साउनको अन्तिमतिर घर जाने निधो गरेर कलंकीबाट ८ बजेतिर गाडी चढें।
जाँदाजाँदै बाटामा झण्डै ३–४ घण्टा जाममा फसियो। बादल लागेर पानी पर्लाजस्तो भएको थियो।
ड्राइभर दाइ भन्दै थिए, ‘पानी पर्यो भने बाटो भर्खर खनेको छ गाडी माथि जान सक्दैन। गाउँ आउँदा नआउँदै पानी परिहाल्यो। वेशी आएपछि गाडी रोकियो अब भने गाडी माथि पक्कै नजाने भयो गुरूजीले गाडीछेउ लाएर राखे।
मेलै झोला गाडीबाट निकालें र अल्छी मानी मानी उकालो लागें। अलिकति माथि पुगेपछि आफ्नै बुवाको साथी भेट हुनुभयो।
मलाई एक्लै हिँड्न अल्छी लागिरहेको थियो। साथी पाएकोमा खुसी लाग्यो। वास्तवमा पैदल यात्रामा साथी हुनु र नहुनुमा धेरै फरक पर्ने रहेछ।
‘बा नमस्कार’ कता पुगेर आउनु भयो?’
‘बाबु म पारितिर गएर आएको थियाँ’ गाडीमा जाम्ला भनेको पानी परिहाल्यो अनि गाडी नजाला भनेर विस्तारै उकालो लागेको। बाबु कताबाट आयौ ?’
‘म काठमाडौंबाट आएको बा। पहिला यही बाटो गाम-बेसी भारीका भारी सामान बोकेर कति हिँडियो कति। पहिले जता गए पनि हिँडेरै त हो हप्ता महिना दिनसम्म हिँडिन्थ्यो। अहिले रित्तै हिँड्न पनि यति गाह्रो।’
‘हाम्रो पालामा यस्तो सुविधा कहाँ थियो र? अहिले घर-घरै गाडी जाँदा पनि पुगेको छैन।’
‘अनि बा दाइहरू कता हुनुहुन्छ?’
‘जेठो उहिल्यै बाहिरतिर गएको थियो। उतै बिहे गर्यो, दुई नातिनिहरू छन्। बाहिर बसेर मात्रै हुँदैन नेपालमा पनि केही जोड्नु पर्छ भन्दाभन्दै बल्ल काठमाडौंमा जग्गा किनेर घर बनायो। अब त नेपाल आउने जाने गर्छ कि ! कान्छो यतै स्कुलमा पढाउँदै बाहिर जाने तयारी गर्दै थियो। अहिले पढाउन छाडेर बाहिर जान्छु भन्दै काठमाडौंतिर बसेको ६–७ महिना भयो, सबै प्रक्रिया पूरा गरिसक्यो रे, दुःख गरेर छोराछोरी हुर्कायो, बढायो, पढायो अन्तमा घरमा कोही नहुने भए नेपालमा बुढाबुढी मात्रै।’
विस्तारै कुरा गर्दै हिँड्दै माथि एउटा चौतारा आइपुगियो। सिररर हावा आएर होला सारै आनन्दको महसुस भइरहेको थियो। अलिअलि पसिना पुछ्दै थिए बुढा बा। टाढा पारितिर बत्ती बालेको देखिन्थ्यो।
सायद अब त लाइट नबाली बाटो पनि देखिँदैन होला।
‘पहिला वरपिपल लगाएर चौतारो बनाउँदा धेरै धर्म हुन्छ भन्थे र पो सबै जसोले कतै न कतै वरपिपल लगाउँथे। अहिले वर पिपल र अरू रूख उस्तै त हो भन्छन् रोप्न त जहाँसुकै जाओस्। पहिला रोपेको पनि सत्यानास बनाउँछन्, अब त अलिअलि मात्रै बाँकी होला। ल हेर त बाबु वरपिपलको रूखमुनि बस्न कस्तो आनन्द आउँछ अरूमा भएको भए यस्तो आनन्द आउँथ्यो? पहिला पहिला भारी बोकेर हिँड्दा कहिले चौतारी आउला र थकाइ मारूँलाजस्तो लाग्थ्यो। चौतारीमा भारी बिसाएर थकाइ मार्दा अघिका सबै दुःख बिर्सिन्थ्यो। अहिले त भारी बोक्ने जमानै हराइसक्यो। बाबु जाम घरमा बुढी एक्लै छे ढिलो भइसक्यो आत्तिन्छे होला।
पहिला यसरी जताततै गाडी कहाँ आउँथ्यो र। काठमाडौं पुगेर आउँदा काँ–काँ न पुगेर आएजस्तो हुन्थ्यो। नुन, मट्टितेल, मसला र लुगाफाटा लिन वर्षको १ पटक गाउँ भरका सबै मिलेर ६–७ दिन लगाएर गइन्थ्यो। गाडी हेर्नकै लागि भने पनि नसक्नेहरू पनि सामान लिन बजार जान्थे। फोनको त अत्तोपत्तै थिएन नेटको कुरै छाडूम्। पहिलो पटक फोनमा कुरा गर्दा लाज लागेर! अहिले घरमा नै बसेर आँखै अगाडि के/के देख्न पाइन्छ! पैसा भयो भने जहाँसुकै पनि छोटो समयमा नै पुगेर आउन पाइन्छ।
बिस्तारै उकालो लाग्दै, अरू त सबै ठीकै थियो तर सबै परिवार एकै ठाउँमा नहुँदा सारै नरमाइलो हुँदो रहेछ।
पहिले सबै जना एकै घरमा भइन्थ्यो उमेर पुगेका बुढाबुढीलाई नातिनातिना खेलाउन पाउँदा बुढो भएजस्तै लाग्दैन थियो। चाडबाडमा घरभरि मान्छे हुन्थे। सुत्ने बस्ने ठाउँ पुग्दैन थियो। छोरी बेटी भान्जा भान्जीले कहिल्यै चाडवाड टुटाउँदैनन् थिए। जसका घरमा हिँड्न नसक्ने बुढा–बुढी छन् उसका घरमा टाढा टाढाबाट भेट्नकै लागि मात्र पनि आइनै रहन्थे, बुढाबुढीबाट आशीर्वाद लिन्थे। नजानेका कुराहरू सोध्थे, दुःख सुखका गफ गर्थे जान्थे। हाम्रो पालाको समय नै अर्कै थियो नि बाबु।
दिनभरि यताउता गरिन्छ थाहा हुँदैन राति एक्लै हुँदा मन सारै दुख्छ। नेपालमा हुँदासम्म त कहिलेकाहीँ आउलान् भन्ने आश लाग्छ विदेशै गएपछि त त्यो आश पनि हराउँदो रैछ। बुढाबुढी बाचुञ्जेल त दुःख सुख बाँड्ने ठाउँ पाइन्छ त्यसपछि कहिले खुसी पाइएला र खै! अहिले सम्झिँदा मन दुखेर आउँछ। छोरा बुहारीले जे–जे गर्न मन लागे पनि गर्न दिएकै छन्। बेला मौकामा मजाले तीर्थ ब्रत पनि गरिएकै छ। जेठोले काठमाडौंमा घर बनाएपछि हामी पनि १५ दिन जति बसियो। त्योभन्दा अगाडि १ महिना जति अमेरिका बसिएको थियो। गाउँको घर कान्छा कान्छीले हेरे।
अमेरिकामा कति ठाउँ घुमियो कति खाइयो मन त घुमुन्जेल मात्रै हो खुसी हुने। नाति-नातिना खेलाउन सारै आनन्द आउँथ्यो तर बानी व्यहोरा केही नमिल्ने।
छोरा पनि उतै बस्दाबस्दै उतैको जस्तो भइसकेछ। अनि बस्नै मन लागेन र फर्कियौं।
छोरा–बुहारी छोरी सबैले सहरतिरै बोलाउँछन्, ज–जसकोमा बस्न मन लाग्छ बस्नुस् भन्छन नि। हाम्रो कुरा उनीहरूसँग मिल्दैन, उनीहरूको कुरा हामीसँग मिल्दैन। सबै चिज किनेरै खानुपर्ने त्यही पनि साजी खान पाइने होइन। छरछिमेकी पनि चिने पनि नचिने जस्तो गरेर हिँड्दा रहेछन्। गाउँमा त आफूले नचिने पनि चिच्याइ चिच्याइ बोलाउँछन्। पहिले सम्पत्ति भयो भने के के न हुन्छ जस्तो लाग्थ्यो अहिले केही होइन जस्तो लाग्न थालेको छ।’
वास्तवमा बाका कुरा सम्पूर्ण नेपालभरि छरिएका गाउँको कथा थियो। अहिले धेरै बा–आमाहरू एक्लिएका छन्, गाउँहरू उजाडिएका छन्। गाउँका घरहरू खाली छन्, मान्छे भए पनि युवा कोही छैन। मान्छे मर्यो मलामी जाने मान्छे खोज्नुपर्ने अवस्था छ। पहिला पकाउने कुरा नभएर समस्या थियो, अहिले पकाउने मान्छे नभएर समस्या छ।