प्रसंग अनुसन्धान विषयको। म अनुसन्धान चाख राख्ने मान्छे। यस्तै काम फेला पर्यो। मेरो लागि मौका थियो। मैले सहज स्वीकार गरेँ। सोच्नुपर्ने कुनै कारण थिएन।
चाखलाग्दो कुरो त विषयवस्तु पनि मेरो रुचिको थियो। सुनमा सुगन्ध भएपछि के खोज्नु? दुवै हातमा लडडु भनेजस्तै भयो। अनुसन्धान गर्न पनि पाउनु अनि त्यसमाथि रुचिको विषय। सोचेजस्तै भयो।
सबैकुरा मुलतबीमा राखेर म कसिएँ। अनुसन्धानमा लागेँ। अनुसन्धानमा केही अनुभवहरू भएकोले असहज पनि भएन। म उत्साहित थिएँ।
सर्वप्रथम मेरो काम थियो पाठ्यसामग्री जोहो गर्ने। सोधकार्य पास भएपछि मात्र सुरु हुन्थ्यो पूर्ण अनुसन्धान। विषयवस्तु रुचिको भएर पनि काम थाल्न कुनै साइत चाहिएन। अध्ययन सँगसँगै सोधकार्यको रुपरेखा तयार पार्न थालेँ।
योजनासहित काम अघि बढन थाल्यो। विषयवस्तुहरूको विस्तृतमा अध्ययन गर्न थालेँ, गहिरो अध्ययन जरुरी पनि थियो। अनुसन्धानको विषय खेलाची काम पनि पक्कै थिएन तर रुचिका कारण सजिलो महसुस भएको थियो। अर्को अर्थमा यो अल्झनको विषय भएन। एवं रितले दिनहरू सँगसँगै किताबको पाना पल्टिदै गए।
गर्दै भन्दै गर्दा तीन महिना बितेको पनि पत्तै भएन। उक्त समयको कसरत र ध्यानले जसोतसो यसको भौतिक स्वरुप निर्माण भयो। योसँगै म झन् उत्साहित पनि भएँ। सोधकार्यको रुप निमार्ण भयो। केही समय पुनःसुधारमा बिताएँ।
मेरो व्यक्तिगत दृष्टिकोण र विचारको उपयोग गर्दै मैले प्रारम्भिक काम तयार पारेँ। काम जसोतसो पूरा गरेँ। अब भने मैले अग्निपरीक्षा दिनुपर्थ्यो। त्यो भनेको प्रस्तुतीकरण गर्नु, त्यो पनि विशेषज्ञहरूको बीच। त्यसपछि मात्र दोस्रो चरण सुरु हुन्थ्यो।
मेहनतको काम थियो। खेर जाँदैन भन्ने मनमा परेको थियो। मैले प्रक्रियाअनुसार सम्बन्धित ठाउँमा बुझाएँ। अब भने मैले लेखेको कुरा विशेषज्ञहरूसामु प्रस्तुत गर्नुपर्ने थियो। अनुसन्धानको अनुभव भए पनि यो मेरो लागि बिल्कुल फरक अनुभव थियो। एकहिसाबले कठिन पनि।
केही दिनपछि फोन आयो सोधकार्यको डिफेन्सको लागि। जब फोन राखेँ, मनमा ढ्याङग्रो बज्न थाल्यो। विद्धानहरूको अगाडि जति नै उफ्रे पनि कान्लामुनि नै हो। विशेषज्ञ शब्द नै भारी लागेको थियो झन् भेट हुँदा के हुने हो भन्ने चिन्ता पालेर पढ्नतिर नै मन लगाएँ। डर लुकाउने ठाउँ थिएन। एउटै उपाय घुँडा टेकेर पढ्न मात्र थियो।
एक दिन, दुई दिन भन्दै त्यो समय पनि आयो। मनमा डरको पारो चढिरहेको थियो। त्यो स्वाभाविक पनि थियो। वास्तविकतालाई आत्मसाथ गर्न खोजिरहेँ। बेलाबेला आत्मविश्वास पनि आउँथ्यो किनकी आफैले तयार पारेको काम थियो। कसो भन्न नसकुँला र जस्तो लाग्यो। अर्कोतिर परीक्षा पनि हो, डर लाग्नु स्वाभाविक पनि थियो। जे होस तयारी भने राम्रै थियो।
दुई/चार दिन पनि बिते। त्यो दिन पनि आयो। मनमा अनेक कुराहरू खेलाउँदै भए पनि समयमा नै पुगेँ। मनभरि डर थियो। साथीहरूका कुराहरूले पनि आत्तेस भएको थियो। 'गाली गर्ने अनि पेपर फ्याक्ने पनि गर्छन् रे' भन्थे। यो कुरामा मनको केन्द्रमा नै थियो।
समयमा नै पुगेँ। तयारी हुँदै थियो। बाहिर केहीबेर पर्खनुपर्ने भयो। मनमा छटपटी थियो। यताउता हिँड्दै समय बिताउँदै थिए। बेला हुन लागेको थियो। कान थापेर बसेको थिएँ। समय नजिकिँदै गर्दा झन आत्तिएको अनुभूति भयो।
भित्रबाट बोलावट पनि भयो। म भित्र पसेँ। सबैजनालाई नमस्कार गरे। वरिपरि चिनेका नचिनेका महानुभावहरू हुनुहुन्थ्यो। मेरो परिचय माग्नुभयो। मैले विस्तृतमा परिचय दिएँ। त्यसपछि भने प्रश्नको सिलसिला चल्न सुरु भयो। सामान्यबाट जटिलतिर प्रश्नहरू सोधिँदै गए। मैले पनि जवाफ दिँदै जान थालेँ।
मेरा उत्तरहरू सरले खोजे जस्तो थिए वा थिएनन? राम्रा थिए वा नराम्रा? उहाँहरूले ठिक बेठिक भन्नुभएन। कुनै प्रश्नमा पनि किञ्चित डर नमानी उत्तर दिएँ। जति प्रश्नहरू उहाँहरूले सोध्नुभयो कुनै पनि प्रश्न अनुत्तरित रहेनन्।
मैले जे कल्पना गरेको थिएँ, अहिले आएर बेकार लाग्यो। कुनै असहज र अप्ठ्यारो लागेन। आत्मविश्वासको कमी भएन। सहज रुपमा उत्तर दिँदै गएँ। अन्त्यमा अन्तवार्ताको समय लगभग सकिएको थियो।
मलाई सरले केही सुझावहरू दिने क्रममा उहाँले आफ्ना कुराहरू राख्नुभयो। त्यो स्वाभाविक पनि थियो। एकतर्फी उहाँहरूका सुझावहरू सुने। उहाँहरूका कुराहरू पक्कै पनि उपयोगी थिए। तैपनि म एक अनुसन्धानकर्ताको रुपमा केही कुरा राख्न चाहन्थेँ। केही कुरामा द्वन्द्व भयो जुन कुराहरू म बुझ्न चाहन्थेँ र मेरो कुरा पनि प्रष्ट्याउन चाहन्थेँ।
मेरो केही कुरामा प्रश्नहरू थिए। प्रश्नले जन्माएका प्रश्नहरू थिए। केही नयाँ थिए। सबैलाई टिपोट गर्दै राखेको थिएँ। जिज्ञासाहरू थिए। म स्वाभाविक नै मान्दछु। कुरा प्रष्ट नभई अघि कसरी बढ्ने र? त्यो खोज र अनुसन्धान गर्ने मान्छे म थिएँ। मैले प्रश्न गर्नलाई उठेँ।
औपचारिक रुपमा प्रश्न राखेँ। प्रश्न विषयसँग सम्बन्धित नै थियो। मैले स्याबासी पाउँछु पो जस्तो लागेको थियो तर सर त रिसाउनुभयो। किन रिसाउनु भयो? मैले थाहा पाइनँ। यत्तिकैमा अर्को एक सरले साकंतिक रुपमा चुप भन्नुभयो। म ट्वाल्ल परेँ। अनि सबैजना बाहिर निस्कनुभयो।
अन्तिममा मलाई चुप भन्ने सरले कोट्याउँदै भन्नुभयो, 'तपाईंलाई सुझावहरू लेखिदिनुभएको छ, त्यहीअनुसार गर्नुहोस्। जे भन्यो त्यही गर्नुपर्छ। उहाँहरू जस्तो विशिष्ट मान्छेहरूलाई प्रश्न गर्न मिल्दैन।'
यति भन्दै उहाँ पनि बाहिर निस्कनुभयो। म अवाक भएँ। चुपचाप भएँ। एकछिन छक्क परेँ। रित्तो भएजस्तो लाग्यो। दिमाग पनि खाली भयो। रातोपिरो हुँदै बाहिरिएँ।
मलाई एउटै प्रश्नले हिर्काइरह्यो- 'मैले सोध्न किन नपाउने? सोध्न किन मिल्दैन?'
चित्त बुझ्दै बुझेन। प्रश्न सोध्न नमिल्ने भन्ने प्रश्न नै अनौठो लाग्यो। म त अप्ठ्यारोमा परेँ। अब मेरा प्रश्नहरू कसलाई सोध्ने? अस्पष्ट भएपछि कसरी गर्ने? काम कसरी अघि बढाउने? काम सकिएपछि फेरि पनि अन्तर्वार्ता हुन्छ। मैले कसरी जवाफ दिने? झन अलमलमा परेँ। मन शान्त हुँदै भएन। एक किसिमको मनमा तनाव भयो।
मैले प्रश्न गर्न किन नपाउने? के यो प्रश्न गर्दा साख गिर्ने हो कि इज्जत जाने? मेरो मन र दिमागले बारम्बार प्रश्न सोधिरह्यो। के म गलत थिएँ त? अब मेरो मनमा यो प्रश्न खरो उत्रियो। अनि मनमनै सोध्न थालेँ। एक मनले भन्यो- कि मैले गल्ती गरेँ? तर कुनै पनि हिसाबले आफूलाई गलत हो भन्ने लागेन।
कुनै कुरा जान्नको लागि प्रश्न गर्नुपर्छ। प्रश्न गर्नु भनेको जिज्ञासा हो। जान्न खोज्नु नराम्रो कुरा हो त? नबुझेको कुरा सोध्नु त सामान्य कुरा हो। मेरो प्रश्न आफैतिर फर्कियो। यो कुराले मलाई अझ जिज्ञासा पैदा भयो।
मान्छेलाई प्रश्न सोध्न हैसियत पो चाहिने हो? किन मैले प्रश्न गर्न पाइनँ? उत्तर नभएर त पक्कै पनि होइन होला? मलाई विश्वासै लागेन र होइन पनि। प्रश्न गर्नु अपराध पो हो कि? अपमान हुने हो कि? यो कुराले झन कौतूहलता भयो।
मनले उत्तर खोजिरह्यो। शान्त हुनै सकिनँ। आज बित्यो, भोलि बित्यो तर मैले यो प्रश्नको उत्तर खोज्न छोडिनँ। अचानाक मलाई बाल्यकालको याद आयो जतिबेला मलाई बुबाआमाले भन्नुहुन्थ्यो, 'आफूभन्दा ठूलो मान्छेहरूले भनेको मान्नुपर्छ। मुखमुखै लाग्नु हुँदैन।'
यो कुरा मेरो दिमागमा अल्झियो जतिबेला म सानो थिएँ। घरमा प्रश्न गर्न छुट थिएन। घरमा माया धेरै पाउँथें तर अधिकार कम। यी कुराहरूले मलाई नै प्रश्न गरेजस्तो लाग्यो। गल्ती नै पो गरे कि जस्तो लाग्यो किनकी बुबाआमाले भनेको आधारमा त मैले विद्वानहरूसँग मुखमुखै लागेँ। अझ म बाल्यकालमा विस्तृततर्फ लागे।
विद्यालयका कुरा सम्झिएँ। कक्षामा प्रश्न गर्ने विद्यार्थीलाई सरले गाली गरेको। सजाय दिएको। त्यति मात्र होइन, परीक्षामा समेत फेल गराउने गरेको। कोही पनि सरलाई प्रश्न गर्न आँट गर्दैन थिए। यदि कोही कसैले साध्यो भने भालेको संज्ञा लाग्ने गर्थ्यो, कक्षामा घुँडा टेक्नुपर्थ्यो। होमवर्क अरुभन्दा धेरै गर्नुपर्थ्यो। विभिन्न सजायद्वारा प्रश्नहरू बञ्चित गराइन्थ्यो।
लगभग विद्यार्थीका प्रश्नहरू शून्य हुन्थे। सरले जे पढाए पनि स्वीकार्नुपर्थ्यो। घरमा पनि बुबा आमाले त्यही भन्नुहुन्थ्यो, 'सरले भनेको कुरा त जान्ने हुन्छस्। धेर जान्ने न हो।'
यही उत्तर हुन्थ्यो। हामी पनि यही कुरा कक्षामा गर्दथ्यौँ। सरले सबैकुरा जान्नुहुन्छ भन्ने कुरा स्थापित गराएको हुन्थ्यो। हामी डराउँथ्यौं पनि। हाम्रो मनोविज्ञानमा नै प्रश्नसँग सजाय जोडिन्थ्यो। समाजमा पनि यही चलन थियो।
कही ठूलाबडाको अगाडि प्रश्न गर्यो भने, 'उम्रिँदै तीनपाते वा हिजोको चल्ला वा सिँगान पुछ्न सक्दैन, मुखमुखै लाग्छ।' यस्तै यस्तै विभिन्न उत्तर थियो समाजसँग। यो छुट कसैलाई पनि थिएन। प्रश्न गर्यो कि फरक नजर हुन्थ्यो। नकारात्मक दृष्टिकोण थियो।
यो सबै सम्झिँदै गर्दा मलाई लाग्यो, यो त हाम्रो परम्परा रहेछ। म परम्परालाई भत्काउँदै रहेछु। म पो गलत रहेछु। मलाई लाग्यो, हाम्रो समाजअनुसार म गलत थिएँ किनकी हाम्रो समाजभित्र प्रश्न गर्ने संस्कृति नै छैन। प्रश्न गर्नेलाई त बात पो लाग्छ।
घरमा बुबाआमालाई, विद्यालयमा शिक्षकलाई, समाजमा अगुवाहरूलाई प्रश्न गर्ने छुट छैन। म सानो हुनुको नाता प्रश्न गर्ने हक मसँग हुँदैन। सहनुपर्छ। अन्याय होस, असत्य होस वा गलत होस आफूभन्दा ठूलोको प्रश्नमा प्रतिप्रश्न गर्न पाइँदैन। ठूलाबडाले गल्ती गरे पनि प्रश्न गर्नुहुन्न। उनीहरूले जे गरे पनि सही हुन्छ। म त फटाह पो रहेछु जस्तो हुन थाल्यो।
म पनि यही समाजको मान्छे हुँ। यही शिक्षा लिएको हो। बल्लबल्ल वास्तविकताको नजिक पुगे झैँ लाग्यो। मैले आंशिक उत्तर पाएँ। यो व्यक्तिगत कुराभन्दा पनि परम्परा पो रहेछ। मैले मेरो समाजलाई खोजेँ, बुझ्ने प्रयास गरेँ।
हो, हामीलाई सानैबाट प्रश्न गर्नको लागि बञ्चित गराइएको छ। हामीलाई सिकाएको कुरा, 'शिक्षकले भनेको मान्नुपर्छ वा ठूलाले जे भने पनि मान्नुपर्छ। मुखमुखै लाग्नुहुँदैन।'
प्रश्न गर्ने कुरालाई मुखमुखै भनेर बात लगाइन्छ। यही मान्यतामा कुनै पनि शिक्षकले प्रश्न गर्ने विद्यार्थीलाई राम्रो मान्दैन। बदलाको भावना पैदा गर्दछ। विद्यालयमा प्रश्न गर्ने विद्यार्थीले गाली र बेइज्जत सहनुपर्छ। विभिन्न विशेषणमा गाली खानुपर्छ।
त्यही भएर विद्यार्थीहरूले प्रश्न गर्ने, नबुझेको कुरा सोध्न नसक्ने हुन्छन। प्रश्न सोध्यो भने गाली खाने, कक्षामा बेइज्जत हुने डरले पनि त्यो विद्यार्थीको प्रश्न अनुत्तरित रहिरहन्छ। यसको मनोविज्ञानमा ठूलो असर रहन्छ।
यो कुरा त विद्यालयमा मात्र सीमित रहँदैन। व्यवहारिक जीवनमा पनि उत्तिकै छ। कोही समाजमा प्रश्न गर्न सक्दैन र पाउँदैन पनि। समाजले बात लगाउँछ। बरु इमान्दारको संज्ञामा बाच्नु फाइदा हुन्छ।
मेरो अर्को मन मानेन। मसँगै तर्क गर्न थाल्यो। मेरो एक मनको कुरा अर्को मनले पचाउन सकेन र भन्यो, वास्तवमा प्रश्न गर्ने कुरा अपमान हुने कुरा पक्कै पनि होइन। यो त आलोचनात्मक चेत हो। प्रश्न गर्नु भनेको केही कुरामा जिज्ञासा हुनु हो। जान्न खोज्नु हो। यो त सत्यमा पुग्ने बाटो पनि हो।
सत्य र सही कुरामा कुनै विभेद नै हुन्न। को ठूलो को सानो, सबैको मान्नुपर्छ। तर गलत कुरामा प्रश्न गर्नुपर्छ। यतिमात्र होइन, नबुझेको कुरा सोध्न स्वतन्त्रता हुनुपर्छ। जो कोहीले पनि सोध्न पाउनुपर्छ। यो नैसर्गिक अधिकार पनि हो। वास्तवमा ज्ञान छलफलबाट विकास हुने प्रक्रिया हो।
म एउटा अनुसन्धानको विद्यार्थी, प्रश्न गर्न नपाउनु अभिशाप नै भयो। यो त उच्च शिक्षाको विषय पनि हो। यहाँ पनि प्रश्न गर्ने विद्यार्थीहरू म जस्तै चुप लगाइए भने ज्ञानको विकास होला त? के सिकाइ होला त? के हामी प्रश्न गर्नेहरू सधै दण्डित हुनुपर्ने हो?
हामीले कहिले उत्तर पाउने? हाम्रो विद्यालयमा कहिलेदेखि प्रश्न गर्ने विद्यार्थीहरू पुरस्कृत हुने हो? यही प्रश्न मनमा रहिरह्यो। उत्तरको पर्खाइमा छु। आउँला कुनै दिन।