बच्चा जन्माउनु जति खुसीको क्षण हो, उसको जीवन रक्षा र स्वास्थ्यलाई सुरक्षा प्रदान गर्न आमाबाबु र अभिभावकको कर्तव्य र उत्तरदायित्व त्यति नै बढी हुन्छ।
बच्चा जन्मिएदेखि हुर्किने बेलासम्म विभिन्न प्रकारका किटाणुहरूको संक्रमणमा पर्ने जोखिम हुन्छ। केही संक्रमण आवश्यक र प्राकृतिक रूपमा शरीर आफैंले बचाउ गर्न सक्ने हुन्छन्। केहीमा सावधानी अपनाउनु पर्ने हुन सक्छ।
यो लेख यही विषयमा केन्द्रित छ।
पैष्टिक र भिटामिनयुक्त खानाको आवश्यकता
बच्चा जन्मिनेबित्तिक्कै रोग प्रतिरोधात्मक शक्ति विकास भइसकेको हुँदैन। जब बच्चाले प्रशस्त रूपमा खानपिउन पाउँछ उसको तौल र उचाइ बढ्छ। शरीरभित्र आवश्यक रोग प्रतिरोधात्मक शक्तिको निर्माण पनि सुरू हुन्छ। जन्मिँदा आमाको पेटमा बगेको पानी पिउँदा र जन्मिसकेपछि आमाबाट पाएको पहिलो दूधबाट बच्चाले पहिलो रोग प्रतिरोधात्मक शक्ति प्राप्त गर्छ।
पहिलो ६ महिना बच्चाले आमाको दूधबाट शरीरलाई आवश्यक पौष्टिक तत्वहरू र रोग प्रतिरोधात्मक शक्ति पाउँछ। बच्चाको तौल र उचाइ वृद्धि राम्रो भएको छ भने उसको स्वास्थ्य पनि राम्रो छ भन्ने बुझिन्छ। ६ महिना पुगेपछि आमाको दूध मात्रले पुग्दैन। त्यसैले अरू खानेकुरा खुवाउन सुरू गरिन्छ। बिस्तारै खाना खाने बानी हुन्छ। बच्चाले अरू खानेकुरा खान थाले पनि एक वर्ष नपुगुन्जेल आमाको दूध खुवाउन छोड्नु हुँदैन। प्रशस्त पौष्टिक तत्व र भिटामिन खानेकुराभन्दा पनि दूधबाट प्राप्त हुन्छ।
एक वर्ष कटेपछि सन्तुलित भोजन खुवाउन आवश्यक हुन्छ। धेरै गुलियो पदार्थ मात्र खुवाउन हुँदैन। प्रोटिन, भिटामिन प्रशस्त भएका माछामासु, दाल, गेडागुडीको रस, फलफूल, सागसब्जी खुवाउनुपर्छ।
रमाइलो वातावरण र परिवारसँगै बसेर खाने अवस्था सिर्जना भयो भने बच्चाहरू खानामा आकर्षित हुन्छन्। जति फरकफरक कुराहरू खुवायो, त्यति नै फरकफरक कुरा खाने बानी बस्छ।
राम्रो वातावरणमा पौष्टिक खाना खाँदा बच्चाहरूको रोग प्रतिरोधात्मक शक्ति बढ्छ। संक्रमण भइहाले पनि त्यसबाट सजिलै बच्न सक्ने शक्ति आर्जन हुन्छ। यति हुँदा बच्चाहरू कहिल्यै संक्रमणमा नपर्ने भन्ने चाहिँ होइन। जति राम्रो खानपिन भए पनि उनीहरू धेरैखाले संक्रमणमा पर्न सक्छन्।
संक्रमणमा पर्नु भनेको नकारात्मक मात्र होइन। तर कुन र कस्ता किटाणु कति हानिकारक छन् र बच्चाको उमेर कति छ भन्नेमा पनि धेरै भर पर्छ। बच्चा धेरै कम उमेरको छ भने धेरै सावधानी अपनाउनुपर्छ।
एक महिनादेखि तीन महिनासम्मको बच्चा धेरै जोखिममा हुन्छ। एक महिना नपुगेको बच्चालाई संक्रमण भएमा जीवन नै गुम्नेसम्मको खतरा हुन्छ। तीन महिनासम्म पनि यो जोखिम कायम रहन्छ। लगभग तीन महिनादेखि भने खोप दिइने र बच्चाले आमाको दूधबाट पनि प्रशस्त शक्ति आर्जन गर्न थाल्ने हुनाले यसपछि सहज हुँदै जान्छ। ६ महिनाको हुँदासम्म रोग प्रतिरोधात्मक शक्ति बढ्दै गइसक्छ।
खोप सबभन्दा महत्वपूर्ण
खोपको आविस्कार र सुरूआत स्वास्थ्य क्षत्रमा भएको सबभन्दा ठूलो चमत्कारका रूपमा लिइन्छ।
सन् १९९६ मा एडवार्ड जेनरले खोप निर्माण गरेसँगै विभिन्न प्राणघातक रोग र महामारीबाट बच्न खोपको ठूलो महत्व छ। खोपले करोडौं मानिसको जीवन बचाएको छ। विकसित राष्ट्रहरूमा खोपप्रति जनमानसको चासो धेरै छ। त्यस्तै सकारात्मक दृष्टिकोण पनि हुन्छ। त्यसैले विकसित राष्ट्रहरूमा खोप लगाएकै कारण धेरै रोग पूर्ण निर्मूल पनि भएका छन्।
विकासशील र अविकसित राष्ट्रहरूमा भने खोपसम्बन्धी नकारात्मक धारणा रहेको पनि देखिएको छ। त्यस्ता देशमा खोप लगाउनेहरू पनि कम छन्। खोप उपलब्ध भए पनि धार्मिक, सांस्कृतिक र अन्य धेरै कारणले खोप लगाउनु हुँदैन भन्ने भ्रम छ। यसले गर्दा बालबालिकाहरू खोपबाट बञ्चित भएका तथ्यहरू सार्वजनिक भएका छन्। मापदण्डअनुसार खोप लगाउनाले बच्चाको जीवन जोगिन सक्छ।
बच्चाहरू तीन महिनाको भएदेखि नै खोप लगाउन थालिन्छ। नेपालमा खोप लगाउने कुरामा सरकारको काम धेरै राम्रो देखिएको छ।
खतरापूर्ण संक्रमण गराउने किटाणुहरू कि भाइरस हुन्छन् कि त ब्याक्टेरिया। खोपले मानिसलाई त्यस्ता विशेष किटाणुहरूबाट बच्न रोग प्रतिरोधात्मक शक्ति निर्माण गर्छ। मापदण्डअनुसार खोप लगाए जीवनभरि नै त्यो विशेष शक्ति रहने देखिएको छ।
खोप उत्पादन गर्न वैज्ञानिकहरूको लामो समयको अनुसन्धान लागेको हुन्छ। बिनाआधार प्रमाणित नगरी बनाइएको हुँदैन। जीवन सुरक्षाको ग्यारेन्टी दिन सक्ने भएपछि मात्र खोप उत्पादन र वितरण सुरू हुन्छ। कहिलेकाहीँ केही अपवाद फाट्टफुट्ट नदेखिने होइन। कोही मान्छेको शरीरले खोप ग्रहण गर्न नसक्दा जोखिम भएका घटना हामीले सुनेका छौं। तर सबै प्रक्रिया पुर्याएर प्रमाणित भएका खोप ९८-९९ प्रतिशतसम्म सुरक्षित हुने पुष्टि वैज्ञानिकहरूले गरेका छन्।
त्यसैले आफ्नो देशको सरकारले बच्चाहरूका लागि उपलब्ध गराएको सबै खोप स्वास्थ्यकर्मीको सल्लाहमा लगाउनुपर्छ। तोकिएअनुसार बच्चालाई खोपको पूर्ण मात्रा दिनु आमाबाबुको कर्तव्य र बालबालिकाको अधिकार हो। अहिलेसम्म खोपले २ करोडभन्दा बढी बालबालिकाको ज्यान जोगाएको अनुमान छ।
केही किटाणुबाट संक्रमण हुनु पनि फाइदाजनक
बिरामी हुनु राम्रो होइन। बिरामी हुँदा त्यसका लक्षणले समस्या हुन्छ। तर कहिलेकाहीँ शरीरका लागि सकारात्मक पनि हुन सक्छ।
बच्चा हरेकपटक बिरामी पर्दा फरकफरक किटाणुको संक्रमण भएको हुन्छ। एकपटक संक्रमण गराइसकेको किटाणु फेरि संक्रमण गर्न आएमा शरीरले प्रतिरोधात्मक शक्ति बनाइसकेको हुन्छ। त्यस्तोमा धेरै बिरामी बनाउने सम्भावना कम हुन्छ।
बच्चा ६ महिनाको नहुन्जेल संक्रमण जोखिम उच्च हुने र जीवन नै खतरामा पर्ने सम्भावना धेरै हुन्छ भनेर माथि नै उल्लेख गरिसकेँ। शिशुहरूलाई ज्वरो आउनेबित्तिकै अस्पताल लैजानुपर्ने हुन्छ। उपचारमा ढिलो भयो भने दुई दिनकै संक्रमणमा पनि जोखिम हुन सक्छ। त्यसैले ६ महिना नपुगेको बच्चालाई भिडभाड वा हुलमुलमा लैजान हुँदैन। बाहिरी मानिसहरूलाई धेरै नभेटाउनु राम्रो हुन्छ। आफन्तहरूलाई पनि हात राम्ररी सफा गरेर मात्र छुन वा बोक्न दिनु राम्रो हुन्छ।
धेरै जसो किटाणु हातबाट वा हाँछ्यु गर्दा नाकमुखबाट सर्छ। मानिसले बोकेको किटाणु सरेर मानिस संक्रमण हुने हो। हावाबाट उडेर आएर घरभित्र छिर्ने किटाणु कम मात्रामा पाइन्छ।
खतरापूर्ण संक्रमण हो कि होइन भनेर छुट्याउन सकिन्छ?
किटाणुहरूको कुरा गर्दा मुख्यगरी ब्याक्टेरिया या भाइरसको कुरा आउँछ। यी दुइटै सुक्ष्म जिवाणु हुन् जुन आँखाले देख्न सकिँदैन। अझ भाइरस त ब्याक्टेरियाभन्दा दस गुणा साना हुन्छन्।
हाम्रो वरपरको वातावरणमा संक्रमण गराउने लाखौं भाइरस हुन सक्छन्। यद्यपि केही विशेष भाइरसबाहेक अरू सामान्य बिरामी पार्ने र घातक हुँदैनन्। ब्याक्टेरियाको संक्रमण भने भाइरसको भन्दा खतरनाक हुन सक्छ। यसको मुख्य कारण ब्याक्टेरिया आफ्नै शक्तिमा बढेर, विभाजन भएर केही घन्टामै एकबाट सयौं पुग्न सक्ने भएकाले हो। भाइरस भने यसमा केही समय लाग्छ। त्यसैले भाइरस र ब्याक्टेरिया संक्रमण कसरी हुन्छ भनेर छुट्याउन जानी राखे राम्रो हुन्छ।
ब्याक्टेरियाको संक्रमण हुँदा धेरै जसो पहिला देखिने लक्षण ज्वरो हो। खोकी लागेको भए पनि नाक टाल्लिने र सिँगान बग्ने धेरै हुँदैन। त्यसैले बच्चालाई धेरै ज्वरो आएमा तुरून्तै अस्पताल लैजानुपर्छ। रूघा नलागी देखिएको ज्वरो खतरनाक हुन सक्छ।
सामान्यतया भाइरसको संक्रमणमा खोकी लाग्ने, रूघा लाग्ने, सिँगान चुहिने जस्ता लक्षण बढी देखिन्छ। ज्वरोको मात्रा केही बढ्छ। धेरै ज्वरो छैन, बच्चाले खानपिउन छोडेको छैन, दिसापिसाब राम्रै छ, खेल्न, चल्न र जिस्कन सक्ने छ भने आत्तिन आवश्यक हुँदैन। भाइरसको संक्रमण आफैं निको हुन्छ।
(डाक्टर दीपराज थापाले स्विडेनमा बालबालिकाको प्राथमिक उपचार र स्वास्थ्य प्रवर्द्धन सम्बन्धी विशेष नर्सका रूपमा विद्यावारिधि गरेका छन्। उनी त्यहीँको एक विश्वविद्यालयमा प्राध्यापक पनि हुन्)
ट्विटर @DrDipRajThapa
(दीपराज थापाका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)