प्राचीन पूर्वीय परम्पराअनुसार महाभारत र रामायणकालमा गृहस्थ व्यक्तिहरूका लागि परिवारकै अग्रजहरुद्धारा गृहस्थ धर्म, कर्मकाण्डसम्बन्धी शिक्षा दिने गरिन्थ्यो। यस अर्थमा पूर्वीय दर्शनमा प्राचीन कालदेखि नै शिक्षण कार्यमा अभिभावकहरूको संलग्नता रहेको देखिन्छ।
शिष्यहरुले गुरुकुलमा बसेर मानव जीवनका चार आश्रम (ब्रम्हचार्यश्रम, गृहस्थाश्रम, वानप्रस्थाश्रम र सन्यासाश्रम) का बारेमा अध्ययन गर्दथे। गृहस्थ जीवनमा पनि पूजा पाठ, यज्ञ, दान, जप इत्यादि माध्यमहरूको अवलम्बन गरी अभिभावकले बच्चालाई शिक्षित गर्दथे। आधुनिककालीन अभिभावक शिक्षा अवधारणाको विकासको प्रस्थान विन्दु कारखाना प्रणाली हो।
कारखाना प्रणाली र जीवनशैलीमा आएको तीव्र प्रतिस्पर्धाका कारण मानवीय जीवनशैली व्यस्त बन्दै जाँदा बालबालिकाहरुतर्फ उचित ध्यान दिन सकिएन। धनी बन्ने अस्वस्थ प्रतिस्पर्धाले पैसा प्राप्त भयो, नैतिकता गुम्यो। दुःखले सुख खोज्यो, सुखले काल खोज्यो भने झैँ भौतिक सुख सुविधाले वयस्क र बालबालिकाहरुमा समेत अराजकता बढ्दै जाँदा अभिभावक शिक्षा अवधारणाको आवश्यकता परेको हो।
अभिभावक शिक्षाले कुनै व्यक्तिमा अभिभावकत्व निर्वाह गर्नेसम्बन्धी सीपको विकास गर्दछ। अभिभावकलाई आवश्यक ज्ञान तथा शिक्षा दिई बालबालिकाहरूको सर्वाङ्गीण विकासमा सहयोग पुर्याउन दिइने शिक्षालाई अभिभावक शिक्षा भन्न सकिन्छ।
अभिभावक अशिक्षित भइदिँदा बालबालिकाहरूको उमेरजन्य परिवर्तन र त्यसले सिकाइमा पार्ने सकारात्मक/नकारात्मक प्रभावका बारेमा उनीहरू अनभिज्ञ हुन पुग्छन्। यस्तो अवस्थामा बालबालिकाहरूले पाउनु पर्ने उचित सल्लाह एवम् मार्गदर्शन पनि पाउन सक्दैनन्। यस अर्थमा अभिभावकलाई पनि समयानुसारको शिक्षा प्रदान गर्दै जान आवश्यक देखिन्छ।
अभिभावक शिक्षित भए भने मात्र परिवारका सबै सदस्यहरूले समुचित रूपमा शिक्षाको अवसर प्राप्त गर्न सक्छन् भन्ने मान्यताका आधारमा अभिभावक शिक्षाको अवधारणा आएको हो। बालबालिकाहरूको स्वास्थ्य, शिक्षा एवम् वैयक्तिक रुचि तथा चाहनाहरूलाई सही ढङ्गले पहिचान गरी उनीहरूलाई सही मार्गदर्शन दिन अभिभावक स्वयम् शिक्षित एवम् सचेत हुन आवश्यक हुन्छ भन्ने अवधारणाको पृष्ठभूमिमा अभिभावकलाई बालबालिकासम्बन्धी ज्ञान दिन उपयोग गरिने शिक्षा अभिभावक शिक्षा हो।
अभिभावक शिक्षाले अभिभावकहरूमा आफ्ना बच्चाहरूको पोषण, खानपिन, सरसफाई, सुरक्षासम्बन्धी सीपको अभिवृद्धि गर्दछ। यस्तो शिक्षाका माध्यमबाट बच्चाहरूमा सामूहिक तथा व्यवहारजन्य सीप विकास गर्न सकिन्छ। अभिभावक शिक्षाले सम्पूर्ण बच्चाका अभिभावकलाई बालविकासका बहुआयामिक पक्षहरूसँग जोडिदिन्छ।
उनीहरू आफ्ना बच्चालाई कसरी सक्षम र योग्य नागरिक बनाउन सकिन्छ भन्नेसम्बन्धी खुलेर अन्तरसंवाद गर्न सक्छन्। अभिभावक शिक्षा बहुआयामिक विषयवस्तु भएकाले यसले बच्चा, अभिभावक, समुदाय सबैको सीप, योग्यता, क्षमता र आय आर्जनलगायत सम्पूर्ण पक्षहरूमा सहयोग गर्ने भएकाले वर्तमान समयमा यसको आवश्यकता बढ्दै गएको हो।
यसले अभिभावक सल्लाहको विनिमय गर्दछ। संवेगात्मक सहायता प्रदान गर्दछ। स्रोत र साधनको बाँडफाँड गर्दछ। अभिभावकमा यी उल्लिखित सीप र सक्षमता विकास गर्न दिइने शिक्षा नै खासमा अभिभावक शिक्षा हो। तर, नेपालका सामुदायिक विद्यालयमा पढ्ने अधिकत्तर बालबालिकाहरुको अभिभावकहरुमा अभिभावक शिक्षा सम्बन्धी समुचित जानकारी पाइँदैन।
सरकारी एवम् गैरसरकारी निकायहरुले पनि अभिभावक शिक्षा सम्बन्धी प्रभावकारी कार्यक्रमहरु सञ्चालन गर्न सकिरहेको अवस्था छैन। यसो हुँदा बालबालिकाहरुले परिवारबाट पाउनुपर्ने माया, सहयोग र सद्भाव पनि पाउन सकिरहेको देखिँदैन। अभिभावकीय अपेक्षा र सिकारुको रुचिबीच सन्तुलन कायम गर्न पनि हामीले अभिभावक शिक्षाको समुचित व्यवस्थापन गर्नुपर्ने देखिन्छ।
अभिभावक शिक्षाले अभिभाव स्वयम्को असान्दर्भिक प्रवृत्ति, मनोवृत्ति र दृष्टिकोण परिवर्तन गरी बच्चाहरूको भावी जीवनका लागि उपयोग गर्न सहयोग गर्दछ। यसले व्यवस्थित, सन्तुलित र सभ्य परिवारको निर्माण गर्ने भएकाले वर्तमानमा अभिभावक शिक्षाको सर्वोपरी आवश्यकता देखिन्छ।
शिक्षण कार्य त्रिआयामिक सम्बन्धको प्रतिफल हो। शिक्षण कार्यमा केन्द्रबिन्दुमा सिकारु वा विद्यार्थी रहे पनि अन्तिम शक्तिशाली घेरा भनेका अभिभावक नै हुन्। शिक्षक त सहयाक सहयोगी मात्र हो। अभिभावकको स्वतः स्फूर्त उपस्थिति वा संलग्नता शिक्षामा गराउन सकिएन भने जतिसुकै राम्रो पाठ्यक्रम तथा शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गरेपनि प्रभावहीन बन्ने सम्भावना रहन्छ।
सन् १९७० को दशकदेखि नै सामुदायिक शिक्षा कर्मकाण्डी भएको आरोप लाग्न थालि सकेको थियो। पाउलो फ्रेरेको पेडागोजी अफ द अप्रस्टले यस सम्बन्धमा प्रशस्त आवाज उठाएको पनि हो। इभान इलिचको डिस्कुलीङ सोसाइटी र रेमरको द स्कुल इज डेड लगायतका समसामयिक दृष्टिकोणको कारण र जनताका माग समेतलाई ध्यानमा राखी सामुदायिक शिक्षाको विकल्प खोज्ने प्रयास गरिए पनि गरिबी, एकान्तपन, सहयोगविहीनता, लगायतका विविध मानवीय समस्याको समाधानकर्ताका दृष्टिबाट सरकारी शैक्षिक संस्थाको विकल्प भने नदेखिएको हो।
निजी शिक्षामा गरिब र आधारभूत नागरिकको पहुँच कठिन भएको तथा राष्ट्रियताको सवालमा बेवास्ता गरी विदेशी मोहलाई अझ बढाइदिएको भनेर तीव्र आलोचना भइरहेको वर्तमान सन्दर्भमा हाम्रो जस्तो कासोन्मुख देशमा अभिभावक शिक्षामार्फत सामुदायिक विद्यालयको विकास र स्तरोन्नतिमा क्रियाशील हुन आवश्यक देखिएको छ। र, सामुदायिक शिक्षालाई भरपर्दो र दिगो बनाउन यसमा अभिभावकको संलग्नता बढाउन पनि आवश्यक देखिन्छ। अभिभावक शिक्षा नै अभिभावकको सामुदायिक विद्यालयमा संलग्नता बढाउने एक सहज र उपयुक्त विकल्प हो।
औपचारिक विद्यालय पद्धतिको प्रारम्भिक चरणमा अभिभावकलाई लगानी प्रकृयासँग आवद्ध गरियो। यस प्रकृयाअन्तर्गत प्रत्यक्ष लगानीविना शिक्षा प्रभावहीन हुने मानियो। विद्यालयमा पढ्ने विद्यार्थीका अभिभावकसँग स्कुल फी लगायतका शैक्षिक शुल्क उठाउने गरिएको थियो। अभिभावकसँगको लगानीमूलक शैक्षिक गतिविधि निःशुल्कभन्दा अझ बढी प्रभावकारी देखिएको पनि हो।
नेपालको सन्दर्भमा भन्ने हो भने प्रजातन्त्रको पूनःप्राप्ति तथा लोकतन्त्रको प्राप्तिपछि समावेशीकरण, सामाजिक न्याय, गरिबका लागि शिक्षा, पछाडि परेकालाई पहिलो प्राथमिकता जस्ता अवधारणाहरू घनिभूत रूपमा उठ्न थाले। उठाउन थालिए। संविधान, ऐन कानुन परिमार्जन गरी निःशुल्क शिक्षा, शिक्षामा समावेशीकरण, शिक्षामा सामाजिक न्यायको प्रत्याभूति, लैंगिक समता जस्ता व्यवस्था लागु भए।
यसले अभिभावकको विद्यालय शिक्षाप्रतिको सोच र चिन्तनमा पनि सकारात्मक परिवर्तनको संकेत देखा पर्न थाल्यो। विद्यालय व्यवस्थापन समितिको अवधारणा, शिक्षक अभिभावक संघ, सामाजिक परीक्षण, उपलब्धि, परीक्षणलगायतका आधुनिक शैक्षणिक प्रविधिको प्रयोग शैक्षणिक प्रकृयामा प्रयोग हुँदै आए पनि अपेक्षित रुपमा प्रभावकारी बन्न सकिरहेको छैन।
संघीय संरचनासँगै विद्यालयीय शिक्षामा स्थानीय तहको स्वामित्व निर्धारण गरी शैक्षिक योजना र व्यवस्थापनमा स्थानीय तहलाई नै परिचालन गर्ने प्रयास गरिएको छ। यसबाट शिक्षामा अभिभावकीय संलग्नताको अवसरलाई अलि सजिलो बनाएको पनि महशुस गरिएको छ।
बालबालिकाको सिकाइका लागि घर परिवारको कृयाकलापले प्रत्यक्ष प्रभाव पारेको हुन्छ। कुनै पनि आमाबाबुले आफ्ना छोराछोरीलाई राम्रो बनाउन प्रयास गरेका हुन्छन्। तर अभिभावकीय दायित्व तथा बालमनोविज्ञानका बारेमा अभिभावकको ज्ञानमा कमीले गर्दा अपेक्षाकृत नतिजा नपाउने परिवार पनि समाजमा पाइन्छ।
बालविकासका लागि अभिभावकले साना साना कुरामा ध्यान दिने र उनीहरूलाई पनि प्राथमिकता दिएर स्याहारसुसार गरेको खण्डमा बालबालिकाले धेरै कुराहरू सिक्न सक्छन्। जिज्ञासाहरू र काम गर्ने चाहनाले गर्दा साना बालबालिकाहरु छुकछुके, चकचके जस्तो देखिन्छन् तर त्यसबाट उनीहरुले दैनिक व्यवहारमा आइपर्ने कामहरू सिकिरहेका हुन्छन्। शिक्षामा अभिभावकको सार्थक संलग्नतालाई बढाउन अभिभावक शिक्षाको अहम् भूमिका रहेको हुन्छ।
बालबालिकाको उत्सुकता र आवश्यकतालाई अभिभावकहरुले सही सम्बोधन गर्न सक्दामात्र उनीहरुको आत्मविश्वास र आत्मसम्मान बढ्छ। शिक्षित अभिभावकले स्वभावले नै आफ्ना बालबालिकाहरुको मनोविज्ञान बुझेर सोही अनुरुप मार्गदर्शन गर्न सक्छन्।
बालबालिकाहरुलाई उनीहरुको रुचि, चाहना, आवश्यकता र क्षमताको आधारमा उचित मार्गदर्शन दिन विद्यालय र शिक्षकको भन्दा पनि अभिभावको भूमिका झनै महत्वपूर्ण हुने भएकोले पनि अभिभावक शिक्षाको आवश्यकता झनै बढेर गएको हो। अभिभावक शिक्षालाई विद्यालयीय शिक्षाकै एक अभिन्न संयन्त्रको रुपमा विकास गर्न सके हाम्रो शिक्षा प्रणाली सुधार हुने कुरामा दुईमत नहुन सक्छ।