२०६२/६३ को जनआन्दोलनका बेला हजुर कति उमेरको हुनुहुन्थ्यो? म भने त्यही चार/पाँच वर्षकी थिएँ। उति बेला दसैँमा काठमाडौंबाट घर जानु कुनै सानो कुरा थिएन मेरा लागि। अनियमित डर र उत्साह मिसिएको पोको मनमा फुटिरहन्थ्यो।
बाटोमा पाँच/सात ठाउँमा चेकिङ हुन्थ्यो। छोरीमान्छे र केटाकेटी मात्र गाडीभित्र बस्न पाइन्थ्यो। सबै चेक जाँच गरेपछि छोरा मान्छेहरू नचढ्दै गाडी सुइँकिन्थ्यो अनि परबाट उनीहरूलाई चढाइथ्यो।
त्यसबेला एकातिर बाबालाई उतै छोपेर राख्ने त हैनन् भन्ने डरले आतिन्थेँ भने अर्को तिर गाडी नै घरतिर नगई हामीलाई अन्त कतै लिएर जान्छ कि भनेर काँप्थेँ। मेरो घर गएर रमाउने सपनामाथि जनआन्दोलनको डरको कुहिरो सधैँ हुन्थ्यो।
यो डरले मेरो परिवारमा भने खुब फाइदा गरेको थियो। मलाई घरमा दसैँ बिदाको होमवर्क सक्ने र उसका मामु-बाबालाई माओवादीले केही गर्दैनन् भनेर सिकाइएको थियो। यहीँ मात्र कारण थियो मैले मन नलागी-नलागी एक महिनालाई दिइएको होमवर्क दुई दिनमै सकाउनुको।
घर पुगिसकेपछि भने मलाई सबैभन्दा प्रिय लाग्ने दुई कुरा थिए- हजुरबुवा र हजुरबुवाले रोप्नुभएको मौसमबीको बोट।
आज न हजुरबुवा रहनुभयो न मौसमबीको बोट नै। तर काटीकुटी हजुरबुवाकै बानी भएको भाइ पाएकी छु र उसैले त बनाएको थियो मुड्याएको मौसमबीको बोटमा सुन्दर ट्री-हाउस!
ट्री-हाउस बनाएदेखि उसको बासै त्यही हुने गर्थ्यो। मामुलाई भने लड्ने डरले खुब सताउँथ्यो। ‘त्यो रुखमा नजा न केटा’ भन्ने वाक्य दिन दिनै सुन्नुपर्थ्यो।
सजाउन पनि लोभ नै लाग्ने तरिकाले सजाएको थियो बाबुले। भित्र अनेक चिज थिए; तिहारमा गलामा नाच्न नपाएका मखमली थिए, परालका सुकुल थिए, किताब थिए, नागबेलीका लहरा थिए, रतिका दाना थिए, के-के हो के-के थिए। उसका साथीहरू पनि घन्टौं त्यहीँ बसेर गन्थन गर्थे। तिनलाई देखेर मलाई आफ्नै बाल्यकालको खुब याद आउथ्यो।
एकदिन फोनमा मामुले मलाई भन्नुभएको थियो, ‘आजभोलि खुब सुध्रेको छ बाबु, रुखमा बस्न जान्न, घरमै पढेर बस्छ, मोबाइल पनि खाँसै चलाउँदैन।’
सुन्दा खुसी नै लाग्यो तर घर पुगेर उसको व्यवहारमा आएको परिवर्तन देख्दा म अचम्म परेँ। दुब्लाएर खिक्रिकै भएको! ११ वर्षको बच्चा दिनभर कोठाभित्रै बसेर पढेको पढ्यै गर्दैथ्यो तैपनि एउटै विषय मात्र।
ऊ दिनभर म्याथका हिसाबहरू गर्थ्यो र कापीका पाना गन्थ्यो। ३/४ दिनपछि मैले सोधेँ उसलाई, ‘बेबी, किन तिमीले म्याथ मात्र प्र्याक्टिस गरेको?’
मलाई पुलुक्क हेर्दै अँगालोमा लुटपुटिन आयो र भन्यो, ‘कान्छु, फर्स्ट ट्रममा म्याथ धेरै बिग्रियो अनि म थर्ड भएँ। मलाई कति पीर पर्या छ।’
भाइ अघिल्लो वर्षको अन्तिम परीक्षामा स्कुल फर्स्ट भएको थियो। कति रमाइलो थियो त्यो क्षण। उसलाई सबैले सधैँ प्रथम भएस् भन्दै सुमसुम्याएका थिए, फुरुक्क पारेका थिए, अपेक्षा बर्साएका थिए। सायद यी अपेक्षामा उसले हार्नु र पछि पर्नु गलत हो भन्ने बुझ्यो।
आज आफ्नै कक्षाका दुई साथीले पछि पार्दा ऊ आत्तिएको थियो। मलाई बाबुले पाएका आशिषहरूमा गुञ्जायमान ‘कहिल्यै नहार्नू है’ ले उसमा जितप्रति आशक्ति जगाई भयानक डर मन मस्तिष्कभर छरिदिएजस्तै लाग्यो।
अङ्कको चिन्ताले गर्दा हाँस्न, खेल्न नै बिर्सिएको थियो ऊ। त्यस्तो अङ्क जसमा ज्ञानको भन्दा स्मरणशक्तिको मूल्याङ्कन बढी हुनेगर्छ।
नेपाली संसारकै कमजोर आइक्यू भएका व्यक्तिहरूमध्ये पर्ने रहेछन् भनि अस्ति भर्खर पढेकी थिँए। हुन पनि जर्ज ओर्वेलको ‘पशुहरूको बस्ती’ पुस्तकमा रहेको बूढो मेजरको नाराजस्तै त छ हाम्रो पढाइ! बुझोस्, नबुझोस्, बस् रटोस्, कण्ठ पारोस्।
यो सत्य हो, सफलताले माथि पुग्दा जति मन हर्षित हुन्छ त्योभन्दा कयौँ गुणा बढी मन सिरिंग फेरि तल झर्दा हुनेगर्छ। तर जिन्दगीमा यस्ता उतारचडाव त कयौँ आउनेछन् र हरेकको सामना संयमित भएर गर्नुपर्ने हुन्छ। यस्ता कुरा बाल मनोविज्ञानले पक्कै पनि आफै अड्कल काट्न सक्दैन। यो त सिकाउनु पर्ने कुरा पो हो।
अरूको जितलाई आफूसँग तुलना गरी प्रतिस्पर्धा गर्दा वितृष्णा, क्रोध र आलश्यले निम्तो पाउँछन् अनि यी नै भावनाले मलजल गरिएका टुँसालाई रहरमा भन्दा करमा हुर्किने बानी पर्छ। फेरि करको आयु कहाँ लामो हुन्छ र?
त्यसैले त जनआन्दोलन सकिएसँगै मेरो होमवर्क गर्ने बानी पनि हराएको थियो। भाइको म्याथ प्रयाक्टिस पनि ती दुई साथीलाई उछिनेका दिन सकिएला। रहिरहनेछ त केवल ममा आफ्नो गुमाउने र उसमा फलानोभन्दा पछि पर्ने डर।
मेरो र भाइको समय फरक छ, तर जित्नुलाई सिक्नुभन्दा अगाडि राख्ने शिक्षाको विश्लेषणमा खासै परिवर्तन भएको देख्दिनँ म। उद्देश्य सही तर शैली दुवै समयमा गलत भइदियो।
कलिला मुनाहरूबाट फलको अपेक्षा गरेर हामीले के नै पाउन सक्छौँ र? तिनलाई त हावामा चङ्गा सरी सलबलाउन दिनुपर्छ। सलबलाउँदै सिक्न, लड्न अनि सम्हालिन दिनुपर्छ। करको डोरी यति पनि नखिचियोस् कि ती उड्नै बिर्सिउन्, बाल्यकालको स्मरणमा माया र सद्भावको न्यानोपनभन्दा कर र डर सम्झिएर तर्सिउन्।
भाइका हरेक हार-जितमा मैले दिने प्रतिक्रियाले भविष्यमा ऊ पछि परेका दिन सम्झेर आफैलाई कोस्छ कि ट्री-हाउसका मिठा कहानीहरू आफ्ना छोराछोरीलाई सुनाउँछ भन्ने कुरामा परक पार्छ।
मैले सिकेका पाठ उसलाई सिकाउनु र सम्झाउनु जरुरी छ। त्यसैले बाबु, तिमीले जिउने हरेक औँसी-पूर्णिमाका चक्रहरूमा दिदीको आशिष, ‘हार- जित परिणाम नकल्पी अघि बढ्नू, नथाक्नू, असत्यबाहेक कसैसँग नडराउनू।’