फेरि एकपटक नेपालीहरुको महान चाड दशैँ नजिकै आएको छ। दशैँ वर्षमा एकपटक सत्यको विजय भएको कथा लिएर पृथ्वीमा ओर्लिन्छ। आस्था मनहरु आफ्नै इश्वरीको जयमा प्रफुल्लित नहुने त कुरै भएन। सबैको मनमा दशैँको आगमनले उत्तिकै उल्लास छ। नयाँ लुगाको न्यानोले, केटाकेटीको मन उल्लासले झन फुर्फुर छ। यही उल्लसित वातावरणमा केटाकेटी भएको घरबाट डमरुको टुङ्गटुङ्ग बज्न थालेको छ।
दशैँ आयो की धेरैको मनले झल्यास्स सम्झिने एउटा सिरियल रहेको छ- दशैँ। सम्झिनुको कारणहरुः एक त त्यो महजोडीको सिरियल, दोस्रो त्यसभित्रको कथाको मार्मिकता, तेस्रो प्रजातन्त्र आगमनसँगैको परिस्थितिमा व्यवस्था फेरिएको अवस्था नफेरिएको परिपाटीलाई व्यंग्य।
सानोमा दशैं टेलिसिरियल हेरेर म धेरैबेर रोएको थिएँ। सिरियलको अन्त्यमा, एउटा नाबालकको दशैंका रहरहरु टुहुरा भएकोमा साह्रै मन दुखेको थियो। बा मासु करायो, चपा भैरे चपा, बा डमरु भन्दै छोराले बाबुको अगाडि पिन्चे अनुहार पर्सादा ‘ढिवा मरु डमरु, डमरु’ भैरेको यो डाइलग अझै पनि मेरो कानमा गुँजिन्छ।
र सोचमग्न हुन्छु, भैरेलाई मैले काँचको पर्दामा देखेको लगभग चौबीस वर्ष भइसक्यो अब त पक्कै पनि भैरेका दिन फिरिसकेका होलान्। चौबीस वर्षअघि प्रस्तुत त्यो सिरियलको भैरेको आजको अवस्था कस्तो भयो? उस्को छोराको दशैँ बाउकै अभावको विरासतमा चलिरहेको छ कि कतार, साउदी या कोरिया गएर मनग्य पैसा कमाएर। त्यो अभाव टाल्न सक्ने हैसियतको भयो मनमा वर्षमा एकपटक उदय हुने प्रश्नहरु हुन्। आखिर नेपाल पनि नयाँ नेपाल न भइसक्यो।
दशैँ सिरियलमा धनीको दशैँ र गरिबको दशैँलाई भिन्नाभिन्नै आयामले केलाएको छ। गरिब पात्रको रुपमा कलाकारिता निभाएका हरिवंश अर्थात् भैरेको दशैँ दशामा टुंगिएर समाप्त हुने सिरियलले प्रत्येक वर्ष दर्शकका आँखामा आँसु उमालेर गइरहेको छ। बीस वर्षअघि म खल्लो भएजस्तो आज छोरीले भैरेको दशैँ नियाल्दै मन खल्लो बनाइन्।
प्रत्येक वर्ष यही सिरियल, कथा, निराशा र सुस्केरा हामीभित्र किन? हामी भैरेको कथा हेरेर राजकुमार दिक्पालको कथा जस्तो दन्त्यकथाको रुपमा ग्रहण गर्न किन सकेका छैनौँ? उहिल्यै उहिल्यै दशैँले गरिब मानिसलाई यतिसम्म पिरल्थ्यो है भनेर किन मनले सहज रुपमा लिन सकेको छैन। छोरीको आँसुभन्दा चौबीस वर्ष बुढो मेरो आँसु किन आज पनि भैरेको निम्ति उस्तै उम्लिन्छ। सिरियलले अझै हाम्रो मन चिसो हुनुमा, यो समाजमा अझै भैरेहरु बाँकी नै छन् भन्ने हो।
भैरे एउटा यस्तो गरिब पात्र हो, जो अभाव भोग्दछ। जोसित तल्लो दर्जाको नोकरी छ, तर पियनस्तरको सुख्खा तलब मात्रको आर्थिक उपार्जनले दैनिक गुजारा धौधौ छ। जस्को घरमा दशैं दशा भएर आउँछ र छोराछोरीको लागि नयाँ लुगा पनि प्रबन्ध गर्न सक्दैन। पोहरै टालेका लुगा यो साल नि टालेर दशैँ टाल्ने यी भैरेहरुलाई सिरियलमा गरिब पात्रको रुपमा चयन गर्नु आफैमा सांयोगिक छ।
भैरे गरिब हुनु उनको दोष होइन। भैरेले नेपाल जस्तो गरिब देशमा सम्पन्न, मध्यम र विपन्न परिवारले मनाउने दशैँको आर्थिक अनुहार उहीँ हुँदैन भन्ने कुरामा हेक्का राख्न सकेन। आज पनि दशैँ आएको छ। कैँयन भैरेहरु दशैँको आगमनले चिन्तित हुन थालेका छन्। दशैँ होइन, दशा आएको हो भनी दशैँलाई दशाको रुपमा स्वीकार्ने यी भैरेहरु यो कुरामा अज्ञान छन् की दशैं, दशैँ नै भएर आएको हो, परन्तु उनीहरुको मानसिकताले त्यस्लाई दशा बनाइयो।
दशैं पारिवारिक मेलमिलाप र सद्भावको चाड हो। कुनै शास्त्रमा लेखिएको छैन की दशैं आफ्नो हैसियत छिचोलेर मान्नुपर्छ। खसी काट्नु दशैँ हो र नकाट्नु दशैँ होइन भनी पनि कुनै धर्मग्रन्थमा उल्लेख छैन। यदि अगाढ आस्था र विश्वासमा दशैँ मनाउने हो भने देवीका पाउ पशुको रगतको आहालले धुनु पर्दैन। निधारमा जमरा र रातो टीका मात्र रंगाएर पनि दशैंको भरपूर आनन्द र उल्लास हासिल गर्न सकिन्छ।
दशैँ समानताको उत्सव हो। दशैंमा भैरेहरुले गर्व गर्न पाउनुपर्छ। कुनै धनाढ्यको कौशीबाट उडेको र भैरेको छाप्रोबाट उडेको चङ्गाले एउटै आकाश चुम्नुबाट बोध हुन्छ की दशैंप्रति धनी र गरिबको सामाजिक र सांस्कृतिक उचाइ एउटै हो। धनीले उनका छोराछोरीका लागि कुनै महँगो सुपरमार्केटमा लुगाफाटा किनीदेलान्।
भैरेहरुले पनि आफ्ना लालाबालाका लागि सस्तो बजारबाट भोटा किनिदिने हैसियत राख्न सक्छन्। धनाढ्यहरुको भोजनमा जस्तो चौरासी व्यन्जन नहोला। भैरेहरुको चुलोबाट पनि दाल, भात, तरकारी र दुई चोक्टा मासुको मिठो गन्ध त बाफिएला! आफ्नो हैसियतमा मान्ने हो भने भैरेहरुका लागि आफ्नो दशैँ कहिले पनि दशा बन्दैन।
सबैको आर्थिक अवस्था एउटै हुँदैन। त्यसैले हुनेखानेले दशैँलाई भड्किलो तरिकामा मनाइयो भनेर हुँदाखानेले पनि ऋण लिएर भड्किलो तरीकामा मनाउनु हुँदैन। हाम्रो पाँचै औँलाको पनि दशैँ प्रतिको अभिव्यक्ति हेरौँ। कान्छो औँलालाई दशैँप्रति कति उल्लास छ र यी भन्छन्- दशैं आयो। काइलो औैँला पनि प्रफुल्लित भएर भन्छ- खाउँला, पिउँला।
गरिब औँलाको प्रतिनीधित्व गर्ने साइलो औँला भन्छन्- कहाँबाट ल्याउँला? माइलो औँलाले ‘चोरी ल्याउँला’ भनी चोर प्रवृत्ति देखाउँछ। जेठो औँला आदर्श पात्र बन्दै ‘धत! पापी म त एक्लै बसुँला’ भनी दशैंमा न चोर्ने, न भड्किलो तरिकामा मनाउने, बरु आफ्नो हैसियतमा कोही सित प्रतिस्पर्धा नगरी एक्लै मनाउने अभिव्यक्त गर्छन्।
भैरेले साइँलो औँलाको प्रतिनिधित्व गर्छ। यसकारण भैरेले आफ्नो हैसियत चिनेर जेठो औँलाको आदर्श बहन गर्नुपर्छ। उसले आफ्नो हैसियतअनुसार दशैँ मान्नुपर्छ। कसैले पैसाको खोली बगाएर दशैँ मनाउँदैमा उस्को सामाजिक हैसियत उकासिने होइन, न त कसैले कम पैसामा दशैं मनाउँदैमा उस्को समाजिक हैसियत नै निम्न हुने हो।
भैरेको आस्था र विश्वासले ढुंगामा देवीको सजीवता चलमलाउँछ भने भैरेलाई देवीले अवश्य प्रश्न गर्ने छैनन् की तैले मेरा पाउ किन पशुको रगतले धोइनस्? मेरो जिब्रोमा रगतका छिटा चटाइनस्? बरु देवी, भैरेले आफ्नो हैसियतअनुसार दशैँ मनाएकोमा खुसी भएर आशिर्वाद दिनेछिन्।
सबैका लागि दशैँ, दशैँ नै हो, दशा होइन। इश्वरी सबैकी हुन्। के गरिब, के धनी सबैको निधारको टिकाको तौलमा फरक छैन। सबैको कपालमा जमरा हरियै उम्रिन्छ। छ त केबल दशा हाम्रो मानसिकतामा छ। दशा हाम्रो गलत चिन्तन र आस्थामा छ। जो आफ्नो हैसियत नाप्दैन र प्रतिस्पर्धालाई पछ्याएर भैरेजस्ता समाजका गरिब पात्रले आफ्नो धरातल बिर्सन्छ।
तमसुकमा बुढि औँला टेकेर भएपनि दशैँ पार लाउनुपर्छ भन्ने सोचाइ भएकाहरुको निम्ति मात्र दशैँ दशा हो। यसकारण दशैँ भैरेले भैरे नै भएर मनाउनु पर्छ, उस्ले अरुको सिको गर्नु हुँदैन। यो कुरा सत्य होकी, हैसियतमा माने, भैरेको पनि दशैँ नै हो, दशा होइन। दशैँ, आशिषको पर्व हो र हामी नेपाली दुर्गा भवानीको कृपाले यति भाग्यमानी छौँ की यो भूगोलमा बाँच्ने प्रत्येक मानिसको निधारमा कोही न कोही ठूलाबडाको हात झुलेकै छ।