‘महिला अधिकारका धेरै कुरा सुनें बहिनी,नारा र भाषणका त कुरै नगर तर त्यो बेलामा मैले आफ्नै घरभित्र गरेजस्तो विद्रोह गर्ने महिलाहरू निकै कम देखेँ। हुन त यो मेरो भोगाइ हो तर कोही कसैसँग मेल खान्छ होला नि? मेरो भोगाइ उतार्न सक्छौ?’
एक जना दिदीले आग्रह गर्नुभयो। धेरैबेर उहाँसँग कुरा गरेपछि लेख्ने जमर्को गरेँ।
घरमा 'विद्रोह' गर्दा एक्लिएको भोगाइ:
म र मेरो भाइको उमेरमा दुई वर्षको मात्रै अन्तर छ। हामी सँग-सँगै हुर्कियौं, सँगसँगै पढ्यौं। लैैंगिक रूपमा त स्वाभाविक रूपमा हामी अलग थियौं तर भोगाइ, सिकाइ अनि व्यवहार पनि ठ्याक्कै अलगअलग।
छोरो जन्मिँदा घरमा हर्षबढाइँ भयो, जुन क्रम आज पनि जारी छ, भाइको छैठी गरियो धुमधामसँग तर ऊ भन्दा दुई वर्षअघि म अर्थात् छोरी जन्मँदा ज्वानाको झोलधरी अघाउँजी खान पाउनु भएन रे आमाले। यो जन्मँदा देखिएको विभेदको झिल्को थियो।
हुर्काइमा पनि विभेद भोगें। दिदी-भाइका सामान्य कुरामा पनि विभदेका रेशाहरू जहीँतहीँ भेटिन्थे। घरको एकै ठाउँमा भाइ र म सँगै बस्थ्यौँ, भाइ उपरखुट्टी लाएर बस्थ्यो म पनि त्यसै गरी बस्थेँ। आमाले परैबाट मलाई कराउनुहुन्थ्यो, छोरी मान्छे भएर पनि उपरखुट्टी लाएर बस्ने? त्यसो नगरीकन बस्।
सानै उमेरदेखि नै छोरी मान्छेका सिमा र दायरा सुन्दै भोग्दै आएँ। छोराछोरीमा विभेदको सुरूआत यही र यस्तै कुराहरूबाट हुने रहेछ अहिले सम्झन्छु। बुवाहरू कुरा गरिरहेको ठाउँमा म पनि बसेर कुरा सुन्थेँ।
केही कुरा चित्त नबुझेमा फ्याट्ट बोल्थेँ।
आमाले फेरि कराउनुहुन्थ्यो, ‘छोरी मान्छे भएर आफ्नो ठाउँमा बस्नुपर्छ, बुवाहरूले के कुरा गरेका हुन्छन्, सुनेर बस्ने, बीचबीचमा बोल्ने गर्नुहुँदैन। छोरी मान्छेको अर्को नियम थाहा पाएँ।
भाइले कुनै कुरामा जिद्दी गर्दा सहज हुन्थ्यो, मैले त्यही गर्दा छोरी मान्छे भएर यस्तो गर्नुहुँदैन उस्तो गर्नुहुँदैन, घेरामाथिका घेराभित्र रूमलिँदै हुर्किएँ।
खाना खाने बेलामा पनि अर्को नियम सुरू हुन्थ्यो, मैले सबैभन्दा चाँडै खाना खाएर सकाउँथें।
आमा कराउनुहुन्थ्यो, ‘छोरी मान्छे भएर बिस्तारै खानुपर्छ, चाँडै खानु हुँदैन।’
हैन नियमहरू पनि कति हुन मेरा लागि मात्रै? भोक लाग्दा चाँडो खानको लागि पनि म छोरा हुनुपर्ने? मनमनमा त सानैदेखि यस्तै कुरा निस्कन्थें तर मनभित्रै हराउँथे।
जब म चैत महिनामा एसएलसीको परीक्षा सकाएर सदरमुकामबाट घर गएँ। मेरा कान्छा काकाको बिहे भएको थिएन, वैशाख लागेपछि मेरो बिहेको कुरा चल्न थाल्यो। कोही आफन्तले बिहेको कुरा लिएर घरमा आए। बुवाआमालाई अनेक कुरा भनेर बिहेको लागि बाध्य बनाउँदै थिए।
भर्खर १५ वर्ष भएकी छ, अहिले के बित्यो र? आमाले भन्नुहुन्थ्यो तर आमाको कुरा कसैले पनि सुन्न चाहँदैनथे।
अरू एकातिर, आमा एकातिर हुनुभयो। ती लमी भनेका आफन्तले यति फुर्का गाँसे कि मानौं उनले कुरा चलाएको केटासँग मेरो बिहे भएन भने मेरो लागि योग्य केटा कुनै छैनन् जसरी।
सबै कुरा सुनेपछि नबोली बस्नै सकिनँ।
‘मेरो बिहे कहिले गर्ने? कस्तो केटासँग गर्ने? त्यो मेरो कुरा हो। म अहिले बिहे गर्दिनँ, धेरै पढ्छु, जागिर खान्छु अनि मात्र बिहे गर्छु। म बोलेपछि सबै जना मौन बने। कोही भागेर बिहे गरेका, कोही के भएका अनेका युवतीका उदाहरण दिएर फेरी आमाको दिमाग एकोहोरो बनाउन थाले लमीले।
छिमेकीका छोरीहरूको नाम लिएर, उनीहरूका बाउआमाको नाम लिएर ती लमीले यति कुरा काटे कि मानौं उनीबाहेक, उनका सन्तानबाहेक कोही पनि चारित्रिक रूपमा योग्य छैनन् जसरी।
मलाई असह्य भयो, मुख खोलें, ‘अब योभन्दा बढी कुरा नगर्नुस् अंकल म बिहे गर्दिनँ अहिले। मेरा साथीहरू,मेरा दिदीहरूको बारेमा यस्तो उस्तो भन्ने अधिकार तपाईंलाई छैन। उनीहरूले जे गरे पनि जसो गरे पनि तपाईंलाई टाउको किन दुख्छ? तपाईंले कुरा ल्याएको केटासँग म बिहे गर्दिनँ, बिहे गर्ने मैले हो मेरा बाउआमाको दिमाग भुटेर तपाईंले केही पाउनुहुन्न।’
मेरो कुराले सबै जना रातोपिरो भए। ठूलाठूला आँखा पार्दै मतिर हेरेर लमीले भने, ‘ओहो हुँदाहुँदा अब अधिकारका कुरा पनि चलाउन सक्ने भयौ छोरी? यति कुरा भनिसक्दा आमा रिसले चुर भइसक्नुभयो मसँग। छोरी मान्छे भएर हेर त यसको बोल्ने सोमत? के भन्छन् मान्छेले? ठूलाबडासँग यसैगरी बोल्छन् छोरी मान्छेले? कस्ती ठाडो स्वभावकी केटी हो? आमाले कस्तो सिकाएकी हो भनेर मेरो समेत बदनाम गर्ने भइस्। अलि मुख सम्हालेर बोल्न सिक बाबै..... तेरा कारणले हाम्रो शिर नझुकोस्।’
बुवा मनमनै रिसाए पनि केही भन्न सक्नुभएको थिएन। तर पनि बुवाको अनुहारले रिसाएको प्रष्टै देखाउँथ्यो।
ती आफन्त रिसाएर हाम्रो घरबाट गए। गाउँभरी मेरो बारेमा कुरा गरेछन्, अरूले छोरी पालेका छन् फलानोले त बिच्छी पालेको रहेछ, त्यस्ता छोरी त कसैका नहोऊन्। ओहो छोरी मान्छे भएर पनि कति जान्ने पल्टेकी? कति बोल्न सक्ने? कति कुरा आउने रहेछ? यो केटीलाई जो कोहीले बिहे गर्न सक्दैन बाबा। यस्ता केटीलाई बुहारी बनाउने घरलाई त पक्कै पनि साढे सातको दशा लाग्छ।’
ओहो ती अंकलले मेरो बारेमा यति भनेछन् कि चर्चा सायद मेरोबाहेक कोही कसैको हुनै छाड्यो।
‘तैंले के भनिस्? छोरी मान्छे भएर त्यसरी मुखमुखै लाग्ने हो? कसरी बोल्नुपर्छ? कस्तो बोल्नुपर्छ? तेरी आमाले सिकाइनन्? कस्ती आमाकी छोरी होला भनेर कुरा काट्ने ठाउँ नराख।’ आफन्तका एकपछि अर्को स्पष्टीकरणका चाङ थुप्रिन थाले। मलाई त्यस्ता कुराले परवाह हुन छाड्यो। म पढछु,जागिर खान्छु भन्ने अडानमा थिएँ।
एसएलसीको रिजल्ट आयो, मेरो स्कुलमा छात्रातर्फ म प्रथम भएँ। खुसीको सीमा रहेन। अब प्लस टु पढिछाड्ने अडानमा थिएँ। मेरा आफन्तहरू अब त यो झन् भइँ न भाँडामा भई भन्न धरी बाँकी राखेनन्। स्कुलका हेडसरले यसको पढाइ राम्रो छ, बीचमा पढ्न नछुटाउनु भनिरहनु भएको थियो। तपाईं सक्नुहुन्न भने हामी नै यसको पढाइको खर्च व्यहोर्छौं भनेर सरहरूले नै भनेपछि बुवा बाध्य हुनुभयो ११ कक्षामा भर्ना गरिदिन। १२ कक्षासम्म गाउँकै स्कुलबाट पास गरेँ।मेरो गाउँमा एसएलसी पास गर्ने पहिलो छोरी मै थिएँ। कसैले नपढेको यसैले पढ्नुपर्ने? अरूका छोराछोरी हात समाएर हिँड्ने भइसके यो स्कुलको ड्रेस लाएर ढल्किँदै छे। मेरै कानमा ठोक्किने गरी सुनिन्थे। मलाई जसले जे भनून मतलब लाग्दैनथ्यो।
एकचोटि मेरी ठूलीआमाले आफ्नो नाति देखाउँदै भन्नुभयो, ‘हेर त तँभन्दा कान्छी बहिनीको छोरो यत्रो भयो, तँ बुढी भइसकिस्। तेरो यत्रो छोरा हुँदा त यो बिहे गर्ने हुन्छ।’
मलाई भित्रैदेखि रिस मडारिएर आयो, जे सुकै भनून भनेर ठूलीआमालाई भनें, ‘हेर्नुस् ठूलीआमा बिहे गरेपछि बच्चा हुनु के ठूलो कुरा भयो र? तपाईंकी छोरीले बच्चा त पाएकी हो अरू कुनै चिज पाएकी त होइन नि! आठ कक्षामा फेल भएकी छोरीको नाति देखेर यतिविधि हौसिनु पर्दैन, उसलाई पनि पढाएको भए आज मसँगै बाह्र कक्षामा पढ्ने थिई।’
मेरो कुराले ठूलीआमा कालोनिलो हुनुभयो।
‘तँसँग त बोल्नै बेकार छ। कस्ताले लैजानी होला बरै तँलाई त? तँलाई लाने मान्छेको ग्रहदशा कस्तो होला?हाम्रो खलकमा कस्ती मुखाले छोरी जन्मन पुगिछस्.....’ ठूली आमा एक्लै फतफताउँदै नाति समाएर अर्कातिर लाग्नुभयो।
घरपरिवार, छिमेकी सबैतिर मेरो पहिचान कहीँ नभएकी, भुइँ न भाँडाकी यस्तैयस्तै रूपबाट हुन थाल्यो।
प्लस टु प्रथम श्रेणीमा उत्तीर्ण गरेँ। स्कुलका सरहरूले बुवाआमालाई मलाइ थप उच्च शिक्षा पढाउनको लागि हौसाउनु भयो। गाउँमा प्लस टुसम्म मात्रै पढाइ हुन्थ्यो, सदरमुकाममा बसेर स्नातक पढ्न थालें।
अब गाउँबाट सहरमा छिरेपछि ममाथि अर्को शंका थपिन थाल्यो। ‘गाउँमा हुँदा त त्यस्तो टिमुर्केकी केटी अब सहरमा गएपछि झन् के हालत होला? बेलैमा छोरी बिहे गर्देको भए इज्जत रहन्थ्यो, छोरीको घरबार बस्थ्यो, कसैले नपढाएको यिनीहरूलाई नै पढाउन पर्ने?’ हुँदाहुँदा मेरा बा-आमालाई मेरो कारणले एकपछि अर्को तनाव थपिन थाल्यो।
बुवाआमाको एउटै पिर हुन्थ्यो। ‘गाउँ समाजले यति भन्दाभन्दै पनि पढाएका छौं, हाम्रो नाक नकाटेस् बाबै .... ।’
म बुवाआमालाई ढाडस दिन्थेँ, ‘म पढेर जागिर खाएर मेरो पढाइमा जति खर्च लागेको छ ब्याजसहित चुक्ता गर्छु, बुवाआमालाई छोरीको कमाइ खुवाउँछु। घरबाट आएको पाँच महिनापछि क्याम्पस पढ्दै पाँच कक्षा सम्मका विद्यार्थीलाई ट्युसन पढाउन थालेँ।
दसैंमा घर आउँदा बुवालाई दश हजार पैसा दिएँ।
छोरीको पहिलो कमाइ समाउँदा बुवा रूनुभयो, ‘मलाई घरबाट पैसा पठाउन पर्दैैन’ भनें।
दु:ख गर्दै पढेँ। भाग्यवश पहिलो प्रयासमा खरदारमा नाम निकालें। त्यसपछि सरकारी कर्मचारी बनें। हिजो मेरा कुरा काट्नेहरूको अगाडि त खरदार होइन मुख्य सचिव भए जस्तो लाग्थ्यो।
स्कुलका सरहरूले बुवाआमालाई सम्मान गर्नुभएछ। बुवाआमा मसँग बल्ल खुसी हुनुभयो। ‘छोरीका कारण हामीलाई स्कुलमा सबैले चिने’ भनेर।
सरकारी जागिर खाने मेरो गाउँको पहिलो छोरी हुँ म। त्यसपछि सुब्बा हुँदै अधिकृत भए। मास्टर्ससम्म पढेर सकाएँ। सुब्बा हुँदा बिहे गरेँ आफैंले रोजेर। म खुसी छु मेरो निर्णयमा। मेरो निर्णयमा बुवाआमा खुसी हुनुभयो।
अहिले एक छोरीको आमा छु, हातमा उच्च शिक्षाको प्रमाणपत्र छ, जागिर छ तर पनि म उही भुइँ न भाँडाकी छोरीको रूपमा चित्रित छु समाजसामु।
त्यो बेलामा मैले विद्रोह नगरेको भए? त्यो बेलामा म बिच्छी जस्तो छोरी नबनेको भए मेरो जिन्दगी के हुन्थ्यो होला? आमाको जस्तो भोगाइ मेरो पनि हुन्थ्यो। मैले विद्रोह गरेका कारण कम्तीमा मेरी छोरीले त्यस्तो विद्रोह मसँग गर्नुपर्दैन।
बिहे नहुँदै धेरै बोल्दा सबैतिर आलोचना खेपेकी म अब धेरै बोल्दिनँ भन्दा पनि सुख छैन। कसैले नखाएको जागिर यसैले खाएकी? कसैले नपढेको यसैले पढेकी .... ओहो के सारो सनक चढेको होला? गमक्क परेर बस्छे? बोल्दा पनि पैसा पर्ला जस्तो? फेरी सोच्छु,अब म के गर्ने? जायज कुरा बोल्दा कहीँ नभएकी, भुइँ न भाँडा कि म .... मेरो कस्तो अधिकार हो?
म बोल्दा पनि हुँदैन नबोल्दा पनि हुँदैन? धेरै साथीहरूको कुरा सुन्छु चाहिने कुरामा बोल्दा पनि बात् लाग्छ नबोलौं भनेपनि बात् लाग्छ। हैन हामी महिलालाई कस्तो अधिकार दियो राज्यले? नबोलौँ भने घमण्डी भइने, बोलौं भने पनि कहीँ नभएका भइने? म अफिसमा पनि बोल्छु। कर्मचारी बीचमा गरेको विभेदको विरूद्धमा बोल्छु, एउटै तहमा किन पुरूष र महिला कर्मचारीमा विभेद गरिन्छ? हाकिमसँग नोकझोंक हुन्छ कुनै बेलामा। मैले विद्रोह गरेपछि मेरो गाउँका धेरै बहिनीहरूले पढ्ने हिम्मत गरे। मैले विद्रोह गर्दा अफिसमा पनि महिला कर्मचारी बोल्नुपर्छ भन्छन् र बोल्छन्।
यसो सोच्छु अधिकार नबोलेर पाइँदैन बोल्नुपर्छ चाहे भुइँ न भाँडाको किन हुन नपरोस्!
दिदीको भोगाइ आफ्नै भोगाइसँग धेरैहदसम्म मिलेको अनुभूति भयो।