फागुनको तेस्रो साता, काठमाडौंबाट लद्दाखका लागि दिल्ली हुँदै जाने हवाई टिकट काटिएको थियो। छ जनाको टोली दिल्ली पुग्दा रातको १० बज्यो।
पूर्व निर्धारित कार्यक्रमअनुसार बुक गरिएको होटलतिर लागियो। तर ट्याक्सीले होटल फेला पार्न सकेन। ठेगाना मिलेन भन्यो।
हामीसँग न फोन थियो, न इन्टरनेटको पहुँच। ट्याक्सी चालककै फोन प्रयोग गरेर पटक-पटक बुकिङ गरिएको नम्बरमा फोन गर्यौं। तर हामी त स्क्याममा परिसकेका रहेछौं।
बल्लबल्ल ट्याक्सी चालककै सहयोगमा नयाँ होटल खोजेर दुई कोठामा छ जनाले रात बितायौं। बिहानै हाम्रो यात्रा लेहका लागि थियो। हवाईजहाजको झ्यालबाटै हामीलाई लद्दाकी हिमालले उत्साह थप्दै थियो। हामी हिमाल माथिबाटै लेह प्रवेश गर्दैथ्यौं।
लद्दाख आफैंलाई पनि उच्च भन्ज्याङहरूको भूमि पनि भनिने रहेछ। सडक बाटो उच्च भन्ज्याङहरूमा परेको बाक्लो हिउँका कारण अझै बन्द नै छन्।
लद्दाखको लेह विमानस्थल एक सैनिक विमानस्थाल भएकाले विमान अवतरण हुने बेलादेखि नै फोटो भिडिओ खिच्न निषेधको सूचना जारी गरिएको थियो।
हिउँले पहाडको बीचमा फराकिलो विमानस्थल तर सैनिक विमानहरूले गर्दा युद्धका लागि तयार जस्तो लाग्ने। विमानस्थलमात्र होइन, पूरै लेह सहर नै सैनिक क्षेत्र जस्तो देखिने रहेछ, सैनिक र बख्तरबन्द सवारीको चहलपहलले।
लद्दाखको सीमावर्ती अवस्थाका कारण यो क्षेत्र रणनीतिक दृष्टिले निकै महत्वपूर्ण छ। लद्दाख भारतको उत्तरी दिशामा अवस्थित भारतको केन्द्र शासित प्रदेश हो र विगतमा यो कश्मीरको ठूलो क्षेत्रको एक हिस्सा थियो। यो पूर्वमा तिब्बतले घेरिएको र उत्तरमा काराकोरम पर्वत र दक्षिणमा हिमालय पर्वतहरू। दक्षिणमा मुख्य ग्रेट हिमालयसम्म फैलिएको छ। जुन पछ्याउँदै नेपालसम्म पुगिन्छ।
हामी चाहिं लेह विमानस्थलबाट ट्याक्सीमा चढेर फ्याङ गाउँतिर लाग्यौं। हाम्रो बसाइँको कुरा मैले अनलाइनबाट मिलाएको थिएँ तर डर लाग्दै थियो कतै दिल्लीको घटना दोहोरिने हो कि भनेर।
फागुन महिनामा लेह खैरो रंगको देखिएयो। बैँसका प्रजातिका रुखहरू ती पनि पात सबै झरेर बिजुलीका पोलहरू जस्तो देखिएका छेउका डाँडाहरूमा टन्न हिउँले छोपिएको। ट्याक्सीबाट सहर हेर्न खोज्दा खोज्दै हामी फार्म-स्टे पुग्यौं।
फराकिलो स्याउ बगैँचाको छेउमा चिटिक्क परेको ठूलो दुई घर। हामी ४ जना यही घरमा बास बस्ने भयौं। अन्य दुई साथीहरूका लागि १५ मिनेटमाथि अर्को घरको व्यवस्था गरिएको थियो।
आमाले मिठो भात नै खुवाउनु भयो, पहिलो दिन भएर। त्यसपछि हरेक दिन स्थानीय परिकार मात्र खान पाइयो। फर्किने बिहान फेरि मैले भात नै खाउँ भने।
आमा र बाबा मिलेर दिगो र प्राकृतिक जीवनयापन बिताइरहेका छन्। फलफूलको खेती छ। विशेष गरी स्याउ र खुर्पानी। खुर्पानीको जाम र खुर्पानीको दानाको तेलसम्म निकालेर राखेका।
हाम्रो भ्रमण आइस स्तूपको बारेमा सिक्नमा बढी केन्द्रित थियो। जसलाई कृत्रिम हिमनदी वा बरफ पिरामिड पनि भनिन्छ, मानिसहरूले बनाएको बरफ संरचनाहरू हुन् जुन पानीको अभाव भएका क्षेत्रमा पानी भण्डारण गर्न प्रयोग गरिन्छ। तर त्यो हेर्न उकालो लाग्न पहिला यताको हावापानीमा घुलमिल हुनपर्यो।
सोनम वाङचुक र टोलीद्वारा स्थापित सिकमोल स्कुल जाने मौका पायौं। जसले शिक्षामा विद्यार्थी केन्द्रित दृष्टिकोण प्रयोग गरी लद्दाखी संस्कृति, दिगो जीवन, र सामाजिक उद्यमशीलता जस्ता विषयहरू सिकाउँछ।
सोनम वाङचुक लद्दाखका एक आविष्कारक र शिक्षा सुधारवादी हुन् जसले यस क्षेत्रको दिगो विकास र शिक्षामा महत्त्वपूर्ण योगदान दिएका छन्। वाङचुक सामाजिक उद्यमशीलताका बलियो अधिवक्ता हुन्, जसले आर्थिक अवसरहरू सिर्जना गर्दै सामाजिक र वातावरणीय समस्याहरूलाई सम्बोधन गर्न मद्दत गर्न सक्ने उनको विश्वास छ।
उनले हिमालयन इन्स्टिच्युट अफ अल्टरनेटिभ लद्दाख पनि स्थापना गरेका छन, जसले सामाजिक उद्यमशीलता र दिगो विकासमा तालिम प्रदान गर्दछ।
यही इन्स्टिच्युटमा हाम्रो भेट आङ्चुक नुर्बुसँग भयो। चिनको सीमा नजिक चुसालका नुर्बु लेह आएर सिकमोल स्कुलमा बसे, केही काम सिके। सन् २०१५ देखि आइस स्तुपा बानाउने र सिकाउने काममा लागिपरेका छन्।
हामी लेह सहरबाट ५० किलोमिटर उत्तरमा रहेको कुलुम गाउँतिर लाग्यौं। कुलुम कुनै समय एउटा सम्पन्न गाउँ थियो जहाँका बासिन्दाहरू आफ्नो जीविकोपार्जनका लागि कृषि र पशुपालनमा निर्भर थिए। पिउने पानीको अभावका कारण सन् २०१० पछि गाउँलेहरू नजिकैको गाउँ उपशी सर्न बाध्य भए। कुनै समय ११ घर परिवार रहेको यो गाउँमा अब चार परिवार मात्र बाँकी छ।
खेतीपाती अब गाउँलेहरूका लागि उपयुक्त विकल्प नभएकाले उनीहरू या त दैनिक ज्यालादारीमा काम गर्छन्।
कुलुमका कुन्जाङ नामग्यालले केही महिनादेखि बस्तीभन्दा दुई घण्टामाथि रहेको पानीको मुहानमा कृत्रिम हिमनदी बनाउन लागिपरेका छन्।
उनले मलाई भने- ‘हामी सिँचाइ, पिउने र अन्य कामका लागि मुहानको पानीमा निर्भर छौं। पानीका खोला र मुहानहरू सुक्न थालेपछि हामीले सन् २०१० देखि चर्को पानी सङ्कटको सामना गरिरहेका छौं। सिँचाइका लागि पानी नहुँदा पूर्खाको खेतीयोग्य जमिन छाड्न बाध्य भएका छौं। हामी हाम्रो जीविकोपार्जनको लागि नजिकैका गाउँहरूमा सरेका छौं।’
कम हिमपात र पानीका मुहानहरू सुक्नुका कारण गाउँलेहरूलाई कृषिमा आधारित अर्थतन्त्र त्याग्न मात्र होइन, दैनिक आवश्यकताका लागि पानीको व्यवस्था गर्न कठिन बनाएको छ।
हामी सुनसान गाउँलाई छोडेर उकालो लाग्छौं। कुन्जाङ नामग्याल र आङ्चुक नुर्बुले हामीलाई हिउँले नदीमा डोराउँदै लैजान्छन्।
लद्दाखमा पानीको अभावका कारण ठूलो संख्यामा बसाइँसराइको समस्या भए पनि त्यहाँ हिमालयन इन्स्टिच्युट अफ अल्टरनेटिभ लद्दाख जस्ता संस्थाहरू कुलमका बासिन्दाहरूलाई आशाको किरण प्रदान गरिरहेका छन्। कृत्रिम हिमनदीमार्फत खानेपानी संकट समाधान गरी गाउँलाई पुनर्स्थापना गर्ने प्रयास भइरहेको छ।
बरफ-स्तूपहरूले हिउँदको हिउँलाई बरफ कोनको रूपमा भण्डारण गर्छ, जुन गर्मीको समयमा विस्तारै पग्लिन्छ, सिँचाइ र अन्य उद्देश्यका लागि पानीको भरपर्दो स्रोत प्रदान गर्दछ। बरफ-स्तूपको निर्माणमा हिउँ पग्नले क्रम ढिलो बनाउने र हिउँलाई लामो समय अडाइराख्ने हो।
बरफका तह-तह बनाउँदै जाने जसले पानीलाई छिट्टै पग्लनबाट रोक्न मद्दत गर्दछ। उच्च लागत र वातावरणीय प्रभावका कारण परम्परागत तरिकाहरू जस्तै बाँध र जलाशयहरू सम्भव नहुने क्षेत्रमा पानी भण्डारण गर्ने बरफ-स्तूपहरू प्रभावकारी रूपमा साबित भएका छन्।
हामी कुलमपछि आङ र ग्याङलेस क्षेत्र हेर्न गयौं।
बरफ-स्तूपहरू त हेर्यौं, अब हामी रोमन म्यागासेसे पुरस्कार विजेता सोनम वाङचुकलाई भेट्न तयार भैसकेका थियौं। मैले हामीले के-के हेर्यौं र हालसम्म के-के बुझ्यौं भनेर अडिओ सन्देश पठाएपछि बल्ल हाम्रो भेट्ने समय मिल्यो।
सोनमसँग जोडिएर एक सिनेमा पनि बनेको छ। तर उनी सिनेमाका भन्दा वास्तविक जीवनका नायक हुन्।
राजकुमार हिरानीको सिनेमा ‘थ्री-इडियट्स’ जसमा अभिनेता आमिर खानले भारतको सुदूर उत्तरी लद्दाखमा बस्ने र बालबालिकालाई पढाउने आविष्कारकको भूमिका निर्वाह गरेका छन्। यो पात्र जसबाट प्रेरित भएको व्यक्तित्व सोनम वाङचुक हुन्।
तर उनी आफैं सिनेमासँग जोडिएको मन पराउँदैनन्।
लेह जिल्लाको अल्ची नजिकै जन्मेका ५६ वर्षीय वाङचुक सामुदायिक शिक्षाको मोडेलका लागि विश्वभर परिचित छन्। वाङचुक लद्दाख क्षेत्रका लागि विशेष अधिकार र वातावरण संरक्षणको मागका लागि लडिरहेका छन्।
हामीले नेपालीमा कुरा गर्यौं वाङचुकसँग। केही समय नेपाल बसेर काम गरेको अनुभव सुनाउँदै उनलाई नेपाल अत्यन्त मन पर्ने र नेपाल जाने साना/साना बहाना खोजिराज्ने भनेपछि हामी दंग पर्यौं।
लद्दाख र विश्वका विभिन्न भागमा सफलतापूर्वक कार्यान्वयन भइरहेको बरफ-स्तूपहरू नेपालका हिमाली क्षेत्रका लागि पनि उपयुक्त हुनसक्ने र डोल्पा, लोमन्थाङमा अभ्यास गर्दै गरेको थाहा पाउँदा हामी उत्साहित भएका थियौं।
हामी पनि लाङटाङमा यसको अभ्यास गर्नेछौं हिउँद लाग्न थालेपछि र यो ग्रेट हिमालयन ट्रेल क्षेत्रमा नमुना हुन सक्नेछ।