मैले कक्षा ४ मा पढ्दादेखि नै व्याकरणका उदाहरणमा सधैंजसो रामले भात खान्थ्यो। स्कुल पढुन्जेल रामले भात खाएको खाइ गर्यो। कहिलेकसो श्याम, कृष्ण, हरिले पनि खान पाउथे। सीताले पनि राम्रै खान पाउथी।
स्कुल क्याम्पस पढुन्जेल प्रायः तिनै व्यक्तिले खाए। ढिंडो, आटो, रोटी कहिल्यै खाएको थाहा पाइएन। तिनले पानी खान समेत पाएनन् भनेपछि दारुसारु खाए कि भन्ने शंका त झन् गर्नै परेन।
स्कुलमा व्याकरण पढाउने मुरली सर, चन्द्रकान्त सर, वसन्त सरले मात्र होइन क्याम्पसमा ऋृषि सर, हिरण्य सर, धर्म सर र डिग्रीमा भाषा विज्ञान पढाउने देवी सरले समेत त्यही रामलाई भात नै खुवाउनु भयो।
कहिले कसो रावणलाई पनि खान दिनुपर्ने! कहिले बाबुराम त कहिले रामवरणले समेत खान पाए हुने! उदारतापूर्वक सबैलाई खान दिएँ के हुन्थ्यो?
सलमान खान, प्रियंका चोपडा, राजेश हमाल, रेखा थापा, बालेन शाह, रवि लामिछाने सबैलाई खुवाए के जान्थ्यो! सधैं भात किन? कहिलेकाहीं त ममः, चाउमिन पनि खुवाउनु नि! पिज्जाको मज्जा पनि लिन दिनु नि!
अङ्ग्रेजी पढाउने सरहरू पनि 'राम इट्स राइस' मात्र भन्ने! शेक्सपियरलाई खान पर्दो रहेनछ कि क्या हो? शेली भोकै बस्दा रहेछन् कि! पुटिनलाई पनि खान त पर्छ होला। शेरबहादुर, केपी, प्रचण्ड, माधवहरू पनि प्रधानमन्त्री भइसकेका मान्छे हुन्। उनीहरूको भाग खोई?
शिक्षण पेसाका झन्डै एक दशक त मैले पनि प्रायः रामलाई नै भात खुवाएँ। नानीदेखि कै बानी न हो। जब रामलाई छोडेर अरुलाई खुवाउथें विद्यार्थीले कान ठाडा गराउँथे। पढाइमा रुचि दिन्थे। मैले शिक्षण पेसा छोडेको पनि ६ वर्ष पूरै भयो।
आजकल नेपाली अङ्ग्रेजी पढाउने गुरुहरू उही रामलाई भात नै खुवाउँछन् कि अरुलाई पनि खान दिन्छन् हँ? धेरै भात खाए सुगर लाग्न सक्छ। जमाना एडभान्स भए, कहिले कसो त पिजा खुवाएर खुसीमा गिजा देखाउँदै हाँस्न पनि दिनुपर्छ।
आदरणीय सर म्याडमहरू, सीताले भात खाई भन्दा अनुहार बिगार्ने विद्यार्थीले जेके रोलिङले ढिडो खाई भन्दा कान ठाडा गराएर सुनेको मेरो अनुभव छ। तपाईं पढाउँदा रामको ठाउँमा आफ्नो वा विद्यार्थीको नाम भनेर पढाउनुस्, विद्यार्थी कति उत्साहित हुन्छ।
हामी नेपाली टिचर सधैं 'हरेराम' गर्नुपर्छ भन्ने छैन। विद्यार्थीको नेपाली शिक्षकप्रतिको सोच बदल्नु पर्छ।
पहिला नेपाली विषय पढौं-पढौं लाग्ने बनाउनुस् अनि जसरी पढाए पनि हुन्छ। कक्षामा विद्यार्थी खित्का छोडेर हाँसोस्, हाई नकाडोस् भन्ने मेरो मान्यता हो। हाम्रो सोच र हाम्रा उदाहरण स्मार्ट भए विद्यार्थीले मन पराउँछ्न्। निजी स्कुलमा त झन् अधिकांश विद्यार्थीलाई मन नपर्ने विषय नेपाली हुन थालेको छ।
आजभोलि कक्षामा राम नाम गरेको एउटै विद्यार्थी हुन छोड्यो। मेरो २ कक्षामा पढ्ने छोराले भन्छ- 'राम त भगवानको नाम हो। मान्छेको पनि हुन्छ र!'
हो त, राम नाम गरेको एउटै साथी उसले भेटेको छैन। साथी छैनन्। किन राम-राम गर्ने?
हाम्रो पालामा राम नाम गरेको व्यक्ति ४/५ जनासम्म हुन्थे। केटीहरूको समेत रामकुमारी, रामप्यारी, राममायाजस्ता नाम हुन्थे। पढ्न मन नगर्ने विद्यार्थीकै नाम लिने हो भने उसले पूरै ध्यान दिन सुरु गर्छ। एको/एका/ एकी भन्दै रटाएर मात्र अर्थ छैन।
हिन्दुहरूको देवता, आदर्श पुरुष राम र सीतामाथि प्रश्न उठाउने? यो हाम्रो धर्म र संस्कृति माथिको प्रहार हो। यसले होली वाइन खाएछ कि क्या हो? भन्नेहरूलाई मैले केही भन्नु हैन। यो हिन्दु धर्म माथिको प्रहार होइन। शिक्षण प्रविधि माथिको प्रहार चाहिँ हो।
अहिले खास गरी निजी स्कुलहरूमा नेपाली विषय विद्यार्थीका लागि कठिन बन्दै गएको छ। सामाजिक विषय नेपाली माध्यमबाट पढाऊ भनेर सरकार भन्छ तर विद्यालय नेपालीबाहेक अन्य विषय नेपालीमा पढाउने कुरा सुन्न पनि चाहन्नन्।
नेपालीमा बोले सजाय भोग्नुपर्ने निजी विद्यालयहरू धेरै छन्।
कम्तीमा प्राथमिक तहमा त सामाजिक विषय नेपालीबाहेक अन्य भाषामा पढाउने विषयवस्तु नै होइन। यति कुरा विद्यालयकाहरूले कहिले बुझ्ने हुन्? नेपाली भाषा त मन्टेश्वरी कक्षादेखि नै ध्वस्त बन्दै गएको छ। त्यसमाथि उही रामले भात खाइरहने व्याकरण पद्धतिमा पनि समस्या छ कि!
हाम्रो शिक्षण प्रविधि रमाएर सिक्ने होइन, पुर्पुरो समाएर सिक्ने खालको छ। विद्यार्थी स्कुल लेभलसम्म पढ्दा-पढ्दा पढाइप्रति आकर्षण होइन, विकर्षण पैदा भइसकेको हुन्छ। कक्षा ९/१० मा पढ्ने विद्यार्थीलाई पढाइमा जोताएको देख्दा यस्तो लाग्छ कि तुरुन्तै उनीहरू दार्शनिक बन्दैछन्।
केही विद्यार्थी भन्छन्- कहिलेकाहीँ त सपनामा पनि सरहरूले पिटेको/गाली गरेको देख्छु अनि राति उठेर होमवर्क गर्छु। नियमित पढाइ त छँदैछ, त्यसबाहेक ट्युसन, कोचिङ, होम-ट्युसन आदि इत्यादि! के यही नै गुणस्तरीय पढाइ हो त?
मेरा एकजना छिमेकी परराष्ट्रका जागिरे छन्। उनका १० वर्षीय छोरा १ देखि ४ कक्षासम्म युरोपतिर पढेर आए। यहाँ आएर कहाँ पढाउने भन्ने तनाव भो। घर-छिमेकका अन्य बच्चाहरूले पनि पढ्ने भएकोले साथी हुन्छन् भनेर एउटा राम्रै भनिने नजिकैको स्कुलमा भर्ना गरे।
नेपाली त्यति राम्रो नजान्ने ती बच्चालाई नेपाली पढ्ने तनाव त हुने नै भयो। एक भारी किताब अनि होमवर्कको तनावले २-४ दिनपछि स्कुल मन परेन भन्न थाले। नेपालमा पढ्दिनँ मैले, पहिला पढेकै स्कुलमा पढ्न जाम भनेर दिनहुँ जस्तो भन्दा रहेछन्।
बच्चालाई पढाइको बोझ देखेर छिमेकी तनावमा छन्। डेनमार्कमा पढेका ती विद्यार्थी यहाँको पढाइको बोझले थिचिएर तनावमा छन्।
म आफैले पनि मेरो बच्चालाई प्रशस्त खेल मैदान भएको र भौतिक रुपमा पनि सम्पन्न एउटा सस्तो विद्यालयमा भर्ना गरिदिएँ। बच्चाको एउटै गुनासो सधैंभरि भयो- 'स्कुलमा जतिबेला पनि पढाएको पढाइ, एकछिन खेल्न दिने होइन। खेल्न नदिने भए स्कुलको त्यति धेरै खेल्ने ठाउँ किन चाहियो?'
३५-४० मिनेटको ब्रेक टाइम हुँदो रहेछ। त्यो त बच्चाले लगेको खाजा खाँदै सकिदो रहेछ। मैले स्कुलमा गुनासो पनि राखें। कम्तीमा प्राथमिक तहका विद्यार्थीलाई १ पिरियड खेल्ने वा रमाइलो गर्ने समय दिने हो भने केटाकेटी स्कुल जान्नँ त भन्दैनथे।
स्कुल जाउँ-जाउँ लाग्यो भने त विधार्थीले पढिहाले नि! तर यहाँ त किताबको भारी बोकाउने प्रतिस्पर्धा छ। नेपालका केही महंगा स्कुलहरूमा भने मध्यम खालका स्कुलमाभन्दा केही कम तनाव देखिन्छ।
कम्तीमा विद्यार्थीले आफ्नो झोला आफै बोकेर जान सक्ने त हुनुपर्यो। ५-७ कक्षामा पढ्ने विद्यार्थीले समेत आफ्नो झोला बोकेर स्कुल जान सक्दैनन्। झोला बोकेर कुप्रिँदै स्कुल जाँदा उनीहरूको भविष्य सोझिने आशा र विश्वासमा हामी बसिरहेका छौं। के आधा झोला किताबले एक दिनमा पढ्न नपुग्ने हो त?
हाम्रा शिक्षण प्रविधि र किताबको भारीले बालबालिकाको भविष्य नै कतै कुप्रिँदै गएको त छैन? विद्यालय, शिक्षक र अभिभावकले झोलाको भारीमा कहिलेसम्म भविष्य देख्ने हो?
विद्यार्थीहरू हरेक दिन सजाय भोग्न विद्यालय गएको अनुभूति गरेका त छैनन्? त्यसमाथि घण्टौँको जाम भोग्दै विद्यालय जानु पर्ने दैनिक कष्टकर यात्रा पनि धेरैको लागि तनाव हुँदै हो। तनावमुक्त विद्यालय बनाउनेतिर सोचौं कि!