मैले यसअघिको लेखमा बच्चा जन्मिनुअघि आमाबाबु, परिवारजन लगायतले सोच्नु पर्ने कुराहरू लेखेको थिएँ। यो लेखमा म गर्भ सुरू भएदेखि बच्चा जन्मिने बेलासम्म घरपरिवारका सदस्यहरू, अभिभावक र स्वास्थ्यकर्मीले अपनाउनुपर्ने सावधानी र स्वास्थ्य सुरक्षाको बारेमा लेख्दै छु।
जब महिला गर्भवती बन्छिन् तब उनमा शारीरिक र मानसिक परिवर्तनहरू देखा पर्छन्।
स्वाभाविक रूपमा एउटै शरीरमा अर्को मानिस रहने, जुम्ल्याहा–तिम्ल्याहा समेत तीन–चार जीवन एउटै शरीरबाट सञ्चालन हुने प्रकृतिको कला आश्चर्यजनक नै छ। सानो कोषबाट भ्रूणको विकास हुँदै र हरेक शारीरिक अंगहरू विकसित हुँदै मानव आकार लिएर, मानवीय गुण बोकेर बच्चा जन्मिने प्रक्रिया साँच्चै रोचक छ।
गर्भधारण र गर्भभित्र शिशु हुर्कने र बढ्ने प्रक्रियाको जानकारीमा विज्ञानले उथलपुथल ल्याएको छ। वैज्ञानिक तथ्य र प्रमाणहरूबाट आज स्वास्थ्यकर्मीहरू भ्रूणदेखि जन्म हुने समयसम्मका विकासका सबै चरणहरू सजिलै नियाल्न, निर्क्यौल गर्न र समस्या समाधान गर्न सक्ने भएका छन्।
नयाँ वैज्ञानिक उपकरणहरू र विधिद्वारा आमा र गर्भस्थ शिशुको स्वास्थ्य सुरूदेखि नै नियाल्न, अवलोकन गर्न र आवश्यक उपचार गर्न सजिलो भएको छ। आजभोलि गर्भमा भएको शिशुको शल्यक्रिया गर्ने सुरक्षित विधि पनि विकास भइसकेको छ।
विडम्बना के छ भने ती नयाँ विधि र विशेषज्ञ स्वास्थ्यकर्मीहरू विकसित मुलुकहरूमा मात्रै छन्। कुनै अविकसित वा विकासोन्मुख मुलुकमा भए ठूला सहरहरूमा मात्र सीमित छन्।
नेपालको हुम्ला, जुम्लामा बच्चा जन्माउनु र काठमाडौंमा जन्माउनुमा ठूलो फरक छ। अर्को विडम्बना के छ भने भौगोलिक रूपमा विकट ठाउँका मानिसहरू सुगमको जस्तो स्वास्थ्य सेवाबाट मात्र नभई शिक्षाबाट पनि वञ्चित छन्।
शिक्षा र स्वास्थ्य सेवा कमजोर रहेका दुर्गम ठाउँका धेरै परिवारमा गर्भवतीको हेरचाह कसरी गर्ने, उनलाई कसरी सहयोग गर्ने, गर्भस्थ शिशु कसरी सुरक्षित राख्ने इत्यादि ज्ञान पनि कम हुन्छ। सामान्य जाँच गर्न पनि घन्टौं हिँडेर स्वास्थ्य चौकी वा अस्पताल पुग्नुपर्ने बाध्यता छ। विज्ञानले विकास गरेको नयाँ उपचार विधि विकट ठाउँका महिला र गर्भवतीले पाउँदैनन्। गर्भस्थ शिशुहरूले अनिवार्य सेवा पाउँदैनन्।
मातृशिशु स्वास्थ्यसम्बन्धी शिक्षाको कमी, भौगोलिक विकटता र स्वास्थकर्मीको अभावका कारण नेपालमा गर्भवती महिला र नवजात शिशुको मृत्युदर कहालीलाग्दो छ। नेपालमा मातृमृत्युदर घट्दै गएको भए पनि कोरोनाकालपछि बढेको देखिएको छ। मातृशिशु मृत्युदर न्यूनीकरणका लागि स्वास्थ्यसम्बन्धी ज्ञान अभिवृद्धि र सेवा विस्तार कार्य अनिवार्य छ। सेवा पनि सकेसम्म आधुनिक हुनुपर्छ।
बच्चाहरू जन्मिरहन्छन्। यसलाई हामी सामान्य घटना मान्छौं। आफूले बच्चा नजन्माउँदासम्म बच्चा जन्माउनुको वास्तविक अर्थ र महत्त्व थाहा हुँदैन। यो कति गम्भीर अवस्था हो भन्ने पनि थाहा हुँदैन।
एकातर्फ गर्भवतीको शारीरिक र मानसिक परिवर्तन तथा अर्कोतर्फ गर्भस्थ शिशुको स्वास्थ्य र जन्मपछिको रेखदेख, भविष्य लगायतका कुराले आमाबाबु चिन्तामा पर्न थाल्छन्।
बाबु हुने श्रीमान विशेष गरी आफ्नी गर्भवती श्रीमती र गर्भस्थ शिशुको स्वास्थ्यबारे चनाखो रहनुपर्छ। सम्भाव्य समस्या समाधानबारे तयार बस्नु पर्छ। अवसरहरू पनि थाहा पाउनु पर्छ।
गर्भवती भएको थाहा हुने पहिलो लक्षण रजस्वला रोकिनु हो। शंका लागेपछि परीक्षण गर्ने सुविधा छ। परीक्षणबाट ढुक्क भएपछि आवश्यक तयारीको काम सुरू हुन्छ।
गर्भवती भएपछि सुरूका दिनमा बिहान टाउको दुख्ने, स्तन दुख्ने, धेरै पटक पिसाब लाग्नेजस्ता समस्या देखिन सक्छन्। धेरैलाई वाकवाकी लाग्ने, वान्ता हुने, खान मन नलाग्ने जस्ता समस्याहरू पनि देखा पर्छन्। यस्तो बेला परिवारका सदस्यहरूबाट सहयोग र सान्त्वना आवश्यक पर्छ। गर्भको तीन महिना पूरा नहुन्जेल गर्भपतनको सम्भावना बढी हुन्छ। यसमा सचेत रहनु पर्छ।
शारीरिक परिवर्तनसँगै हलुका मानसिक त्रास पनि उत्पन्न हुन्छ। यस्तो अवस्थामा श्रीमान र परिवारका अन्य सदस्यहरूको सहयोगी भूमिका आवश्यक हुन्छ। गर्भवतीको मनोबल बढाउन सबैले मद्दत गर्नु पर्छ। गह्रौं सामान उचाल्नु, भारीबोक्नु र लामो दूरी बसयात्रा गर्नु उचित हुँदैन। यसतर्फ ध्यान दिनु पर्छ।
गर्भवती भएपछि रक्तपरीक्षण गराउनु पर्छ। शरीरलाई चाहिने भिटामिन र अन्य तत्त्वहरू भए नभएको थाहा पाउनु पर्छ। यसका लागि स्वास्थ्य सेवा लिनु पर्छ। गर्भवतीको हेरचाहमा श्रीमान, अभिभावक र परिवारका सबै सदस्यहरू सचेत रहनु पर्छ। स्वाभाविक प्राकृतिक प्रक्रिया हो भन्ने ठानेर बेवास्ता गर्नु हुँदैन।
गर्भवती हुनुको अर्थ दुई जिउ एउटै शरीरबाट चलाउनु हो। यसकारण गर्भवतीले पौष्टिक पदार्थ, फलफूल, सागसब्जी र विभिन्न भिटामिनको सेवन बढाउनु पर्छ। सन्तुलित भोजन अत्यावश्यक हुन्छ। गर्भवतीले मादक पदार्थ सेवन गर्नु हुँदैन, धूमपान गर्नु हुँदैन। यी दुईको असर सोझै गर्भमा पर्छ। परिवारका सदस्य वा अन्य कसैले धूमपान गर्दा पनि तिनको नजिकमा हुनु हुँदैन।
कतिपय औषधिहरूले गर्भस्थ शिशुलाई नकारात्मक असर पुग्न सक्छ। चिकित्सकको सल्लाह नलिई कुनै पनि औषधि सेवन गर्नु हुँदैन। गर्भवतीको स्वास्थ्य अवस्थाको उनले प्रयोग गरेको औषधिको प्रभाव सोझै गर्भस्थ शिशुमा पर्छ।
शारीरिक स्वास्थ्यको मात्रै होइन, मानसिक स्वास्थ्यको प्रभाव पनि गर्भस्थ शिशुमा पर्छ। मनको खुसी र बेखुसीको प्रभाव पनि पर्छ। यसर्थ गर्भवतीका निकटस्थहरू सबैले उनीप्रति सकारात्मक व्यवहार गर्नु पर्छ। उनलाई हँसिली, खुसिली राख्ने प्रयास गर्नु पर्छ।
गर्भवतीलाई मधुमेह र उच्च रक्तचाप हुन सक्ने अधिक सम्भावना हुन्छ। गर्भ रहनुभन्दा पहिलेदेखि नै यस्ता रोग भएकालाई बढी समस्या हुन सक्छ। मुटुरोगी गर्भवतीलाई पनि बढी समस्या पर्न सक्छ। यस किसिमका रोग भएकी गर्भवतीलाई नियमित रूपमा चिकित्सकको परामर्श आवश्यक पर्छ। चिकित्सकलाई आफ्नो स्वास्थ्य अवस्थाबारे सबै जानकारी गराउनु पर्छ।
सुत्केरी हुने बेलासम्म आवश्यक स्वास्थ्य परीक्षण गराइरहनु पर्छ। सामान्य हिँडडुल र कसरत गर्नु पर्छ। साधरण कसरत हुने घरायसी कामहरू गर्नु पर्छ।
गर्भ रहेदेखि सुत्केरी हुँदासम्मको समय अत्यन्त महत्त्वपूर्ण र संवेदनशील हुन्छ भन्ने कुरा गर्भवती र उनका निकटस्थहरू सबैले बुझ्नु पर्छ।
हाम्रा गाउँघरमा घरमै बच्चा जन्माउने परम्परा अहिले पनि कायमै छ। गर्भ आठ महिना भएपछि धेरै पेट दुख्ने र अप्ठ्यारो हुने, बच्चा धेरै चल्ने या चल्दै नचल्ने भएमा तुरून्त अस्पताल पुग्नु पर्छ। भौगोलिक विकटता, आर्थिक संकट र अज्ञानताका कारण धेरै गर्भवतीले न्यूनतम स्वास्थ्य सेवा पनि पाउँदैनन्। यस्तो अवस्थामा गर्भवती र गर्भस्थ शिशु दुवैलाई जोखिम हुन्छ।
राम्रो स्वास्थ्य सेवा पाएको छ भने सुत्केरी हुँदा जटिलता हुने सम्भावना निकै कम हुन्छ। कुनै जटिलता देखापर्यो, नियमित स्वास्थ्य सेवा चाहियो तर नजिकमा अस्पताल छैन भने अस्पताल नजिक अस्थायी बसोबासको व्यवस्था मिलाउनेतर्फ पनि सोच्नु पर्छ।
आजको आधुनिक प्रविधिले बच्चा जन्मने मिति पनि ठ्याक्कै थाहा हुने गराइदिएको छ। नर्स र चिकित्सकहरूले यसै अनुसार तयारी गराउँछन्। उल्लिखित पक्षहरूमा ध्यान दिएर गर्भवती र गर्भस्थ शिशुको स्वास्थ्य रक्षा गर्न सकिन्छ। स्वस्थ बच्चा जन्माउन सकिन्छ। मातृशिशु स्वास्थ्य रक्षा गर्न सकिन्छ। देशले एक स्वस्थ नागरिक पाउँछ।
यो पनिः बच्चा जन्माउनुअघि सोच्नै पर्ने कुराहरू के हुन्?
निःशुल्क र गुणस्तरीय बाल स्वास्थ्य प्रणालीको एक नमूना
गर्भमा भएदेखि हुर्काइसम्म बालबालिकाको हेरचाह कसरी गर्ने?
ट्विटर @DrDipRajThapa
(डा. दीपराज थापाका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)