कर्मभूमि छाडेर जन्मभूमि आउँदा मनै हरर्र हुने। काठमाडौंका बंगालाभन्दा हाम्रै घरको बंगाला (हाम्रोतिर तला सहितको राम्रो गोठलाई बंगाला भनिन्छ) राम्रा लाग्ने। घर दरबार जस्तै! यहाँको माटोले आर्शिवाद दिएजस्तं लाग्ने।
खोला नालाले बोलाइरहे जस्तै लाग्ने। चराहरू मलाई नै देखेर नाचगान गरिहेका छन् जस्तो लाग्ने। गाउँका, इष्टमित्रहरू आफ्नै पर्खाइमा बसिरहे जस्तो लाग्ने। सौराहा जंगलमा गएर हात्तीमा चढेर जङ्गला हिँड्दाभन्दा आफ्नै गाउँका जङ्गलमा हिँड्दाको मजा कैयौं गुणा धेरै हुने।
पहिला चढेका सबै रुखमा चढौं चढौं लाग्ने। गाईबाख्रा हेर्न जाने वनमा गाई र बाख्राहरूको गोठ लगेर जाउँ-जाउँ लाग्ने। बारीमा खुसुक्क छिरी काक्रा चोरेर सिङ्गै चपाउँदै हिँडौं हिँडौं लाग्ने। उमेर पाको भएकोमा कता-कता थकथकी लागेर आउने। माटोको माया!
गाउँमा जाँदै गर्दा ७५ वर्ष पुगेका माटाखानी माइला बा डोको बोकेर लुखुर-लुखुर हिँड्दै गरेको भेटें। मैले सोधें- 'कता हिँडनु भयो माइला बा?'
लामो सास फेर्दै जवाफ आयो- 'एउटा भैँसी छ। भोकै मार्न भएन। घाँस काट्न जान थालेको।'
गिठीचौरे जेठाबा र कान्छा बा दुवैको गोठ रित्तै भएछ। जेठाबाले भन्दै हुनुहुन्थ्यो- 'साँझ बुढीले पकाउन मेसो पाउन्ने। बिहान त अहिलेसम्म पकाएकी छे।'
माथ्थिरे बा दसैँ ताका जानुभयो। उहाँको घर जाँदा आमैले भन्नुभयो- 'कोही छैन बाबु गाउँमा। हामी त तीन घरमा तीनटी विधवा बुढीहरू मात्रै छौं बाय।'
बुढाबुढी सकिँदै गए। गाउँ रित्तिँदै गयो। ५० वर्ष नकटेका मान्छे भेटाउन गाह्रो हुन थालेछ गाउँमा। गाउँमा रमाइलो हुन हरेक वर्ष दसैँ पर्खनुपर्छ। डाँडापाखा घन्काउँदै रमाइलो हुने तीज हराउन थालेछ। डाँडापाखामा लोकगीत घन्कन छोडेछन्। चराचुरुङ्गीको आवाज र न्याउली चरीको कुहु-कुहु आवाज बाँकी रहेछ।
मेरो गाउँमा झण्डै एक दर्जन घर खाली भएछन्। हामी सानो छँदा खेती गरिने पाखो बारी र टारी खेत धेरैजसो त बाँझो भइसकेछ। जेनतेन खेती गरे पनि बाँदरले सखाप पार्ने रहेछ। बाँदर पनि घर-घर छिर्न थालेछ। बाँदरकै कारणले पनि कतिपय त बसाइँ सरिसकेछन्।
गाउँका दुःख मोटर चढेर भागेन, गाउँमा बसिरह्यो। गाउँमा २-४ जना उमेरका मान्छे भेटिन्छन्। ती पनि भिसा नलागेर वा प्रकिया नमिलेर केही समय बसिरहेका छन्। स्थानीय तहतिर वा स्कुलतिर जागिर भएका २-४ जना बसिरहेका छन् र गाउँलेहरूलाई बस्ने आधार भएको छ।
गाउँको प्राथमिक स्कुल त विद्यार्थी नभएर बन्द भइसक्यो। उहिले-उहिले कक्षामा थेगिनसक्नु विद्यार्थी हुन्थे। अहिले १० बाट जति तल्लो कक्षामा हेर्यो विद्यार्थी घट्दै-घट्दै गएको देखिन्छ।
अबको १० वर्षपछि धेरै स्कुल बन्द हुने लक्षण देखिन्छ। गाउँमा जतिसुकै विकास र सहजता हुँदै गए पनि नयाँ पुस्तालाई गाउँले राखिरहन सकेन। हाम्रो पाला ४-६ जना छोराछोरी सबैका हुन्थे। अहिले दुईभन्दा बढी छोराछोरी भए जिब्रो टोक्न थाल्छन्। छोराछोरी ४-५ वर्षका भए कि पढाउने नाममा बुहारीहरू सहर छिर्न थाले।
छोरा बुहारीहरू कोही स्वदेशकै जागिरे भए। कोही विदेशको जागिरे। हरेक दिन बुढाबुढीहरू छोराछोरीले कति बेला फोन गर्छन् भनेर बस्छन्। मोबाइलमा घण्टी बज्नासाथ एकछिन अनुहारमा चमक आउँछ। चाडपर्व आउन थाले भने कति बेला आउँछन् भनेर बाटो कुरेर बसिरहन्छन्। 'बार छोरा तेह्र नाति, बुढाको धोक्रो काँध माथि' भने झैँ बुढाबुढीका दुःख उस्तै छन्।
गाउँ सडक सञ्जालले जोडिँदै गएका छन्। राज्यले ग्रामीण क्षेत्रमा शिक्षा, स्वस्थ्य लगायतका क्षेत्रमा राम्रै लगानी पनि गरेको छ। तर गाउँ वृद्धाश्रममा परिणत हुन थाले। युवाहरू गाउँमा बस्न छोडे। स्कुलमा विद्यार्थी घट्दै जान थाले। वनजंगल बढ्न थाल्यो। २० वर्ष अघिको रौनकता गाउँमा अहिले छैन।
अबको २० वर्षपछि गाउँहरू कस्ता होलान्? अधिकांश घरमा ५० वर्ष काटेका बुढाबुढी छन्। छोरा-नाति सहर या विदेशमा। कतिपय बुढाबुढीलाई गाउँको मायाले तानिरहेको छ। कतिपयको सहरतिर घरबासको व्यवस्था हुन नै बाँकी छ। सहर र तराई कंक्रिटका जंगलले भरिँदै छन्। भरिला गाउँहरू हरिया रुखले भरिँदै छन्।
दसैँ सँगै गाउँमा रौनकता आउँछ। तिहारपछि फेरि बैराग छाउँछ। छोराछोरी पर्यटक घुम्न आएजस्तै आउँछन्, जान्छन्। बुढाबुढीलाई स्वागत र बिदाइमा ठिक्क। के खान्छन् भन्दाभन्दै हप्ता दश दिन बित्छ।
बुढाबुढी बटौली र पत्थरकोटबाट नुन बोकेका अतीत सम्झँदै नाति-पनाती हेरेर दंगदास पर्छन्। स्मार्ट फोन, घरमा ग्यास चुला, आँगनमै मोटरगाडी। हप्ता दिन लगाएर नुन तेल किन्न जाने ठाउँमा बिहान गएर साँझ फर्किन सकिने। समय विचित्रले परिवर्तन भयो।
म जन्मिएको गाउँ गुल्मीको मदाने गाउँपालिकाको बडाचौरको मात्र होइन, देशभर नै गाउँका कथा व्यथा समान छन्। सहर र तराईमामा च्याउ उम्रेजस्तै कंक्रिटका जंगलले भरिरहेका छन्। यता सहरमा बित्ताले नापेर घडेरी किन्न मारामारा छ। उता गाउँका जग्गा कौडीको मूल्यमा पनि जाँदैनन्।
खेती गर्ने खेतबारीमा झाडी र रुखले भरिन थालेका छन्। जनसंख्या स्थिर जस्तै छ। तराई र सहरमा च्याउ सरी उम्रिएका घर भरिन हिमाल र पहाड रित्तिँदै छन्। समाजले फड्को त मारिरहेको छ तर यताबाट फड्केर उता खुट्टा नटेक्दै चिप्लिएर लड्ने हो कि भन्ने डर पनि छ।
हाम्रा बा-हजुरबाले जीवनयापन गर्न सुनाएका कुरा एकादेशका कथा भइसके। हामी आफै भोगेका कुरा समेत सपना हो कि विपना जस्तो हुन थाल्यो। पहिला मान्छे थिए , सेवा सुविधा र विकास थिएन। अहिले जति जति सेवा सुविधा र विकास थपिदै गयो मान्छे उति-उति घट्दै जान थाले।
यो विकास कता-कता के-के नमिले जस्तो। तरकारीमा नुन हाल्न बिर्से जस्तो। के हाम्रा गाउँ-वस्ती उजाड र मानव विहीन हुँदै जानु पनि विकास हो? कन्चटमा हात राखेर सोचिरहन्छु, उत्तर पाउँदिनँ।
सुख पाउने आशमा अनि मिठोचोखो र ठूलो भाग खान पाउने आशमा हामी सहर भासिए जस्तै मुलुकभर एउटै कथा र व्यथा नै त होलान्! रहरै रहर, आशै आश र बाध्यतै बाध्यतामा मान्छेको जिन्दगी बित्ने!
भोलिको आशै आशमा दुःख र तनावका भारी बोकेर तालु खुइलिए जस्तै जिन्दगी खुइलिँदै गइरहेको छ। के मैले पढेको स्कुलमा हाम्रो पाला झैँ कक्षाकोठा खचाखच होलान् त कुनै दिन? हाम्रा गाउँघर पाखापखेराहरूमा लोकलयमा गीतहरू घन्केलान् त?
हरेक चुनाव र दसैँमा गाउँ रुन्चे अनुहारमा पनि मुस्कुराउन खोजे जस्तो लाग्छ। नेताहरू चुनावमा भाग्य खोज्दै गाउँ पसिरहेका छन्। गाउँ भने भविष्य खोज्दै सहर पसिसके जस्तो लाग्छ।
नेताहरूको भाग्य र भविष्य त गाउँले बनाइदेला तर गाउँका भाग्य र भविष्य कोर्ने योजना के-के छन् त नेताहरूसँग? डोजरले मात्र गाउँको भाग्यरेखा कोर्न सक्ने देखिएन। युवाहरूले गाउँमै बसेर सुन्दर भविष्यको सपना देख्न पाउने अवस्था आउला त फेरि?