सुनेको इलाम प्राकृतिक सौन्दर्यको थियो तर देखेको इलाममा प्राकृतिक सौन्दर्य मात्र होइन, रैथाने जीवनशैली र इतिहास समेत बुझ्न पाइयो।
यात्राको सुरूवातमै रमाइलो गफगाफ सुरू भयो। नियात्राकार युवराज नयाँघरेले आफ्नो अतित र एकोहोरो प्रेमको सन्दर्भ सुनाउनुभयो। नेपाली चलचित्र ‘कान्छी’ हेरेपछि नायिका शर्मिला मल्लसँग बसेको एकोहोरो प्रेमको सन्दर्भ।
त्यो चलचित्रका नायक शिव श्रेष्ठको ठाउँमा आफूलाई राखेर एकोहोरो प्रेम गर्नुभएछ उहाँले।
उहाँका कुरा सुनेपछि नीता बहिनीले भन्नुभयो, ‘म शर्मिलाजीसँग भेट्टाईदिने भएँ, ढुक्क हुनुस् दाइ!’
नीताका कुरा सुनेपछि बहिनी पारूले सोध्नुभयो, ‘दाइ अब भेट हुने भयो हजुरलाई कस्तो लागिराछ?’
‘अहो! भयानक र त्रासद भइराछ। उनलाई सम्झिँदा अझै पनि मुटुको देब्रे कुना घरिघरि दुख्छ’, नयाँघरेले भन्नुभयो।’
अनि त माइक्रो बसमा बसेकाबीच हाँसोको फोहोरानै छुट्यो। यसरी यात्रा निकै रमाइलो हुँदै गयो। काठमाडौंबाट दुई वटा माइक्रो बसमा हामी ३० जना लेखक इलामका लागि निस्केका थियौं।
काठमाडौंबाट यात्रा संयोजन साहित्यिक पत्रकार संघले गरेको थियो। हाम्रो यात्रा वि.सं. २०७८ मंसिर १७ गते बिहान सुरू भएको थियो।
यात्राको अघिल्लो दिन मात्र मेरो प्रत्यक्ष भेट साहित्यकार राधेश्याम लेकालीसँग भएको थियो। त्यस्तै अलिक पहिलेदेखि किशोर पहाडीसँग चिनजान थियो। यात्राका अन्य लेखकसँग इलाम यात्रामै परिचय भयो।
आखिर यात्रा जहाँ गरे पनि जसरी गरे पनि यात्राका अनुभूतिहरू बेग्लाबेग्लै हुन्छन्।
‘ताप्लेजुङको पाथीभरा जाँदा हिँड्न नसक्नेलाई बोक्नका निम्ति डोकेहरू पनि पाइन्छन् रे, प्रति किलो २०० रूपैयाँका दरले लिन्छन् रे’ भन्ने कुरा पनि उठ्यो। एउटा स्वस्थ्य मान्छे ६० किलोसम्मको हुन्छ। मलाई महाकवि देवकोटाले मोटे मधेसी अर्काको काँध चढेर तिर्थ गरेको देखेर लेखिएको कविता ‘कुन मन्दिरमा जान्छौ यात्री’ को सम्झना भयो।
गफिने क्रममा समालोचक प्रमोद प्रधानले ‘म दुब्लो मान्छे, म त सस्तोमा पर्ने रहेछु’ भनेर सबैलाई हँसाउनुभयो।
हामी साहित्यिक परिवारका सदस्य भएर होला यात्रा सहज र रमाइलो थियो। रातको ११ बजे मात्र हामी इलाम बजारको तमु गेष्ट हाउस पुग्यौं।
मंसिर १८ गते अन्तर्देशीय इलाम पर्यटनमैत्री साहित्य सम्मेलन सुरू भयो। नेपालसहित भारतको दार्जिलिङ, सिक्किम र कलकत्ताबाट १५० भन्दा धेरै लेखकको जमघट थियो।
इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतको स्वागत मन्तव्यबाट सम्मेलन सुरु भएको थियो। कार्यक्रममा कार्यपत्र प्रस्तुत, कविता वाचन र सांस्कृतिक कार्यक्रम गरियो।
यो साहित्यिक सम्मेलनले देश विदेशमा बसेर नेपाल र नेपाली भाषाप्रतिको गहिरो प्रेम गर्नेको भावना उजागर गर्यो। विभिन्न ठाउँमा बसोबास गरेका लेखकलाई एकै ठाउँमा विचार विमर्श गर्ने अवसर जुटायो। आपसी सहकार्यको ढोका खोल्यो।
अर्को दिन विभिन्न पर्यटकीय सम्पदा भ्रमणको चाँजो मिलाइएको थियो। १९ मंसिरका दिन घुम्न निस्कनुअघि मैले इतिहासविद् युद्वप्रसाद वैद्यसँग भेटेर भलाकुसारी गर्ने योजना बनाएँ।
इलामविद् युद्वप्रसाद वैद्यलाई भेट्दा...
मुलुकका लागि योगदान पुर्याउने पात्रलाई भेट्दा श्रद्धाले शिर निहुरिन्छ। यस्तै पात्र हुन् इतिहासविद् युद्वप्रसाद वैद्य। सहयात्रीहरू किशोर पहाडी, दिब्य गिरी र म बिहानै उहाँको घर पुग्यौं।
वैद्यज्यूको जन्म वि.सं. २००० फागुन १५ गते इलाममै भएको रहेछ। उहाँले वि.सं. २०२५ देखि २०६३ सम्म प्राध्यापन र वि.सं. २०४८ देखि २०५२ सम्म क्याम्पस प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको रहेछ।
उहाँ वि.सं. २०२९ मै गोरखा दक्षिण बाहुले पुरस्कृत हुनु भएको थियो। वि.सं. २०३८ सालमा स्थानीय बालमन्दिरको स्मारिकामा इलामको परिचय लेख्नु भएको रहेछ। अनि वि.सं. २०४१ सालदेखि लाप्चा जातिको अनुसन्धानमुलक लेखहरू लेख्नुभयो। उनै इलामविद्सँग धेरै कुरा बुझ्ने मौका मिल्यो।
मैले सुनेको इलाम र देखेको इलाममा धेरै फरक पाएकी थिएँ। सुनेको इलाम प्राकृतिक सौन्दर्यको थियो तर देखेको इलाममा प्राकृतिक सौन्दर्य मात्र होइन, रैथाने जीवनशैली र इतिहास समेत बुझ्न पाइयो।
वैद्यज्यूसँग मेरो पहिलो जिज्ञासा थियो, ‘हामी इलाम त आयौं। यो इलाम नाम कसरी रहन पुग्यो त?’
‘सदरमुकामको नाम पनि र जिल्ला पनि एउटै हो–इलाम’, उहाँले भन्नुभयो, ‘ मानिसहरू आहाराको खोजीमा होस् या घाँस दाउरा गर्न वल्लो डाँडादेखि पल्लो डाँडासम्म फन्को मारेर हिँड्नुपर्ने भएकाले ‘घुमाउरो’ भन्ने अर्थमा इलाम भनिएको हो।’
लिम्बु भाषामा ‘इ’ भनेको घुमाउरो र ‘लाम’ भनेको बाटो रहेछ।
‘हिजो हजुरहरू माईखोला तरेर आउनुभयो नि हो, त्यो खोला तरेपछि यता पश्चिम लिम्बुवान र त्यो भन्दा उता लाप्चाहरूको क्षेत्र हो भन्ने कुराहरू डकुमेन्टले पनि देखाउँछ’, उहाँलाई हामीले चाख मानेर सुन्यौं।
त्यस्तै लाप्चा भाषामा ‘ई’ भनेको पुत्का अर्थात् (माहुरीको सानो किसिम) हुँदोरहेछ। त्यो माहुरीको मह औषधियुक्त रहेको छ र ‘लोम’ भनेको ‘बसेको ठाउँ’ भन्ने जनाउँछ। यसरी पनि ‘इलाम’ नाम रहन गएको रहेछ।
इलामलाई चार वटा खोला– माइखोला, भारतको सिमानाबाट निस्किएको जोगमाई खोला, पूवामाई खोला र देउमाई खोलाले घेरेको छ। त्यसैले यसलाई ‘चारखोले’ पनि भनिन्छ। इलाममा राई जातिको बाहुल्यता छ ।
इलाम चर्चामा आउनु अर्को कुरो सात ‘अ’ भन्ने सुनेकी थिएँ।
‘इलाममा सुरूको तथ्याङ्क हेर्ने हो भने पाँच ‘अ’ प्रख्यात छ। यहाँ आलु, अदुवा, अम्लिसो, अलैंची र ओलनको धेरै खेती हुन्छ। त्यसैले पाँच ‘अ’ भनिएको’, उहाँले भन्नुभयो।
गाईभैंसीको दुध दुहिसकेपछि एउटा थुन बाच्छा बाच्छीका लागि छोडिन्छ। त्यही थुनको दुधलाई ओलन भनिँदो रहेछ। अचेल सबै दूधलाई ओलन भनिन्छ।
नौ कुने माइपोखरी...
मंसिर १९ गते नै हामी माईपोखरी भ्रमण गर्दै थियौं। त्यसैले मैले इलामविद् युद्वप्रसाद वैद्यसँग माइपोखरीका बारेमा पनि सोधेँ।
माइपोखरी नाम कसरी रहन गयो?
‘मेरो विवाह वि.सं. २०३२ सालमा भएको थियो। त्यो बेला हामीले माइखोलालाई भाग पनि चढायौं। यसरी भाग चढाउने चलनले माइखोलामा भाग चढाइएको थियो। माई मन्दिर पनि त्यहीँ खोलाबाट बाजागाँजासहित शीला लगेर मन्दिर स्थापना गरेको हो’, उहाँले भन्नुभयो।
उहाँकाअनुसार माइस्थानमा नेपाली सेना श्रीनाथ पल्टनको निशान छ। त्यो निशान भनेको पृथ्वीनारायण शाहले एकीकरण गर्ने बेला लडाइँ लड्दा टिष्टा पुगेको चिन्ह हो। त्यो चिन्ह माओवादी युद्वको बेला सुरक्षाको हिसाबले काठमाडौं लगेर राखिएको थियो। पछि उहाँकै पहलमा चार सय जनाको हस्ताक्षरसहित निवदेन दिएर निशान इलाम नै फिर्ता ल्याइएको रहेछ।
माई मन्दिर जस्तै इलाम बजारको भिमसेन मन्दिरमा पनि बाजागाजासहित त्यहीँ खोलाको शीला लगेर वि.सं. १९०९ मा लेफ्टिेन्ट अर्जुन थापाले बनाएको इतिहास पनि उहाँले सुनाउनुभयो।
उहाँले करफोकमा रहेको पञ्चकन्या मन्दिरमा ५ वटा ढुङ्गाको टुसा भएको जानकारी गराउनुभयो। ती टुसालाई विभिन्न नाम दिएर पूजा गर्ने चलन रहेछ। माइस्थानमा चैत पूर्णिमाका दिन भब्य रथ यात्रा हुन्छ। रथमा घुमाउने देवता पनि तिनै शीला रहेछन्।
माई पोखरीमा पौराणिक कथाअनुसार यस क्षेत्रमा शिव पार्वतीले वन विहार र आरधना गरेका थिए।
दिउँसो जब हामी माइपोखरी पुग्यौं। पोखरी प्रवेश गर्न सन्दकपुर गाउँपालिकाले प्रत्येक व्यक्तिको २० रूपैयाँ उठाउँदो रहेछ। प्रवेश शुल्क आयोजकले नै तिर्यो। प्रवेश गर्ने बितिकै दायाँ साइडबाट केही भर्याङ ओरालो झरेपछि पोखरीको छेउमा पानीमाथि त्यहीँ शीला राखिएको देवता रहेछन्। मन्दिर ध्वजा र लुङ्दरहरूले सजिएको थियो।
पोखरी वरिपरि नौ वटा कुना रहेछन्। नौ वटा कुना तारा आकारमा छन्। वैद्यज्यूले सुनाए अनुसार ती कुनालाई नवदूर्गाको विभिन्न रूप मानेर पूजा गरिन्छ। गेट प्रवेश पछिको बायाँ साइडमा सानो पार्क र बनस्पति उद्यान रहेछ।
पोखरीको छेउबाट देखिने दृष्य पनि निकै मनमोहक थियो। पोखरीको पानीमा छेउको सलक्क परेका रूखहरू फेवातालमा कुमारी हिमाल माछापुच्छ्रे तैरिएजस्तै रूखहरूको अति सुन्दर छाँया देखिँदोरहेछ। पोखरीको छेवैछेउ अलिक माथि उक्लिएपछि ‘साहित्यिक पत्रकार संघ काठमाडौं’ को ब्यानर राखी कविता वाचन गर्यौं।
त्यहाँ हामी मध्ये कसैले कविता, कसैले गीत वाचन गरे भने कोही नाचे। माहौल रमणीय बन्यो। कमलाजीले आमाप्रतिको वेहद प्रेमील गीत गाएर सबैलाई स्तब्ध बनाउनुभयो। त्यस्तै मेनकाजीले मनमोहक नाचकला देखाउनुभयो।
साहित्यिक यात्रामा हिँडेपछि साहित्यिक माहोल नै नभए त के रमाइलो हैन?
कार्यक्रम सकिएपछि माइपोखरी बाहिरको सानो बजारमा चिया खान ओर्लियौं। बजारमा अन्य खाजाका साथ घरेलु पेय पदार्थ पदमचाल, टिम्फिङ र टिम्म्बुरको पेय पदार्थ सिसाको भाँडोमा सजाएर राखिएको रहेछ। केही साथीहरूले चुस्की लगाए। अरूले कफी पियौं।
भीम एक्तेनको होमस्टे...
हामी माईपोखरीबाट फर्किएर साँझ ५ बजे इलाम बजार नजिकैको होमस्टेमा पुग्यौं। स्थानीय भीम एक्तेनले होमस्टे चलाउनुभएको रहेछ। संसारी डाँडामा (अहिले चलनचल्तीको नाम शिखर नगर र बयम पार्क) मा उहाँको होमस्टे छ।
यो डाँडा चियाबारीको सिरानमा पर्दोरहेछ। भीमजी अंग्रेजी विषयका शिक्षक हुनुहुँदोरहेछ।
‘सरकारी जागिरे (अंग्रेजी विषयको मास्टर) होमस्टे पनि सुरू गर्नु भएछ ?, मैले उहाँलाई सोधेँ।
‘म पहिला आइएनजिओमा काम गर्दा सिक्किम, बंगलादेश जानेक्रममा जहाँजहाँ बस्थेँ त्यहाँ पाहुनाको स्वागत देखेर मैले पनि त्यस्तै आतिथ्यता दिन होमस्टे सञ्चालन गरेको हुँ’, उहाँले सुनाउनुभयो, ‘घरबास सञ्चालन गर्दा पर्यावरणको संरक्षण हुने र अन्तर्देशीय पर्यटक भित्र्याउन सकिन्छ।’
उनका श्रीमती र साली मिलेर होमस्टे सञ्चालन गरिरहेका छन्। ‘चार वर्ष भयो होमस्टे शुभारम्भ गरेको। बीचमा कोरोनाले विथोल्यो’, उहाँले भन्नुभयो, होमस्टेमा कोठाको ८ सय रुपैयाँ तिर्नुपर्छ। खानाको भने परिकारअनुसार मूल्य तिर्नुपर्छ। हामी सकभर अर्गानिक परिकार खुवाउँछौं।’
खुसी लाग्यो उनको युवा जोस र सकारात्मक सोच देख्दा। यस्तै युवाको मिहिनेतले देश विकास हुन्छ।
हामी चाहीँ होमस्टेमा बसेनौं। खाजा खाएर इलामबजारकै होटलमा फर्कियौं। फर्कने क्रममा बाटोमा लिम्बु पहिरनमा च्याब्रुङ बजाउँदै उभिएको युगल लिम्बुको सालिक देख्यौं।
चियाबारीले घेरिएको बाटो किनारको सुन्दर सालिक। मैले मोबाइल फोनमा त्यो सुन्दर जोडीलाई कैद गरिहालेँ।
अलिक तल ओर्लिएपछि साहित्यकार बिष्णु नविनको शालिक भेट्यौं। इलाम साहित्यकारको सम्मान गर्न चुक्दो रहेनछ!
अरनिको संग्रहालय...
अर्को दिन बिहान हामी स्रष्टा पार्क र अरनिको संग्रहालयमा पुग्यौं। सांस्कृतिक संग्रहालय बन्द थियो। भित्र हेर्न पाइएन। तर बाहिर पार्कमा पनि संस्कृति झल्काउने स्मारक राखिएको रहेछ। त्यो संग्रहालय भवन इलाममा चिया भित्र्याउने गजराज सिंहले बनाएका रहेछन्।
भवनको आँगनमा मानिसकै कदमा पञ्चे बाजा बजाउँदै गरेका प्रतिमाहरू उभिएका थिए।
अरनिको संग्रहालयमा वि.सं. २०७६ मंसिर १९ गते राष्ट्रिय विभूति अरनिको शालिक स्थापना गरिएको छ। अरनिकोले बास्तुकलालाई चीनसम्म प्रचार गरि नेपालको गौरव बढाएका थिए।
त्यसकै मूल्याकंन गरि यहाँ प्रतिमा बनाइएको थियो।
पार्कमा तोरीको तेल पेल्ने परम्परागत कोल र ओखल पनि हेर्ने मौका मिल्यो।
साहित्यकार पारिजातको योगदान मूल्याङ्कन गरेर इलाम नगरपालिकाले संग्रहालय नजिक वि.सं. २०७७ माघ ५ उनको प्रतिमा स्थापना गरेको रहेछ।
पारिजातको प्रतिमामा मैले पनि मनफूल चढाएँ।
इलाम प्राकृतिक सौन्दर्यको खानी त हुँदै हो, साहित्यकारको सम्मान गर्ने जिल्ला पनि रहेछ। साह्रै खुसी लाग्यो।
संग्रहालयबाट फर्किएर हामी लभडाँडा पुग्यौं। वरिपरि चिया बगान। इलाममा लेफ्टिनेन्ट कर्णेलका रूपमा आएका गजराज सिंह थापाले वि.सं. १९२० मा चिया रोप्न सुरू गराएका थिए भनेपछि वि.सं. १९३५ मा मात्र यहाँ चिया कारखाना खुल्यो।
यसरी इलाममा चियाबगान सुरू भएको एक सय अन्ठाउन्न वर्ष भइसकेको रहेछ। उनको योगदानको मूल्यांकन गरि लभडाँडामा वि.सं. २०७७ असोज ३० मा उनको प्रतिमा स्थापना गरिएको छ।
चियाबारीमा हामीले कवि विमल वैद्यसँग केही तस्बिर खिच्यौं। आँखाभरि र मनभरि चिया बगानलाई साँच्यौं।
कन्याम चिया बगानमा मुस्कुराएकी ‘मगर्नी’...
हामी त्यहीँ दिन ११ बजे कन्यामतिर लाग्यौं। कन्यामको सौन्दर्यमा मन्त्रमुग्ध नहुने को होला र? प्रकृतिले बेहुली नै बनाएको छ कन्यामलाई। अलिक उचाईमा सडक हिँडिरहेको छ दायाँबायाँ तरपाय परेको पहाड र त्यसमा एकै साइजमा सजिएका चिया बगान .. अहो ! यो सुन्दरता आँखाको बाटो हुँदै हृदयमै घर गरेर बस्छ।
कन्याम नाम कसरी रह्यो त भन्ने जिज्ञासा वैद्यज्यूलाई राखेकि थिएँ। उहाँकाअनुसार खास नाम कन्द्याम हो। लाप्चा भाषामा कन्द्याम भनेको एक किसिमको लेकमा पाइने ‘ठोट्ने’ बिरूवा हो। त्यो भाँच्दा पिटिक्क भाँचिन्छ। त्यसको स्वाद अमिलो हुन्छ त्यो अचार खानेमा प्रयोग हुन्छ।
वैद्यज्यूमा हरेक शब्द र स्थानको बिस्तृत डिक्सनरी नै रहेछ। हरेक कुरा यति मीठो गरि सुनाउनुभएको थियो कि, ती ठाउँमा पुगेर हेर्दा छर्लङ्ग हुन्थ्यो।
कन्याममा कसैले विभिन्न पहिरन लगाएर र कसैले कन्यामलाई नै अँगालोमा बेरे झैँ गरेर तस्बिर खिचे। मैले फेसबुकमा कन्यामका विभिन्न पोशाक लगाएर खिचिएका तस्बिर देखेकी थिएँ।
बिहान इतिहासविद् वैद्यसँग त्यहाँको मौलिक पहिरनबारे कुरा गरेकी थिएँ।
‘अहिले रंगीचंगी पहिरन लगाउँछन्। सिक्किमतिरको प्रभावले त्यो पहिरन चलेको हो। खासगरी यहाँको पहिरन लिम्बू पहिरन हो। लिम्बुहरूले सिलाएको लुगा लगाउँदैनथे’, उहाँले भन्नुभएको थियो, ‘इलाम झल्काउने पहिरन महिलाले लगाउने कालो रंगको ५/६ हात लामो लुगालाई नसिलाएरै लगाउँथे। हुनेखानेले सुनचाँदीको सुइरोले उनेर लगाउँथे। नहुनेले बाँसको चोयाबाट बनाएको सुइरोले उनेर लगाउँथे। महिलाको कालो रंगको पहिरनलाई ‘गम्बोल र टोगो’ भनिन्थ्यो भने पुरूषले लगाउने सेतो रंगको पहिरन ‘गादो’ भनिन्थ्यो।’
मैले पनि मगर पहिरन लगाएर कन्यामकी मगर्नी भएर तस्बिर खिचेँ। चियाबारीलाई स्पर्श गर्दै टिकटक पनि बनाएँ र चियाबारीलाई आफूसँगै लिएर आएँ। यसरी तस्बिर र टिकटकमा आफूले आफैंलाई कैद गरेँ। आफ्नो तस्बिर आफैंलाई झन् सुन्दर लाग्यो।
कन्याममा घोड्सवार गरेर तस्बिर लिने र अनेक पहिरन लगाएर तस्बिर लिने प्रचलनले सडक छेंउ टहरा राखेर ब्यवसाय गरेकाहरूले राम्रो आम्दानी गर्दै आएका छन्।
कन्यामका केही तस्बिरहरू लिएर हामी श्रीअन्तु डाँडातिर लाग्यौं।
गुडमर्निङ श्रीअन्तु !
सूर्योदयका लागि प्रख्यात छ इलामको श्रीअन्तु। त्यहाँ पुगेर हामी होमस्टेको आँगनमा ओर्लंदा सूर्यास्त हुनै लागेको थियो। हतारहतार डाँडाको डिलमा उभिएर डुब्नै लागेको सूर्यको तस्बिर खिच्यौं।
श्रीअन्तुमा चिसो महशुस भयो। राति क्याम्प फायर गरेर रमाइलो गरियो संयोगवस साथी कल्पनाजीको जन्मदिन त्यहीँ दिन परेको रहेछ।
हामीले खादा र टीका लगाइदिएर भन्यौं, ‘हयाप्पी बर्थडे कल्पनाजी!’
भोलिपल्ट श्रीअन्तुबाट देखिने सूर्योदय हेर्न जाने योजनाअनुसार बिहान ३ बजे नै उठियो र तरपाय, तरपाय उकालो उक्लिएर सूर्योदय हेर्ने स्थानसम्म पुग्यौं। हिँड्न नसक्नेका निम्ति घोडाको ब्यवस्था पनि रहेछ।
पहाडको टापुमा सानो मैदान जस्तो वरिपरि सुरक्षाको निम्ति फलामे बार बारिएको थियो अन्तु मैदानमा। मैदानको एक छेउमा सूर्योदय प्रष्ट देखियोस् भनेर भ्यु टावर बनाइएको छ। सूर्यका किरणहरू कंचनजंघा हिमाललाई प्रेमिल स्पर्श गरेर हामीसामू उभिन आइपुगे। सूर्योदयको प्रेमिल स्पर्शले कंचनजंघा लजाएर रातै भयो।
अहो! त्यो दृश्यले हृदय कम्पन गरायो। सूर्योदय हेर्ने ठाउँ नजिक सानो रमाइलो बजार नै बसेको रहेछ। सूर्योदय हेरेर फर्कनेहरूका लागि चिया खाजा र चामलको पिठोबाट बनेको ‘भक्का’ परिकार पाइँदो रहेछ।
मैले भक्का बनाइरहेकी दिदीलाई सोधेँ, ‘तपाईहरूले यहाँ बसेर व्यापार गरे बापत शुल्क तिर्न पर्छ कि पर्दैन?’
‘पहिला पर्दैनथ्यो अघिल्लो वर्षदेखि नगरपालिकाले लिने गरेको छ’, उहाँले भन्नुभयो। सूर्योदय हेरेर फर्कनेलाई चिया खुवाउन ती दिदीलाई भ्याईनभ्याई थियो।
अब चर्चा गरौं श्रीअन्तु नामको। लाप्चा भाषामा ‘आत्तो’ भनेर अग्लो ठाउँलाई भनिने रहेछ। श्रीअन्तुलाई पहिले आत्तो भनेर चिनिन्थ्यो अर्थात् घाम झुल्कने अग्लो ठाउँ।’ यसरी इलाम वरपरका धेरै स्थानहरूको नामाकरण लाप्चा भाषामै गरिएको छ। पछि बोल्दै जाँदा यी स्थानहरूको नाम परिवर्तन हुँदै गयो।
श्रीअन्तु क्षेत्रमा पर्यटकका खाना र बासका लागि धेरै होमस्टे खुलेका छन्।
होमस्टेका अगुवा धनकुमार
श्रीअन्तुमा हामी धनकुमार र गुड्डी आलेको घरमा बसेका थियौं। उहाँको घरमा धेरै अगाडिदेखि पाहुना राख्ने चलन रहेछ।
‘अन्तुमा सूर्यको भाकल र पूजा गर्ने चलनले धेरै मानिस र योगी आउँथे। बुबा पञ्चायतकालका वडा अध्यक्ष र समाजसेवी हुनुहुन्थ्यो। पाहुनाहरूलाई उहाँले सित्तैमा खाने बस्ने ब्यवस्था गरिदिनु हुन्थ्यो। यसरी सेवा गर्दै जाँदा पछिल्लो समय विदेशी पाहुना समेत आउन थाले’, आलेले भन्नुभयो, ‘धेरैजनालाई खाने बस्ने ब्यवस्था गर्न कठिन हुँदै गए पछि वि.सं. २०५२ देखि एक जनाको ५० रुपैयाँ लिएर मैले घरबास व्यवसाय सुरु गरेको हुँ।’
वि.सं. २०६० वैशाखदेखि अन्तु महोत्सव सुरू भयो। अनि होमस्टेको प्रचार हुँदै गयो। सरकारले २०६५ सालमा घरबास कार्यबिधि ल्यायो। यहाँको सामुदायिक होमस्टे पनि २०६७ चैत १२ गते काँकडभिट्टास्थित पर्यटन कार्यालयमा दर्ता गरियो। अचेल ५८ घरमा पाहुना राखिन्छ।
होमस्टेमा कोठाको एक हजार रूपैयाँ र खानाको मागअनुसार पैसा तिर्नुपर्छ। ३ छोरी र श्रीमती गुडिया मिलेर होमस्टे सम्हाल्दै आएका छन्।
पाहुनालाई खादा ओढाएर स्वागत गर्ने र फूल तथा टीका लगाई विदाइ गर्दा उनको परिवारले भन्छ, ‘फेरि पनि आउनुस् है।’
अन्त्यमा...
हामी काठमाडौं फर्कने यात्रामा थियौं। माइक्रो बसमा पारू बहिनीसँगै अरूले पनि गीत गाए। केही छिनपछि किशोर पहाडीले पनि ‘ए राते, ए मौसम, नदीका किनारा ए चञ्चल हावा’ बोलको हिन्दी गीत गाउँदा रमाइलो भयो।
फर्कंदै गर्दा इलामका सम्झनाहरू मनभरि छचल्किरहे। फेरि कहिले आउन पाइएला भन्ने भैरह्यो। हाम्रो यात्रा उपलब्धिमुलक बन्यो।
आखिर इच्छाशक्ति भए यस्ता कार्यक्रम मुलुकभर गर्न सकिन्छ। काठमाडौंबाट आतेजाते बसभाडा भनेर साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले हामी लेखकसँग प्रति व्यक्ति ६ हजार रुपैयाँ मात्र उठाउनु भएको थियो। उता खाना र बासको व्यवस्थापन इलाम नगरपालिकाले गर्यो। इलाम नगरपालिकालेझैं मुलुकका अन्य स्थानीय निकायले पनि कवि/लेखकलाई यसैगरि घुमाएमा पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेछ।
समग्रमा, इलाम एउटा ऐतिहासिक स्थल त हुँदै हो। राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणका बखत डाँडापाखा मात्र लिएर पुग्दैन, राम्रो आम्दानी हुने टिष्टा समेत जितेका थिए। अर्को कुरा, प्रकृतिको बरदान पाएको स्थान पनि हो इलाम। त्यसमा पनि इलामले लेखकसँग हृदयदेखिको सामिप्यता राखेको देखेर अझै गौरवान्वित भएकी छु।
ती सडक, ती पहाड र सडक किनारमा एकलहर उभिएका रूख बुट्यानहरूसँग हिँडे म। उनीहरू म सँगसँगै हिँडे होलान् कि हिँडेनन् ? तर मेरा हरेक पदचापसँगै तिनको साइनो गाँसिएको छ। एकएक थुम्का र एकएक किरणका लहरले आफ्ना कथा गुनगुनाउँदै म सँगै हिँडिरहेको थिएँ इलामेपनमा।
प्रिय इलाम ! म फेरि आउनेछु, मनको ढोका खोलिराख है!
सबै तस्बिरहरू- लेखक सुमन थापा