेको भए हुने रहेछ। भुटानी शरणार्थीमा बिचौलीयाको धन्दा देख्दा गज्जव लाग्यो। कति शक्तिशाली छन् बिचौलिया।
यती, ओम्नी, बालुवाटरको जग्गा बिक्री, गोकर्ण फरेस्ट भाडा, वाइडबडी, ३० किलो सुन, कोरोनाको महामारीमा स्वास्थ्य सामग्री खरिद आदि सबै प्रक्रियामा बिचौलियाहरूले अकुत कमाए। यिनीहरूलाई अहिले नेताहरूले बर्कोले छोपेर राखेका छन्। पैसा भएपछि नेताहरू रिझाउन पनि सकिने, केही परिहाल्यो भने नेताहरू नै भए भरको बल लगाएर बचाउन लाग्ने यही पेसा अँगालेको भए हुने रहेछ भन्ने पनि लाग्यो।
फेरि अर्को मनले भन्यो कि एक दिन सुशासनको हिमायती, भ्रष्टाचारप्रति व्यवहारमै शून्य सहनशीलता भएको दल वा नेताले देशको नेतृत्व गर्यो भने सोच्दै नसोचेको अँध्यारो कोठरीमा पुग्नु परिहाल्छ नि। त्यसैले यो पेसामा हात नहालेको पनि ठिकै लाग्यो।
म करिब ५ वर्ष माध्यामिक विद्यालयको प्रधानाध्यापक भएँ। कक्षा ६ देखि १० सम्म पढाउँथें। बेलाबेलामा तलका कक्षाहरूमा पस्थेँ। कति रमाइलो थियो त्यो जिन्दगी। सबैले सम्मान गर्ने, आफूले जानेको ज्ञान बाड्न पाइने, बुढो भएपछि पनि जताततै आफ्नै चेलाहरूले नेतृत्व गरेको देख्न पाइने, साँच्चै गौरव गर्न लायक छ शिक्षण पेसा। लोक सेवा पास गरेर निजामती सेवामा प्रवेश गर्नु त के-के न हो भनेर शिक्षण पेसा छोडेकोमा भने कता-कता पश्चाताप छ अहिले।
मलाई विद्यालयदेखि विश्वविद्यालयसम्म शिक्षा प्रदान गर्ने दर्जनौं गुरुहरू, अझ मैले एमफिल र विद्यावारिधि गर्दा मेरो सोध निर्देशकको भूमिका निर्वाह गर्ने प्राध्यापकहरू क्रमशः डा. टंकनाथ शर्मा र डा. वासुदेव काफ्लेप्रति ममा जाग्ने सम्मानले मैले पनि शिक्षण पेसा नै अंगालेको भए मलाई पनि यसैगरी सम्मान र सद्भाव राख्ने चेलाहरू थुप्रै हुन्थे होलान नि भन्ने लाग्छ अहिले।
हत्तेरिका म कस्तो बहकिएछु! देशमा विपी कोइराला शुशिल कोइराला, मनमोहन अधिकारी, भिमबहादुर तमाङ जस्ता निष्कलङ्क र सादगी नेताहरू पनि त थिए। राजनीति गरेको भए उहाँहरूकै पद पछ्याउन सकिन्थ्यो कि के थाह। सबै नेताहरू बदमास त छैनन् नि।
त्यस्तै ठेक्का पट्टा गर्ने, उद्योग व्यावसाय चलाउनेहरू इमान्दार पनि छन्। राज्यलाई नठगी आम्दानी अनुसारको कर तिर्ने पनि त छन् यो वर्गमा। सबैलाई एउटै डालोमा राख्नु हुँदैन नि भन्यो मेरो मनले।
तर के गर्ने व्यभिचारीहरू, भ्रष्टाचारीहरू, कुशासनको नेतृत्व गर्नेहरू जताततै भएपछि ती समूहमा भएका सादगी, इमान्दार र निष्कलङ्क व्यक्तिहरू समुन्द्रमा खहरे हराए झैं हराउँदा रहेछन्।
यस्तै-यस्तै कुराहरू खेलाउँदै म घर पुगें। घरमा बिहानको खाना पाकिसकेको थियो। ८६ वर्षकी आमा मलाई पर्खेर खाना नखाई बस्नु भएको रहेछ। प्रायः आमा र म सँगै खान्छौं। त्यो दिन पनि सँगै खाएँ। तर मलाई भने साथीको त्यो निष्कर्ष ‘म त खान, सही गर्न र सुत्न मात्र जन्मेको रहेछु कि क्या हो बलराम जी!’ भन्ने भनाइले लखेटिरहेको थियो।
मलाई मेरा ती जागिरे दिनहरू झलझल्ती याद आए। इमान्दार राष्ट्रसेवक हुने लालचमा न म दाजुभाइ, इष्टमित्र, छरछिमेकीको बिहे व्रतबन्धमा सरिक हुन सकेँ, न आफन्तहरूको निधनमा मलामी नै। मलाई सधैं-सधैं कार्यालयकै कामले पिरल्यो। मेरो लागि आफन्त, कुल कुटुम्ब सबै-सबै अफिसका फाइलहरू र सेवाग्राही नेपाली दाजुभाइ, दिदी-बहिनीहरू भए।
गाउँमा कुलपूजा हुन्थ्यो, म जान भ्याउँदैन थिएँ। गाउँका विद्यालय, क्लब, सहकारीहरू, सामाजिक संस्थाहरू मलाई निमन्त्रणा गर्थे तर म समय निकाल्न सक्दैनथेँ। आखिर कर्मचारीले बिदा लिन पनि त पाउँथ्यो। मेरो बिदा सधैँ खेर जान्थ्यो। मलाई लाग्थ्यो म एकदिन अफिस गइनँ भने जहाज डुब्छ। मजस्ता थुप्रै साथीहरू छन् निजामति सेवामा।
आज मलाई लाग्दै छ, यी सबै-सबै मिथ्या र भ्रम रहेछ। साथीको निष्कर्षले मलाई मेरो बितेको जीवन र कर्म कता-कता, के-के अपूरो, निरस र वैराग्यपूर्ण पो रहेछ कि भन्ने लागिरहेको छ। तर पनि आफूले निजामती प्रसाशनमा रहँदा निस्वार्थ र इमान्दार साथ काम गरेकोले खासै पश्चाताप भने छैन मलाई।
तर फेरि सम्झन्छु एकथरी मान्छेहरू ५८ वर्षसम्म चाकडी, चाप्लुसी र के गर्दा आफ्नो भलो हुने हो त्यही मात्र गरेर जागिर सकिँदा पनि नपुगेर राजदूत, संवैधानिक निकाय वा अन्य राजनीतिक नियुक्ति पाउन दौडधूप गरिरहन्छन्। खै कहिले गर्ने होला सामाजिक, धार्मिक वा प्राज्ञिक क्षेत्रमा निस्वार्थ योगदान यिनीहरूले? अनि यी वरिष्ठहरूले कहिले तिर्ने होला आफू जन्मेको, हुर्केको र शिक्षा लिएको गाउँको ऋण?
महाभारतमा एउटा जवरजस्त दर्शन के छ भने मृत्यु शाश्वत सत्य हो र प्रत्येक कर्ममा यो अनुभूति गर्नुपर्छ। साँच्चै भन्दा मृत्युलाई मित्रको रुपमा लिनु पर्दछ भन्छ महाभारतको दर्शनले। यो आत्मानुभूति महाभारतका मुख्य पात्रहरूमा भएको देखिन्छ।
यदि हामीले यो दर्शनलाई आत्मसाथ गर्ने हो भने मेरा मित्र बैराग्यको जस्तो कोही पनि बैरागिनु पनि पर्दैन र सधैँ-सधैँ सरकारी सुखभोगमै रमाउनु पर्छ भनेर मरिहत्ते पनि गर्नुपर्दैन। आखिर सबैले रित्तो हात जाने त हो।