कक्षा एकमा कखरा सिकियो। कक्षा तीनमा सानाठूला एबिसिडी सिकियो। कक्षा चारमा माई नेम इज... भन्न सिकियो। एक शैक्षिक सत्रमा ३/४ जनासम्म शिक्षक फेरिन्थे। एसएलसी पास गर्यो भने फलानाका छोराले १० पास गरेछ भन्दै धारा पधेरामा कुरा चल्थे। फस्ट डिभिजन ल्यायो भने १० गाउँमा नाम चल्थ्यो। सेकेण्ड डिभिजनको चर्चा अहिलेको ए+ भन्दा कम हुँदैनथ्यो।
टिफिन खाने भन्ने सुनेको सहर पसेपछि हो। बिहान टन्न आटो खाइन्थ्यो। स्कुलबाट आएपछि डम्फे कोदाका रोटी खाइन्थ्यो। आधा दर्जन छोराछोरी हुर्काउन पढाउन समेत थिएन। गाडीमा चढेर कहिल्यै पढिएन। राम्रा कलेज भन्दै दुनियाँ चहार्ने काम गरिएन। कम्प्युटर सहर छिरेपछि देखियो। मोबाइल डिग्री सकेपछि चलाउन थालियो।
कक्षा १ मा कखरा सिकेको कापीमा लेखेर होइन काठको पाटीमा खरिढुंगाले लेखेर हो। गुल्मीको भन्भने गाविस हालको मदाने गायँपालिका वडा नं ७ मा रहेको श्री दीपक माध्यमिक विद्यालयमा मैले कख सिकेँ। एसएलसी पनि त्यहीबाट नै पास गरेँ। हाम्रो स्कुल नजिक खरी खोज्ने डाँडा भन्ने ठाँउ छ। त्यो डाँडा हाम्रो लागि बरदान नै थियो। हाम्रो स्कुलमा हामीभन्दा पहिलाको पुस्ताले जे-जति कख पढ्न सिक्यो, त्यही खरिडाँडाको सहायताले सिक्यो।
विभिन्न रंगका कोमल ढुंगाहरू पाइन्छन् जुन रेडिमेड चकभन्दा कम हुँदैन। सरहरूले समेत चक नहुँदा त्यही ढुंगाले बोर्डमा लेखेर पढाउनु हुन्थ्यो। हाम्रा बाहरूले त झन् त्यही ढुंगाकै आधारमा बाह्रखरी सिक्नु भएको रे। हाम्रा पालामा आउँदा सरहरू चकले लेख्न थालेका थिए। गुणस्तरीय र आधुनिक शिक्षा भन्ने त प्रश्नै भएन। किताब समयमा नै पाइयो र पढाउने मास्टर भए भने ठूलो कुरा भयो।
अहिले प्रायः स्कुलहरूमा भौतिक संरचना राम्रो छ। पढाउने जनशक्ति पनि कमजोर छैन। आधुनिक प्रविधिको प्रयोग भइरहेको छ। हामीले कक्षा १ मा पढ्दा घरबाटै बस्ने चकटी लगेर जान्थ्यौं। चकटी हराउन थालेपछि साँझ फर्कंदा घरमै लगेर पनि जान्थ्यौं। ३/४ कक्षामा पढुन्जेलसम्म यो क्रम चलि नै रह्यो। कक्षा ४ बाट डेस्क बेन्चमा बस्न थालियो।
हाम्रो स्कुलको भौतिक संरचना त्यती राम्रो थिएन। डेस्क बेन्च ८/९ कक्षामा पढ्दा अलिअलि बन्न थालेका थिए। हाम्रा डेस्क बेन्च अजीवका हुन्थे। भुइँमा खाल्डो खनेर वरपर दुई वटा काठको टुक्रा गाड्ने, त्यसमाथि फल्याक राखेर काँटी ठोक्ने। काँटी ठोक्दा-ठोक्दा प्वालै-प्वाल हुन्थे। बेन्चमा बस्न कहिलेकाहीँ ठाउँ नै हुँदैन थियो। भित्तामा अडेस लागेर साथीहरूलाई ठेल्ने अनि बस्ने गरिन्थ्यो। त्यसो गर्दा जाँघे र पाइन्ट त कति च्यातिए, च्यातिए।
कक्षा ६/७ मा पढ्दाको घटना हो। जिन्दगीमै पहिलो पटक राम्रो पाइन्ट लगाउन पाइएको थियो। अर्थात् चिटिक्कको रेडिमेट पाइन्ट बाले तम्घासबाट ल्याइदिनु भएको थियो। त्यो दिनमा मनमा हर्षको सीमा थिएन। स्कुलका सारा विद्यार्थीभन्दा आफूलाई विशेष सम्झिरहेको थिएँ। आफूले जति राम्रो लगाएर अरु कुनै आएका छन् जस्तो नै लाग्दैनथ्यो।
एक मिनेटमा कम्तीमा एक सय पटक पाइन्टमा आँखा गए होलान्। तर, मेरो त्यो खुसी एकदिन पनि टिक्न सकेन। फ्ल्याकमा ठोकेको काँटीले मेरो खुसी लुट्यो। मेरो नयाँ पाइन्ट होइन, मन नै च्यातिएजस्तै भयो। बाँसघारीमुनि गएर आँसु खसालेँ। कक्षामा अरुले आफू रोएको देख्लान् भनेर आँखाबाट आँसु खस्न दिइनँ।
हामीले पढेको स्कुल अहिले भौतिक रुपमा सम्पन भएको छ। हामीले एसएलसी दिएकै वर्ष स्कुलको नयाँ भवन बन्न सुरु भयो। नयाँ स्कुल बनाउँदा मैले पनि सिमेन्टका बोरा तीन घण्टा टाढा पुर्कोट दहबाट बोकेँ। पनाहा खोलाबाट बालुवा बोकेँ। बोरा बोक्दा ढाडमा छाला नै खुइलिएको थियो।
स्कुलमा चर्पी थिएन। खुला आकाशमुनि दिसा-पिसाब गर्नुपर्थ्यो। बाँसको झाङमुनि गएर भित्तातिर फर्कन्थ्यौं।
हाम्रो स्कुलका हेड सर हुनुहुन्थ्यो, चन्द्रकान्त पन्थी। उहाँको नाम नै हेड सर हो जस्तो लाग्थ्यो पहिला-पहिला। उहाँलाई देख्यो भने हामी थरथर हुन्थ्यौँ। त्यसो त अरु सरहरू समेत थरथर नै थिए। पढाउँदा पढाउँदै कक्षामै कुर्चीमा बसेर निदाउने सरहरू पनि थिए। कक्षामै सर घुर्न थालेपछि हामी फुर्न थाल्थ्यौं। जे गरे पनि भयो।
कक्षामा घुर्ने एकजना गुरुदेवलाई हेडसरले हाम्रै अगाडि झाको झारेको पनि देख्यौं। सरलाई पनि ठेगान लगाउने हेडसरका अगाडि परेपछि हामी ओइलाएको सागजस्ता हुन्थ्यौं। भन्भनेको शैक्षिक विकासमा हेडसरको योगदान उच्च रहेको छ। अहिले वृद्ध भएर पनि सामाजिक कार्य गर्न छोड्नु भएको छैन। पन्थी वंशावली प्रकाशन गर्न उहाँले ठूलो अध्ययन अनुसन्धान गर्नु भयो। उहाँका अन्य कृतिहरू पनि प्रकाशित छन्।
बुद्धि सर कडा हुनुहुन्थ्यो। यसै वर्ष उहाँको निधन भयो। पढाउन उहाँले मेहनत गर्नुहुन्थ्यो। हामीले पढ्दा कक्षा ३ सम्म लिखित-मैखिक दुवै परीक्षा हुन्थे। बुद्धि सरले गणितको मौखिक परीक्षा लिइरहनु भएको थियो। सबै 'माइ किम सर' भन्दै भित्र जाँदा रहेछन्। म सरासर गएँ। बुद्धि सरले 'अलि यता आ' भन्दै कानमा समाएर गालामा एक चड्कन दिनुभयो। मैले तीन लोक १४ भुवन देखेँ। पाइन्टमा पिसाव नै छोडेँ। मुतुन्जेल कुट्नेु भनेको सुनेको थिएँ। आफै भोगेँ। स्कुलका यस्ता रमाइला कहानी धेरै छन्।
हामी सानो छँदा त हाम्रो जाडो पनि बाख्राले नै खान्थ्यो। जाडोमा पनि अहिलेजस्तो कपडा लगाउन कहाँ पाउनु? अहिलेजस्तो किन्न सजिलो पनि थिएन। बिहान, साँझ अँगेनाको डिलमा बसेर, दिनभर उफ्रिएर दिन बित्थे। अहिले जतिबैला सुकै हिटरमा बस्दा पनि, दुनियाँ कपडा लगाउँदा पनि चिसो लाग्छ। बैशाखमै निमोनिया हुन्छ।
अहिलेका केटाकेटी ४ वर्ष पढेपछि कक्षा १ मा पुग्छन्। ३ कक्षामा पढ्दा ब्वाइफ्रेन्ड गर्लफ्रेन्ड भन्न थाल्छन्। ७ कक्षाबाट डेटिङ जाने सेटिङ सुरु हुन्छ। ए+ भन्दा कम ल्याउने विधार्थी भेट्न गाह्रो छ। बिहानै उठेर आफूभन्दा ठूला झोला बोकेर स्कुल जान्छन्। बाबुआमा कुन स्कुल राम्रो छ भन्दै दर्जन स्कुल चहार्छन्। छोराछोरी पढाउन भनेर गाउँबाट सहर झर्छन्।
९/१० कक्षामा पढ्ने छोराछोरीका झोला बोकेर चोक चोकमा बाबुआमा पुग्छन्। नाल झरेपछि मोबाइल चाहिन्छ। मोबाइल हेर्न नपाए घाँटीबाट खाना छिर्दैन। बाको उमेर थाहा हुँदैन तर मेसी यति वर्षको भयो, रोनाल्डो त बुढो भयो भन्न थाल्छन्। घाँटीमा टाई, फरर अङ्ग्रेजी, नेपाली बोल्दा पनि आधा अङ्ग्रेजी, आइरन गरेका कपडा यति भएपछि शिक्षा राष्ट्रियमात्र होइन, अन्तर्राष्ट्रिय स्तरकै भएन त?
बाबुआमाको शिक्षामा लगानी भएको कुरा गर्नुहुन्छ भने मेरी आमै! कति हो कति। गाउँ छोडेर पढाउनकै लागि सहर छिर्या छ। कोठाबाट चोकसम्म धोक्रा जत्रो झोला बोकेर पुर्याउन गएको छ। साँझ फेरि गाडी कुरेर बस्यो। झोला बोकेर घर ल्यायो। पकायो, खुवायो। बाउको बाइक पायो भने केटी बोकेर डेटिङमा जान सक्ने छोरो झोला बोकेर चोकमा पुग्न सक्दैन।
पढेका मान्छेले काम गर्ने त कुरै भएन, चिया बनाउन समेत नजान्नेहरू समाज बनाउँछु, देश बनाउँछु भन्दै गफ समेत दिन्छन्। कम्तीमा आफ्नो काम आफै गर्नुपर्छ। सामाजिक कार्यमा सहभागी हुनुपर्छ भन्ने थाहा पाउनु पर्यो। बाउको साइन बाइकका पछाडि बस्न लाज हुन्छ।
आधुनिक शिक्षा प्राप्त गर्ने अवसर नयाँ पुस्तालाई प्राप्त भएको छ। प्रविधिले नयाँ-नयाँ सम्भावनाका ढोका खोलेको छ। तर, नयाँ पुस्ता परनिर्भर हुँदै गएको छ। सामाजिकीकरणको प्रक्रिया भने निकै कमजोर भएको छ। समाजमा बसेपछि सामाजिक कार्यमा समेत सहभागी हुनुपर्छ भन्ने कुरा त सिक्नु पर्यो।
सोसल मिडिया चलाउनु सोसल बन्नु होइन। सोसल बन्न त समाजका मान्छेहरूका दुःख सुखमा सहभागी हुनुपर्यो। बुलेट बाइकभन्दा तलका कुरा हुँदैनन्। बाउले बाइक गुडाएको छ, छोराछोरीले रकेट नै उडाउने हुन् कि क्या हो! नयाँ पुस्ताले के-के गर्ने होलान्?
झोलाभरि कापी-किताब, दिउँसोलाई अर्निपर्नी बोकेर ठस्-ठस् कन्दै गाडीमा चढ्ने केटाकेटी हेर्दा यस्तो लाग्छ अब २/४ दिनमा यी कोही रकेट उडाउँदैछन्। कोही प्रोफेसर बन्दैछन्। कोही ईन्जिनियर बन्दैछन्। कोही डाक्टर बनेर अप्रेसन थिएटरमा पुग्ने योग्यता पुर्याउँदैछन्।
(लेखक सर्वोच्च अदालत काठमाडौँका शाखा अधिकृत हुन्।)