प्राचिन समयदेखि नै नेपालमा शिक्षा लिने-दिने प्रक्रिया सञ्चालनमा रहेको भएता पनि यो सङ्गठित र योजनबद्ध भने थिएन। तर, शिक्षाको मुख्य ध्येय भनेकै संस्कारयुक्त नागरिक तयार गर्नु थियो। असल आचरण र बानी-व्यवहारको विकास गर्नु त्यतिखेरको शिक्षाको घोषित तथा अघोषित उद्देश्य हुन्थ्यो।
त्यो समय मूलतः बाबु-आमाले आफ्ना छोराछोरीहरूलाई आवश्यक ज्ञान, सीप एवं अनुभवहरू पारिवारिक परिवेशमा हस्तान्तरण गर्ने गर्थे। त्यो संस्कार, संस्कृति, मूल्यमान्यता भने पारिवारिक तथा सामाजिक सद्भावसँग पनि अन्तरसम्बन्धित हुन्थ्यो। समाजको परम्परा, मूल्य-मान्यता, चाल-चलन एवं धर्म संस्कृति भने अग्रजहरूबाट तल्लो पुस्तामा विभिन्न शैक्षिक प्रक्रियाबाट हस्तान्तरण गर्ने गरिन्थ्यो।
त्यतिखेरको शिक्षा व्यवस्था नितान्त अनौपचारिक एवं अनियमित प्रकृतिका हुन्थे। जीवनपद्धति प्रारम्भिक खालको हुँदा स्वाभाविक रूपमा सामाजिक परिवेश पनि सरल र सामान्य किसिमको थियो। समयको परिवर्तन र मानवीय चेतनाको अभिवृद्धिसँगै व्यक्तिको सोच, विचार एवं आदर्शमा पनि परिवर्तन हुँदै आए र व्यक्तिको जीवनपद्धतिमा पनि परिवर्तनहरू देखा पर्न थाले।
अब सामाजिक जटिलता र मानवीय आवश्यकताहरूको बढोत्तरीको कारण पारिवारिक प्रकृतिको अनुकरणात्मक शिक्षाले मात्र सामाजिक भार एवं मानवीय आवश्यकतालई थेग्न नसक्ने भयो। यसो हुँदा शिक्षालई सङ्गठित र योजनाबद्ध किसिमले अगाडि बढाउने प्रयासहरूको सुरुआत हुनथालेको पाइन्छ। सुरुआती दिनहरुमा शिक्षा सर्वसुलभ भएता पनि सबैको पहुँच, समावेशीता, गुणस्तर र उपलब्धी जस्ता कुराहरुको सन्दर्भमा स्पष्ट मापदण्ड त थिएन तथापी शिक्षा (विद्या) प्राप्त गरेको व्यक्तिलाई सबैले सम्मान गर्ने परिपाटी भने प्राचिन समयदेखि नै कायम रहेको पाइन्छ।
नेपालको शैक्षिक इतिहासको सन्दर्भको कुरा गर्दा १०४ वर्षिय राणकालीन समयमा केही शैक्षिक सुधारहरू भएको पाइएता पनि योजनाबद्ध र गुणात्मक शिक्षा विकास हुन सकेन। त्यतिखेरको शिक्षाले सामाजिक सांस्कृतिक परिवर्तनलाई अपेक्षित रुपमा आत्मसात गर्न नसकेको भएता पनि केही हदसम्म स्थापित मूल्यमान्यताको रक्षा गर्ने भने थोरबहुत प्रयास भएको देखिन्छ। अन्ततः जनताहरू जागरुक भई विसं २००७ साल फागुन ७ गते राणाशासनको अन्त्य गरी नेपालमा प्रजातन्त्रको स्थापना भएपछि जनचाहनाको सम्मान गर्दै नेपालमा विद्यालय शिक्षाको विस्तार र विकासमा योजनाबद्ध प्रयासहरु हुन थालेको पाइन्छ।
नेपालको विद्यालय शिक्षालाई समायानुकूल बनाउँदै लैजाने सन्दर्भमा विभिन्न प्रयासहरु हुँदै आएको पनि छ। हाम्रा संस्कार, संस्कृतिको जगमा आफ्नै मौलिक शिक्षाको विकास गर्ने भन्दा पनि विश्वव्यापी प्रभावबाट निर्देशित भएर बाहिरी संस्कृतिलाई प्रोत्साहन गर्ने शिक्षा भित्र्याउने उपक्रमले पनि निरन्तरता पायो।
राजनीतिक परिवर्तनसँगै नयाँ-नयाँ योजना, अभियान, कार्यक्रमको माध्यमले विद्यालय शिक्षालाई समसामयिक बनाउने प्रयास पनि भएका छन्। तर, विद्यालय शिक्षा व्यवस्थित, गुणस्तरीय र सर्वसुलभ नभएसम्म कुनै पनि देशको सन्तुलित विकास हुन सक्दैन भन्ने विषयमा भने साझा मत पाइन्छ। नेपालको विद्यालयीय शिक्षाको विकासमा थुप्रै प्रयासहरु गरिएको भएता पनि अपेक्षाकृत रुपमा यसलाई व्यवस्थित गर्न नसकिएको जनगुनासो विद्यमान छ।
पछिल्लो समय भएको नेपालको राजनीतिक परिवर्तनले नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक बनेपछि भने नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहमा निहीत रहेको प्रस्ट पारेको छ। तर, समग्र शिक्षा योजना, पाठ्यक्रम निर्माण, गुणस्तर निर्धारण लगायतका कुराहरुमा संघीय सरकार र प्रादेशिक सरकारको भूमिका रहने कानुनी व्यवस्था छ।
नेपालको विद्यालय शिक्षालाई थप व्यवस्थित बनाउने सन्दर्भमा संघीय, प्रादेशीक र स्थानीय सरकारले विभिन्न प्रयासहरु पनि गर्दै आएका छन्। माध्यमिक तहसम्मको शैक्षिक अधिकार स्थानीय तहमा आएसँगै स्थानीय सरकारहरुले स्थानीय पाठ्यक्रममार्फत हाम्रा मौलिक कला संस्कृतिको जगेर्ना, विकास र प्रचार प्रसारको थालनी पनि गर्न थालेका छन्।
शिक्षाले सामाजिक र सांस्कृतिक परिवर्तनमा अहम भूमिका खेलेको हुन्छ भन्ने कुरालाई विद्धान इवि टेलरले विशेष जोड दिएका छन् र उनका अनुसार संस्कृति भनेको ज्ञान‚ कला‚ विज्ञान‚ विश्वास‚ नैतिकता‚ कानुन एवं समाजको एक सदस्य भएको हैसियतले आर्जन गरेको क्षमता एवं आनीबानीको जटिल समग्रता हो। शिक्षाले चेतना र सक्षमता विकास गर्ने भएकोले सांस्कृतिक रुपान्तरण र परिवर्तनमा समेत शिक्षाको अहम् भूमिका रहेको हुन्छ।
समाज परिवर्तन गर्ने एक सशक्त माध्यम पनि शिक्षा नै हो। शिक्षाले संस्कार, मूल्यमान्यता र विभिन्न खालका व्यवहार कुशल सीपहरु सिकाउने भएकोले समाजमा मिलेर बस्ने तथा सहकार्य गर्ने सीप विकासमा पनि शिक्षाको अहम् भूमिका रहेको हुन्छ। संस्कृतिको हस्तान्तरण, परिमार्जन र विकास गर्ने कार्यमा पनि शिक्षाले आवश्यक सहयोग गर्ने भएकोले सामाजिक तथा सांस्कृतिक विकासमा शिक्षाको महत्वपूर्ण भूमिका रहन्छ।
शिक्षाले व्यक्तिको व्यवहार, आनीबानी, संस्कार र समग्र गतिविधिलाई समाज सापेक्ष एवम् समय सापेक्ष बनाउन आवश्यक मार्गनिर्देशन गर्दछ। व्यक्तिमा नागरिक चेतनाका विकास गराउने तथा चरित्रवान एवं राष्ट्रका लागि समर्पित, उत्तरदायी तथा आफ्नो कर्तव्य र अधिकारप्रति सचेत नागरिक तयार गर्ने उद्देश्य पनि शिक्षाको भएकोले चरित्रवान नागरिक निर्माण गरी सामाजिक सद्भाव विकासमा पनि शिक्षा सहयोगी हुन्छ।
शिक्षाको माध्यमले आपसी सद्भाव, कर्तव्यनिष्ठता, सहयोगीपन एवं मेलमिलापको भावनाको विकास गर्ने परिपाटी बसाल्ने भएकोले शिक्षा सामाजिक तथा सांस्कृतिक विकासमा महत्वपूर्ण मानिन्छ।
संस्कारयुक्त जीवन पद्धतिलाई संस्कृति भनिन्छ। अर्को शब्दमा उल्लेख गर्दा व्यक्ति समाजमा रहँदा बस्दा अपनाउने चाल-चलन, रहन, सहन एवं धर्म संस्कृति र जीवनशैलीलाई संस्कृति भन्दछन्। संस्कृतिको आधारमा व्यक्तिले गर्ने समग्र व्यवहार भने सामाजिक विकास हो। शिक्षाले देशमा विद्यमान संस्कृतिका राम्रा एवं ग्रहणयोग्य पक्षको जगेर्ना गर्दै अगाडि बढ्नुपर्दछ।
परम्परागत रूपमा समाजले आर्जन गरेको मूल्य-मान्यता, विश्वास एवं विचार र आदर्शको संरक्षण गर्दै समाजमा देखिएका विकृति, विसङ्गति एवं अन्धविश्वासलाई हटाउन शिक्षाले सहयोग पुर्याउनु पर्दछ। संस्कृति देशको पहिचान र गौरव गाथा पनि भएकोले यस्तो अमूल्य निधिलाई जोगाइ राख्दै आफ्नो पहिचान चिरस्थायी बनाउन शिक्षा सहयोगी हुनुपर्दछ।
के अहिलेको हाम्रो शिक्षा प्रणालीले यस्ता पक्षहरुलाई समेट्न सकेको छ त? यस सम्बन्धमा शिक्षा सरोकारवालाहरु गम्भीर हुन जरुरी छ। प्रत्येक समुदायको आफ्नै किसिमको चाल-चलन एवं परम्परा हुन्छ। शिक्षाले परम्परागत संस्कृतिको संरक्षण गर्न सकेन भने समाजको मौलिकता हराएर जान्छ र मानवीय मूल्य सङ्कटमा पर्न थाल्दछ। खासगरी शिक्षाको सांस्कृतिक कार्यले संस्कृतिको संरक्षण संस्कृतिको हस्तान्तरण र नयाँ संस्कृतिको निर्माणलाई प्राथमिकता दिनुपर्दछ।
संस्कृति पुर्खाहरूले आर्जेको सम्पत्ति भएता पनि यसले समाजमा विद्रोह ल्याउनु हुँदैन। कतिपय हाम्रा मूल्य-मान्यता एवं संस्कारहरूले हामीबीच फुट र अविश्वास पैदा गर्ने मात्र होइन आपसी वैमनस्यता पनि सृजना गर्ने गर्छ। यस्ता कु-संस्कृति हटाउनमा पनि शिक्षाको अहम् भूमिका रहेको हुन्छ।
नेपालको सन्दर्भमा भन्दा नेपाल एक बहुजाति, बहुभाषी एवं धर्म निरपेक्ष राष्ट्र भएकोले यहाँको संस्कृतिमा विविधता पाइन्छ। यहाँ १२५ जातजाति र १३१ भन्दा बढी भाषाभाषी भएको कुरा अध्ययन अनुसन्धानबाट पुष्टि भएको छ। यसरी विविध भाषाभाषी, धर्म संस्कृति एवं परम्परालई निर्वादरूपमा अगाडि बढ्ने अवसर प्रदान गर्दै धार्मिक एवं सांस्कृतिक सहिष्णुता कायम राख्न शिक्षाले महत्वपूर्ण भूमिका खेल्नुपर्दछ। खेल्दछ।
तर, यसको लागि हामीले लागु गर्ने शिक्षा प्रणाली पनि हाम्रै मौलिक परिवेश सापेक्ष हुन आवश्यक हुन्छ। सबैको अस्तित्व र आत्मसम्मानलाई सम्बोधन गर्न सक्ने शिक्षाबाट मात्र सामाजिक सद्भावाको विकास हुन सक्छ।
नेपाली संस्कृतिक विविधताको समुचित पहिचान गरी यसलाई संरक्षण गरिएन भने हामी हुनुको अस्तित्वसमेत सङ्कटमा पर्ने र भावी पुस्ता अलमलमा पर्ने भएकोले पनि नेपाली मौलिक शिक्षाको विकास र सम्वर्द्धनमा समुचित ध्यान दिन आवश्यक देखिन्छ।