आमाबाबु र घरका अन्य अभिभावकले बच्चा बोक्नु अति सामान्य र स्वाभाविक गतिविधि हो। बच्चा बोक्दा के के कुरामा ध्यान पुर्याउनु पर्छ? यसबारे आमाबाबु–अभिभावकले जान्नु पर्ने कुरा के छ?
आज यी जिज्ञासामाथि चर्चा गरेको छु।
शिशुको शारीरिक र मानसिक स्वास्थ्यको जिम्मेवार व्यक्ति आमाबाबु र घरका अन्य अभिभावक नै हुन्। साना र सामान्य लाग्ने कतिपय व्यवहारहरू पनि तरिका नपुग्दा शिशुका लागि नकारात्मक हुन सक्छन्।
सानैदेखि आमाबुबा–अभिभावकले जस्तो आदत गरायो बच्चा त्यस्तैमा अभ्यस्त हुन्छ। आमाबाबु र अभिभावकहरू कहिले बच्चा शिशुप्रति त कहिले अन्य मानिसहरूप्रति कठोर बन्नुपर्ने पनि हुन्छ। शिशुको स्वास्थ्य प्रवर्द्धनका लागि यसो गर्नु आवश्यक हुन्छ।
हिँड्ने नहुन्जेल शिशुले खुट्टा तन्काउँछ, हातखुट्टा उफार्छ। यसो गर्नु शारीरिक वृद्धि र विकासका लागि उसको प्रयास हो। एक प्रकारले आफैंले गरेको तालिम हो।
हिँड्न थालेपछि शारीरिक विकाससँगै मानसिक विकासमा पनि प्रभाव पर्छ। शिशुले केही वस्तु समात्ने प्रयास गर्छ। यसले हात र औंलाको विकासमा मद्दत पुग्छ। समातेको वस्तु मुखमा पुर्याएर खान खोज्ने प्रयास पनि गर्छ। यसो गरेर स्वाद लिने र मन पर्ने–नपर्ने पहिचान गर्ने प्रयास गर्छ। यस्तो कुरा दिमागमा सम्झना राख्छ।
धेरै बच्चाले गुलियो वस्तु कुरा राम्रो मान्छन् र मुखमा राख्छन्। तितो, टर्रो मन पराउँदैनन् र फ्याँक्छन्।
यसरी शिशुहरूमा शारीरिक र मानिसक विकासको क्रम अघि बढ्छ। यसका लागि उनीहरू प्रयासरत हुन्छन्।
ध्यान दिनुपर्ने कुरा के छ भने शिशु अर्थात हुर्किँदो बच्चालाई धेरै बेर काखमा वा ढाडमा बोकिरहनु उसलाई आफ्नो तालिमबाट बञ्चित गराउनु हो।
नवजात शिशुको पहिलो तीन–चार महिना घाँटीको भाग कमजोर र टाउकाको गह्रौं हुने भएकाले बोक्दा पनि होसियारी अपनाउनु पर्छ। बच्चा बोक्ने राम्रो अभ्यास नभएको व्यक्तिले बोक्न खोज्दा बच्चाको शरीरको सन्तुलन मिलाउन नजानेर असर पर्ने हुन्छ।
टाउको, घाँटी र शरीरको भाग सन्तुलन गर्न नजान्दा 'शेकन बेबी सिन्ड्रोम' देखा पर्न सक्छ। अर्थात बच्चालाई धेरै हल्लाउँदा स्वास्थ्यमा पर्ने नकारात्मक असरको लक्षण देखा पर्न सक्छ।
आमाबाबु र परिवारका सदस्यहरूले सुरक्षित तरिकाले शिशुलाई काखमा लिनु र ऊसँग बोल्नुले उसमा सकारात्मक प्रभाव पर्छ। आमाबाबु र अभिभावकहरू बालमनोविज्ञान थाहा पाउन अभ्यस्त बन्छन्।
यसरी बोक्नु बच्चा घस्रिन र चल्न नसकुन्जेलसम्म राम्रो हुन्छ। चल्न र घस्रिन थालेपछि भने बच्चालाई धेरै बेर बोकिरहनु उचित हुँदैन। धेरै बोक्ने बानीले बच्चाको शारीरक र मानसिक विकासमा नकारात्मक असर पर्छ।
बच्चा जहिले पनि आफूलाई अर्कोले बोकिदियोस् भन्ने चाहन्छ। यो चाहना आफूलाई सुरक्षित महसुस गर्ने उपाय पनि हो। नजिकमा आएर बिस्तारै बोल्दा र मुलायम स्पर्श गर्दा पनि बच्चा आफूलाई सुरक्षित ठान्छ।
आमाबाबु र अभिभावकले आफ्ना शिशु–बालबालिका बोक्नुमा भावनात्मक अभिव्यक्ति पनि प्रकट भएको हुन्छ। यो स्वाभाविक हो तर यसको अर्थ जति बेला पनि बोकिरहनु पर्छ भन्ने होइन। बोक्नै पर्ने अवस्थामा मात्र बोक्ने बानी गर्नु राम्रो हुन्छ।
बच्चा यताउता फर्किने, शरीर धेरै चलाउने र घस्रने समयमा उसलाई यो प्रक्रियामा पूर्ण रूपमा सामेल गराउनु पर्छ। नलड्ने, नठोक्किने पक्का गरेर, सुरक्षाको अनुभूति दिएर उसलाई स्वतन्त्र छाड्नु पर्छ।
बच्चाले प्राकृतिक रूपमै उठ्न, हिँड्न सिक्ने हुन्छ। यसमा उसलाई मद्दत गर्नुपर्छ। जति बेला पनि बोक्दा उसको शारीरिक क्षमता विकास र आत्मविश्वास प्रवर्द्धनमा बाधा पर्छ।
बोकिरहने र सहारा दिइरहने गर्दा उसले त्यही खोज्छ। यस्तो बच्चाको आत्मविश्वास कमजोर हुन सक्छ।
नेपाली समाजमा अर्काको बच्चा पनि बोक्न, उससँग खेल्न, कुरा गर्न आमाबाबु वा अभिभावकको अनुमति लिनु आवश्यक ठानिँदैन। यससम्बन्धी ठोस कानुनी व्यवस्था पनि छैन।
अर्काको बच्चालाई आहा नानी–बाबु भनेर अपरिचित व्यक्तिले पनि छुनु, कुरा गर्नु सामान्य मानिन्छ। अझ सद्भाव र शिष्टाचार नै ठान्ने चलन पनि छ।
विशेष गरी ६ महिनाभन्दा कम उमेरको शिशुलाई अपरिचित व्यक्तिले छुनु, बोक्नु राम्रो होइन। यसबाट बच्चालाई संक्रमण पनि हुन सक्छ।
घरकै मानिस पनि मबाट कुनै किसिमको संक्रमण हुँदैन भन्ने कुरामा विश्वस्त भएको हुनुपर्छ।
अपरिचित व्यक्तिहरू कुनै रोगका संक्रमित पनि हुन सक्छन्। परिचित नै पनि संक्रमित छन् भने यस्ता व्यक्तिको सम्पर्कबाट बच्चा अलग राख्नुपर्छ।
धेरै जसो कीटाणुको संक्रमण हातबाट हुन्छ। बच्चा बोक्दा हातले अनुहार र औंला सुम्सुम्याउने बानी हुन्छ। बोक्ने व्यक्तिले यसो गर्नु स्वाभाविकै पनि हुन्छ।
धेरै जसो बच्चालाई संक्रमण हुने चाहिँ यस्तै अवस्थामा हो। बोक्ने मान्छेले खोक्दा, हाछ्युँ गर्दा बच्चालाई संक्रमण हुन्छ। यसै कारण कहिलेकाहीँ आमाबाबु र अभिभावकहरू अरू व्यक्तिप्रति कठोर हुनुपर्ने हुन्छ।
परिवारका सदस्यहरूसँग चाहिँ बच्चा अभ्यस्त भएका हुन्छ। ऊ घरको वातावरणमा अनुकूलन भएको हुन्छ। यसर्थ परिवारका सदस्यहरू संक्रमित वा बिरामी छन् भने मात्रै बच्चालाई अलग राख्नु पर्छ।
बच्चालाई पनि कोसँग नजिक हुने र कोसँग नहुने भन्ने कुरा सिकाउनु पर्छ। यस्तो अवस्थामा आमाबाबु र अभिभावक बच्चाप्रति पनि कठोर हुन आवश्यक हुन्छ।
बच्चा हुर्किँदै हिँड्न दौडिन अभ्यस्त भएपछि उसलाई सकेसम्म प्राकृतिक अवस्थामा रहन दिनु राम्रो हुन्छ।
यसो गर्दा उसका अंगहरू बलिया हुन्छन्। रक्तसञ्चार प्रणाली, मांशपेसी र हड्डीको विकासमा सकारात्मक प्रभाव पर्छ। उसमा आत्मविश्वास बढ्छ। धेरै कुरा आफैं सिक्छ। आमाबाबु–अभिभावक सहजकर्ता मात्र बन्नु पर्छ।
फेरि पनि आमाबाबु–अभिभावकले बच्चा त बोक्नै पर्ने अवस्था पनि हुन्छ। कहिलेकाहीँ ढाड वा छातीमा बोकेर हिँड्नु पर्ने पनि हुन्छ। यस्तो अवस्थामा बच्चाको शरीर र टाउकाको सन्तुलन मिलाएर बोक्नु पर्छ। टाउको पनि सिधा हुने गरी सल वा पछ्यौराले राम्ररी बेरेर बोक्नु पर्छ। बच्चा बोक्ने कुनै आधुनिक साधन पनि प्रयोग गर्न सकिन्छ। टाउको बांगो हुने, हातखुट्टा लत्रिने गरी बोक्नु हुँदैन।
गर्मी मौसममा बच्चाको शरीरमा पानीको कमी (डिहाइड्रेसन) हुन नदिन पनि ख्याल राख्नुपर्छ।
आजको आधुनिक युगमा जीवनशैली तीव्र गतिमा बदलिँदो क्रममा छ। आमाबाबु–अभिभावकको शारीरिक क्रियाकलाप घट्दो छ। हिँडाइ र अन्य शारीरिक श्रम पनि घट्दो छ। योसँगै बच्चाहरूको पनि शारीरिक सक्रियता घट्दो क्रममा छ। घरबाहिर खेल्न जानु र उफ्रिनुको साटो इन्टरनेटयुक्त मोबाइल फोन र कम्प्युटरमा अलमलिने प्रवृत्ति बढ्दो छ।
प्रकारान्तरले यसको असर शारीरिक सक्रियतामा परेर निष्क्रियता बढ्दो छ। युवावस्थामै मधुमेह, उच्च रक्तचाप र मुटुसम्बन्धी रोग देखा पर्न थालेको छ।
यसर्थ, बच्चालाई उसको शारीरिक सक्रियता बढाउन सहयोग गर्ने, यसतर्फ प्रेरित गर्ने र उसको शारीरिक, मानसिक विकास र आत्मविश्वस अभिवृद्धिमा टेवा दिने काम आमाबाबु–अभिभावककै हो।
(डाक्टर दिपराज थापाले स्विडेनमा बालबालिकाको प्राथमिक उपचार र स्वास्थ्य प्रवर्द्धन सम्बन्धी विशेष नर्सका रूपमा विद्यावारिधि गरेका छन्। उनी त्यहीँको एक विश्वविद्यालयमा प्राध्यापक पनि हुन्)
ट्विटर @DrDipRajThapa
(दीपराज थापाका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)