शिशु सामान्यभन्दा सानो र थोरै तौलको जन्मिनुमा धेरै कारणहरू हुन सक्छन्। वंशाणुगत गुण एउटा कारण हुन सक्छ। जन्मजात रूपमा हुने केही रोगले पनि यस्तो हुन सक्छ।
यी बाहेकको अर्को मुख्य कारण गर्भावस्थामा आमाको पोषणको स्थिति हो।
बालबालिका सम्बन्धी राष्ट्रसंघीय निकाय युनिसेफका अनुसार हाल विश्वमा करिब दुई करोड बालबालिका सामान्यभन्दा निकै कम तौलका जन्मने गरेका छन्। उनीहरू कुपोषणबाट ग्रसित रहेको पाइएको छ।
कुपोषित जन्मिने बालबालिकाको संख्या पनि विश्वमा २५ लाख हाराहारीमा हुने गरेको छ।
जन्मको एक वर्षभित्रमा केटाकेटीलाई कुपोषण भए नभएको सजिलै थाहा पाउन सकिन्छ। कुपोषण हुने समस्या प्रायःजसो विकासोन्मुख देशहरूमा बढी रहेको तथ्यांकले देखाउँछ। नेपालको हकमा पाँच वर्षमुनिका बालबालिकाको मृत्युदरमा ५० प्रतिशत मृत्युको कारण कुपोषण रहेको तथ्यांकले देखाउँछन्। यसै गरी पाँच वर्षमुनिका केटाकेटीमध्ये करिब ४० प्रतिशतमा पोषणको कमी छ।
यो निकै गम्भीर अवस्था हो। आमाबाबु र अभिभावकले बेलैमा पहिचान गरेर कुपोषण हुनबाट बच्चालाई जोगाउनुपर्छ।
कुपोषणको मुख्य कारण
गर्भस्थ शिशुको पोषण गर्भवतीको खानपिनमा भर पर्छ। शरीरलाई कार्बोहाइड्रेट, भिटामिन, प्रोटिन, चिल्लो पदार्थ र खनिजहरू आवश्यक पर्छ। खनिजमा आयोडिन, जिंक, आइरन, क्याल्सियम, फोलिक एसिड इत्यादि चाहिन्छ।
हामीले दैनिक खाने खानामा कार्बोहाइड्रेट वा प्रोटिन र बोसो (चिल्लो पदार्थ) बढी महत्त्वपूर्ण हुन्छ। गर्भवतीले यी पदार्थ आवश्यक मात्रामा नखाँदा गर्भस्थ शिशुको शारीरिक विकासमा नकारात्मक असर पर्छ, कुपोषण हुन्छ।
नेपाली समाजमा सुत्केरीलाई खानाको बढी आवश्यकता हुन्छ भन्ने ठानिन्छ र पौष्टिक खानामा बढी जोड दिइन्छ। यसो गर्दा आमालाई छोटो समयमा बढी पोषण प्राप्त हुन्छ तर सन्तुलित हुँदैन। स्वस्थ र हृष्टपुष्ट शिशु जन्मिन आमाले गर्भावस्थामै पर्याप्त सन्तुलित भोजन खाएको हुनुपर्छ।
गर्भमा रहँदा पर्याप्त मात्रामा खनिज र भिटामिन नपाएको शिशु सामान्यभन्दा कम तौलको जन्मिन्छ। यस्तो शिशुको लम्बाइ पनि सामान्यभन्दा कम हुन्छ। तौल र लम्बाइ दुवै कम छ भने पोषण नपुगेको मान्नुपर्छ।
जन्मको पहिलो वर्षभरि बच्चामा कुपोषण हुने सम्भावना बढी हुन्छ। कुपोषणकै कारण एक वर्ष नपुग्दै मृत्यु हुन सक्छ। जन्मको ६ महिनासम्म बच्चा पूर्ण रूपमा आमाको दूधमा निर्भर हुने भएकाले आमाको पोषणको बढी महत्त्व हुन्छ।
यो समयमा आमाले सन्तुलित खाना खानुपर्छ। खानामा भिटामिन र खनिजको मात्रा पर्याप्त हुनुपर्छ। हरियो सागसब्जी, फलफूल र गेडागुडी पनि पर्याप्त खानुपर्छ। माछामासु खानेले सन्तुलित ढंगले यसको मात्रा बढाउनु आवश्यक हुन्छ।
यो समयमा कार्बोहाइड्रेट अर्थात चिनीयुक्त खानाको मात्रा घटाउनुपर्छ। खाने भात, गहुँको रोटी र चिनीको मात्रा घटाउनु राम्रो हुन्छ। चक्लेट, बिस्कुट, चाउचाउ तथा चिनी मिसिएका पेय पदार्थ नखानु नै राम्रो हुन्छ।
बढी कार्बोहाइड्रेटयुक्त खानाले शरीरमा बढी क्यालोरी जम्मा गर्छ। यसरी जम्मा भएको क्यालोरी बोसो बनेर शरीरमा जम्न सुरू गर्छ। सुत्केरी महिलाको तौल ह्वात्त बढ्नुको कारण यही हो। यसरी बढेको तौलले अस्वस्थता बढाउँछ।
मदिरामा पनि धेरै कार्बोहाइड्रेट हुन्छ। मदिरा सेवन गर्ने चलन छ भने गर्भावस्था र सुत्केरी भएपछिको एक वर्षसम्म त्याग्नु राम्रो हुन्छ।
बजारमा दूधको सट्टा खुवाउने भनेर दूधजस्तै लाग्ने थरीथरीका पदार्थ पाइन्छन्। बच्चालाई यस्ता पदार्थ खुवाउने र स्तनपान कम गराउने प्रवृत्ति बढ्दो छ। पछिल्ला केही अध्ययनहरूले यस्ता बजारिया पदार्थ खाएका बच्चाहरूमा रोगप्रतिरोधात्मक क्षमता कम भएको पत्ता लगाएका छन्। त्यस्ता कतिपय पदार्थको गुणस्तर राम्रो नहुनाले बच्चामा रोगको सम्भावना पनि देखिएको छ।
बच्चाको लागि पहिलो वर्ष आमाको दूध अमृत नै हुन्छ। वर्षभरि पर्याप्त स्तनपान गर्न पाएको बच्चा हृष्टपुष्ट र स्वस्थ हुन्छ। यसकारण आमाले प्रशस्त पौष्टिक पदार्थ खान आवश्यक हुन्छ।
बच्चाले आफैं खान सुरू गरेपछि भोजन सन्तुलित हुन सकेन भने उसलाई कुपोषण हुन्छ। बच्चालाई सागसब्जी, फलफूल र गेडागुडी पर्याप्त खुवाउनुपर्छ। यस्ता खानेकुरामा बानी लगाउनुपर्छ।
बच्चाको तौल बढ्नुले मात्रै पनि उसलाई कुपोषण भएको छैन भनेर ढुक्क हुनु हुँदैन। मुख्य कुरा शरीरले पौष्टिक तत्त्व पर्याप्त पाएको छ कि छैन भन्ने हो। गलत तरिकाले पोषण भएको बच्चाको पनि तौल बढ्छ। कुपोषण भनेको पौष्टिक पदार्थ कम हुनु मात्रै होइन, कुनै पौष्टिक पदार्थ आवश्यकताभन्दा बढी हुनु पनि हो।
यसरी गलत पोषण भएको बच्चा बिरामी परिरहन्छ। थकान महसुस गर्ने र बढी सुत्ने हुन्छ। यस्तो बच्चा बढी मोटो पनि हुन सक्छ। मोटो भए पनि कुपोषण भएको हुन सक्छ। बच्चालाई बढी शक्ति दिने गुलियो खानेकुरा धेरै खुवाउँदा पनि उसको स्वास्थ्यमा नकारात्मक असर पर्छ। बजारिया लिटो, चकलेट, बिस्कुट, आइसक्रिम र गुलिया पेय पदार्थले बच्चाको तौल ह्वात्तै बढाउने हुन्छ। यस्ता बच्चामा आलस्य बढ्छ। आलस्यले स्वास्थ्यमा समस्या सिर्जना गर्छ।
कसरी थाहा पाउने कुपोषण?
बच्चामा कुपोषण भए वा नभएको थाहा पाउने उसको तौल र लम्बाइ अर्थात उचाइबाटै हो। उसको तौल र उचाइ सन्तुलित ढंगले वृद्धि भएको हुनुपर्छ। शारीरिक वृद्धि समान्यभन्दा कम छ भने कुपोषण भएको हुन सक्छ।
सामान्यतया नवजात शिशुको तौल साढे दुई केजीदेखि साढे चार केजीसम्म हुन्छ। लम्बाइ भने आमाबाबुको उचाइअनुसार हुन्छ। सामान्य लम्बाइ भने ४०–५० सेन्टिमिटर हुन्छ। पहिलो तीन महिनामा बच्चाको तौल साढे दुई केजीबाट पाँच केजी हाराहारी पुगेको हुनुपर्छ। एक वर्षमा १० केजी, तीन वर्षमा १५ केजी र पाँच वर्षमा २० केजी हाराहारी पुग्नुपर्छ।
उचाइ पनि एक वर्षमा ७०–७५ सेन्टिमिटर, तीन वर्षमा ९०–९५ सेन्टिमिटर र पाँच वर्षमा १००–११० सेन्टिमिटर भएको हुनुपर्छ।
कुपोषण भएको बच्चालाई किटाणुको संक्रमण छिटो हुन्छ। यसकारणले बिरामी भइरहने हुन्छ। कुपोषण भएको अवस्थामा खानाको स्वाद नहुने, खान मन नगर्ने, थोरै खानाले अघाउने, धेरै गनगन गर्ने, रोइरहने र राम्ररी नसुत्ने हुन्छ।
आमाबाबु–अभिभावकको जिम्मेवारी
गर्भवतीको सन्तुलित भोजन निकै महत्त्वपूर्ण हुन्छ। गर्भस्थ शिशुको वृद्धि तीव्र हुन्छ। यस अवस्थामा गर्भवतीको पर्याप्त सन्तुलित भोजनमा ध्यान दिनुपर्छ।
जन्मपछि बच्चाको तौल र लम्बाइ वृद्धि अर्को महत्त्वपूर्ण पक्ष हो। स्वास्थ्य केन्द्रमा गएर तौल र लम्बाइबारे जानकारी लिइराख्नुपर्छ। ठिक ढंगले वृद्धि भएको छैन भने स्वास्थ्यकर्मीको सुझाव लिएर खानामा सुधार गर्नुपर्छ। उसलाई कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, खनिज र बोसोयुक्त खाना दिनुपर्छ।
यस्ता खानेकुरा पालैपालो खुवाउनुपर्छ। खानाको फरक–फरक परिकार बनाएर खुवाउनुपर्छ। यसो गर्दा खानामा बच्चाको रूचि बढाउन सकिन्छ।
बच्चालाई शारीरिक सक्रियताका लागि प्ररित गर्नुपर्छ। ऊ घरबाहिर गएर खेलोस्, उफ्रियोस्, दौडियोस्। शारीरिक रूपमा क्रियाशील बच्चाले खान रूचाउँछ।
बच्चाको तौल कम छ भने खानामा घिउ-तेल र बोसोको मात्रा बढाउँदा राम्रो हुन्छ। थोरै खाने बच्चालाई छोटो–छोटो समयमा खाना खुवाउन सकिन्छ।
बढी तौल भएको बच्चाका लागि घिउ-तेल र बोसोयुक्त खाना घटाउनुपर्छ। गुलियो खानेकुरा पनि दिनु हुँदैन।
बच्चाहरू आमाबाबु–अभिभावकबाट सिक्ने हुन्छन्। सन्तुलित र पौष्टिक भोजनबारे आमाबाबु–अभिभावक नै उदाहारण बन्नु राम्रो हुन्छ।
कुनै रोग वा अर्को कुनै कारणले समय नपुगी जन्मिएका बच्चाको लागि भने विशेषज्ञ चिकित्सकको सल्लाहअनुसार गर्नु राम्रो हुन्छ।
(डाक्टर दिपराज थापाले स्विडेनमा बालबालिकाको प्राथमिक उपचार र स्वास्थ्य प्रवर्द्धन सम्बन्धी विशेष नर्सका रूपमा विद्यावारिधि गरेका छन्। उनी त्यहीँको एक विश्वविद्यालयमा प्राध्यापक पनि हुन्)
ट्विटर @DrDipRajThapa
(दिपराज थापाका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)