धेरै गुलियो पदार्थ सेवन गरिरहनु भएको छ? चिनी र गुलियोसँग हाम्रो स्वास्थ्य कसरी जोडिएको छ त?
हाम्रो खाने र हिँडडुल गर्ने जीवनशैली परिवर्तन भएसँगै हामीले सेवन गर्ने खानेकुरा र शारीरिक व्यायामको महत्व बढ्दै गएको पाइन्छ। पछिल्लो समयमा जीवनशैलीसँग आधारित रोगहरू बढ्दै जानुले यसको दीर्घकालीन असरको बारेमा सचेत हुनुपर्ने बेला आएको छ। धेरै खानेकुराहरू मध्ये यो लेखमा म चिनी र गुलियो पदार्थ सेवनसँग स्वास्थ्यलाई जोड्ने प्रयास गर्नेछु।
'ए भाइ! तँ विदेशबाट आको छस्, लु न त यसो केही खाम्' भनेर मेरा एकजना ६० वर्षीय फुपू पर्ने दिदीले भन्नुभयो म गाउँ आएको बेला।
मैले निर्धक्क भनिदिएँ, 'हुन्छ फुपू, हजुरलाई जे खान मन छ म त्यही किन्दिन्छु।'
म फुपू दिदीसँगै नजिकको पसलतिर लागेँ। मनमनै फुपूले चाहेको खानेकुराको खुल्दुली लाग्दै थियो। पसल पुग्ने बित्तिक्कै दिदीले भन्नुभयो, 'लु भाइ, एउटा ड्यू किन्।'
म छक्क परेँ र सोधेँ, 'दिदी, के तपाईंलाई ड्यू सबैभन्दा मिठो लाग्ने कुरा हो र?'
सजिलै 'हो' भन्नुभयो। 'त्यसोभए बिस्कुट पनि किन्' भनेर बिस्कुट मगाउनु भयो। एकैछिनमा ५-७ जना चिनेकै छिमेकीको जमघटमा मैले ड्यू र बिस्कुट सबैलाई बाडेँ। एकैछिनमा डेढ लिटरको फ्यान्टा बोक्दै खुसी भएर घरमा पार्टी छ भन्दै १० वर्षीय बालक कुद्दै थिए। हेर्दै र बुझ्दै जाँदा थाहा भयो कि चिसो त सबैको प्यारो भैसकेको रहेछ गाउँमा।
हुन पनि आजभोलि यो चिसो भन्ने फ्यान्टा, कोकाकोला, ड्यू अनि पेप्सीजस्ता ड्रिंक्सले गाउँ-सहर भरिँदै बच्चाहरूदेखि वृद्धावस्थाका सबै मानिसहरूको प्यारो साथी बनिसकेको रहेछ। एक त चिसो र अर्को चाहिँ गुलियो भएको कारण धेरैले यस्ता ड्रिंक्स मनपराउँदा रहेछन्।
म सानो छँदा धेरै चकलेट, बिस्कुट र जुलेपी मन पराइन्थ्यो तर चिसो पेय पदार्थ त्यति बजारमा थिएनन्। हामीले अलि ठूलो भएपछि मात्र कोकाकोला पिउन सुरु गर्यौँ। यी जे भए पनि सबैको एउटै गुण छ 'गुलियो' अनि नाम फरक-फरक तर बस्तु भने एउटै हो 'चिनी'।
चिनीका अनेकन रुप
धेरैलाई यो नौटंकी चिनीको अनेकौ रुप थाहा नहुन पनि सक्छ। त्यही भएर म यो चिनीको अनेकन रुपको चर्चा गर्छु। वैज्ञानिक भाषामा चिनीलाई 'कार्बोहाइड्रेट' भनिन्छ र हाम्रो शरीरले कार्बोहाइड्रेट (चिनी) लाई इनर्जी अथवा तागतको रुपमा प्रयोग गर्छ जुन शरीरका धेरै अंग र सेल्सहरूलाई आवश्यक हुन्छ। गाडीको इन्धन भनेजस्तै हो, चिनी हाम्रो लागि पनि इन्धन। विशेषगरी हाम्रो मस्तिष्कलाई यो चिनी चाहिरहन्छ।
चिनी त हाम्रो सबैभन्दा छिटो रगतमा पुग्ने मध्यको कार्बोहाइड्रेट हो, चिसो पदार्थमा (कोल्ड ड्रिंक्स) धेरैजसो चिनी मिसाइएको हुन्छ र त्यो पनि छिटो हाम्रो रगतमा पुग्छ। सेतो चामलको भात, मकै, आलु, चिउरा, गहुँको रोटी तथा अन्य गहुँबाट बन्ने परिकारहरू, चकलेट, बिस्कुट, मिठाई, पास्ता, स्पागेती या भनौँ चाउमिन र चाउचाउ धेरै मात्रामा चिनी भएका खानेकुरा भित्र पर्दछन्।
त्यस्तै हामीले खाने प्राकृतिक फलफूलहरू केरा, अङ्गुर, आँप, भुइँकटहर, सुन्तला, स्याउ र जुनारमा पनि धेरै चिनी हुन्छ। हाम्रो मुखबाट जेको रुपमा खाए पनि पेटको घट्टोले पेलेपछि रगतमा यी माथि भनिएका धेरैजसो भाग कार्बोहाइड्रेट/चिनी बन्छ र हाम्रो रगतमा मिसिन्छ। शरीरले आवश्यक भएको तुरुन्तै प्रयोग गर्छ भने बाँकी बसेको जति कि त बोसोको रुपमा पेटमा, कि त कलेजोमा जम्मा भएर बस्छ।
हामी नेपालीहरू धेरै भात खान्छौँ, चिया पनि उठ्ने बित्तिकै गुलियो बनाएर खान मन गर्छौं, दिउँसो केही खाजा खाँदा चिउरा, दही खाँदा पनि चिनी थपेर गुलियो बनाउँछौँ। चकलेट, बिस्कुट र कोल्ड ड्रिंक्स को त कुरै छोडौँ। अनि बियर, वाइन र ह्विस्कीमा पनि धेरैथोरै चिनी हुन्छ। हामीले दैनिक खाइरहने चिनीको मात्रा कति हुन्छ भनेर औंला गन्नुस्, त्यत्तिकै हिसाब निक्लिन्छ।
चिनीको मात्रा बढी भएर हुने फाइदा र बेफाइदा के-के छन्?
चिनी मैले अघिनै भनेजस्तै शरीरको इन्धन हो र अपरिहार्य कुरा हो। यद्यपि शरीरलाई चाहिनेभन्दा बढी चिनी सेवन प्राणघातक पनि बन्न सक्छ।
हाम्रो शरीरले काम गर्न इन्धन चाहिरहन्छ भनेर ढिलो पच्ने कार्बोहाइड्रेटलाई बोसोको रुपमा र धेरै कार्ब्रो भएको बेला अन्य खाएको बोसोजन्य पदार्थ पेट वरिपरि सन्चय गरेर राख्दछ ताकी अर्को पटक काम गर्ने, दौडिने, हिँड्ने बेलामा त्यो इन्धन प्रयोग गर्न सकियोस्।
विडम्बना! हामी खाएको खायै हुन्छौँ तर त्यो इन्धन या शक्ति जति मात्रामा खर्च गर्नुपर्ने हुन्छ, त्यो प्रायः गरेका हुँदैनौँ छिटो चिनीको मात्रामा रगतमा पुगेको चिनी तुरुन्तै प्रयोग भएन र धेरैभन्दा धेरै रगतमै घुमिरहन पनि सक्छ। जसले लामो समयमा हाम्रो रगत र स्नायु प्रणालीका नशा-नशालाई घाउ बनाउने जस्ता नकारात्मक असर पार्न थाल्छ।
त्यही भएर सुगर हुने मानिसहरूमा रगतमा धेरै चिनीको मात्रा भयो भने लामो समयपछि हात, खुट्टा, आँखाजस्ता अंगहरूमा नशाहरू नष्ट भै घाउ निको नहुने, गोडाहरूमा स्पर्श गरेको या घाउ भएको थाहा नपाउने र आँखाका नशाहरू कमजोर हुँदै जाने हुन्छन्।
अर्थात्, सरल भाषामा धेरै चिनी खानु र शारीरिक व्यायाम या काम नगर्नुले मोटोपन विशेषगरी ठूलो पेट बनाउनुको साथै नशाहरूलाई घाउ बनाउने र सुगर, प्रेसर र मुटुरोगहरू भित्र्याउने पनि गर्दछ। विशेषगरि मधुमेह- २ (डायबेटिज टाइप टु) मा शारीरिक व्यायामको कमी र चिनीको अत्याधिक सेवन मुख्य कारकको रुपमा देखिएको छ।
मधुमेह हुनेहरूलाई मुटुरोग जस्तो कि हृदयघात हुने सम्भावना पनि धेरै रहन्छ। अर्को महत्वपूर्ण सोच्नै पर्ने कुरा भने चिनीजन्य पदार्थले दन्त स्वास्थ्यमा पुर्याउने असर। भनिन्छ मुख र दाँतको स्वास्थ्य सबै शरीरको स्वास्थ्यमा प्रभाव पार्ने खालको हुन्छ। अहिले पछिल्लो समयमा गरिएका अध्ययनबाट दाँत बिहान-बेलुका दुई चोटि नमाझ्नु र धेरै गुलियो पदार्थ या अमिलो पदार्थ सेवन गरिरहनु दाँतमा किरा पर्नु र कमजोर हुनु महत्वपूर्ण मानिएको छ।
तसर्थ हामी जति चिनीलाई गुलियो र मिठो मानिरहेका हुन्छौँ, त्यसले हाम्रो शरीरलाई पार्ने असर भने धेरै तितो र नकारात्मक भएको पाइन्छ। यो इन्धन चाहिँ हालेको हाल्यै गर्ने अनि गाडी चाहिँ कुद्दै नकुदाउने गरेझैँ भयो।
समयमै सोचौँ, बानी परिवर्तन गरौँ
अब सबैभन्दा अप्ठ्यारो कुरा, बानी परिवर्तन। यो असाध्यै गाह्रो कुरा हो तर असम्भव पनि छैन। रोग लाग्नुअघि रोगको बाटो छेक्न राम्रो भनेर सबैले जाने पनि व्यवहारमा त्यसलाई नउतार्ने भए हामी भोलिको दशकमा मुटुरोग र मधुमेह नभएका युवा युवतीहरू बिरलै पाउनेछौँ।
चिनीजन्य पदार्थहरू हाम्रो दैनिक खानामा पर्याप्त मात्रामा हुने भएकोले विशेषगरी चिनी भएका कोल्ड ड्रिंक्स, चकलेट, बिस्कुट, केक, कुकिज, आदिजस्ता छिटो चिनी बन्ने पदार्थको सेवनमा अत्यन्तै कमी आउन आवश्यक छ।
बालबालिकालाई सानैदेखि दन्तस्वास्थ्यको ख्याल र रेखदेख गर्न र चिनीजन्य पदार्थ धेरै सेवन नगर्न प्रोत्साहित गर्ने जिम्मेवारी हरेक अभिभावकले लिन सक्नुपर्छ। आफ्नो आदत र व्यवहार परिवर्तन गर्दै स्वस्थकर जीवनशैलीको उदाहरण अभिभावकहरूबाटै सुरु हुन आवश्यक देखिन्छ।
शरीरलाई सन्तुलित भोजनको आवश्यकता पर्दछ जसमा भिटामिनयुक्त हरिया सागपात, फलफूलको मात्रा धेरै बढाउने, प्रोटिनयुक्त (माछा, मासु, दाल आदि) खानामा जोड दिने र चिनीजन्य पदार्थलाई अन्तिम प्राथामिकता दिनुको साथै दैनिक शारीरिक व्यायाम, विशेषगरी किसान खेतीमा धेरै कम काम गर्ने व्यक्तिहरूले गरिरहन अति आवश्यक छ। सदुपयोग हुने चिनीमात्र सेवन गरौँ, तितो हुनेगरी चिनीको सेवन नगरौँ। आफू पनि सतर्क बनौँ र अरुलाई पनि सतर्क बनाऔँ।
सरकारले आफ्ना नागरिकको जनस्वास्थ्यको ख्याल गर्दै, चकलेट, बिस्कुट, कोल्ड ड्रिंक्स, मिठाई आदिजस्ता चिनीको मात्रा धेरै भएका पदार्थमा बढी कर लाग्ने व्यवस्था ल्याउन सक्छ। त्यसबाट असुलिएको पैसाबाट गाउँ-गाउँमा निशुल्क खेल पार्क या खेल मैदानहरू निर्माण गराउन सक्छ। जसको कारण बालबालिकाहरूलाई खेल खेल्न सानैदेखि प्रेरणा मिलोस्, ठूलो भएपछि पनि शारीरिक व्यायामको महत्व बुझ्नेछन्।
मानिसहरूमा सुरुमा मूल्य वृद्धिले नैराश्यता र विरोध आउनु स्वभाविक हो तर आफ्ना नागरिकको दीर्घकालीन स्वास्थ्यको ख्याल राख्नु राज्यको फाइदा मात्र नभै कर्तव्य पनि हो।
(लेखक स्वास्थ्यकर्मी हुन् र सोही विषयमा स्वीडेनमा विधावारिधि गरिरहेका छन्।)
ट्विटर @DipRajThapa2
(दीपराज थापाका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)